बेलायतकी नेपाली ‘मिसेज च्याटर्जी’

‘सर म त खुशीको खबर सुनाउन फोन गरेकी’ मोवाइलमा यसअघि संग्रह नभएको नम्बरबाट आएको फोन उठाउने बित्तिकै उताबाट आवाज आयो । वाक्य पूरा हुनु अगावै त्यो फोन गर्ने व्यक्ति को थियो अनुमान लगाइसकेको थिएँ । किनभने सो आवाज मेरो लागि नौलो थिएन ।
एकातिर बोल्दैछु ‘हजुर, हजुर’ । अर्कोतिर दिमागमा करिब एक वर्ष अगाडीको घटना छमछम फिल्मको रिल झैँ नाच्न थाल्यो ।

xxxxx
सप्ताहन्तको दिन थियो । म थिएँ काममा । समय बिताउन मोवाइल ‘स्क्रोल’ गर्दै जाँदा वर्षौँ पहिले गोरखा सैनिक आवाज मासिकमा सहकर्मी रहेका र हाल प्रधानमन्त्री प्रचण्डको सचिवालयमा कार्यरत गोकर्ण भट्टको केही म्यासेज देखेँ ।
‘विद्यार्थी भिसामा बेलायत आएकी उतै विवाह भएर बच्चा जन्माएकी एक नेपाली चेलीको केही समस्या रहेछ । तपाई पनि बेलायतमै भएकाले केही सहयोग गर्न सक्नुहुन्छ कि’ म्यासेजमा भनिएको थियो ।
करिब एक दशकको बेलायत बसाईमा गर्न सकेको जस्तो आभास भएको नै सहयोग त हो जस्तो लाग्छ । चाहे त्यो पत्रकारिताको माध्यमबाट होस् वा अरु सामाजिक कार्यबाट नै । त्यसैले यसपटक पनि ‘हुन्न’ भन्ने अवस्था नै थिएन ।
म्यासेजमा ती युवतीका बारेमा थप विवरण थिए ।
अझै तल तल स्क्रोल गर्दै जाँदा उनै समस्यामा परेकी भनिएकी युवतीको पनि म्यासेज आइसकेको रहेछ । उनले फेसबुकमा ‘फ्रेण्ड रिक्वेष्ट’ पनि पठाइसकेकी रहिछन् । ‘फ्रेण्ड रिक्वेष्ट’ स्वीकार गरेको केही समयमै उनले फोन गरिन् । पूर्व परिचय नभए पनि लामो कुराकानी भयो । खासगरी उनको समस्यामा केन्द्रीत भएर ।
त्यतिबेला करिब तीन महिना पुगेको आफ्नो छोरालाई बेलायतको स्थानीय निकाय मातहतको सोसल सर्भिसले लगिदेला भन्ने डर उनलाई थियो । पहिलो फोन वार्तामै कहिले रुँदै, कहिले भक्कानिँदै, कहिले सम्हालिँदै उनले आफ्ना समस्याको बिस्कुन सुकाइन् । मानौँ म नै समस्याको समाधानकर्ता हुँ । मैले सुनिरहेँ जसरी न्यायालयमा न्यायाधीशहरु सुन्छन् । कतै कुनै योग्यता नभए पनि सुझावका सुत्रहरु पनि दिएँ । आखिर नेपालीलाई सुझाव दिन त कसले सिकाउनु पर्छ र ? ढाडस, सान्त्वनाको त कुरै नगरौँ ।
विद्यार्थी भिसामा बेलायत आएकी उनको बेलायती नागरिकसित यतै विवाह भयो । छोराको पनि जायजन्म भयो । तर पतिले पहिलेकी पार्टनरलाई हातपाइ गरेको अभिलेख रहेकाले उनीसित गर्भवती श्रीमती र पेटको बच्चा सुरक्षित हुन सक्दैन भन्ने स्थानीय काउन्सिलको बुझाइ थियो । भलै ती युवतीले आफूमाथि कहिल्यै श्रीमान्ले दुव्र्यबहार नगरेको प्रष्टीकरण काउन्सिलका कर्मचारीहरुसित दिइरहिन् । काउन्सिलले ‘तिमीले दुब्र्यबहार बुझ्दैनौ’ भनेर श्रीमान र श्रीमतीलाई बच्चा पाउनु अघि नै अलगअलग राखिदियो । एक आपसमा सम्पर्क र भेटघाट गर्न नपाउने शर्त पनि तोकिदियो ।
