मृतक हिँडिरहेको शहर भ्यानकुभर -२

नियात्रा

भ्यानकुभर पश्चिमी क्यानाडाको चर्चित शहरमात्र नभएर एउटा मुख्य व्यापारिक केन्द्र पनि हो । लगभग साढे ६ लाख जनसङ्ख्या भएको उक्त्त शहरको नाम ‘जर्ज भ्यानकुभर’ देखि राखिएको थियो ।

जर्ज भ्यानकुर २२ जुन १७५७ मा किङ्सलेन, नोरफ्लोक, इङ्ल्याण्डमा जन्मेका हुन् । पेशाले उनी जल सैनिकका कप्तानसम्म भएका थिए । सोही अवसरमा उनले सन् १७९१-१७९५ सम्म लगभग चार वर्ष उत्तर पश्चिम अमेरिकाको प्रशान्त तटीय क्षेत्रको गहन अध्ययन गरेका थिए । ४० वर्षको अल्पायुमा अथवा सन् १७९८ मृत्यु भएका भ्यानकुभरको पुच्छर भ्यानकुभर भन्ने शब्द ‘भ्यान कोभर्डन’ चाहिँ कोभर्डन द नेदरल्याण्डको एउटा सानो गाउँदेखि आयातित शब्द हो ।

केहीबेरपछि कार फेयरमोन्ट होटलको आगनमा पुगेर सुस्तरी रोकिन्छ । कार रोकिएपछि, ‘ल आइपुगियो है,’ चालकले पहिले मुख खोल्छ । उनको कुरो सुनेपछि आँखा मिच्दै मिच्दै ताराले, “सुती सुती भ्यानकुभरको रात्रिकालिन यात्रा गरियो,” भनेर पहिलो शब्द छाड्छिन् । म उनको कुरोलाई सुनेपनि नसुनेझैं गर्छु र यसो सिसादेखि बाहिरतिर हेर्छु । तर अचानक त्यसबेला मेरो सिटको ढोका नजिकै एकजना लामो लामो दाह्रीजुङ्गा पालेको ढोके (बेलब्वाइ) टकटक हिँडदै आइपुग्छ । ऊ ढोकाको नजिक आउने बितिक्कै सुस्तरी कारको ढोका खोल्छ ।

अनि उनले ढोका खोल्दै गर्दा, “महाशय ! बेलुकीको नमस्ते ! यहाँहरुलाई फेयरमोन्ट भ्यानकुभरमा न्यानो स्वागत छ,” भन्दै हामीलाई स्वागत गर्छ ।

प्रत्यूत्तरमा म उनलाई, “धन्यवाद भन्छु,” र कारदेखि बाहिर निस्कन्छु ।

उनको छेउमा अर्को एकजना बेलब्वाइ पनि छ । ऊ पहिले हामीलाई देखेर एकपटक नक्कली हासो हाँस्छ । त्यसपछि थोरै हिँडेर होटलको खम्बा छेउमा जान्छ र त्यहाँ अडिरहेको जमिनमा गुडाउन मिल्ने एउटा ट्रली लिएर कारको पछाडी पुग्छ । ऊ त्यहाँ पुगेपछि चालकले डिकी खोलेर एक, दुई, तीन र चार भन्दै ४ वटा सुटकेसहरु गनेर थपक्कै ट्रलीमा राखिदिन्छ । सुटकेसहरु ट्रलीमा लोड गरेपछि त्यो बेलब्वाइ सरासर होटलभित्र पस्छ ।   

म जुन ‍ठाउँमा कारदेखि झरेको थिएँ त्यसबेलासम्म त्यहीँ ठाउँमा उभिएर सबै कुरोको रमिता हेरिरहेको हुन्छु । बेलब्वाइ होटलभित्र छिरेपछि चालक मेरो नजिकै आउँछ र अन्तिमचोटी मसँग बिदा माग्छ । वास्तवमा मैले चालक र होटलको पैसा बेलायतदेखि नै अग्रिम भुक्त्तानी गरेको थिएँ । तैपनि उत्तर अमेरिकन संस्कृतिमा टिप्स दिइएन भने पर्खिरहने चलन भएको हुनाले चालकलाई गोजिदेखि क्यानेडियन १० डलर निकाल्छु र उनको हातमा थमाइ दिन्छु ।

त्यसपछि चालकले आफ्नो बाटो तताउँछ । चालकसँग बिदा भएपछि हामी मुख्य द्वारदेखि सरासर होटलभित्र पस्छौँ । होटलभित्र पसेपछि मेरा सहयात्रीहरु थपकथपक आरामदायी सोफामा बसेर आराम गर्न थाल्छन् । तर म चाहिँ हातमा राहदानी बोकेर सिधै रिसेप्सनमा पुग्छु । होटलको रिसेप्सनमा पुगेपछि दुईजना सुन्दरी स्वागतिका युवतीहरुको मज्जासँग नजर लगाउन सकिन्छ । उनीहरुमध्ये एकजना चिनियाँ मूलकी हुन् भने अर्की क्यानेडियन नागरिक होला भनेर म अड्कल काट्छु । चिनियाँ युवतीभन्दा अर्की झन् राम्री देखिन्छे तर म आफू पनि एशियन परियो भनेर चिनियाँ युवतीको अगाडी पुग्छु । म त्यहाँपुग्दा उनी कम्युटरमा घोत्लिरहेकी भएतापनि मलाई देख्ने बितिक्कै “एकछिन है,” भन्छिन् ।

