जर्मनीको हिरोशिमा – हामबर्ग

नियात्रा

उत्तरी सागरमा उत्पन्न भएको भुइँ बादलले हामबर्ग सहरलाई छपक्कै छोप्दा मेडिटेरियन सिपिङ कम्पनी (एमएसी) यूरिबियाले हामबर्ग बन्दरगाहमा रोकिने प्रयत्न गरिरहेको छ । एल्वा नदीको मुखैमा अवस्थित यो बन्दरगाह रटरडयाम, द नेदरल्याण्ड र एन्टरेप, बेल्जियमपछिको यूरोपको तेश्रो ठूलो बन्दरगाह हो । यस बन्दरगाहमा ठूल्ठूला चारवटा टर्मिनलहरु रहेका छन् । तर अन्य सबै टर्मिनलहरुलाई छाडेर हामी चाहिँ ‘स्टेनवर्डर’ टर्मिनल भवनको किनारमा रोकिने प्रयत्न गरिरहेका छौं । किनभने यहाँमात्र ३ सय ३० मिटरभन्दा लामा लामा यात्रुवाहक पानीजहाजहरु र ८ हजारभन्दा बढि यात्रुहरुको राम्रोसँग हेरविचार गर्न मिल्ने सुविधा रहेको छ ।
यतिको ठूलो पानीजहाजलाई सकुशल बन्दरगाहमा रोक्न कप्तान पाउलो बेनिनीले भरपूर प्रयत्न गरिरहेका छन् । हुनत पानीजहाजलाई सहज तरिकाले रोक्नको लागि उनको साथमा स्थानीय खुङखार जल पाइलट पनि पानीजहाजको ब्रिजमा उनी सँगसँगै रहेका छन् । उनै पाइलटको निर्देशनमा कप्तान बेनिनीले पानीजहाज रोक्ने काम गरिरहेका छन् । यस्तो यात्रुबाहक पानीजहाजको कप्तानलाई पानीजहाजको भाषामा ‘मास्टर कप्तान’ भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको छ । अनि हाम्रो यस पटकको पानीजहाजको कप्तान इटालियन मूलका नागरिक हुन् ।
पानीजहाजको कप्तान मात्र होइन यो पानीजहाज पनि सोही देशको पानीजहाज हो है भन्दा पनि खास्सै फरक पर्दैन । तर प्राविधिक रुपमा यस कम्पनीको मुख्यालय चाहिँ पहिले जस्तो नेपल्स, इटालीमा नभएर जेनेभा, स्वीटजरल्याण्डमा सरेको छ । यसरी सर्नुको मुख्य कारण यस कम्पनीका पूर्व मालिक जियानलुजी अपुन्टो र उनको परिवार आजभोलि जेनेभामा बस्दै आएका छन् । यस कम्पनीको सुरुवात सन् १९७० मा जियानलुजि आफैले गरेका थिए । त्यसपछि सन् २०१४ सम्म काम गरेर उनी कम्पनीदेखि निवृत्त भएका छन् । अहिले उनको छोरा डियागो र छोरी अलेक्साले कम्पनीको हेरचाह गर्ने गरेका छन् । ३१ दशमलव ५ बिलियन डलरको मालिक तिनै परिवार अहिलेको मितिसम्म स्वीटजरल्याण्डको सबैभन्दा धनाढ्य परिवार हुन है भनेर चिन्ने गरिन्छ ।
२५ फेब्रुअरी २०२४ । मोबाइलको स्क्रिनमा बिहानीको समय ठीक ८ बजेको छ । हामी आजभन्दा ठीक दुईदिन अगाडी बेलायतको दक्षिणी सहर साउथाम्पटनलाई छाडेर लगभग ३७ घण्टा अंङ्ग्रेजी जलाशयमा यात्रा गरिसके पछि बल्लबल्ल हामबर्ग, जर्मनी आइँपुगेका छौं । अनि यस पटकको उत्तरी यूरोपको यात्राको क्रममा मलाई मेरी श्रीमती ताराले साथ दिइरहेकी छिन् । अझै ठीक अहिलेको समयको कुरो गर्ने हो भने चाहिँ हामी यतिबेला पानीजहाजको पन्ध्रौँ तलामा रहेको एउटा झ्यालको नजिकै बसेर बिहानीको खाजा खपाखप खाँदै खाँदै हामबर्ग सहर नियालिरहेका छौं ।