बिरानो देशमा न आफन्त, न साथीसँगी उनको सहारा नै को थियो र ? गर्भका कारण उत्पन्न हुने शारिरीक र मानसिक उतारचढाव, अनिश्चितता त कति हो कति । आखिर माया त हो आँखा छलीछली उनी श्रीमानसित फोनमा सम्पर्क गर्थिन् । तर उनलाई थाहा थिएन काउन्सिलले उनीहरु दुवै जनालाई पछ्याइरहेको छ भनेर । एक पटक त बाहिर सागै खाना खाएको काउन्सिलले फोटो भिडियोसमेत खिचेछ । त्यसपछि त उनीहरु विरुद्ध काउन्सिलको प्रमाण झनै बलियो भयो । काउन्सिल उनीबाट बच्चा खोसेर लैजानै प्रक्रियामा अघि बढ्यो ।
हो यसै बेला रहेछ उनले नेपालमा प्रधानमन्त्री प्रचण्डको फेसबुक पेजमा आफ्नो समस्याको बेलिबिस्तार लगाएकी र प्रधानमन्त्रीको सचिवालयमा कार्यरत मित्रले मलाई सम्पर्क गरेको । उनको जिकिर थियो – म एक नेपाली छोरी । के मैले मेरो छोरा आफूसित राख्न पाउँदिनँ ?
संयोग पनि कस्तो उनीसित फोनमा कुरा भएको दिन साँझ लण्डनस्थित नेपाली दुताबासकी उपनियोग प्रमुख रोशन खनालसित भेट भयो । मैले सो समस्याको बारेमा जानकारी गराएँ र उहाँको अनुमतिमा उहाँको फोन नम्बर पनि ती युवतीलाई उपलब्ध गराइदिएँ । यसबाहेक उनलाई कस्तो किसिमको सल्लाह र सहयोगको जरुरत पर्छ त्यही योग्यता र अनुभव भएका व्यक्तिहरुको सम्पर्क उपलब्ध गराउने क्रममा काउन्सिलर नेम थापा, सोसल वर्कर लगायतसित सम्पर्क गराएँ ।
उनी पटकपटक भन्थिन् –‘बच्चा मेरो साथमा नभए म त मर्छु ।’ म उनलाई सान्त्वना दिन्थेँ –‘हिम्मत नहारी आफ्नो बच्चाका लागि तपाई लड्नुपर्छ । बच्चा कसैले खोसेर लान सक्दैन ।’ उनी भन्थिन् –‘मलाई केही चाहिँदैन । म मेरो बच्चा लिएर नेपाल जान्छु । म यो देश फर्केर पनि आउँदिनँ’ । म सम्झाउन कोसिस गर्थेँ –‘काउन्सिलले गर्न खोजेको पनि तपाईको बच्चाको हितको लागि नै हो तर तपाईले प्रमाणित गरेर देखाउनु पर्छ बच्चाको लागि सबैभन्दा उत्तम पालनपोषण र हेरचाह तपाईले मात्र गर्न सक्नुहुन्छ ।’
पटकपटकको जाँचबाट उनी र उनको श्रीमानबीच सम्पर्क हुने गरेको देखिएपछि काउन्सिलले उनीबाट बच्चा लैजानै नै भयो । यस्तो अवस्थामा वैकल्पिक उपाय के हुन सक्छ ? यही विमर्शका क्रममा नेपालमा रहेका युवतीका बाबाआमाबाट बच्चाको रेखदेख गराउन सके कम्तीमा युवतीले बच्चा कहाँ छ कस्तो छ त थाहा पाउँथिन् । नत्र उनको बच्चा काउन्सिलले सूचना निकालेर अरु कसैलाई दिने थियो र उनले आफ्नो बच्चा कहाँ छ, के गर्दैछ भन्ने कहिल्यै थाहा पाउन सक्ने थिइनन् ।
