व्हिस्की पारखीहरुले पक्कै पनि जुरा शब्द सुनेको हुनुपर्छ। बजारमा निकै आकर्षक बोतलमा पाइने यो सिंगल माल्ट व्हिस्की ज्यादै प्रचलित पनि छ। यो स्कटल्याण्डको अनेकन टापुहरुमध्ये एक ठूलो टापुको नाम हो। यहाँ पाइने छ र बाह्रसिंगे अनि राता मृगहरु संसारभरि प्रख्यात छन्। सन् १८३१ तिर करिब १ हजार ३१२ मानिसहरु बसोबास गर्ने यो टापुमा अहिले केवल २४० को हाराहारीमा बसोबास गर्दछन् भने हरिनहरु चाहिँ छ हजारभन्दा बढी छन्। तर यहाँ वार्षिक रुपमा भ्रमण गर्ने पर्यटकहरुको संख्या भने दिन परदिन बढ्दो छ।
बेलायत सिंगो एउटा टापु हो। यो देशको तीन राज्यहरु अन्य कुनै देशसँग भूमिले जोडिएको छैन। यसभित्र पनि अनेकन साना ठूला टापुहरु छन्। छुट्टै राज्य स्कटल्याण्डभित्र पश्चिमी तटमा अवस्थित लामो र साँघुरो जुरा टापु मुख्य भूमिबाट केवल ६० माइल (९६.५ किमि) मात्र टाढा भए पनि बिल्कुल छुट्टै ठाउँ जस्तो लाग्दछ। यो टापु २९ माइल लामो र ७ माइल चौडा छ । पश्चिम क्षेत्र जंगली र लगभग निर्जन छ। जुराभित्र गेलिकमा द माउन्टेन अफ द साउन्ड, द माउन्टेन अफ गोल्ड र द सेक्रेड माउन्टेन गरी तीन ठूला पहाडहरु छन्। घना पहाडहरू, शान्तिपूर्ण चरणहरू र तूफानी समुद्रहरू यहाँका विशेषताहरु हुन्।
जुरामा संसारको तेश्रो ठूलो सामुन्द्रिक भूमरी भएको कारण जल पर्यटकहरुको एक आकर्षक बिन्दु बन्न गएको छ। त्यहाँ पुग्ने पर्यटकहरुले करिब तीन घन्टाको ढुङ्गा सयरमा ज्वारले पार्ने भुमरीको नजिकबाट अवलोकन गर्न सक्छन् । तर यसको लागि उचित मौसमको चयन गर्नु पर्ने हुन्छ। समुन्द्रको उत्तरी भेगबाट ठूलो मात्रामा पानी आउने र साँगुरो क्षेत्रमा प्रवेश गर्दा त्यहाँ ठूलो भूमरी पर्ने गर्दछ। यो जुरा र स्कार्बाबीचको करिब एक माइलको क्षेत्र हो। जसलाई कोरीभेरेकनको खाडी भनिन्छ। यसलाई साउण्ड अफ जुरा पनि भन्ने गरिन्छ। संसारको सबभन्दा ठूलो भूमरी देखिने देश नर्वे हो भने दोश्रोमा जापान हो।
यसको लागि आइतबार, मंगलबार र बिहीबार बिहान नौ बजेदेखि बाह्र बजेसम्म डुङ्गा सेवा उपलब्ध छ। सोह्र वर्ष भन्दा माथिका लागि सत्तरी पाउण्ड र मुनिकालाई चालिस पाउण्ड शुल्क लाग्ने यो भ्रमणमा सेतो समुन्द्री चीलहरुको बासस्थान पनि देख्न सकिन्छ। यहाँ प्रख्यात बेलायती लेखक जर्ज ओरवेल केही वर्ष (१९४६-४९) बसेको बार्नहिल कटेज पनि देख्न सकिने छ। उनले सन् १९४८ मा आफ्नो सर्वश्रेष्ठ बिक्री भएको पुस्तक १९८४ को लेखन तथा सम्पादन यही घरमा बसेर गरेका थिए। एनिमल फार्मसहित केही उत्कृष्ट पुस्तकका लेखकको खास नाम चाहिँ एरिक आर्थर ब्लेयर हो। उनी झन्डै यही भूमरीमा परेर मृत्यु भएका थिए। अन्य दुई