मास्टर मित्रसेन पछ्याउँदै विजय हितान

पुस्तक परिचय

लेखकलाई आफ्नो कृति प्रदान गर्दै उपन्यासकार विजय हितान

नेपाली भाषामा साहित्य, गीत संगीत उपलब्ध हुन थालेको त्यति धेरै समय बितेको छैन । करिब डेढसय वर्षयता यी कार्य भएको मानिन्छ । जस्तो भानुभक्त आचार्यले रामायणलाई नेपालीमा उपलब्ध गराए भने मास्टर मित्रसेन थापामगरले नेपाली भाषामा ग्रामोफोनमा गीत रेकर्ड गरे । त्यसअघिका सर्जकहरुको कला र कृति कि उनीहरुको कायासँगै बिलायो कि उनीहरुको प्रभाव क्षेत्रमा थप केही समय चल्यो होला । कुनै पनि ऐतिहासिक कार्य पहिलोपटक गर्ने कर्ताले के कारणले त्यस्तो कार्य गर्यो होला ? त्यतिबेलाको परिवेश कस्तो थियो होला ? अरु कसैले नगरेको काम गर्न केले प्रेरित गर्यो होला भन्ने जिज्ञासा पैदा हुनु स्वाभाविक हो ।
करिब डेढ दशकदेखि बेलायतमा बसेर नेपाली साहित्यमा कलम चलाउँदै गरेका विजय हितानलाई पनि नेपाली भाषामा पहिलोपटक ग्रामोफोनमा गीत रेकर्ड गराउने मास्टर मित्रसेनका बारेमा त्यस्तै औडाहा भएको हुनुपर्छ । त्यसैले कहिले मास्टर मित्रसेनलाई पछ्याउँदै उनी काठमाडौँ त कहिले भारतको भाग्सु धर्मशाला पुग्छन् । कहिले मित्रसेनले लडाइँ लडेको युरोपको युद्धमैदान त कहिले बेलायतकै विभिन्न ठाउँमा चक्कर काट्छन् । करिब छ वर्ष लामो अनुसन्धानपछि उनले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’ पाठकसामू ल्याएका छन् । उनकै शब्दमा यो ‘मास्टर मित्रसेनको जीवनीमा विद्यावारिधि’ हो ।
३९० पृष्ठको यो पुस्तक ११ अगष्त १९१४ बाट शुरु हुन्छ (जुन दिन मास्टर मित्रसेन गोरखा सेनामा भर्ती भएका हुन्छन्) र २५ मार्च १९४६ मा अन्तिम श्वास फेरेसँगै अन्त्य हुन्छ । यसबीचको मास्टर मित्रसेनको जीवन भोगाइ हो यो उपन्यास । पुस्तकलाई मूलत दुई भागमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो मास्टर मित्रसेन एक सिँपाहीका रुपमा र दोस्रो साहित्य संगीतमार्फत नेपाली जाति सेवकका रुपमा ।
उपन्यासकारले पुस्तकमा मास्टर मित्रसेनलाई मूल कथावाचकका रुपमा उभ्याएका छन् । गीत, साहित्यमा उनको रुचि त पल्टनभित्रका दुःख कष्टका बेला होस् या चाडवाडका बेला होस् उपन्यासमा प्रकट भइहाल्छ तर उपन्यासकारले उनलाई एक दृढ सिपाहींका रुपमा पनि प्रस्तुत गरेका छन् । जो पल्टनका आफूभन्दा माथिल्ला ओहोदाका मानिसहरुसित सवाल सोध्ने हिम्मत राख्छ । यसहिसाबले उनी गोरखाहरुमाथि हुँदै आएको शोषण, अमानवीय कार्यका विरुद्धमा बोल्नसक्ने एक निडर व्यक्ति पनि देखिन्छन् ।