तर यसरी हामीले खाजा खाँदै गर्दा, “ए ! पोहर परारको जस्तो हिऊँ त आज परेको छैन रहेछ ?” अचानक ताराले झ्याल बाहिर हेर्दै हेर्दै मुख खोल्छिन् । हुन पनि हो । हामी यिनै सहरमा आजभन्दा ठीक दुई वर्ष पहिले पनि तारासँग आएका थियौंँ । तर त्यसबेला डिसेम्वरको महिना थियो । अब जर्मनीमा डिसेम्बर महिना भनेपछि हिऊँ पर्नु एकदम स्वभाविक नै मान्नु पर्छ । अहिले फेब्रुअरी महिनाको पनि अन्तिम अन्तिम समय हो । त्यसैले हिऊँको सट्टा सहरलाई छपक्कै बादलले ढाकिरहेको बिरमाइलो दृश्य देख्न सकिन्छ ।
त्यतिका धेरै बादलको दृश्य हेरिरहेको बेला म ताराको भनाइ सुने पनि खास्सै नसुने झै गर्छु । तर सोहीबेला, “यो खाली गिलासहरु उठाइ दिउँ कि कसो ?” हाम्रो टेबलमथि भएको गिलासहरु देखाउँदै एकजना कालो बर्णको बेयराले हामी नजिक आएर प्रश्न सोध्छ । अब उनको स्वर सुनेर मेरो कान तिखो तीखो हुन्छ । त्यसपछि म उनको शरीरलाई शिरदेखि पुछारसम्म एक झलक नियाल्छु । मलाई यसरी हेर्दा उनी भारतीय मूलको नागरिक हो कि भन्ने आभास हुन्छ । अब उनी भारतीय जस्तो देखिएको मात्र होइन पक्कै पनि भारतीय मूलको नै हुनुपर्छ भनेर निश्चित गर्छु । के गर्ने यतिबेला परदेशमा छौ । त्यसैले छिमेकी मूलको मानिस भनेपछि अलिक आत्मियता नजिक भएको जस्तो मलाई महसुस हुन्छ । त्यसैले उनीसँग बोल्ने जमर्को गर्छु ।
“हुन्छ – हुन्छ, टिप्नु भए हुन्छ,” जवाफ फर्काउँछु ।
मेरो कुरो सुनेर उनी फिस्स मुस्कुराउँछ तैपनि एक्कै शब्द बोल्दैन । उनी केही नबोलेपछि मलाई यो मान्छे कि त अलिक सोझो छ होइन भने पक्कै घमण्डी हुनुपर्छ भन्ने लाग्छ । त्यसपछि म उनलाई झन् नजिकदेखि नियाल्न थाल्छु । तैपनि मज्जाले गहिरिएर उनलाई हेर्ने हो भने उनी हदै कलिलो उमेरको जस्तो देखिन्छन् । आ जे सुकै परोस् है मनभित्र खुल्दुली पैदा भएर आइरहेको छ । त्यसैले दुईचार शब्द बोली हालौ है जस्तो लाग्छ ।
“मित्र – के तपाइँ भारतदेखि आउनु भएको हो कि कसो ?”
“होइन होइन के हुन्थे । म त डर्वान – दक्षिण अफ्रिकादेखि पो आको हो त ।”
“अनि तपाइँ त साह्रै कलिलो पो देखिनु हुन्छ ? चाडै कमाउन लाग्नु भयो कि कसो ?”
“हो नि । म अलिक कलिलै छु । भर्खर भर्खर २१ त पुग्दैछु । तर मेरो यो पहिलो र अन्तिम परदेश पनि हो ।”
“अरे ! के भन्नु हुन्छ ? किन र ? यहाँको काम त एकदम सजिलो छ नि होइन र ?”
