प्रेम गाहा अध्यक्ष रहेको एनआरएनए यूकेको ‘रोडम्याप’ सार्वजनिक

लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ ।
शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिंदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन् ।
उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएसंग आवद्ध हुने, च्यारिटी डिनर गर्ने लगायत जानकारी दिंदै ७० हजार पाउण्ड व्यक्तिका नाममा ट्रान्सफर र एनआरएनए यूकेको आर्थिक घोटालासम्बन्धी मुद्दा खारेज भएको सम्बन्धमा उठेका जिज्ञासाबारे समेत स्पष्टीकरण दिए ।
‘संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कँदो साख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले माथिका विकृति विसंगति विरुद्ध लडिरहेको र डा. शेष घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं ।’
अध्यक्ष गाहामगरले बेलायतमा पढ्न आएकी २१ वर्षीया सदीक्षा तामाङको निधनपछि उनको अन्त्येष्टीका लागि उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स (करिब १७ लाख रुपैयां) चन्दा तत्कालिन उपाध्यक्ष सुनिलबाबु खड्काले कब्जा गरेको समेत आरोप लगाए ।
‘गत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ‘त्यो पैसा हाम्रो हो’ भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले विवादका कारण खाता ’सस्पेन्ड’ गरिदिएको छ’, गाहामगरले भने, ’मैले बैंकलाई १४ पटक इमेल गरेपनि पीडितको हातमा सहयोग पुगेको छैन् । एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरे । अब हामी कानूनी उपचार खोज्नुबाहेक विकल्प रहेन ।’
गत ४ अगष्ट २०२१ मा नयाँ कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी अध्यक्ष प्रेम गाहामगर थिए । तर सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरी च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चेअरमेन बनाइ आफूलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाएपछि बैंकले खाता निलम्बन गरेको गाहामगरको भनाइ छ ।
अध्यक्ष गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको र यसलाई थप सशक्त बनाउने पनि उद्घोष गरेका छन् । आन्दोलन लन्डनस्थित नेपाली दूतावासबाट शुरु गर्ने उनको चेतावनी छ ।
’गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन हामीले सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो यो आन्दोलन अब विश्वभरका नेपालीहरुको सहकार्यमा अगाडि बढ्नेछ । यसमा पत्रकारमित्रहरुबाट साथ सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौं’, उनले भने ।
गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरी सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरी कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष विगतदेखि नै जोडदार माग राख्दै आएको छ ।
अध्यक्ष गाहामगरले एनआरएनए यूकेको ७० हजार पाउण्ड निजी खातामा ट्रान्सफर भएको सम्बन्धमा पनि प्रष्टिकरण दिएका छन् । गत फेब्रुअरी ६ तारिख सम्पन्न भएको कार्यसमिति बैठकले ’माइन्यूटिङ’ गरी उक्त रकम कार्यालय सञ्चालन र अन्य खर्चका लागि कोषाध्यक्ष र सह–कोषाध्यक्षको नाममा ३५÷३५ हजार पाउण्डका दरले सारिएको उनले स्वीकारे ।
अध्यक्ष गाहामगरले गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप भएको पनि जनाए ।
एनआरएनए यूकेको अघिल्लो कार्यसमितिमा आर्थिक अनियमितता भएको भन्दै तत्कालिन चार उपाध्यक्ष प्रेमगाहा मगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले कानूनी प्रक्रिया अगाडि बढाएकामा गत महिना यो मुद्दा खारेज गरिएको गाहामगरले जनाए । तर, यो केस मिलाएको क्रेडिट पनि सुनिलबाबु खड्काले लिएको भन्दै गाहामगरले आक्रोश पोखे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री