जनासँग गएको सवार डुंगा डुबे पनि पौडेर बाहिर आउन सफल भएका थिए र माछा मार्ने मानिसहरुको सहयोगमा घर पुगेका थिए। उनको सन् १९४९ मा लण्डनमा ४६ वर्षकै कलिलो उमेरमा मृत्यु भएको थियो। पूर्व प्रधानमन्त्री डेभिड क्यामरून यहाँ पटकपटक पुगेका छन्। उनको श्रीमती सामन्था क्यामरुनका सौतेनी बुबा वर्तमान लर्ड विलियम एस्टोरको मुख्य बसोबास यतै भएकोले नियमित भेट हुने गरेको छ।
ऐतिहासिक दृष्टिकोणबाट हेर्दा जुराको इतिहास धेरै प्रकारले हेब्रिड्सका अन्य टापुहरूसँग मिल्दोजुल्दो छ। केही समय यहाँ नोर्सेमनले आइल अफ म्यानबाट पनि शासन गरेको देखिन्छ। सन् ११५६ को इस्लेको प्रसिद्ध समुद्री युद्धमा सोमर्लेडहरु बलियो भएपछि नोर्स शक्ति समाप्त भयो। सोमर्लेडका वंशजहरु मध्ये क्लान डोनाल्डको प्रख्याति थियो। यिनीहरुलाई टापुका देवताको रुपमा लिने गरिन्थ्यो। प्रायजसो टापुहरु यिनीहरुको नियन्त्रणमा थियो। सन् १५०६ मा क्यामस एन स्टेकाको सन्धिले जुराको भूमि र शक्तिको सबै अधिकार हाउस अफ क्याम्पबेलको क्याडेट शाखालाई दिइयो। क्याम्पबेलको प्रभुत्व सन् १९३८ सम्म कायम रह्यो। जुराको अन्तिम चार्ल्स क्याम्पबेलले जुरा स्टेट र घरहरू सब बेचेर त्यहाँबाट बसाइ सरेका थिए।
जुरा पुग्नको लागि तीन वटा विकल्पहरु छन्। पहिलो ग्लास्गोबाट लोगान एयरमा इस्ले टापू जाने नियमित जहाज पाइन्छ। दोश्रो केनाक्रेगबाट क्याल्म्याक फेरीद्वारा पोर्ट एलेन वा पोर्ट एस्काइगसम्म कार वा बाइकको साथ यात्रा गर्न सकिने छ। इस्ले पुगेपछि पोर्ट एस्काइगबाट फियोलिनसम्म करिब १० मिनेटको फेरी क्रसिंग गर्नु पर्दछ। यो सेवा प्रायजसो बिहान ७. ३० देखि बेलुकी ६.३० सम्म संचालनमा रहन्छ। अर्को विकल्प वसन्त र गर्मी महिना (मार्चको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म) को समयमा स्कटल्याण्डको तायवालिचको सानो र धेरै सुरम्य गाउँबाट १२ जना यात्रु अट्ने डुङ्गाबाट करिब ५० मिनेटमा जुरा पुग्न सकिनेछ। यस बाहेक १६ टन सम्मको व्यक्तिगत डुङ्गाहरू प्रयोग गरेर पनि जुरासम्म जान सकिने छ। यस्ता डुङ्गाहरु बिसाउनको लागि टापुको सबैभन्दा ठूलो गाउँ क्रेगहाउस नजिक प्रति रात १० पाउण्ड लिएर बिसाउने बन्दोबस्त गरिएको छ। जुरामा पुगेर वरिपरि घुम्नको लागि बस र ट्याक्सी सेवा भए पनि आफ्नो अनुकुलतामा निस्कनको लागि आफ्नो गाडी लिएर जानु उपयुक्त हुनेछ। लण्डनबाट गाडीमा पहिलो फेरिपोर्टसम्म पुग्न करिब ५२० माइलको यात्रा गर्नु पर्ने हुन्छ। बिचमा थकाइ मार्दै जाने हो भने बिहान छ बजे तिर यात्रा शुरु गर्यो भने बेलुकी बास बस्नसम्म पुग्न सकिने छ।