मैले जवाफ दिने क्रममा, “हुन्छ हुन्छ, केही फिकर छैन,” भन्छु । 

उनी एकछिनपछि, “मलाई माफ गर्नोस् है,” भन्दै मतिर फर्किन्छे  ।

“ठीकै छ नि,” भनेर म मेरो राहदानी उनको अगाडी टेबलमा राखिदिन्छु । उनले राहदानीलाई एक झलक जाँच गर्छिन् र खरर कम्प्युटरको प्रिन्टरदेखि एक पाना कागज प्रिन्ट गरेर टेबलमा राख्छिन् ।

त्यसपछि, “यहाँ दस्तखत गर्नु होला ?” भन्दै अनुरोध गर्छिन् ।

उनले देखाएको कागजलाई पहिले म एकसर्को पढ्छु । अनि कागजमा मेरो घरको ठेगाना लेख्ने स्थानमा ठेगाना लेखेर खाली ठाउँ भरिदिन्छु । त्यसपछि किरिङमिरिङ गर्दै सही गरेर कागज उनलाई फिर्ता दिन्छु । उनले कागज लिँदै गर्दा, –

“तपाईहरुको कोठा पाचौं तलामा रहेका छन् । त्यहाँ जानको लागि सीधै अगाडी जानु होस् । अनि पहिले बायाँ घुम्नोस् त्यसपछि केहीबेर हिँडेपछि फेरि बायाँ घुम्नोस् । त्यसबेला तपाईहरु लिफ्टको सीधै अगाडी पुग्नु हुन्छ । त्यसपछि पाँच तलामा जानु होला,” उनको हातले बायाँ बायाँ देखाउँदै सानो स्वरमा त्यति भन्छिन् ।

उनले त्यति भनि सकेपछि, “धन्यवाद,” भन्छु र कोठाको चाबी (कार्ड) बोकेर सुइँसुइँ हिँड्छु । अलिक अगाडी हिँडेर सोफाको सामुन्ने पुगेपछि मेरा साथीहरुलाई, “लु ! लागौँ,” भन्छु । उनीहरु निन्द्राले आकुल र व्याकुल देखिएका छन् । तैपनि मेरो कुरो सुनिसकेपछि उनीहरु मेरो पछिपछि आउन थाल्छन् । तर थोरै अगाडी हिँड्ने बितिक्कै होटलभित्रको डिजाइनर दोकानहरु प्राडा, एलभी र रोलेक्स इत्यादि धमाधम देखिन सुरु हुन्छ । रातको समय भएतापनि बत्तीको प्रकाशले सिसा बाहिरबाट दोकानहरु टलल टल्केका देखिन्छन् । त्यति राम्राराम्रा डिजाइनर दोकानहरु देखिएपछि थोरै र्याल काढ्दै, –

“वाह ! होटलभित्रको दोकानहरु त एकदम दामी रहेछ ?” ताराले अचानक मुख खोल्छिन् ।

“अब भ्यानकुभरको होटल पनि नराम्रो भयो भने कुन ठाउँको राम्रो हुन्छ होला र ?” हतारहतार ताराको ‍मुख बन्द गर्छु ।

“हेर न खोक्नु भएको ?” उनको प्रतिकृया आउँछ ।

दोकानहरु पार गरेपछि स्वागतिकाले भनेझैँ फेरि बायाँ मोडिन्छौँ र क्रमशः अगाडी बढछौं । त्यसपछि एउटा लिफ्टमा चढेर आ-आफ्नो कोठामा पुगेर आराम गर्छौं ।

वास्तवमा यो होटलको नाम ‘फेयरमोण्ट भ्यानकुभर’ हो । यो होटल भ्यानकुभरको सबैभन्दा प्रख्यात होटल भएकोले मैले जिन्दगीमा एकचोटी त्यहाँ बस्ने रहर गरेको थिएँ ।

९०० पश्चिम जर्जिया सडकमा रहेको यस होटलको पुरानो नाम ‘होटल भ्यानकुभर’ थियो । ब्रिटिश कोलम्विया, भ्यानकुभर शहरको ब्यापारिक जिल्लामा रहेको यो होटलको निर्माण सन् १९३९ मा भएको हो । १ सय १२ मिटर दशमलव ४७ सेन्टिमिटर अग्लो यस होटलको निर्माण हुँदा यो तत्कालिन समयमा भ्यानकुभर शहरको सबैभन्दा अग्लो बिल्डिङ भएको थियो । क्यानेडियन आर्किटेक द्वय जोन स्मिथ र जोन स्कोफिल्डले डिजाइन गरेको यस होटलमा एउटा पौडी पोखरी र जम्मा ५ सय ७ वटा कोठाहरु अनि यस्मा १७ तलाहरु रहेका छन् ।

