गत जनवरी सातका दिन सन् २०११ देखि ३४ वर्षको जेल जीवन बिताइरहेका एक कुख्यात माफियाका नाइके आडोल्फो मार्सियास उर्फ फितो जेल तोडेर भागेका थिए। उनलाई छिट्टै अर्को थप सुरक्षित कारागारमा सरुवा गर्ने तयारीमा थियो। यसको भोलिपल्ट नै रास्ट्रपति ड्यानियल नोबोआले इक्वेडरमा ६० दिनको लागि आपतकाल घोषणा गरेका थिए। उनले यो घोषणा गर्दा लागू औषध ओसारपसारका दोषी, हत्या र संगठित अपराधीहरुले सरकारलाई के गर्ने भनेर निर्देशन दिने दिन अब सकिएको बताएका थिए। उनले २० वटा लागूपदार्थ तस्करी गिरोहहरूलाई आतंकवादी समूहको रूपमा लिँदै आन्तरिक सशस्त्र द्वन्द्वको भएको घोषणा गरेका थिए। यस्ता संगठित अपराधीहरू विरुद्ध सैन्य कारबाहीको अधिकारसमेत दिए। यस पछाडी देशका विभिन्न क्षेत्रमा भिडन्तहरु भएका छन् अनेकन प्रहरी तथा सर्बसाधारणहरुको अपहरण तथा हत्या भएका छन् । जनवरी ९ का दिन १३ बन्दुकधारीहरू इक्वेडरको सबैभन्दा ठूलो शहर ग्वायाकिलमा रहेको सार्वजनिक टिभी च्यानल टीसी टेलिभिजनको स्टुडियोमा प्रवेश गरे र पत्रकार र अन्य कर्मचारीहरूलाई केही समय बन्धक बनाएका थिए। तर केही समयभित्र नै सेनाले सबै आक्रमणकारीहरुलाई गिरफ्तार गर्न सफल भएको थियो। उनीहरुमाथि मुद्दा लगाउन तयारी गरेको थियो। तर यस आक्रमणको अनुसन्धान गरिरहेका एक अभियोजकलाई इक्वेडरको सबैभन्दा खतरनाक सहर ग्वायाकिलमा जनवरी १७ मा गोली हानी हत्या गरिएको थियो । “संगठित अपराध समूहहरू, अपराधीहरू, आतंकवादीहरूले समाजप्रतिको हाम्रो प्रतिवद्धतालाई रोक्न सक्दैनन्,” भनेर सामाजिक संजाल एक्समा लेखेको केही दिन पछाडी नै अभियोजक सेजर सुआरेजलाइ गाडी चलाई रहेको अवस्थामा बम प्रहार गरी हत्या गरिएको थियो। उनले विगतमा अन्य उच्च-प्रोफाइल घटनाहरुको पनि अनुसन्धान गरेका थिए।
इक्वेडरमा पूर्व रास्ट्रपति गुइलेर्मो लासोले करिब साढे २ वर्षमा नै सदन भंग गरेपछि गत अक्टोबरको १५ मा पहिलो चरणको निर्वाचन भएको थियो। त्यसमा क्रान्तिकारी नागरिक अभियानका लुइजा गोन्जालेजले ३३ प्रतिशत मत ल्याएर प्रथम भइन तर निर्वाचित भने हुन सकिनन् । तर नोभेम्बरमा भएको दोश्रो चरणको निर्वाचनमा भने पहिला २२ प्रतिशत मत पाएका ३५ वर्षका युवा ड्यानियल नोवोबाले ५२ प्रतिशत मत ल्याएर विजयी भए। उनी देशको अहिलेसम्मकै कम उमेरका रास्ट्रपति हुन्। निर्वाचन अगाडी अगस्ट ९ मा एक उम्मेद्वारको गोलि हानी हत्या गरिएको थियो भने छ जना पहिलो चरणबाट बाहिरिएका थिए। व्यापारिक घरानियाका यी युवा दुई वर्ष अगाडिमात्र पहिलो पटक सांसद बनेर राजनीतिमा प्रवेश गरेका थिए। उनका ब्यापारी पिता भने पाँच पटकसम्म उम्मेद्वार बनेर पनि रास्ट्रपति बन्न सकेका थिएनन्।