जुराभरि एउटा मात्र बाटो छ त्यो पनि सिंगल लेनको। अर्को दिशाबाट आएको गाडीलाई ठाऊँ ठाऊँमा रोकेर बाटो दिनु पर्दछ। ए ८४६ नामाकरण गरिएको यो बाटोमा गाडी चलाउँदाको आनन्द बेग्लै प्रकारको हुने बताइन्छ। बथानका बथान पहाडमा खेली हिँड्ने हरिणहरुको दिनचर्या हेर्नुको मजा अवश्य पनि अविश्मरणीय हुनु पर्दछ। सिंगो टापुमा एउटा पब,पसल,हुलाक,पेट्रोल पम्प र डिस्टिलरी रहेको छ भने बस्नको लागि एक होटलसहित केही कटेजहरु पनि छन्।
त्यहाँ बसोबास गर्नेहरु एकापसमा एक परिवारको रुपमा बसेका छन्। साथ सहयोग सुख दुखमा सबै नै सरिक हुन्छन्। वर्षभरि विभिन्न चाडबाडका अवसरमा भेटघाट रमाइलो गर्नुको साथै ग्रीष्मकालीन १० के र हाफ म्याराथन दौड म्याराथुन गर्ने गरिन्छ। मंगलबार बेलुकी ७:३० बजेदेखि त्यहाँ आउने सम्पूर्ण पाहुनाहरुको स्वागतार्थ गीत संगीतसहित ट्युन्श नाइट् गर्ने चलन छ। वार्षिक रुपमा एउटा सांगीतिक महोत्सव पनि गरिन्छ। यसवर्ष यो मेला २७-२९ सेप्टेम्बरको लागि तय गरिएको छ। जुरा पेरिश चर्च आइतबार प्रार्थना गर्नुको साथै हप्ताभरि आगन्तुकहरूको लागि खुला हुने गर्दछ। यहाँभित्र जुराको इतिहास झल्काउने फोटोहरु संरक्षण गरी प्रदर्शनमा राखिएका छन् । यसलाई स्थानीय रुपमा संग्रहालयको रुपमा स्थापित गरिएको छ।
यहाँ सम्पूर्ण कार्यक्रम गर्ने सामुदायिक जुरा हल पसलको छेउ क्रेगहाउसमा छ। गर्मी महिनामा हरेक बुधबार हलमा क्राफ्ट फेयर आयोजना गरिन्छ। होग्माने सिलिड,बर्न्स सपर,फेल्स रेसको शनिबार साँझ सिलिधका साथै केटाकेटीहरू हलमा आयोजित हलोवीन र क्रिसमस पार्टीहरूमा खुब रमाउने गर्दछन् । विवाह ,जन्मदिन लगायत अन्य जमघटको लागि स्थानीयहरुले यही हल भाडामा लिने चलन छ। सन् २०१९ देखि भने अन्यत्र कार्यक्रम गर्न मार्कीको पनि ब्यवस्था गरिएको छ। स्कट र निक्कीले आफ्नो विवाहको लागि भनेर खरिद गरेको मार्कीलाइ ब्यावसायिक रुपमा भाडामा दिन शुरु गरेका हुन्। त्यसैगरी घुमफिरको लागि सवारी साधन नल्याउनेहरुको सुविधाको लागि एउटा सार्वजनिक ४५६ नम्बरको बस र केही ट्याक्सीहरुको पनि ब्यवस्था गरिएको छ।
खाना र चिया नास्ताको लागी यहाँ दुईवटा ठाऊँहरु छन् । जुरा होटलमा रहेको रेस्टुरेण्टमा समरमा लन्च १२ देखि २:३० सम्म र डिनर ५:४५ देखि ८:३० सम्म खुला रहन्छ । विण्टरमा भने समय अलि फरक रहन्छ । लोकल खानाहरु स्थानीय समुन्द्रमा समातिएका माछाहरुको स्वाद लिन पाइनेछ । द एंटेलर्स क्याफेमा चाहिँ ८ देखि ११:३० सम्म ब्रेकफास्ट र दिउँसो १२ देखि ६ बजेसम्म लन्च पाइन्छ । यहाँ आइसक्रिम र चिया कफी पनि पाइन्छ। सामुदायिक पसलमा दैनिक आवश्यकताका सामानहरु किन्न पाउँछ ।