“अँह ! कहाँ सजिलो हुनु र ? पटक्कै सजिलो छैन । मेरो यो जीवनकै पहिलो करार हो । अनि यो करारको अवधि ८ देखि साढे ८ महिनाको हुन्छ । त्यसपछि म यहाँ फर्केर के आउँथे ? मागेर खान्छु । बरु भोकै मर्छु । तर मरिगए यहाँ काम गर्न आउँदिनँ । यो त मेरो लागि नर्क नै सावित भैसक्यो । अझै अर्को कुरो भनौ ?”
“भन्नोस् न । किन नभन्नु ? हुनत अब के नै पो बाँकी छ र ?”
“यहाँको काम त आधुनिक जमानाको दासत्व (मोर्डन स्लेभरी) नै हो भन्दा पनि केही फरक पर्ने वाला छैन ।”
उनको ओंठ निचोर्यो भने आमाको दुध निस्केला जस्तो कलिलो उमेरको देखिन्छ । तैपनि छिप्पिएर माहिर भएको जस्तो कुरो गर्छ । म बिहानीको खाजा खाँदै खाँदै हामबर्ग सहरको नजर लगाइरहेको मान्छे । तर अचानक भारतीय मूलको अनि दक्षिण अफ्रिकामा जन्मेको ऋतेशको कुरो सुनेर म एकछिन दङ्ग पर्छु ।
जसोतसो खाजा खाइ सकेपछि म बसिरहेको स्थानदेखि जुरुक्कै उठ्छु । लामो समयसम्म एक्कै स्थानमा बसिरहेको हुनाले उठेपछि एकपटक सर्लक्कै ज्यान तन्काउँछु । त्यसपछि बादल लागिरहेको मेरो चश्मालाई टेबलमा आराम गरिरहेको कागजी रुमाल टिपेर पुस्छु । त्यतिबेलासम्म तारा बसिरहेको स्थानदेखि उठ्ने छाँट गरिहालेकी छैनन् । अब यिनले ढिलो गर्नै भइन् भन्दै एकचोटी आँखा मिचेर पानीजहाजभित्रको दृश्य हेर्न थाल्छु ।
नभन्दै यतिबेला यो खाजा खाने ठाउँ यति व्यस्त देखिन्छ कि यहाँ खाजा खाने मानिसहरुको भीडलाई हेर्दा टेम्पल स्ट्रिट, हङकङको रात्रीकालिन बजारको तिर्सना मज्जाले मेटाउन सकिन्छ । यति धेरै मानिसहरुले हाँसीखुशी खाजा खाइरहेका छन् कि उनीहरुलाई हेर्दा छुट्टै आनन्द आउँछ । तर कसैकसैले थालमा अँट्न मिल्नेभन्दा धेरै धेरै खाजा बोकेको देख्दा मानिसको जात जतिको लोभी जात अन्य कुनै प्राणीको हुँदैन होला भन्ने मलाई त्यसबेला आभाष हुन्छ । अझै कसैकसैले त आफ्नो काखे बच्चा रोइरहेको पनि वास्ता नगरी आफू खाजा हसुरिरहेको देख्दा म एकछिन अचम्मित हुन्छु ।
तन, मन र ध्यान दिएर लगभग १३ सय मानिसहरुले एक्कै स्थानमा बसेर खाजा खान सकिने ‘मार्केट प्लेस’ बफे रेस्टुराँको व्यस्तता हेर्दा यो संसार कति व्यस्त छ होला भन्ने मलाई त्यसबेला भान पर्छ । हुनत यतिबेला यो पानीजहाजको सबैभन्दा व्यस्त स्थान यो नै हो है भन्नुमा पटक्कै कन्जुस्याइ गर्न हुँदैन । किनभने पानीजहाजले बेलायत छाडेपछि दुई दिन लगाएर बल्लबल्ल जर्मनी आइपुगेको छ । त्यसैले यात्रुहरु कतिबेला बाहिर जमिनमा निस्किहाल्यौँ भनेर हतार हतारमा खाजा खाइरहेका छन् ।