मानवअधिकार जस्तै प्रकृति अधिकारलाई संविधानमा नै ब्यवस्था गर्ने पहिलो र एक मात्र देश इक्वेडर हो। सन् २००८ मा बनेको नयाँ संविधानको प्रस्तावनामा नै ”प्रकृतिको उत्सव मनाउँदै, पाचा मामा (पृथ्वी माता), जसको हामी एक भाग हौं र जुन हाम्रो अस्तित्वको लागि महत्त्वपूर्ण छ” भनेर उल्लेख गरिएको छ। यो संसार मानिसको लागि मात्र निर्माण भएको र आफूबाहेक अन्य सबै मानिसको सुविधा र प्रयोगको लागि हो भन्ने हामी धेरैको मान्यता छ । सम्पूर्ण जीवित प्राणी मात्र हैन प्रकृतिमा रहेका सम्पूर्ण वस्तुहरुको पनि यो पृथ्वीमा समान हक छ भन्ने मान्यता नै प्रकृति अधिकार हो । प्रकृतिको प्रयोग मात्र हैन यसको संरक्षण र विकास गर्नु राज्यको कर्तब्य हो भन्ने मान्यताका साथ संविधानको सातौँ परिच्छेदमा ७१ देखि ७४ धारामा प्रकृतिको अधिकार बारे सविस्तार उल्लेख गरिएको छ।
इक्वेडर पश्चिमी दक्षिण अमेरिकामा अवस्थित छ। यसको उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरु र पश्चिममा प्रशान्त महासागरसँग जोडिएको छ । ब्राजिलसँग सीमाना नछुने दुई दक्षिण अमेरिकाकाको देशहरूमध्ये यो एक हो । करिब एक करोड पचहत्तर लाख जनसंख्या भएको यो देशको क्षेत्रफल लगभग दुई लाख चौरासी हजार वर्ग माइल छ ।
यो बहुदलीय प्रणालीसहित एक राष्ट्रपतीय गणतन्त्र हो। राष्ट्रपतिले राज्य र सरकार दुवै प्रमुखको रूपमा काम गर्दछ। राष्ट्रिय सभा एक सदनात्मक व्यवस्थापिका हो। इक्वेडरको राजनीति कति अस्थिर छ भन्ने प्रमाण त्यहाँको सर्वशक्तिमान रास्ट्रपति पदमा हुने फेरबदल हेर्दा नै काफी छ। सन् १८३० देखि अहिलेसम्म चार वर्षे कार्यकालको हिसाबले ४८ जना रास्ट्रपति हुन् पर्नेमा ९१ पटक नेतृत्व परिवर्तन भयो । ४७ पटक त सय दिनभन्दा कम समयमा सरकार भंग भयो। त्यसमा पनि २,४,७,१०,१५,२०,२१,२२, दिनको लागि मात्र पनि सरकार बनेको थियो। यस बीचमा पाँचपटक कु भएर करिब ११ वर्ष भने सैनिक शासन चल्यो। पूरा कार्यकाल चाहिँ सन १९८४ देखि १९९६ सम्म तीन जना फेरियो । त्यस्तै २००७ देखि १७ सम्म एकै जनाले शासन चलाएका थिए। अहिलेसम्म सन् १९९७ मा एक मात्र महिला राष्ट्रपति बन्ने अवसर पाएका रोशालिया आर्तेगाले दुई दिनमा नै पद छाड्न पर्यो । वंशजको आधारमा निकै कम मात्र नेतृत्वमा आएको देखिन्छ भने अहिलेको रास्ट्रपति कै पछिल्लो नाम मिल्ने डियगो नोबोआ सन् १८५१ मा पहिला ७९ र लगत्तै १९९ दिनको लागि राष्ट्रपति बनेका थिए। केहीले भने पटकपटक नेतृत्व गर्ने शौभाग्य पनि पाएका थिए।