फेयरमोण्ट होटलको उद्घाटन तत्कालिन बेलायती राजा जर्ज चौथा र उनको छोरी युवराज्ञी इलिजाबेथले गरेका हुन् । किनभने तत्कालिन समयमा बेलायती राजा र युवराज्ञी क्यानाडाको राजकीय भ्रमणमा थिए । आफ्नो बाबुको मृत्यु भएपछि छोरी इलिजावेथले ७० वर्ष बेलायतमा शासन गरेर उनको पनि सन् २०२२ मा स्वर्गारोहण भइसकेको छ ।

होटलको इतिहास जेसुकै भएतापनि होटलमा बिहानीको खाजा खाएर हामी होटलदेखि बाहिर निस्कन खोज्दैछौं । यसरी बाहिर निस्कन खोज्दा बिहानीको समय ९ बजिसकेको हुन्छ । यस होटलदेखि बाहिर निस्कनको लागि पूर्व, पश्चिम, उत्तर र दक्षिण गरेर चार-चार वटा मूलढोकाहरु रहेका छन् । तर गत राति हामी होटलमा कुन ढोकादेखि भित्र पसियो होला भनेर एकछिन अलमलमा पर्छौ र एकअर्कामा थोरै गलबाजी गर्न थाल्छौं ।

“भो भो ढिला नगरौं । आ ! जाउँ जाउँ,” वादविवाद नसकिएला जस्तो लागेर म त्यसो भन्छु । त्यसपछि होटलदेखि बाहिर निस्केर सर्लक्कै दाहिनेतिर घुम्छौं र सीधै अगाडी रहेको बुराड सडकतर्फ हानिन्छौं ।

बुराड सडकमा बिहानीको समय छ । त्यसैले सडक त्यति व्यस्त देखिँदैन । तिनै सडकको किनारै किनार हिँड्दै गर्दा होटललाई परिदृश्यमा राखेर एउटा सानो टिकटक बनाइ हाल्छु । के गर्ने र ? फेसबुक र टिकटकको जमाना छ । अनि हज्जारौँ हजार मित्रहरुले सामाजिक सन्जालमा मलाई पछ्याइरहनु भएको छ । त्यसैले घरदेखि बाहिर निस्कने बितिक्कै कुन होटलमा बस्यो । के खाना खायो र कतातिर भ्रमण गर्यो होला भनेर मेरा मित्रहरुलाई उत्सुकता भइहाल्छ । अझै सबैभन्दा बढी उत्सुकता त बुईपा, खोटाङ्‍मा बस्नु हुने मेरो आमाबाबु तथा दाजुभाइ दिदीबहिनीहरुलाई पो हुने गर्छ । त्यसैले मङ्सिर महिनाको पारिलो घाममा धान काट्दै गर्दादेखि रक्सी पार्नको लागि कोदोको बाला टिप्दै गर्दासम्म उहाँहरुले मेरो टिकटकको ‍भिडियोहरु हेर्ने गर्नु हुन्छ ।  

अनि उता स्वदेशमा भएका मान्छेहरुले वास्तवमा विदेश कस्तो हुन्छ होला ? राम्रो हुन्छ कि नराम्रो हुन्छ होला ? कुन देशमा बढी पैसा कमिएला ? तर कुन देशमा चाहिँ दुःख मात्र होला ? नानाथरीको प्रश्नहरुले उहाँहरुलाई असाध्यै कौतुहल लागिरहेको हुन्छ । त्यसैले घर बाहिर घुम्न निस्कदा बर्ज अल अरब होटल दुबईको २७ तलामा रहेको अल मुन्ताहा रेष्टुँरामा आरामले बसेर अरेबियन सागरको दृश्यवलोकनसँग छैटौँ तहको वागागु गोरुको मासु काट्दै गरेकोदेखि ग्रेटवाल बेइजिङ्मा चिसो हावा खाँदै गरेको भिडियोहरु सामाजिक सँजालमा हालेको छु । त्यतिले मात्र सामाजिक सँजाल के मान्थ्यो र ? पिसा इटाली चढ्दै गरेकोदेखि र आइफेल टावर पेरिसदेखि झर्दै गरेको दृश्य पनि उहाँहरुसँग बाँडिसकेको छु । झन् मैले नायग्राको झरनामा रमेकोदेखि मृत सागरमा डुबुल्की मारेको दृश्यहरु पनि केही केही बाँकी राखेको छैन ।

टिकटकमा भिडियोहरु हाल्ने क्रममा अहिले पनि सडकको किनारमा हिँड्दै गर्दा त्यति प्रसिद्ध फेयरमोण्ट होटलको सुन्दर दृश्यलाई १५ सेकेण्डको भिडियो कैद गरेर टिकटकमा पोस्ट्याएर संसारभरि पठाइ हाल्छु । त्यसपछि हाम्रो यात्रा क्रमशः अगाडी बढ्दै जान्छ । तर त्यसरी हिँड्दै गर्दा हामीलाई हल्का जाडो भएको महसुस हुन्छ । अब क्यानाडा छुट्टीमा छौं । त्यसैले मनमा एकरति पीर छैन् । थोरै जाडो भइरहेको छ ।