मलाई यतिबेला हामी नेपालीहरुको एउटा उखानको याद आउँछ । कसलाई के को धुन तर घर ज्वाइँलाई खानाको धुन भनेझै ती सबै मानिसहरुको गतिविधिलाई चट्टै भुलेर, “अब जाने कि कसो गर्ने ?” कुर्सीमा मज्जाले आराम गरिरहेकी तारालाई मसिनो स्वरमा सोध्छु ।
“होइन जान त जाने नै हो । तर तपाइँलाई एउटा केरा वा एउटा स्याउँ बोकी दिउँ कि ? किनभने तपाइँलाई २–३ घण्टामा त आखिर भोक लागि नै हाल्छ,” ताराले बाटोको लागि चाहिने खाजाको विषयमा प्रश्न गर्छिन् ।
“अरे लाटी ! कस्तो कुरो गर्छौं हौ । मरेर मरेर हामबर्ग आइपुगिएको छ । अब बाहिर निस्केपछि त हामबर्गको स्थानीय हामबर्गर पो खाने हो त,” सारांशमा जवाफ फर्काउँछु ।
“ल ल म पनि हेर्छु,” मेरो जवाफ सुनेर उनको थोरै पारो तातिन्छ ।
हाम्रो वादविवाद सकिएपछि थोरै अगाडी बढ्छौं । र, एउटा लिफ्ट पक्रेर मुनि छैटौं तलामा झर्छौं । आज तिनै स्थानमा पानिजहाजदेखि बाहिर निस्कनको लागि ग्याङ वे छ है भनेर क्रुज डाइरेक्टरले एकाबिहानै ध्वनी प्रशारक यन्त्रदेखि भनेका थिए । अझै उनले के पनि भनेका थिए भने तपाइँहरु जतासुकै जानु होला तर ७ बजेर ३० मिनेट जाँदा पानीजहाजभित्र छिरिसक्नु पर्छ किनभने पानीजहाजले बेलुकीको ठीक ८ बजे हामबर्ग छाड्छ ।
क्रुज डाइरेक्टरको भनाइलाई स्मंरण गर्दै गर्दै पानीजहाजको ६ तलामा पुगेर पानीजहाजदेखि बाहिर निस्कनको लागि भिडमा लामवद्ध भइहाल्छौं । वास्तवमा यसरी ठूल्ठूलो पानिजहाजमा यात्रा गर्दा एउटा कुरो के बेफाइदा हुन्छ भने तपाइँ पानीजहाजको जुनसुकै स्थानमा पुग्नुहोस् त्यहाँ त्यतिक्कै भीड हुने गर्दछ । अझै यस पटकको यात्रामा त हामी ६ हजार २ सय यात्रु र १७ सय ११ पानीजहाजका कर्मचारीहरुसँग मिलेर सँगसँगै यात्रा गरिरहेका छौं । त्यसैले यतिका धेरै मानिसहरु भएको स्थानमा मानिसहरुको भीडदेखि भागेर अन्त कतै शान्त स्थानमा जान चाहेर पनि सक्दै सकिँदैन ।
तिनै मानिसहरुका हुलसँगसँगै केहीबेर हिेँडेपछि हामी पानीजहाजको ग्याङ वेमा पुगेर ठोकिन्छौं । यो पानीजहाजको अन्तिम सुरक्षा जाँच गर्ने स्थान यो नै हो । त्यसैले यहाँ बिमानस्थलको अध्यागमनमा जतिकै कडा सुरक्षा जाँच हुने गर्छ । म त्यहाँ पुगेपछि अजङ्गको शरीर लिएर मेरो सामू ठिङ्ग खडा भइरहेको एकजना अश्वेत मूलको सुरक्षा अधिकारीलाई “शुभबिहानी,” भन्छु ।
उनले प्रतिउत्तरमा, “खै ! तपाइँको यात्रु परिचय पत्र देखाउनोस्,” ठूल्ठूलो स्वरमा गर्जिन्छ । मान्छे हेर्दै यस्तो डरलाग्दो देखिन्छ जस्ले गर्दा मप्रति उनले छाडेका शब्दहरु हावामा बिलिन हुन पाउँदा नपाउँदै मैले घाँटीमा झुन्डाइरहेको परिचय पत्र हत्तपत्त दिइहाल्छु । उनले परिचय पत्रलाई हाते यन्त्रमा च्वास्स एक पटक छुवाएर स्क्यान गर्छन् । त्यसपछि कम्प्युटरको स्क्रिनमा देखिएको मेरो तस्वीर म जस्तो छ कि छैन भनेर एकचोटी निश्चित गर्छन् । त्यसपछि हातको इसाराले मलाई बाहिर पठाउँछ ।
