नेपालका सेना र प्रहरी प्रमुख एकै समय बेलायतमा

काठमाडौँ । नेपाली सेना र नेपाल प्रहरीका प्रमुखहरु बेलायतको भ्रमणको क्रममा छन् ।
यसक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज बिहान बेलायत प्रस्थान गरेका छन् । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन उहाँ आज बेलायत प्रस्थान गर्नुभएको हो ।
महानिरीक्षक कुँवरसहित प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत प्रस्थान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा निस्किने भएका छन् ।
बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा नेपालका प्रधानसेनापतिको बेलायत भ्रमण हुन लागेको हो ।
असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमण सम्बन्धमा नेपालका लागि बेलायतका राजदूत रब फेनसंग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।
त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री