“दाइ ! यहीँ अगाडी म्याग्डोनाल्ड रहेछ एक-एक कप कफी पिऊँ है ? हल्का जाडो भइरहेको छ” मेरो सीधै पछाडीबाट कृष्णले त्यसो भनेको सुनिन्छ ।  

“पिउने भए पिऊँ । जाबो एक कप कफी पिउन पनि के को आइतबार कुरिरहनु पर्छ र,” जवाफ फर्काउछु ।

मैले त्यति भनिसकेपछि हामी बिस्तारै म्याग्डोनाल्डभित्र छिर्छौं । भित्र पस्ने बितिक्कै म सरासर काउन्टरमा पुगिहाल्छु र त्यहाँ काम गर्ने एकजना श्वेत वर्णकी कलिली युवती बेयरालाई एउटा हरियो चिया र तारालाई एउटा लाट्टे कफी बनाइ दिनुहोस् न भनेर माग्छु । उनले मेरो कुरो सुन्ने बितिक्कै, “महाशय ! यहाँ होइन । ऊ पर भित्तामा बोर्ड छ । तिनै बोर्डमा मेनु पनि छ । त्यहीँ मेनु हेरेर अर्डर गरेपछि पैसा तिर्नु होला ? अनि यहाँ लिन आउनु होला” दाहिने हातले त्यता देखाउँदै मलाई भन्छिन् ।

प्रत्यूत्तरमा, “ए ! ल ल हुन्छ,” भन्छु । तर गाँठे ! जमाना पनि कस्तो आयो रहेछ । हेर ! अब सीधै भित्तामा अर्डर गर्नुपर्ने । मेरो मनमा कताकता त्यस्तो लाग्छ । उनले त्यसो भनेपछि बिजुलीको गतिमा फरक्कै पछाडी फर्कन्छु र उनले भनेबमोजिम बोर्डमा गएर एउटा चिया र अर्को कफीको अर्डर गर्छु । त्यसपछि गोजिदेखि मोन्जो कार्ड निकालेर पैसा तिर्छु । तर पैसा तिर्ने बितिक्कै मोन्जोको कार्यालयले मोबाइलमा टिङलिङ्गै यति पैसा घट्यो है भनेर तत्काल सूचना प्रदान गर्छ । यसो मोबाइलको स्क्रिन हेर्छु र मैले त्यहाँ खर्च गरेको पैसा ठीक हो वा होइन भनेर यकिन गर्छु । त्यसपछि सुस्तरी हिँड्दै सीधै काउन्टरमा पुग्छु । बेयाराले, “लौ लिनुहोस्,” भन्दै दिएपछि म एक हातमा चिया र अर्कोमा कफी बोकेर तारा बसिरहेको स्थानमा पुग्छु ।

कृष्ण र बहिनी अहिलेसम्म बोर्डमा नै छन् । अझै के के पिउने होला भनेर उनीहरु एक आपसमा छलफल गर्न नै व्यस्त देखिन्छन् । बिहानीको समय १० बज्नै लागेको छ । जस्ले गर्दा यो म्यागी रेस्टुँरा त्यति व्यस्त देखिँदैन । एकछिनपछि भाइ र बैनी पनि हातमा एक एकवटा कफी बोकेर हाम्रो नजिक आइपुग्छन् । तर उनीहरु हाम्रो नजिक आउँदै गर्दा एकजना घरवारबिहीन जस्तो मानिस पनि उनीहरुलाई पछ्याउँदै पछ्याउँदै हामी बसिरहेको स्थानमा उपस्थित जनाउँछ ।  

“आम्मै नि ! यो कस्तो मान्छे हो ?” उनलाई देख्ने बितिक्कै ताराको पहिले मुख खोलिन्छ ।

उनको कुरो सुनेपछि म त्यो मानिसलाई राम्ररी हेर्न थाल्छु । ऊ लगभग ६ फिट जति अग्लो छ । तर सम्भार नपुगेर हो कि खै के ले हो त्यति कलिलै उमेरमा ऊ हल्का कुप्रो पर्न लागेको जस्तो देखिन्छ । मलाई जहाँसम्म लाग्छ उसले ४०-४२ हिउँदहरु पनि मज्जाले काटेको छैन होला ? तर कति चाँडो कुप्रो परेको मान्छे मनमनै सोच्छु ।

उसले शरीरको माथिल्लो भागमा एउटा मामुली भेस्ट र त्यसको बाहिर चेन नलाइएको तर छिद्रछिद्र परेको मैला ज्याकेट लगाएको छ । ज्याकेटको मुनीको भाग फाटेर जीर्ण देखिन्छ । उनले पुरानो एउटा सुरुवाल लगाएको छ । खुट्टामा जताततै दुलो परेको जुत्ता लाएको छ । मान्छे स्वभावैले अल्छी रहेछ भन्ने कुरो उसले लगाएको जुत्तादेखि म चाल पाउँछु । किनभने उसले दुवै जुत्तामा लेसहरु बाँधेको छैन । त्यतिक्कै फङ्लङ फङ्लङ हिँडिरहेको छ ।