उनको आदेश पालन गरेर म सुस्तरी पानीजहाजदेखि बाहिर निस्कन थाल्छु । तर थोरै अगाडी बढेपछि मेरो पछिपछि तारा आएकी छन् कि छैनन् होला भनेर एकपटक निश्चित गर्छु । उनी मेरो ठीक पछाडी देखेपछि हामी एक अर्कामा बोल्दै नबोली सुइँसुइँ हिँड्न थाल्छौंँ । पानीजहाजदेखि जमिनसम्म पुग्ने फलामे साँघु निक्कै लामो छ । अनि त्यसमाथि टेक्ता निस्केको जुत्ताको चुरुमचुरुम आवाजसहित हामी जमिनमा निस्किहाल्छौं ।
लगभग १८ लाख जनसख्यां भएको तर अल्वा नदीको मुखैमा रहेको हामबर्ग सहरमा उत्तरी सागरदेखि बहेर आएको बतासले हल्का चिसो भएतापनि पानी परिहालेको छैन र पानी पर्ने छाँट पनि देखिएको छैन । बरु मौसम परिवर्तन भएर बन्दरगाहमा देखिएको गगनचुम्वी यन्त्रहरुमा सूर्यको किरणहरु छपक्कै पर्दा हामबर्ग बन्दरगाह अति सुन्दर देखिन सुरु गरिसकेको छ । म प्रकृतिप्रति प्रेम गर्ने मान्छे । त्यसैले त्यतिको राम्रो मौसम हुँदै गरेको बेला बाहिर जमिनमा निस्केपछि सबैभन्दा पहिले आनन्दित हुन्छु । त्यसपछि पश्चिम दिशातिर फर्केर अब सहरतिर कसरी जाने होला भनेर एकछिन द्विविधामा पर्छु ।
केहीबेर अगाडीसम्म हामबर्गमा सेताम्मे कुहिरोको दृश्य देख्दा उता मेरो गाउँघर बुईपा, खोटाङ्मा बिहेको लगन भएको बेला पछ्यौराले गम्लङ्गै अनुहार ढाकेकी १८ बर्षे राईनी दुलहीझै लज्जावती देखिएको थियो । तर अब मौसमको अवस्था त्यस्तो रहेन । यस्तो राम्रो मौसम भएको बेला ११ मे १९८७ को त्यो दिनलाई म बेस्सरी स्मंरण गर्छु । त्यसबेला मेरो पल्टन हङकङमा थियो र म पल्टनदेखि ६ महिनाको छुट्टीमा आफ्नो गाउँ निस्केको थिएँ । त्यस दिन हाम्रो बिहे भएको थियो र बिहेमा झ्याइँझ्याइँ नौमती बाजा बजाएर दम्कुको बूढो किवले दमाइँ छमछमी नाचेको अहिले घरिघरि सम्झन्छु । उनी स्वर्ग गएको पनि तीसौ वर्ष भैसकेको छ । अझै उनको माइलो छोरोले दिखुवा–बुईपा मूलबाटोमा रहेको बूढो एक्ले पीपलको फेदमा उभिएर बेस्सरी नरसिँगा फुग्दा वारिपारि लेक्पा सबै थर्किएको थियो ।
त्यतिबेला उनी मात्र १८ की त थिइन् र छुँदै मैला पर्ने उनको गालामा प्रशस्त मासु थिए । अहिले ती मासु कता बिलय भए होला ? केवल छाला र नशामात्र बाँकी रहेका छन् । समय पुगेर फतफति कुहिएर भुइँमा झरेको स्याउ जस्तै तीन चाउरी परेको उनको थोत्रो अनुहार छ । तैपनि म तिनै १९८७ सालको पूर्व दुलहीलाई आफू सँगसँगै च्यापेर जिन्दगीमा दोश्रोचोटी यूरोपको प्रख्यात एल्वा नदीको किनारै किनार यसरी हिँडाउन पाउनु पनि म अहोभाग्य नै ठान्दछु ।
