अन्तिम वार्तामा गोरखाका तीन प्रतिनिधि रहने, पेन्सन पहिलो प्राथमिकता

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच चलिरहेको द्विपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ ।

अन्तिम वार्ता यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने तय भएको छ ।

सो वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गर्नुहुने भएको छ भने नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा हेर्ने सहसचिव पनि आउनुहुने भएको छ ।

वार्ताको तयारीका बारेमा शुक्रबार लण्डनस्थित नेपाली दुताबासमा गोरखा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरूसहित भएको छलफलमा सो वार्तामा गोरखाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुङ्गो लागेको छ । यसअघिका वार्तामा भाग लिँदै आउनुभएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङका अलावा यसपटक गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनुहुने वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम वार्तामा गोरखा सत्याग्राहीहरूले समेत भाग लिन इच्छा व्यक्त गरेपछि थप दुई जना गोरखाका प्रतिनिधिहरू सरिक गराउन बेलायती रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

छलफलमा गोरखा भूतपूर्व सैनिक संस्थाहरूका प्रतिनिधिहरूले अन्तिम वार्तामा पेन्सन पहिलो माग हुनुपर्नेमा एक श्वर भएका छन् । पहिले पेन्सनको मागमा टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडी बढाउनु पर्ने उनीहरूको अडान छ ।

छलफलमा राजदुत आचार्यले पनि नेपाल सरकारको भनाइ पनि गोरखाहरूको जस्तै पेन्सनलाई नै वार्ताको पहिलो प्राथमिकता बनाउनुपर्छ भन्ने रहेको र सोही कुरा उठाउने बताउनुभएको तामाङले जानकारी दिए ।

छलफलमा राजदुताबासबाट राजदुत आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचरी रत्नबहादुर गोदार हुनुहुन्थ्यो भने गोरखाहरूका तर्फबाट सत्याग्राहीहरू ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, गोरखा सत्याग्रह संयुक्त स‌ङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति क्षेत्रकला राई, शेर सुनार र मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री