जुराको मुख्य आकर्षणको केन्द्र र त्यहाँको आर्थिक उपार्जनको मुख्य आधार यहाको डिस्टिलरी हो। प्रत्यक्ष वा परोक्ष रुपमा यहाँ बसोबास गर्ने सम्पूर्ण मानिसहरु यस कम्पनीसंग सरोकार राख्दछन् । सन् १८१० मा स्थापना भएको यस टापुको ह्विस्की डिस्टिलरीलाई सन् १८३१ मा आधिकारिक रूपमा लाइसेन्स दिइएको थियो र सन् १९०१ सम्म चलेको थियो। तर यो आर्थिक कठिनाइको चपेटामा पर्दै गएको र दुई ठूला युद्धहरु भएको कारण लामो समयसम्म भग्नावशेषको रुपमा रहेको थियो । तर त्यहाँ बसोबास गर्नेहरुको सामूहिक प्रयासमा सन् १९६३ देखि पुन: समुदायको प्राणको रूपमा संचालनमा ल्याउन सफल भएका हुन्। यसलाई सबैले आफ्नो घरको रुपमा स्याहार सम्भार गर्ने गरेका छन्। यहाँ आउने मानिसहरुलाई १५ पाउण्ड शुल्कसहित यहाँभित्र हुने सम्पूर्ण क्रियाकलापबारे जानकारी दिने गरिन्छ। यो वर्षभरि शनिबार र आइतबार बाहेक हरेक दिन संचालनमा आएको छ। सन् २०१५ मा आइल अफ जुराको उत्तरी छेउमा जुरा फेरीबाट २५ माईल टाढा एलिसिया, क्लेयर र जर्जिना मिलेर लुसा जिन उत्पादन गर्न थालेका हुन्। लुसा ग्लेनको पानी प्रयोग गरेर बनाइने यो जिन दिन प्रतिदिन प्रख्यात भैरहेको छ।
यहाँ आउनेहरुले प्रायजसो वन्यजीव जन्तु हेर्ने, हाइकिङ, हिलवाकिङ, सी कायाकिङ, साइक्लिङ्गलगायत टार्बर्टमा प्राचीन खडा गरेजस्तो देखिने पत्थर तथा क्लेग क्यासलका भग्नावशेष जस्ता ऐतिहासिक स्थलहरूको अवलोकन गरेर आनन्द लिने गर्दछन्।
वनजंगल र धेरै जमेको पानीहरु भएर हुनु पर्दछ यहाँ लामखुट्टेभन्दा अलि सानो खालको किरा अनि भुसुनाहरु बढी आउने गर्दछ। यसले टोक्दाखेरि खिल परेर चिलाउने गर्दछ। त्यस्तो खिल तुरुन्त निकालिएन भने पछिसम्म दुख दिन सक्ने भएकोले आवश्यक सावधानी अपनाउन पर्ने सुझाव दिएको पाइन्छ।
मेरो जुरा संगको परिचय भने अलि भिन्न छ। केहीपटक जुरा चाखेको थिएँ। तर यसबारे केही जानकारी थिएन। छोरी ब्यारेस्टर बन्नको लागि पिपुलेज गर्न सहयोग गर्ने स्कटिश ब्यारेस्टर फिओनाको पारिवारिक घर जुरामा रहेछ । बेलाबखत जाने गरेको तर अहिले नगएको लामो समय भएछ । कुरै कुरामा केही दिनको छुट्टी मनाउन छोरीज्वाइँ जाने सल्लाह भयो र पुगेर आए । नियमित बसोबास नगर्ने भएको कारण घरको त्यति हिफाजत हुन सकेको छैन। हाम्रो पुरानो गाउँघरको घरमा बसे जस्तो अनुभव सुनाएका थिए। गजबको कुरा त्यो घरमा चाबी लगाए पनि त्यतै छाड़ने चलन रहेछ। त्यहाँको बारे कुरा सुन्दा हामी पनि एकपटक जानु पर्छ कि भन्ने सल्लाह त भएको छ तर समय निर्धारण भने गरिएको छैन। हेरौँ कहिले पूरा होला हाम्रो जुरा घुम्न जाने कुरा ?
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।