तर मैले ताराको विषयमा त्यस्तो सोचिरहँदा अचानक, “खै ! अब यो ठाउँमा मरिगए गाडी पाइँदै पाइँदैन । कसरी पो सहर घुम्न जाने होला र ?” उनले छोटो प्रश्न गर्छिन् ।
हाम्रो जीवन यात्राको क्रममा पटकपटक उनको मुखदेखि यसरी नै प्रश्न आउने गर्छ तर समाधान कहिलै आउँदैन । त्यसैले यसबेला उनको कुरो एक कानले सुन्छु र अर्कोबाट उडाइ दिन्छु । त्यसपछि निस्फिक्रीसँग हिड्दै त्यहाँदेखि थोरै अगाडी बढछु । तर ठीक त्यहीबेला मेरोसामू केही ट्याक्सी चालकहरु देखा पर्न सुरु गर्छन् । म चाहिँ हिँडदै हिँड्दै एकजना पुन्टे चालकको नजिकै पुग्छु । यदि वादविवाद भएर ट्याक्सी चालकसँग जुध्नै पर्यो भने पनि सानोलाई चाहिँ लछारपछार गरेरै भएपनि जित्छु होला भन्ने मनमा लाग्छ । नत्रभने मन्टिगो बे, जमैकामा एकजना अश्वेत मूलको ट्याक्सी चालकले मेरो कान समात्न खोजेको सम्झेर थैंया मेरो जीऊ भनेर आफ्नो मरिन्च्याँसे जीऊलाई घृणा गर्छु ।
त्यति सोचि सकेपछि ट्वाल्ल परेर मलाई हेरिरहेको तिनै ट्याक्सी चालकलाई, – “यहाँदेखि मुख्य बजारसम्म पुग्न कति यूरो लाग्छ होला, चालकज्यू?” अनुनय बिनयको साथ प्रश्न तेस्र्याउँछु ।
“होइन ! कति जना हुनुहुन्छ र ?”
“यी हेर्नुहोस न । मेरी अर्धाङ्गिनी र म । हामी दुईजना त छौं,”
“दुईजनालाई भा ठक्रक्कै ३२ युरो । अलिक टाढासम्म जाने भा ४० सम्म लिन्छु,”
“ए ! हो र ? तपाइँ अति महङ्गो मान्छे हुनु हुनेरहेछ । ल ल भो ठीक्कै छ ।” पुन्टे देखेर अलिक निर्धक्कसाथ त्यसो भन्छु । तर त्यति बोली सक्ने बितिक्कै, –
“लु मलाई पछ्याउँ है ?” एक वचन भन्छु र ताराको अगाडी लुरुलुरु हिँड्न थाल्छु ।
“होइनौ । त्यति त पर्छ होला ? दुई वर्ष पहिले पनि २५ युरो तिरेर हामी गाको थियौं,” ताराले सानो स्वरमा भन्छिन् ।
उनले त्यसो भन्दै गर्दा उनी ट्वाल्ल परेर ट्याक्सी चालकलाई हेरिरहेकी हुन्छिन् । “के हेरेकी हौ त्यसरी ? लाटाले पापा हेरे जस्तो,” एकताल त्यसो भन्छु र सुइँसुइँ हिँडन थाल्छु । तर त्यसरी हिँड्ने क्रममा यसो औला भाँच्छु र एकचोटि हिसाब गर्न थाल्छु । अब पानीजहाजले बन्दोबस्त गर्ने यातायात सुविधा (एक्सकर्जन) प्रति व्यक्तिको १७ युरो लाग्छ । जुन रकम भनेको बन्दरगाहदेखि सहर जान र आउनको लागि दोहोरो भाडा हो । आखिर त्यो भाडा नै बरु सस्तो हुने रहेछ भन्ने मेरो मनमा लाग्छ ।