उसको त्यो स्थिति देखेर मलाई कताकता अफ्ठ्यारो लाग्छ । त्यसैले म उसलाई झन् मज्जाले नियालेर हेर्न थाल्छु । उसले निक्कै लामो समयसम्म कपाल र दाह्री जुङ्गा काटेको छैन । शरीरदेखि निस्केको गन्धले ऊ महिनौँ ननुहाएको प्रष्ट हुन्छ । अब त्यस्तो मान्छेले हाम्रोसामू ठिङ्गै उभिएर हामीलाई क्वारक्वारती हेरिरहन्छ । हामी चिया पिउँदै गर्दा उसको त्यो हेराइले मलाई झन् असहज बनाउँछ ।

उसको टिठलाग्दो त्यो हेराइले मेरो हृदयको हरेक कुना कुनामा छुन थाल्छ । अचानक म त्यसबेला मैले बाल्यकालमा  दरिद्रतासँग कुस्ती खेल्दै गरेको त्यो क्षणलाई स्मरण गर्न थाल्छु । उसको त्यो हालत देखेपछि भोटोको गोजीमा बासी ढिँडोको टुक्रा बोकेर बाख्रा गोठाला गएको समयलाई सम्झन्छु । अनि गाउँमा अरु कसैले मीठो खाएको वा राम्रो लगाएको म त्यसरी नै हेर्ने गर्थेँ भनेर याद गर्छु । अथवा उसको अहिलेको जुन स्थिति छ, त्यो स्थिति मेरो पहिले थियो भनेर झस्किन्छु ।  

त्यति सोचि सकेपछि मेरो हृदय भक्कानिएर आउन थाल्छ । जिन्दगीमा दुःख पाउनु जतिको नराम्रो अन्य चिज हुँदैन है भन्ने निचोडमा पुग्छु । त्यसैले अब रेष्टुराँ बाहिर जाडो छ । म उसलाई पनि एककप कफी किनिदिने निधो गर्छु । तर सबैभन्दा पहिले, –

“मित्र ! तपाई ठीक त हुनुहुन्छ नि, होइन र ?” भनेर एक बचन सोध्छु । मेरो बोली सुनेर ऊ खिस्स हाँस्छ तर उसको बोली फुट्दै फुट्दैन ।

ऊ मसँग एकरति पनि बोल्दै नबोलेपछि, “कि यो मान्छे लाटो हो ?” तारालाई सुनाउँछु ।  

“लाटो साटो होइन ? मान्छे अलिक अर्कै खालको रहेछ । भैगो अब उसलाई नबोलाउनु होस् है । वा भरै झगडा पो गर्न खोज्छ कि ?” ताराले सुस्तरी मेरो कान फुक्छिन् ।

“यस्तो जाबो मरन्च्याँसे मान्छेले मसँग के झगडा गर्छ र ? म पनि नाडीमा जोर हड्डी भएको पूर्व बेलायती गोर्खा सिपाहीँ पो हुँ त । त्यही माथि बहादुरहरुको पनि बहादुर । के म तिमीलाई मेरो दाहिने पाखुराको तागत देखाइ दिउँ ? अझै तिमीलाई के थाहा छ म सगरमाथाको हिऊँ पग्लेर झरेको दुधकोशीको पानी पिएर हुर्केको छोरो भनेर,” तारालाई थर्काउन खोज्छु ।

“लु भो भो, पर्दैन । तपाइई मैले नचिनेको बिष्ट पर्नु भएन क्यारे । हाम्रो बिहेवारी गरेर सँगसँगै बसेको नै ३६ वर्ष भइसक्यो । तपाई कति डरपोक हुनुहुन्छ भनेर मलाई राम्रैसँग हेक्का छ,” जवाफ फर्किन्छ ।

हाम्रो वादविवाद सुनेर, “होइन यस्को आँखा पनि रातोरातो देखिन्छ । दिदीले भने जस्तै यस्ले पक्कै पनि नखाने कुरो खाएको जस्तो छ । भो भो यसलाई बोलाउन छाडी दिउँ,” कृष्णले सानो स्वरमा सल्लाह दिन्छ ।  

भाइको कुरो सुनेपछि हिजो बेलुकी चालकले भनेको एउटा कुरोको मनमा झल्याँस्स याद आउँछ । ”आजभोलि यस शहरमा ज्यादै धेरै घरवारबिहीन मानिसहरु ओइरेका छन् । यदि तपाईहरु चाइना टाउन जानुहुन्छ भने एकदम ख्याल गर्नु होला । मेरो विचारमा त तपाईहरु भरसक उतातिर नगएको नै जाति हुन्छ”, उनले भनेका थिए । अहिले त्यो मान्छेलाई देख्दा साँच्चै चालकले भनेको कुरो सत्य हो कि के हो जस्तो लाग्न थाल्छ ।

नभन्दै एकछिनपछि ऊ जस्तै देखिने अर्को एकजना मान्छे पनि हाम्रो नजिकै आइपुग्छ । ऊ त्यहाँ आएपछि उनीहरु एकअर्कामा हेराहेर गर्छन् तर एक आपसमा बोलचाल गर्दैनन् । दोश्रो मान्छे चाहिँ पहिलेको भन्दा अलिक होचो कदको छ तर पहिलेकोभन्दा झन् कुप्रो देखिन्छ । त्यसैले ऊ बिस्तारै मात्र हिँड्न सक्छ । अब उसको पनि लुगाफाटाको वर्णन गर्ने हो भने काटिकुटी पहिलेकै मान्छेको जस्तो छ । उनीहरु दुईजनालाई देखेपछि मलाई मनमा हल्का चिसो पस्न थाल्छ ।

