बैँकबाट पैसा छाडी छाता चोरी

तस्बि सोहन तामांग

चोर भन्ने बितिकै हाम्रो दिमागले नराम्रो मान्छे हो भनेर सोचिसकेको हुन्छ । चोरले धेरै चोरे पनि थोरै चोरे पनि आखिरी चोर भनेको चोर नै हो । कोही पैसा चोर, कोही लुगा चोर, कोही सुन चोर, कोही मन चोर, कोही बच्चा चोर, भने जस्तै चोरहरु धेरै थरिका हुन्छन् । चोर्नु भनेको अरुले दुःख गरेर कमाएको सम्पति आफू चाहिँ दुख नगरी अरुको धन माल वा सम्पत्ति लुकाएर लैजानु हो । जब एकपटक चोर्न सफल हुन्छ तब त्यो चोर अझ त्योभन्दा ठूला ठूला चोरी गर्न अगाडी सर्ने गर्दछ ।
जुन बेला म नेपालमा थिएँ । त्यो बेला म सोच्ने गर्थें विकसित देशहरुमा चोरी नै हँुदैन र सबै इमान्दारी हुन्छन् भनेर तर त्यो सोचाई एउटा गलत सोचाइ मात्र रहेछ भनेर मैले आफनै आँखाले धेरै पटक देखिसकेको छु । कुनै मानिसको पेसा नै चोर्ने पेसा बनाइसकेको हुन्छ । दुःख नगरी सजिलोसंग अरुको पैसा ठगेर भागेको दलालहरुको खबर त हामीहरुले नेपाली समाचारहरुमा प्रायः दिनहुँजसो सुनिरहेको हुन्छ । जब चोरहरुले चोर्ने विचार लिएर आउँछ त्योबेला उनीहरु केही सीप नलागे मान्छे मार्ने सम्मको योजना लिएर आएको हुन्छ । विशेष गरेर ठूला ठूला शहरहरुमा गाडी चोर, लुगा चोर, सपिंग सेन्टरतिर समान चोरका घटनाहरु दिनहुँ भइरहेको हुन्छ । केही दिन अगाडीको कुरा हो । म मेरो एकजना साथीलाई केही पैसा अनलाइन बैंक ट्रान्सफर गरौँ भनेर कोसिस गरिरहेको थियो तर जति गरे पनि केही टेक्निकल समस्या छ भनेर म्यासेज देखाइरहेको थियो ।
मैले धेरै कोसिस गरेँ तर केही टेक्निकल त्रुटि छ भनेर म्यासेज आयो । त्यसपछि मैले नेसनवाइड बैंकको कस्टमर सर्भिसमा फोन गरेर के समस्या भएको हो भनेर सोधेँ । कस्टमर सर्भिसको मानिसले मलाई सबै तरिकाहरु सिकायो र फेरि मैले कोसिस गरेँ । त्यो मानिसले मेरो कार्डको म्याद सकिएको छ भनेपछि मैले कार्ड चेक गर्दा साच्चि नै कार्डको म्याद सकिएको थियो । मसंग म्याद सकिएको कार्ड र भर्खर आएको कार्ड दुवै कार्ड एकै ठाउँमा राखेकोले गर्दा मैले गल्तीले पुरानै कार्ड प्रयोग गरेकोले समस्या भइरहेको थियो । मैले ‘माफ गर्नु होला मेरो गल्तीले त्यस्तो भयो छ म नयाँ कार्ड चलाउँछु’ भनेर नयाँ कार्ड चलाएँ ।
सबैकुरा एकदम ठिकै तरिकाले चलाए पनि फेरि टेक्निकल समस्या भएको म्यासेज आएको थियो । त्यो कस्टमर सर्भिसको मान्छेले भनेअनुसार प्रयोग गर्दा पनि समस्या समाधान नभएपछि मेरो लागि अन्तिम एकपटक मात्र मौका थियो । यदि त्यो मौकामा पनि मैले गल्ति गरेको भए मेरो कार्ड र कुनै पनि बैंक कारोबार गर्न नपाउने गरी बन्द हुनेवाला थियो । त्यसैले त्यो कस्टमर सर्भिसको मानिसले ‘कुनै पनि नजिकको बैंकको शाखामा गएर त्यो साथीलाई पैसा ट्रान्सफर गर्नु’ भने पछि मैले नजिकको बैंकको शाखामा गएर रकम पठाउने निधो गरेँ । बिहानको समय जाडो अनि मुसलधारे असिनापानी परिरहेको थियो । छोरा पनि स्कूल जानु पर्ने, म पनि बैंक जानु पर्ने तर घरमा छाता भने एउटा मात्र भएकोले स्कूलमा छोरालाई कारमा छोडी राखेर म पनि बैंकको केही नजिकसम्म कारमा नै गएँ । कारमा गए पनि घरमा भएको एउटै नयाँ छाता पनि साथमा लिएर गएको थिएँ ।
किनभने बैंकसम्म कार जाँदैनथ्यो । कारबाट ओर्लेर जाने बेलासम्म पनि पानी पर्न रोकिएको थिएन । म छाता ओढेर नै बैंक गएँ । बैंक ठीक ९ बजे मात्रै खोल्ने थियो । म ठिक ९ बजे बैंक पुगेँ र छाता बन्द गरेर भित्र छिरें । छाताबाट पानी तपतप चुहिरहेको भएर मैले छाता त्यहाँको कर्मचारीलाई भनेर एक कुनामा राखेँ र बैंकको अर्को एकजना कर्मचारीसंग पैसा पठाउनलाई अनुरोध गरेँ । त्यो कर्मचारीले पनि नानाथरिका प्रश्नहरु तेस्र्याउन थाल्यो । मैले पहिला भएको सबै कुराहरुको बेलिबिस्तार सुनाएँ । अन्तमा साथीलाई पैसा पठाउन सफल भएँ । बाहिर पानी अझै नै परिरहेको थियो । तर मेरो छाता त्यहाँबाट कसैले चोरेर लगिसकेको थियो ।
मैले त्यही पहिलाको कर्मचारीलाई ’मेरो छाता त्यहाँ राखेको थियो अहिले छैन कसले चोर्यो होला’ भनेर सोध्दा ‘मैले त देखेन खोई कसले लग्यो होला’ भनेर गैरजिम्मेवार जवाफ दियो । बैंकभित्र भएको छाता चोरेर लाने कति नीच स्वभाव भएको मानिस होला भनेर त्यही कर्मचारीलाई भन्दा त्यही त कस्तो मान्छे होला भनेर मसंग हँ म हँ मात्र मिलाए । त्यसैले म चुपचाप केही पर रहेको दोकानमा गएर दुईवटा छाता किनेर घर फर्कें । सायद त्यो छाता चोरले मौका मिलेको भए त्यो बैंकको पैसा पनि चोर्ने दाउमा थियो होला तर तैपनि त्यो दिनको लागि त्यो चोरको लागि पैसाभन्दा छाता नै बहुमूल्य अनि उपयोगी थियो । किनभने बाहिर पानी अझै परिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री