यत्तिकैमा एकचोटि चश्माको फोकस मिलाउँछु र यसो दायाँबायाँ हेर्छु । नभन्दै एमएसीले यहाँ उपलब्ध गर्ने कोचहरुको संख्या पनि आखाले देखिन्जेलसम्मको छ । अनि पानीजहाजका यात्रुहरु पनि यतिका धेरै छन् कि उनीहरु ह्वारह्वार्ती आउँदा कोच एक्कै छिनमा भरिहालिन्छ भन्ने लाग्छ । अब केही नसोच – भैरे, बरु त्यतैतिर लाग मनमनै भन्छु ।
बानी त पटक्कै राम्रो छैन । किनभने एक पटक ख्वाक्कै खोक्छु र घाँटी सफा गर्छु । त्यहाँदेखि क्रमशः अगाडी बढ्दै गर्दा एमएसीले गत रात नै यात्रुहरुको कोठा कोठामा कोचको टिकट उपलब्ध गराएको एकफेर सम्झन्छु । “थुक्क ! जाबो किराँतीको बुद्धि,” त्यसबेला भन्छु । हेर ! त्यो टिकट नै गोजीमा हालेर बोकी हिँडेको भए त के भारी हुन्थ्यो र ? आफैँले आफँैलाई प्रश्न गर्छु । तर महङ्गो हुन्छ भनेर वास्ता गरिनँ भन्ने यतिबेला सम्झन्छु ।
हुन पनि पहिले पहिले मलाई पानीजहाजको एक्सकर्जनले चुक खुवाइ सकेको मान्छे हुँ । त्यसैले एक्सकर्जन भन्ने बितिक्कै मलाई धेरै महङ्गो हुन्छ भन्ने भान परिहाल्छ । त्यसैले पटकपटक महङ्गो एक्सकर्जनमा परेको विगतका कुराहरु स्मंरण गर्दा मेरो नाडीका रौँहरु अहिले पनि ठडिएको महसुस हुन्छ । अब त्योभन्दा कतै सस्तो मिलिहाल्छ कि भनेर एकछिन बाहिर निस्केपछि सस्तो यातायातको साधन खोज्ने अभ्यास गरौँ भन्ने रहर पनि थियो । तर जाडोको समयमा त्यो मेरो रहर पनि त्यति धेरै लामो समयसम्म टिक्न सक्दै सकेन । त्यसपछि द्वितीय विश्वयुद्धमा जापानले हात उठाएझैं यातायातको साधन खोज्न मैले हात उठाइसकेको छु ।
बिहानीको समय भएको हुनाले हल्का जाडो छ । त्यसैले दुवै हात ज्याकेटको खल्तीमा घुसारेर आजको दिनको विषयमा सोच्न थाल्छु । आज आइतबारको दिन पनि हो । त्यसैले हामबर्ग सहर समय समयमा हुने नेपाल बन्द जस्तै पूरै बन्द हुन्छ । जुन कुरो मैले पहिलो पटकको हामबर्ग यात्रामा नै चाल पाएको छु । अन्य समयमा हुँदो हो त यहाँको सडक, साँघु र दोकानहरु अति व्यस्त हुन्थ्यो । तर ती माथि उल्लेख गरिएका स्थानहरु आज बिल्कुल सुनसानमात्र नभएर कालाहारी मरुभूमि जस्तै उजाड देखिरहेको छ ।
हुनत पानीजहाज कम्पनीले बन्दोबस्त गरेको कोचहरु र ट्याक्सीहरुले जम्मै बाटो हाम्रो नै हो है भनेको जस्तो गरेर गाडी हाँकिरहेको रमाइलो क्षणको यहाँदेखि दृश्यावलोकन गर्न मिल्छ । तर त्यतिमात्र नभएर अझै यो बन्दरगाह अलिक कोल्टे स्थानमा निर्माण भएको हुनाले सार्वजनिक साधनहरु पाइँदै पाइँदैनन् । त्यसैले क्रुज कम्पनीको यो एक्सकर्जन मात्र अन्तिम विकल्प हो है भन्ने कुरो मलाई त्यसबेला बोध हुन्छ ।