मानिसको जीवनमा सबै कुरोको पूर्णता भएतापनि आफ्नो अगाडी सुन्दर दृश्यको आवश्यकता पर्ने रहेछ भन्ने कुरो मैले त्यसबेला अनुभूति गरें । जतिबेला मैले आफ्नो आँखा अगाडी मानव जीवनको एउटा दुखान्त चित्र देखें ।

भ्यानकुभरमा बिहानी पखको हल्का जाडो छ । त्यस्तो मौसममा म तातो तातो चियाको स्वाद लिइरहेको मान्छे । तर मेरो अगाडी दुई दुःखी मानिसहरु देखा परेपछि म झन दुःखित भएँ । अब यिनीहरु भ्यानकुभरको यस्तो जाडोमा रातभर कहाँ सुते होलान् ? बेलुकी के खाए होलान् ? मेरो मनमा अनेक थरिका प्रश्नहरु बर्सिन थाल्छन् । व्यर्थैमा मन उथलपुथल हुन्छ र कताकता खुल्दुली पैदा हुन्छ । तर अर्को मनले भन्छ । अब यहाँ बसिराख्यो भने यस्ता मान्छेहरु नजाने कति धेरै आउँछन् । बरु चल भैरे ।

“होइन ! चाँडो चाँडो चिया पिएर यहाँदेखि टाप ठोकौँ है” सबैले सुन्ने गरी भन्छु ।

“हो हो जानु पर्छ । वास्तवमा ठाउँ राम्रो रहेनछ,” कृष्णले होमा हो थप्छ ।

त्यसपछि हामी बसिरहेको ठाउँदेखि जराकजुरुक उठ्छौं । र, सुस्तरी हाम्रा कदमहरु अगाडी बढाउन थाल्छौं । रेष्टुराँको ठीक बाहिर पट्टी ८-९ वटा खुडकिलाहरु छन् । जहाँदेखि मुख्य सडकमा पुग्न सकिन्छ । तिनै खुडकिलाहरुमा म सबैभन्दा अगाडी हिँडिरहेको हुन्छु र खुड्किलाको टुप्पामा पुगेर “थैइया ! म्याकडोनाल्ड, यो टिल्कामा नआउनु थियो छ । बीच्चैमा मन मात्र बिगार्यो,” भन्दै पछाडी फर्केर एकचोटी गाली गर्छु । तर त्यसरी पछाडी हेर्दा त त्यो अघिको अग्लो मान्छे त खिस्स हाँस्दै हाँस्दै हामीलाई पछ्याइरहेको देख्छु । अब उसलाई देखेपछि मेरो मुटुको चाल हल्का बढेको आभाष हुन्छ ।

“त्यो मान्छेले पछ्याइरहेको रहेछ । अब के गर्ने हौ ?” सबैले सुन्ने गरी भन्छु ।

कृष्णले, “केही नगर्ने सरासर आफ्नो बाटोमा हिडौ,” भन्छ ।

“लौ लौ त्यसै गरौँ,” भन्छु ।

त्यसपछि हामी बुराड सडक किनारमा अलिक चाँडोचाँडो हिँड्न थाल्छौं र त्यहाँदेखि क्यानाडा प्लेसतर्फ हानिन्छौं । खान नपाएर मर्न लागेको जस्तो देखिने त्यो मान्छे हामी जतिको गतिमा हिँड्न सक्त्तै सक्तैन । त्यसैले हामीलाई भेट्न उसलाई मुस्किल पर्छ । नभन्दै अलिक अगाडीको ट्राफिक बत्तीमा ऊ मज्जाले हाम्रो पछाडी छाडिन्छ । त्यसपछि हाम्रो मन ढुक्क हुन्छ र क्रमशः हाम्रो यात्राले पुनः गति पाउँछ ।   

वाटरफ्रन्टमा भएको क्यानाडा प्लेसमा पुगेर हामी केहीबेर त्यहाँको दृश्यसँग रम्छौं । जहाँदेखि भ्यानकुभर शहरको झन् धेरै सुन्दर दृश्य अवलोकन गर्न मिल्छ । हेर भ्यानकुभर ! तिम्रो नाम सुनेदेखि तिम्रो वक्षस्थलमा खेल्न आउनको लागि मैले ३५ वशन्तहरु कुर्नु पर्यो । मनमनै भन्छु ।

अझै त्यहाँको सबैभन्दा राम्रो पक्ष भनेको उही समुन्द्रदेखि आउने शीतल सामुन्द्रिक हावाले मात्र नभएर पश्चिमी भ्यानकुभरमा भएको डाँडाकाँडाहरुबाट आएको स्वच्छ हावाले दिमाग नै ठण्डी गराउँदछ । ती डाँडाकाँडाहरुको सुन्दरताको विषयमा म यहाँ के बयान गर्नु सक्छु र ? जति गरेपनि अपूरो वा अधूरो नै हुन्छ । झन् हिउँदे समयमा हुँदो हो त ती डाँडाहरुमा छपक्कै हिउँले ढाकेको रमणीय दृश्य देखिन्यो होला भनेर कल्पना गर्छु ।

