नेपाल-बेलायत मैत्री सन्धी सय वर्ष पुगेको अवसरमा स्कटल्याण्डमा विशेष समारोह

लण्डन । नेपाली राजदूतावास लण्डन र बेलायतको विदेश मन्त्रालयले रोयल बोटानिक गार्डेन, एडिनबरा तथा ब्रिटिश काउन्सिलको सहकार्यमा नेपाल-बेलायत मैत्री सन्धीको एक सय वर्ष पुगेको अवसरमा एक स्वागत समारोह र जलवायु परिवर्तनबारे प्यानल छलफलको आयोजना गरेको छ ।

अक्टोबर ५ तारिखका दिन रोयल बोटानिक गार्डेन, एडिनबरामा आयोजित सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ को मैत्री सन्धिको महत्व, जैविक विविधता संरक्षणमा रोयल बोटानिकल गार्डेनसँगको सहकार्य र नेपालमा जलवायु परिवर्तनको प्रभावबारे प्रकाश पारेका थिए । उनले पछिल्लो समय अनुसन्धान, क्षमता अभिवृद्धि, संरक्षण र विकासमा रोयल बोटानिकल गार्डेन र नेपाली संस्थाबीच भएको विशेष सहकार्यको पनि उल्लेख गरे । उनले जलवायु परिवर्तन र जैविक विविधता संरक्षणलगायत नेपालको विभिन्न क्षेत्रमा बेलायतले गरेको सहयोगको प्रशंसा गरे ।

विभिन्न परियोजनाहरु अन्तर्गत नेपालको जैविक विविधता संरक्षणमा रोयल बोटानिकल गार्डेनको सहयोगको उल्लेख गर्दै गार्डेनका सिमोन मिल्नेले नेपाल र गार्डेनको सहकार्य उत्पादनशील, अर्थपूर्ण र न्यानो सहकार्यको उत्कृष्ट उदाहरण भएको बताए । सो सहकार्य २०० वर्षअघि स्कटिस नागरिक फ्रान्सिस बुकानन-ह्यामिल्टनले नेपालबाट पहिलोपटक वनस्पति संग्रह गरेर शुरु भएको उनको भनाइ थियो ।

बेलायतको परराष्ट्र मन्त्रालयकी उपनिर्देशक शार्लेट कोल्सले दुई देशबीचको मित्रताको ऐतिहासिक बन्धन द्विपक्षीय सम्झौताहरूका कारण अझ प्रगाढ भएको बताइन् । नेपालको जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा बेलायतले गरेको सहयोगलाई उनले प्रकाश पारेकी थिइन् । उनले आगामी दिनमा पनि नेपालको सामाजिक–आर्थिक विकासमा बेलायतको निरन्तर सहयोग रहने विश्वास दिलाइन् ।

कार्यक्रमको दोस्रो भागमा जलवायु केन्द्रित प्यानल छलफल भयो। प्यानलका सदस्यहरूमा गार्डेनका वैज्ञानिक डा. मार्क वाटसन, एडिनबरा विश्वविद्यालयका प्रो. हफ सिन्क्लेयर, एडिनबरा नेपियर विश्वविद्यालयका डा. इन्ग प्यानिल्स र राजदुत ज्ञानचन्द्र आचार्यले क्रमशः जैविक विविधता, भूविज्ञान, अर्थतन्त्रमा पार्ने प्रभाव र राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय सहयोगका विषयमा बोलेका थिए ।

छलफलमा जैविक विविधता, अर्थतन्त्र, भूविज्ञान र भविष्यमा हुने सम्भावित प्रभावहरूमा विशेष ध्यान केन्द्रित गर्दै विगत १०० वर्षमा नेपालमा जलवायु परिवर्तनका विभिन्न क्षेत्रमा परेको प्रभावलाई समावेश गरिएको थियो । उनीहरूले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि राष्ट्रिय प्रयासहरू र त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न व्यापक, ठोस र बहुपक्षीय अन्तर्राष्ट्रिय सहयोग र समर्थनको आवश्यकताबारे पनि छलफल गरे।

कार्यक्रममा जलवायु विज्ञ, नेपालका बेलायती मित्र, स्थानीयबासी, कूटनीतिक समुदाय, नेपाली समुदायका सदस्य तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री