बेलायतमा मनाइयो महाकवि देवकोटाको जयन्ती

लन्डन । बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्ती प्रवचन, कवितावाचन, गीतसङ्गीत प्रस्तुति र पुरस्कार, सम्मान वितरण गरी मनाइएको छ ।
पश्चिम लन्डनकी एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्नु हुँदै परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली साहित्यमा नयाँनयाँ शव्दको उत्पति र छन्द निर्माण महाकविले गरेको चर्चा गर्नु भयो ।

राजदूत आचार्यले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्याउने काम महाकविले गरेको सो योगदान नेपालीहरूका लागि गर्वको इतिहास रहेको बताउनुभयो ।
राष्ट्रको शान बढाउन लागिपरेका व्यक्तित्वहरूलाई यसरी पुरस्कार, सम्मान गरेर परिषद्ले राष्ट्रिय भावना र कीर्तित्वलाई प्रोत्साहन पुर्याएको उल्लेख गर्नुहुँदै साहित्य तथा सङ्गीत र प्रवचनको मिश्रण रहेको देवकोटा जन्मजयन्तीको कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्याउने उहाँको धारणा थियो ।
समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यति संस्थाका पूर्व अध्यक्ष डा राघवप्रसाद धिताल ओबिईले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि भएको र उनले भाषा साहित्यको उच्च शिखर मात्र नचुमी शिक्षा मन्त्रीसमेत भएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएको बताउनु भयो । डा धितालले बेलायतमा नेपाली भाषा साहित्य कलाजस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको उल्लेख गर्नुभयो ।
परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देशहरू माझ गनिने गरेको चर्चा गर्नुहुँदै महाकवि देवकोटा बेलायतका सेक्सपियर र मिल्टन लगायतका विश्वका अति विशिष्ट सीमित साहित्यकारहरूमध्ये एक थिए भन्नु भयो ।

पुरस्कार र पुरस्कृत व्यक्तित्वहरू बारे प्रकाश पार्नुहुँदै शाहले राष्ट्रको सुरक्षा बोकेका सैनिक व्यक्तित्व नेपाली राजदूतावास बेलायतमा कुट्नितिक सेवामा आएको बेलामा पनि नेपाली भाषा साहित्यको समृद्धिमा परिषद्का साहित्यिक कार्यक्रमहरूमा निरन्तर सहभागिता राखेर राष्ट्रिय एकता र नेपाली पहिचानको भावना फैलाउन प्रोत्साहन पुर्याउनु हुने बृगेडियर जनरल रत्नबहादुर गोदार र नेपालको चलचित्र क्षेत्रमा विगत चार दशकदेखि अविछिन्न अभिनय कलाद्वारा योगदान पुर्याउनुभएका वरिष्ठ कलाकार लक्ष्मणबिक्रम बस्नेतलाई पुरस्कार र सम्मानले अभिनन्दन गरिएको बताउनुभयो ।


सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तीब्र गतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो । अध्यक्ष मल्लले महाकविको असीमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको धारणा व्यक्त गर्नु भयो ।
यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यति संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो । केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताउनु भयो ।
समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको बताउनु भयो ।
समारोहमा प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले सहायक रथी रत्नबहादुर गोदार र वरिष्ठ चलचित्र कलाकार लक्ष्मणसिंह बस्नेतलाई एनएलडिसी विशिष्ट सम्मान पत्र पुरस्कारद्वारा सम्मानित गर्नुभयो ।


राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका पूर्व अध्यक्ष स्वर्गीय ईश्वर मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको हालै निधन भएकोमा एक मिनेट मौन धारण गरी श्रद्धान्जली व्यक्त गरिएको थियो भने नेपालमा गएको भूकम्पमा परी धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै समवेदना प्रकट गरिएको थियो ।
समारोहमा सारङ्गी र गिटारमा मङ्गल धुन तथा महाकविका रचनामा धुन र गीतहरू परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा र परिषद्का कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत
गरिएको थियो भने महाकवि देवकोटाका कविताहरूको वाचन परिषद्का पूर्व अध्यक्ष कवि खगेन्द्र नेपाली र परिषद्का
सल्लाहकार कवि कृष्ण भट्टबाट गरिएको थियो ।
साहित्य र गीत सङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कविता वाचन गर्ने कविहरूमा हरिसिंह थापा, ध्रुव केसी, मदन थापा, मनोज अन्जान, कृष्ण भट्ट, कोमल मल्ल र सुरेशजङ्ग शाह हुनुहुन्थ्यो ।
सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा राघवप्रसाद धिताल र डा जनककुमारी धिताल, सल्लाहकार खगेन्द्र नेपाली, घनबहादुर थापा, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, पूर्व अध्यक्ष हरिसिंह थापा, देवकुमारी थापा, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, मदन थापा, कोषाध्यक्ष मनोज अन्जान,पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, महासचिव वीरेन्द्र कुँवर, इन्दिरा कुँवर, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लमा धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री