अ त्यहाँदेखि देखिएको त्यति दृश्यले मात्र हाम्रो मन मान्दै मान्दैन् । त्यसैले हामी सुस्तरी हिँड्दै हिँड्दै केही अगाडी बढ्छौं । त्यतिबेला हाम्रो नजिकै सामुन्द्रिक तटमा एउटा निक्कै ठूलो बन्दरगाह (पोर्ट अफ भ्यानकुभर) देखा पर्छ । जुन स्थानमा हरेक बिहान एउटा वा दुईटा यात्रुबाहक पानीजहाज (क्रुज) आएर रोकिने गर्दछ ।

आज चाहिँ हलेण्ड डि अमेरिकाको अठार तले तर हेर्दा अचम्मैको ठूलो वा बडेमाको देखिने एउटा पानीजहाज आएर त्यहाँ रोकिएको रमणीय दृश्य देख्न सकिन्छ । पानीजहाजको १७ तलामा केही मानिसहरु हात हातमा चिया वा कफी लिएर हामीमुनी जमिनमा हिँडिरहेको मानिसहरुलाई रमिता हेरिरहेका हुन्छन् । हामी पनि उनीहरुलाई देखेपछि के कमको छौं र ? हतारहतार एकछिन त्यहीँ उभिन्छौं र हात हल्लाइ दिइहाल्छौं । उनीहरुले पनि हामीलाई प्रतिउत्तरमा हात हल्लाएर अभिवादन गर्छन् ।  

उनीहरुसँग अभिवादन र बिदाइ एक्कैचोटी गरेपछि हामी क्रमशः अगाडी बढ्न थाल्छौं । हलेण्ड डि अमेरिकाको क्रुज जुन स्थानमा रोकिएको छ त्यसको ठीक बिपरीत दिशामा प्रिन्सेस क्रुजको पानीजहाज निलमणी राजकुमारी (सफाएर प्रिन्सेस) भोलि बिहान आएर रोकिने छ । तिनै निलमणी राजकुमारी पानीजहाज चढेर हामी ब्रिटिस कोलम्बियाको अर्को शहर भिक्टोरिया हुँदै पश्चिम अमेरिकाको प्रशान्त तटीय क्षेत्रको दुई हप्ता यात्रामा हुनेछौं ।

रहर पुगिन्जेल भ्यानकुभर शहरको दृश्यावलोकन गरिसकेपछि वाटरफ्रन्ट सडकमा निस्केर पहिलो बायाँ लाग्छौं । त्यसरी बायाँ लागेर अलिकति अगाडी हिँडेपछि फेयरमोण्ट वाटरफ्रन्ट होटललाई दाहिने बनाएर पश्चिम कोर्डोभा सडकतर्फ मोडिन्छौँ । यिनै भ्यानकुभर शहरमा दुई-दुई वटा फेयरमोण्ट होटलहरु रहेका छन् । तर बेलायती महाराजाले उदघाटन गरी बक्सेको फेयरमोण्टमा चाहिँ हामी हिजो रातिदेखि बस्दै आइरहेका छौं ।  

त्यहाँदेखि हामी क्रमश: अगाडी बढदै जान्छौं । यसरी अगाडी बढ्दै जाँदा सडकको एकापट्टी कुनामा अचानक एउटा सूचना केन्द्र देखा पर्छ । हाम्रो सीधै अगाडी सूचना केन्द्र देखापरेपछि म मेरा साथीहरुलाई, “ल ! एकछिन् त्यहाँ पसौँ है,” भन्छु । मेरो कुरो सुनेर सबैजनाको कान तीखो तीखो हुन्छ र मैले जमिनमा जहाँजहाँ पाईतालाहरुले टेकेको छु । उनीहरुले पनि त्यहीँ त्यहीँ टेक्त्तै मेरो पछिपछि आउन थाल्छन् ।

हामी एकैछिनमा सूचना केन्द्रभित्र पुग्छौं । र, त्यहाँभित्र पस्ने बितिक्कै कार्यालयको बीच भागमा रिसेप्सन देख्छौं । तिनै रिसेप्सनमा चिनियाँ मूलका एकजना मानिस चिउँडोमा हात राखेर अल्छीलाग्दो तरिकाले बसिरहेको बिरमाईलो दृश्य देख्न मिल्छ । म उनलाई देख्ने बितिक्कै एकपटक झन् मज्जाले हेर्छु । अनि मलाई लाग्छ, वास्तवमा हामी एशियन मानिसहरु शारीरिक रुपले त अलिक सानो खालको मानिस नै हौं । तैपनि यो मान्छे चाहिँ जाबो म जत्रो पनि छैन रहेछ । मनमनै भन्छु । त्यतिले मात्र होइन, यो जाबोको उमेर पनि मेरो छोराको उमेरभन्दा निक्कै सानो छ होला भन्दै म उनको नजिकै पुग्छु । अनि त्यहाँ पुगेर त्यति सानो मान्छेलाई ह्याकुल्लाले थिची मारौँला जस्तो गरेर प्रश्न गर्न थाल्छु ।

