अगष्टमा बेलायतको अर्थतन्त्रमा झीनो सुधार

लण्डन । बेलायतको अर्थतन्त्रमा अगष्ट महिनामा झीनो सुधार आएको छ ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सो महिनामा बेलायतको कुल ग्राहर्स्थ उत्पादनमा शुन्य दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक ड्यारेन मोर्गानका अनुसार बितेको तीन महिनामा बेलायतको अर्थतन्त्र कार उत्पादन तथा निर्माण क्षेत्रका कारण सामान्य वृद्धि भएको हो ।

बेलायतक अर्थमन्त्री जेरेमी हन्टले नयाँ तथ्याङ्कले बेलायतको अर्थतन्त्र ठीक बाटोमा गइरहेको देखाएको जिकिर गरेका छन् । उनले फ्रान्स र जर्मनीभन्दा बेलायतको अर्थतन्त्र कोभिडपछि छिटो वृद्धि भएको पनि दाबी गरेका छन् ।

उता ओएनएसले भने हडतालका कारण बेलायतको अर्थतन्त्रबारे पूर्ववत अनुमानलाई सच्याएको छ । उसले हडतालले बेलायतको आर्थिक वृद्धिमा शून्य दशमलव ५ प्रतिशत असर पार्ने बताएको छ । जुलाई महिनामा मात्र हडतालले शून्य दशमलव ६ प्रतिशत असर गरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

विश्लेषकहरुले भने बेलायतको अर्थतन्त्र अलिअलि बढ्न लागेको बताएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री