ट्याक्सी चालकलाई छाडेपछि तारासँग थोरै अगाडी तर पूर्वै पूर्व दिशातिर बढ्छौं । अलिकति अगाडी बढेपछि हाम्रो सामु एउटा सानो अस्थायी तम्बुबाट बनेको कुटी देखापर्छ । तिनै कुटीभित्र एकजोडी युवतीहरु एक–एक अनुहार लाली पाउडर घसेर लिपिस्टिक टलक्कै टल्काउँदै मुसुक्क मुस्कुराइ रहेका देख्न सकिन्छ । जाडो मौसम भएको हुनाले उनीहरुले ज्यादै नरम न नरम तर हेर्दा बाक्ला न बाक्ला ज्याकेटहरु पहिरन गरेका देखिन्छन् । अनि उनीहरुको ज्याकेटको बाया छातीमा एममएसीको लोगो छ र लोगोको थोरै मुनी उनीहरुको आफ्नो नाम र कुन देशबाट आएका हुन् भनेर आ–आफ्ना देशका झण्डा देखिन्छ ।
अझै उनीहरुले त्यो कुटीभित्र एउटा सानो टेबल पनि राखेका छन् । र, टेबलमाथि केही कागजपत्र राखेर कोचको टिकट बेच्ने सानो दोकान थापेका छन् । त्यहाँ भएका युवतीहरुमा एकजना इटालियन र अर्की स्पेनिस हुन है भन्ने कुरो लोगोमा भएको उनीहरुको देशको झण्डा देखेर मैले चाल पाउँछु । ती दुई युवतीहरुमध्ये मलाई इटालियन युवतीको अनुहारले अलिक बढी नै आकर्षण गर्छ । त्यसैले म हतारहतार उनीतिर हानिहाल्छु । उनको बहुपास नजिकै पुगेर भिजेको बिरालो हुँदै सानो स्वरमा, “गुड मर्निङ,” भन्छु ।
ती युवतीले मलाई देख्ने बित्तिकै, “कति जना हुनुहुन्छ ?” सोध्छिन् ।
“यी हामी दुईजना त छौं,” आफूसँगसँगै उत्तरी युरोप यात्रामा निस्केकी सङ्गिनी देखाउँदै जवाफ फर्काउँछु ।
“कोठा नम्बर भन्नोस् त ?”
“१२२६५”
“लु यी टिकट लिनुहोस्”
उनले टिकटमा हाम्रो कोठा नम्बर फ्यास्सै लेख्छिन् । त्यसपछि हामी दुईजनाको लागि हातमा एउटा टिकट थमाइ दिन्छिन् । तर म उनलाई धेरै धेरै धन्यवाद छ भनेर भन्न पाउँदा नपाउँदै हतारहतार मेरो पछाडी उभिरहेको अर्को मान्छेसँग उनी बोल्न थाल्छिन् । अब कोचमा चढ्ने टिकट हातमा परि हाल्यो । यी आईमाईलाई के झिजोली रहनु है मनमनै भन्छु र हामी सुस्तरी कोचपार्कतर्फ लाग्छौं । तर हामी त्यसरी थोरै अगाडी बढ्ने बितिक्कै एकजना चिनियाँ मूलकी युवती उत्तरी सागरदेखि बहँदै आएको बताससँग मिसिएर हस्याङ्फस्याङ् गर्दै हाम्रो सामू आइपुगी हाल्छिन् । उनी हाम्रो सामू आउने बित्तिकै मैले हातमा समातिरहेको टिकटलाई मागेर एकसर्को हेर्छिन् ।
उनले टिकट हेरिसकेपछि, “मलाई पछ्याउनोस् है” भन्छिन् । उनको कुरो सुनेर हामी उनको पछिपछि लाग्छौँ । तर उनीसँग दस पन्ध्र कदममात्र के हिँडेका हुन्छौं दायाँतिर पार्क गरेर राखेको कोचलाई देखाउँदै, “यो कोचभित्र पस्नोस्,” भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यले झै उर्दी जारी गर्छिन् । त्यसै त म डरपोक मान्छे । उनको आदेश पालन गरेर कोचभित्र विलय भइहाल्छौं ।
क्रमशः
अक्सफोर्डसायर ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री