संगीता स्वेच्छाको ‘गुलाफसँगको प्रेम’

पुस्तक परिचय

हाल बेलायतमा बसोबासरत साहित्यकार संगीता स्वेच्छाको ‘गुलाफसँगको प्रेम’ कथा संग्रह सन् २०१९ मा प्रकाशित पुस्तक हो । यसमा लामा–छोटा गरी २० वटा कथा समावेश छन् । कलर नेपालले प्रकाशन गरेको १६४ पृष्ठको यस पुस्तकमा समावेश भएका कथाहरुको रचना गर्भ नेपाल, बेलायत र अष्ट्रेलियाको विभिन्न सामाजिक परिवेशमा आधारित छ ।
पुस्तकमा ‘गुलाफसँगको प्रेम’, ‘अपरिचित टेलिफोन नम्बर’, ‘अब्यक्त इच्छा’, ‘इमिली -मेरी छिमेकी’, ‘हरिमायाकी बुहारी’, ‘नागरिकता’, ‘अर्थविहीन पत्रहरु’, ‘बढ्दो सभ्यता’, ‘आप्रवासी मुटु’, ‘कालचक्र’, ‘राममाया’, ‘असम्झौताभित्रको सम्झौता’, ‘असाधारण मृत्यु’, ‘एकांकीपनले जन्माएको मानसिकता’, ‘आदर्शको सीमारेखा’, ‘लरेनका ड्याडीहरु’, ‘विखण्डित सपना’, ‘विचारहरुको द्वन्द्व’, ‘कथाकारको कथा’ र ‘विक्षिप्त मनको डायरी’ शीर्षकका कथाहरु समेटिएका छन् ।
‘अपरिचित टेलिफोन नम्बर’ कथामा नेपाली मूलकी आमा र बेलायतमा जन्मेकी छोरीबीचको अपेक्षा र व्यवहारबीचको अन्तरलाई देखाइएको छ । बेलायतमा बसे पनि आमाको अपेक्षा नेपाली आमाकै जस्तो हुन्छ भने बेलायतमा जन्मे हुर्केकी छोरीले एउटा घटनामा आमालाई दोषी देखाउँदै घर नै त्याग गर्छिन् ।
‘इमिली -मेरी छिमेकी’ अर्को बेलायतको परिवेशमा लेखिएको कथा हो । यस कथामा नेपाली दम्पत्ति र एक गैरनेपाली महिला छिमेकी हुन्छन् । श्रीमती छिमेकी गैरनेपाली महिलाको चियोचर्चो गर्नमा रुचि राख्छिन् तर उनलाई तिनै महिलासँग आफ्नो श्रीमानको अफेयर चलेको सुइँको समेत हुँदैन । प्रवासमा सम्बन्धहरु कसरी काँच जस्तो कच्चा हुन्छन् भन्ने यस कथामा राम्रोसँग बुनिएको छ ।

‘असम्झौताभित्रको सम्झौता’ मा प्रवास (बेलायत)मा रोजेको अवसर नपाउँदा परेको मानसिक असरलाई अत्यन्तै कुशलतापूर्वक चित्रण गरिएको छ ।
बाँकी कथाहरुमा कतै प्रवासमा आप्रवासीप्रति गरिने दोस्रो दर्जाको नागरिकको व्यवहार देखाइएको छ भने कतै प्रविधिले कसरी मानिसलाई आधारभूत कर्तव्यबाट विमुख गराइरहेको भन्ने सन्देश दिइएको छ । विश्वव्यापीकरणले परम्परा र आधुनिकताबीच उत्पन्न गराएको घर्षण, प्रवासको निर्मम जीवन, सार्वजनिक यातायातमा महिला हिंसा, नवोदित साहित्यकारमाथिको बेइमानी लगायतका विषयमा कथाहरु लेखिएका छन् ।
कथाहरु धेरै लाम नहुँदा एकै बसाइमा पुस्तक सिध्याउन सकिन्छ । लेखनमा सरलताले पढ्दा कुनै झर्को लाग्दैन । हरेक कथामा राखिएको स्केच (चित्र) ले कथालाई अझै आकर्षक बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री