मास्टर मित्रसेनको जीवनको दोस्रो आयामका बारेमा त धेरैलाई थाहा पनि छ । पुस्तकमा उनलाई चित्रण गरिएको छ – उनी एक सच्चा नेपाली भाषा, साहित्य, कला, सँस्कृतिको मात्र सेवक नभई एक समाज सुधारक पनि थिए । अहिले चल्तीको शब्दमा भन्ने हो भने सामाजिक अभियन्ता । जसले नेपाली भाषाबाहेक अरुमा गीत नगाउने, तलब खाएर जागिरे नबन्ने बरु स्वेच्छाले दान संकलन गरेर नेपाली जातिको लागि लाग्ने बाटो रोजे ।
हुनत उपन्यास एउटा तथ्य लेखन होइन उपन्यासकारको काल्पनिक चामत्कारिकता देखाउने विधा हो । कसैकसैले ऐतिहासिक उपन्यास भनेर तथ्यमा उभिने प्रयास पनि गरेका हुन्छन् तर यस कृतिमा भने उपन्यासकार हितानले ८० प्रतिशत तथ्य, २० प्रतिशत काल्पनिकतामा लेखिएको बयान दिएका छन् । यस बयानले एक पाठकलाई भने कुन पाटो तथ्य होला कुन काल्पनिक होला भन्ने दुविधा भने बनाउँदो रहेछ ।
पुस्तक करिब ५५ प्रतिशत मास्टर मित्रसेनको सैनिक जीवन र बाँकी ४५ प्रतिशत अवकाशपछिको जीवनमा आधारित छ । मानिसको पहिचान कहाँनिर कतिबेला कुन कार्यले बदलिन्छ भन्न सकिन्न । किनकि उसको व्यक्तित्व निर्माणमा उसकै मात्र अधीन रहन्न । जीवनभर एउटा कर्म गरेको व्यक्ति उत्तरार्धको एउटै कर्मले अर्कै रुपमा चिनिएको पनि धेरै दृष्टान्तहरु छन् । तर मित्रसेनको सवालमा उनले ७ वर्ष २११ दिन मात्र गोरखा सैन्यमा बिताए । बाँकी करिब २८ वर्ष उनले नेपाली जातिको सेवक बनेर बिताए । जसका क्रममा उनले गीत, गजल, भजन लेखे । संगीत भरे । श्वर भरे । नाटक लेखे । कलाकार खोजे । अभिनय सिकाए । निर्देशन गर्दै ठाउँठाउँमा देखाए । जो उनको आजसम्मको परिचय हो । त्यस कारण उपन्यासको धेरै हिस्सा यस पाटोमा पो हुनुपथ्र्यो कि ?
पुस्तक सर्सती पढ्दा लागेका दुई कुरा । पहिलो, पुस्तकमा युद्ध र सैनिक शब्दहरु प्रचुररुपमा छन् । गैरसैनिक पाठकहरुलाई त्यसले पार्नसक्ने असजिलोलाई समाधान गर्न ती शब्दहरुको अर्थ राखिएको भए अझ राम्रो हुन्थ्यो । लेखक स्वयं बेलायती सेनाका पूर्व सैनिक भएकाले उनका लागि त ती शब्दहरु दैनन्दिन बोलिने, लेखिने शब्दहरु होलान् । सैन्य पृष्ठभूमिका पाठकका लागि पनि सहजै ग्राम्य शब्दशहरु होलान् तर बाँकीका लागि ती शब्दहरु भारी पर्न सक्छन् । दोस्रो, पुस्तक करिब एक सय वर्ष अगाडीको कालखण्डमा लेखिएको हुँदा त्यतिबेला चलनचल्तीको लवजका बारेमा पनि अनुसन्धान गरी त्यही शैलीमा लेखिएको भए झनै जीवन्त हुने थियो ।
साँग्रीला बुक्सले प्रकाशन गरेको सो पुस्तकका लागि हितानले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पनि पाइसकेका छन् । पुस्तकको मूल्य ६९५ रुपियाँ तोकिएको छ ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री