राजधानी क्विटोको नजिकै विश्वको मध्यभाग मानिने मिताड डेल मुन्डो स्मारक रहेको छ। सन् १७३६ मा चार्ल्स-मारी डे ला कन्डामाइनले प्रविधिको सहयोग बिना अन्दाज गरिएको यो ठाउँ वास्तविक स्थानभन्दा २४० मिटरको दुरीमा पर्दछ। अहिले यी दुवै स्थान अति ब्यस्त पर्यटकीय स्थल भएका छन्। भूमध्य रेखा अर्थात इक्वेटरलाई स्पेनिश भाषामा इक्वेडर भनिने हुँदा देशको नामाकरण नै भौगोलिक विशेषताको आधारमा राखिएको हो। जुन विश्वका अन्य कुनै देशले पनि राखेका छैनन् । संसारको अग्लो हिमाल सगरमाथा भएकोले अन्तरिक्षको सबै भन्दा नजिकको स्थान यही हुन् पर्ने हाम्रो अनुमान भयो भने त्यो गलत साबित हुनेछ। यस देशको सबैभन्दा अग्लो हिमाल माउन्ट चिम्बोराजोबाट अन्तरिक्ष सबभन्दा नजिक पर्ने भएकोले संसारकै अग्लो भूभाग यही हो भनेर मान्नेहरु पनि छन् । अर्थात् यो अन्तरिक्षबाट सबभन्दा नजिकको देश हो।
जनसंख्या र क्षेत्रफलको हिसाबले संसारका एक सय त्रियानब्बे देशमध्ये ७२ औं र ७३ औं स्थानमा रहेको यो देशले वार्षिक करिब ६६ लाख मिलियन टन केरा उत्पादन गर्दछ। यो भारत,चीन ,इण्डोनेशिया र ब्राजिल पछाडी विश्वको पाँचौं बढी केरा उत्पादन गर्ने देश हो। इक्वेडर विश्वमा उच्च गुणस्तरको चकलेट निर्माण गर्ने कोकोको उत्पादकको रूपमा चिनिन्छ। यो सबैभन्दा ठूलो निर्यातकर्ताहरू मध्ये एक हो। तर यहाँका मानिसहरुले वार्षिक तीनदेखि आठ सय ग्राम मात्र चकलेट खाने तथ्यांक छ जबकि जर्मनीजस्ता देशहरूले प्रतिव्यक्ति ९ किलो खपत गर्दछन्। पनामा टोपीको रुपमा विश्वविख्यात परालको टोपीहरू इक्वेडरमा नै बुनिन्छ। सुरुमा नहर मजदुरहरूलाई बेच्नको लागि पनामा लगिएको यो टोपी पछि अन्य पश्चिमीहरू बीच पनि प्रख्यात भएको हो।
यहाँको राष्ट्रिय रूख सिन्कोनाले क्विनाइन उत्पादन गर्दछ जुन संसारमा मलेरियाको उपचार गर्न औषधिको रुपमा पहिलो पटक प्रयोग गरिएको थियो। यहाँको युनेस्को-सूचीवद्ध सुमाको बायोस्फियर रिजर्भमा दिनमा लगभग दुई सेन्टिमिटर अर्थात् वर्षमा २० मिटरसम्म ‘हिँड्न’ सक्ने पाम रूखहरू छन् । यी रुखहरुले नयाँ जराहरू बनाउने र राम्रो सूर्यको प्रकाश भएतिर सर्दै जान्छन्। यहाँ २५ हजारभन्दा बढी प्रजातिका बोट बिरुवाहरु पाइन्छन्। जसमध्ये चार हजारभन्दा बढी त् ओर्किड फूलहरु छन्। त्यस्तै सोह्रसय भन्दा बढी प्रजातिका चराचुरुँगीहरु पाइन्छन्।
मनमोहक सांस्कृतिक, ऐतिहासिक र वातावरणीय क्षेत्रहरुले भरिपूर्ण यस देशका राजधानी क्विटो शहर, सान्ता आना डे लोस रियोस डे,कुएन्काको ऐतिहासिक केन्द्र, खापाक नन र एन्डियनको बाटो,गालापागोस टापु र सांगे राष्ट्रिय निकुञ्जलाई युनेस्कोद्वारा आधिकारिक रूपमा विशेष स्थानहरु भनेर घोषणा गरेको छ। यसमध्ये संसारकै नम्बर एकमा गालापागोस टापु र दोश्रोमा क्विटो शहर पर्दछन्। क्विटो इक्वेडरको राजधानी सहर समुद्र सतहबाट २ हजार ८५० मिटर उचाइमा छ जुन विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी हो । इक्वेडरको झण्डा पहेँलो, नीलो र रातो रंगका तीनवटा स्ट्रिपहरू मिलेर बनेको छ जसको बीचमा हतियारको कोट छ । पहेंलो रङले घाम, अन्न र खनिज सम्पदालाई प्रतिनिधित्व गर्दछ। नीलो आकाश, समुद्र र नदीहरू अनि रातोले स्वतन्त्रता र न्यायको सङ्घर्षमा बगेका देशभक्तहरूको रगतलाई प्रतिनिधित्व गर्दछ । स्पेनिश आधिकारिक भाषा भए पनि कम्तिमा अन्य १४ भाषाहरुले सरकारी मान्यता पाएका छन् भने १३ जनजातिका छुट्टै भाषाहरु छन्।