“होइन, यहाँदेखि ग्याँस टाउन कति टाढा पर्छ र ?” अलिक हेपाहा तरिकाले प्रश्न गर्छु ।  

मेरो कुरो सुनेपछि ऊ पहिले फिस्स हाँस्छ । भनौं – मान्छे सानो भएपनि निक्कै मिजासिलो रहेछ, “त्यति टाढा छैन । यसो गर्नोस् न, ऊ त्यो तपाईहरु भित्र छिरेको ढोकाबाट बाहिर निस्कनोस् । अनि बायाँ घुम्नोस् । फेरि दोश्रोचोटि बायाँ घुम्ने बितिक्कै पानी सडक (वाटर स्ट्रिट) आउँछ । हो, त्यो सडक नछोडी जानुभयो भने ग्याँस टाउन पुगिहाल्नु हुनेछ ।” त्यति भनि सकेर उनको कुरो सिद्धिन्छ ।

“त्यही होइन र ? बाफबाट चल्ने घडी (स्टिम क्लक) भएको ठाउँ ?” छोटो प्रश्न गर्छु ।

“हो हो,” झन् छोटो जवाफ फर्किन्छ ।

“अनि त्यहाँबाट चाइना टाउन त नजिक छ होइन र ज्यू ?” पुनः अर्को प्रश्न सोध्छु ।

मेरो कुरो सुनेपछि उनको अनुहार अचानक मधुरो हुन्छ, “तपाईहरु चाइना टाउन जानै पर्ने हो र ?” मलाई उल्टो प्रश्न तेर्स्याउँछ ।

“हो हो, हामी जानै पर्ने हो । हामीले त्यहाँ पुगेर म:म: प्रकारको तर अलिक आकारमा ठूल्ठूलो हुने (चिनियाँ बन) खाने योजना बनाएका छौं । त्यस्तो बन केही वर्ष अगाडी टेम्पल स्ट्रीट, काउलुन हङकङमा खाएका थियौं । त्यसको स्वाद अहिलेसम्म जिब्रोमा बसिरहेकै छ । तर त्यति मात्र नभएर खास खासमा भन्न पर्दा हामीले हाम्रो जीवनमा बेइजिङ चीनमा हुँदा बेइजिङ डक, बोलोइयोना इटालीमा हुँदा स्पाइगेटी बोलोइयोना र कोबे जापानमा हुँदा कोबे बिफ खाने रहर गरेका हौं । भाग्यले जुराएर हामी आज भ्यानकुभर आइपुगेका छौं । अब यहाँ हुँदा भ्यानकुभर बन बजाउनु पर्नेछ । के हामी त्यहाँ जाँदा समस्या हुन्छ र ?” हल्का त्राशसहित प्रश्न गर्छु ।

“वास्तवमा त्यो जान नहुने क्षेत्र (नो गो एरिया) नै हो । किन मैले त्यसो भनेको हो भने पूर्व कोर्डिभा, पूर्व हेस्टिङ र पूर्व पेन्डर सडकमा पूरै जोम्बीहरुको मेला लागिरहेको बिरमाइलो दृश्य देख्न सकिन्छ । मैले यहाँ कुरो गरिरहेको एक जना वा दुई जना जोम्बीहरुको होइन । सयकडौंको संख्यामा रहेका तिनीहरुको कुरा गरिरहेको हौं,” उनले भने ।

उनको कुरो सुनेपछि, “के उनीहरु एकदम खतरा मान्छेहरु हुन् त ? के उनीहरुले मान्छेको मासु खान्छन् त ?” म प्रश्न गर्छु ।

“खास्सै खतरा त उनीहरु होइनन् । अब तपाईहरु जानै पर्ने भएपछि ग्याँस टाउनदेखि पहिले कम्बि सडकतर्फ जानुहोस् त्यसपछि देब्रे घुमेर पेन्डर सडकमा अलिकति हिँड्नोस् । अनि थोरै अगाडी हिँडेर केफर सडकमा पुग्नु होला है । ल ल गुडलक छ,” भनेर हामीलाई उनले बिदा दिन्छन् ।

उनको कुरो सुनेपछि मेरो मुहार एक्कासी मलिन हुन्छ । म तिनै मलिन मुहारसहित त्यहाँदेखि बाहिर निस्कन्छु । त्यसपछि अरुबेला जस्तो म गुगल गरेर बाटो साटो हेर्दिनँ । भाइतिर फर्केर,  

“क्रिस ! बाटो हेर्नु है । म यो जोम्बी भनेको के रहेछ । त्यस्को खोजी गर्छु,” भन्छु ।

उनले मेरो कुरो सुनेर, “ हुन्छ, हुन्छ । आखिर त्यति टाढा पनि छैन रहेछ,” भनेर जवाफ फर्काउँछ ।

हिँड्न त म त्यसबेला अरुभन्दा अगाडी अगाडी नै हिँड्छु । तर सडकको किनारै किनार हिँड्दै गर्दा यो जोम्बीज भनेको के रहेछ भनेर गुगल गर्न थाल्छु ।

क्रमश:

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री