नेपालमा पनि उनको बाबाआमाको आर्थिक, सामाजिक, शैक्षिक र घरको संरचनाको परीक्षण भयो । सबैमा सन्तोषजनक परिणाम आयो । त्यसपछि अरु परीक्षणका लागि उनको बाबाआमा नेपालबाट बेलायत आउनुभयो । बेलायतको अदालतका विभिन्न प्रक्रियाहरु पूरा गरेर उहाँहरु फेब्रुअरी ५ मा नाति लिएर नेपाल फर्कनुभयो । हो यही दिन ती युवतीले मलाई खुशीको खबर सुनाउन फोन गरेकी ।
यस केसमा बेलायतमा कार्यरत नेपाली मूलकी, बेलायतको सोसल वर्करहरुको प्रोफेसनल निकाय सोसल वर्क इङल्याण्डमा रजिस्टर्ड सोसल वर्कर लक्ष्मी राई (लारा) को महत्वपूर्ण भूमिका रहेको छ । उहाँ बेलायतको अदालतबाट नेपालको सँस्कार सँस्कृति बुझेको सोसल वर्करबाट यस केसको बारेमा प्रतिवेदन दिनका लागि नियुक्त हुनुभएको थियो र उहाँको प्रतिवेदन यस मुद्दामा कोशेढुंगा बन्यो ।
यस्तै कथामा बनेको रानी मुखर्जी अभिनित एउटा चलचित्र छ –मिसेज च्याटर्जी भर्सेज नर्वे । भारतीय सँस्कारबाट बालबच्चा हुर्काउँदै, परिवार चलाउँदै गर्दा ती सँस्कार र तौरतरिका नर्वेको परिवेशमा बालबालिकाको लागि जोखिमपूर्ण देखिने ठहर गर्दै सरकारले बालबच्चा खोसेर लान्छ । करिब तीन वर्षको लामो लडाइँ पछि उनले ती बच्चा फिर्ता पाउँछिन् ।
यी नेपाली युवतीको केसमा त्यति लामो लडाइँ लड्नु नपरे पनि उनले खपेको सास्ती, कहर र आफ्नो छोरा फोस्टर प्यारेन्टसमा पुग्न नदिन गरेको संघर्ष, हिम्मत, साहस, अठोट भने मिसेज च्याटर्जीको भन्दा कम छैन । जति लडिन् उनले एक्लै लडिन् र अहिलेको यो सफलताको हकदार पनि उनी एक्लै हुन् । हामीले गरेको त बेलाबेलामा उनको कुरा सुनेर पीडाको भारी हलुका बनाइदिएको मात्र हो । साँच्चिकै उनको कथामा कसैले फिल्म बनाउने हो भने मिसेज च्याटर्जीजस्तै चलचित्र बन्ने छ ।

xxxxx
अन्त्यमा, नेपालमा सरकारहरु, मन्त्रीहरु धेरै परिवर्तन भइरहन्छन् । उनीहरुले सामाजिक सञ्जाल पनि बनाइरहन्छन् तर ती सञ्जालमा लेखिएका पठाइएका विषयहरुलाई गम्भीरताका साथ लिन्छन् र समस्याको समाधानका लागि विभिन्न उपायहरु खोज्छन् भन्नेमा मलाई एक प्रतिशत पनि विश्वास थिएन । त्यसमाथि प्रधानमन्त्रीको पेज त सार्वजनिक खपत र लोकलाजका लागि मात्र होला भन्ने मेरो बुझाइ थियो तर त्यस्तो मात्रै पनि होइन रहेछ । सही पात्रको हातमा त्यस्तो सञ्जाल सञ्चालनको जिम्मेवारी आएमा धेरै गर्न सकिनेरहेछ भन्ने पनि यसै घटनाले पाठ सिकायो ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री