इक्वेडरमा सुरक्षा कोरोनाभाइरस महामारीपछि झन् बिग्रिएको छ। यसले राष्ट्रको अर्थतन्त्रलाई झन् बिगारेको छ। ११८ वर्ष देखि प्रचलनमा आएको सुकरले चर्को मुद्रास्फीति भोगेपछि देशले सन् २००० मा अमेरिकी डलरलाई नै आधिकारिक मुद्रा घोषणा गरेको थियो। वास्तवमा इक्वेडर यो देश विश्वको १७ मेगाडाइभर्स अर्थात प्रतिवर्ग किलोमिटरमा सबैभन्दा बढी जैविक विविधता पाइने देशहरू मध्ये एक हो।
सन् २०२३ मा अघिल्लो वर्षभन्दा लगभग दोब्बर ८ हजार ८ व्यक्तिको हत्या भएको थियो । कोकिन तस्करी गिरोहहरूको बढ्दो पहुँचको कारण दक्षिण अमेरिकाको ठूलो भागलाई अस्थिर बनाएको छ। जेल भित्र परेका व्यक्तिहरु आ-आफ्नो गिरोहको शक्ति बिस्तार गर्न सक्रिय छन् । नियमित रुपमा जेलभित्र नै विभिन्न गिरोहहरु बीच भिडन्त हुने गरेका छन्। सन् २०२१ यता मात्र ५०० भन्दा बढी कैदीहरु मारिएका छन्। चोनेरोस आपराधिक गिरोहका नेता अडोल्फो मासियास जेलबाट बेपत्ता भएपछि त्यहाँको स्थिति झन् भयानक हुन् गएको हो । त्यसपछि भएका घटनाहरुमा धेरैले ज्यान गुमाइसकेका छन् भने दुई हजारभन्दा बढीलाई पक्राउ गरिसकेको छ। तर अहिलेसम्म उनलाई पुन: पक्राउ भने गर्न सकेका छैनन्। यति हुँदाहुँदै पनि पर्यटकहरुको लागि सन् २०१४/१५ मा उत्कृष्ट देशको रूपमा मतदान गरिएको थियो। सन् २०१९ मा ८ औं स्थानमा थियो भने अहिले शीर्ष दश देशहरूमा पर्दछ।
केही वर्ष अगाडीसम्म कोकिन तस्करीको लागि विश्व प्रसिद्ध दुई देश पेरु र कोलम्बिया भन्दा केही शान्त देशको रुपमा परिचित यस देशमा अहिले भने तस्कर हत्या हिंसा र विशेषत् राजनीतिक अस्थिरताले गाँजेको छ। विगतमा केही समय यिनै तस्करहरुले राजनीतिक लेपनसहित आफूलाई बामपन्थी विचारधाराका बताइए पनि ब्यबहारमा त्यस्तो नभएकोले त्यो आन्दोलनलाई भने निस्तेज पार्न सफल भएको थियो। अहिले बढ्दो निराशा बीच परिवर्तनको आशामा अनुभव नभएका एक युवालाई नेतृत्व सुम्पेका छन् । हालसालै रशियालाई छाडेर अमेरिकासंग हतियार खरिद गर्ने निर्णय गरे पछि रशियाले त्यहाँबाट केरा र अन्य फलफूलहरु नकिनेर भारतसंग लिइसकेका छन्। यसबाट ठूलो नोक्शानी हुने भएकोले अमेरिकासँगको सम्बन्धबिच्छेद गर पर्ने अवस्था आउन सक्छ। यी र यस्ता अन्तर्रास्ट्रिय राजनीतिलाई यस क्षेत्रमा उनले कसरी प्रभावकारी ढंगले प्रयोग गर्ने र आन्तरिक रुपमा सदैव तस्करहरुको दबदबामा डराइरहन बाध्य इक्वेडरका जनताहरुलाई कसरी सान्त्वना प्रदान गर्ने हो त्यो हेर्न भने केही समय प्रतीक्षा नै गर्न पर्ने हुन्छ।
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।