लण्डन । कलिलै उमेरमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएनएस) मा कन्सल्ट्यान्ट बनेर एउटा अस्पतालको विभाग हाँकिरहेका डा सुदर्शन गुरुङलाई अपुग केही थिएन । आमाबाबा, दिदीबहिनीलाई सहयोग गर्नु परेको थिएन । आफूलाई सानैदेखि मन लागेको परोपकारी कार्य गर्न पाइरहेकै थिए । तर एउटा कुराले उनलाई सधैँ पिरोलिरहन्थ्यो त्यो कारण थियो उनको पिता आर्मीमा अफिसर बन्न नपाउनु ।
भारतीय सेनामा कार्यरत रहँदा उनका पिता सुमलकुमार गुरुङले अफिसर बन्नका लागि एक पटक दुई पटक होइन चार पटकसम्म कोसिस गरे । भारतको आसामबाट म्याट्रिक र सिलोङको नर्थ इस्टर्न हिल विश्वविद्यालयबाट स्नातक गरेर आर्मीमा भर्ती भएका गुरुङलले अभाग्यवश उनले त्यो मौका पाएनन् । पिताले अफिसर बन्न नपाउँदा आमा पनि चिन्तित हुने भइहालिन् ।
आफूले आदर्श मानेको, उतिबेलै उच्च शिक्षा पाएका पिता अफिसर बन्न नपाएको थाहा पाएर सुदर्शन भित्रभित्रै पिरोलिएका थिए । उनले कसरी पिताको अधूरो र अपूरो सपनालाई पूरा गर्ने भनेर मौका पर्खिरहेका थिए । एनएचएसमा कन्सल्ट्यान्टकै रूपमा काम गरिरहेको बखत उनले ब्रिटिश सेनामा चिकित्सकहरूलाई उपलब्ध हुने अवसरहरूका बारेमा अनुसन्धान गर्न थाले । उनले थाहा पाए-बेलायती सेनामा कन्सल्ट्यान्टहरूले सीधै मेजरदेखि लेफ्टिनेन्ट कर्णेलसम्म जान मिल्दोरहेछ । त्यसपछि आमाबाबालाई पनि थाहा नदिई उनी बेलायती सेनामा भर्ती भएर तालिम गर्न थाले । यस्तैमा गत वर्षको फादर्स डेका दिन उनले आफ्ना पितालाई सैनिक पोशाक लगाएको तस्वीर पठाएर भने – यो तपाईको लागि हो । तपाई तीक्ष्ण भएर पनि अफिसर बन्न पाउनु भएन । अब तपाईको सपना पूरा गर्न म आर्मीमा जाँदैछु ।
उनै सुदर्शन केही साताअघि मात्र तालिम पूरा गरी दीक्षित भएका छन् । उनी बेलायती सेनामा मेजर पदमा सीधै प्रवेश गर्ने पहिलो नेपाली पनि भएका छन् । अब उनको जिम्मेवारी सेनामा भर्ती भएका चिकित्सकहरूलाई तालिम दिने भएको छ । सिभिल र सैनिक सेवालाई अब उनले सँगसँगै अघि बढाउनु पर्ने भएको छ । वर्षमा ११ महिना मेडवे अस्पतालमा र बाँकी १ महिना बेलायती सेनाका लागि उनले मिलाउनु पर्नेछ ।
बुढानिलकण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका सुदर्शनले काठमाडौँ मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस पूरा गरे । सन् २०१२ मा बेलायत आएका उनले यहाँको स्वास्थ्यसेवमा प्रवेश गर्नका लागि आवश्यक जाँच पास गर्दै उच्च शिक्षा अध्ययनलाई अघि बढाए । यहीँबाट उनले एमडी गरे । किङ्गस कलेज हस्पिटल हुँदै उनी अहिले मेडवे अस्पताल जिलिङहाममा क्यान्सर विभागको प्रमुख छन् ।
सानैदेखि परोपकारी कार्यमा रूचि राख्ने सुदर्शन बेलायतमा जुनियर चिकित्सकका रूपमा काम गर्दैगर्दा करिब एक वर्ष बारमा गीत गाएर कमाएको पैसाले नेपालमा मुसहर बस्तीमा स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । नेपालमा महाभूकम्प गएपछि सहयोगका लागि उनी बेलायतबाट २१ जना चिकित्सकसहित नेपाल गएका थिए । बेलायतमै पनि उनले दर्जनौँ स्वास्थ्यशिविर सन्चालन गरेका छन् ।
सुदर्शन अहिले वेलिङ लण्डनमा आमा बाबा र श्रीमतीका साथ बसोबास गर्दैछन् ।
छोराले आफ्नो अधूरो सपना पूरा गरेपछि सुमलकुमार गुरुङ हर्षित नहुने कुरै भएन । उनी भन्छन्, ‘म अफिसर बनेको हेर्ने मेरी श्रीमतीको पनि ठूलो रहर थियो । अहिले छोरा अफिसर भएर हाम्रो सपना पूरा गरेकोमा लागेको खुशी व्यक्त गर्ने शब्दै छैन ।’ छोराले आफूहरूको मात्र होइन समाज, गाउँ, राष्ट्रकै लागि एउटा इतिहास बनाएकोमा गर्व महसुस भएको उनले बताए ।
सुमलकुमार गुरुङ पनि आफैँमा बेलायतमा समाजसेवी र शिक्षासेवीको परिचय बनाएका व्यक्तित्व हुन् । भारतीय सेनामा अफिसर बन्न नपाएपछि उनी पेन्सन पाक्नासाथ नेपाल फर्केका थिए । स्वदेश फर्केर उनले छोराछोरीको शिक्षादीक्षामा समय दिए । सँगै लुम्ले कृषि केन्द्रमा पनि काम गरे । पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिँदै उनले ६९ वर्षको उमेरमा युनिभर्सिटी अफ लण्डनबाट बुद्धिज्ममा स्नातकोत्तर गरेका छन् । उनकै पहलमा दक्षिण पूर्वी लण्डनमा डायमण्ड बुद्धिष्ट सेन्टर खडा भएको छ ।