सिनेगलबाट सिक्ने कि ? 

मार्च २४ मा सिनेगलमा रास्ट्रपतिको लागि भएको निर्वाचनमा ४४ वर्षीय पूर्व ट्याक्स अफिसर बासिरु डियोमाए फेले विजय हासिल गरेका छन् । यही अप्रिल २ देखि उनले पदबहाली पनि गरेका छन्। अफ्रिका भरीकै हालसम्मको सबैभन्दा कान्छो निर्वाचित रास्ट्रप्रमुख भएकोले सेनेगलका बारेमा जान्ने उत्त्सुकता जाग्यो। यसअघि सिनेगलबारे खासै जानकारी थिएन। पढ्दै जाँदा चाखलाग्दा विषयहरु भेटिए। हुन त कुनै पनि नागरिकले आफू जन्मेको देशलाई संसारको सबभन्दा सुन्दर ठाउँ भन्नु स्वाभाविक हो। महासमस्याले सताएका देशहरुका नागरिकहरुले पनि यदि ती समस्याहरु नभएका भए आफ्नो देश राम्रो भन्ने गर्दछन्। हुन पनि संसारको कुनै पनि देश त्यस्तो नहोला जहाँ अन्य देशभन्दा केही न केही राम्रा र फरक कुराहरु नभएका हुन्। कुनै देशको कुरा आएपछि म भने त्यो देशका कोही मानिस सम्पर्कमा भए नभएकोतिर सोच्न पुग्छु।

यूट्युबमा केही भिडियो हेर्दै थिएँ । अप्रत्यासित रुपमा एक अभिभावक मसंग बोल्न खोजेको जस्तो लागेर बाहिर निस्केँ। इस्टर छुट्टीमा के गर्ने विचार छ भनेर सोधिन्। म भर्खर बार्सिलोना पुगेर आएको घरमा नै बस्छु होला भनेँ। मैले पनि प्रश्न गरेँ। उनले हामी त घर जाने भनिन्। घर कहाँ हो र ? भनेको त सिनेगल रे। मैले उनलाई भित्र अफिसमा बोलाएर मैले हेर्दै गरेको कार्यक्रम देखाएँ। उनीहरु फ्रान्स पुगेर भोट हालेर फर्केका रहेछन्। आफूले मत हालेको व्यक्ति जिते पछि खुशी नहुने कुरा भएन। मैले सिनेगलबारे लेख्ने विचार गरेको छु भने पछि उनी खूब खुशी हुँदै मलाई पनि पढ्न देऊ न है भनिन् । मैले पनि इमेल मागी हालेँ। कस्तो सन्जोग उसको पहिलो नाम अनिता रहेछ। यो त हामी नेपालीहरुको प्रचलित नाम हो भने पछि थप खुशी भइन्। उनले करिब सात मिनेटमा सुनाएका कुराहरु उल्लेख गर्दै सिनेगल बारे थप विषयहरु उठान गर्नेछु।

सिनेगल प्राकृतिक श्रोत साधनले भरिएको देश हो। यहाँ पेट्रोलियम मात्र हैन सुन, खनिज र अनाजहरु पनि प्रशस्त पाइन्छन् । यदि यहाँको श्रोतलाई सरकारले सही ढंगले प्रयोग गर्न सक्यो भने कोही सिनेगालीहरु पनि केवल काम खोज्नको लागि विदेशमा जाने थिएनन् होला । अरबमा पेट्रोल मात्र छ तर यहाँको सुनखानीलाई भरपूर प्रयोग गर्ने हो भने नागरिकहरुले सुनको लुगा लगाउन पनि सक्छन्। विश्वका धेरै देशहरुमा बेचिने सुन सिनेगाली हुन्। फ्राँसबाट स्वतन्त्र भए पनि अहिलेसम्म पनि त्यहाँ फ्रान्सको दबदबा छ । त्यहाँको मुद्रामा पनि फ्रान्सको वर्चस्व छ। पुराना शासकहरु सबै आफ्नो सत्ता जोगाउनको लागि फ्राँसको हितमा मात्र लागे अबको युवा रास्ट्रपतिले देश र जनताको हितमा बढीभन्दा बढी काम गर्ने छन्। युवाहरुको बहुसंख्या रहेको र केही गरौं भन्ने हुटहुटी भएको कारण अबको केही वर्ष सिनेगलको इतिहास स्वर्णिम साबित हुने छ । हुन त त्यहाँ फेब्रुवरी २५ मा निर्वाचन हुनु पर्ने थियो। तर जनता परिवर्तनको पक्षमा रहेको र आफ्नो शक्ति नाश हुने देखेर वर्तमान रास्ट्रपति म्याकी सालले अन्य निहुँ पारेर यसलाई रोक्ने निर्णयमा पुगेका थिए। त्यहाँको संसदले पनि रास्ट्रपतिको यो चाहनालाई समर्थन गर्दै डिसेम्बरको १५ मा नयाँ निर्वाचनको मिति घोषणा गरेको थियो। तर त्यसबेला पनि हुने कुनै ग्यारेन्टी नभएको र यसले प्रजातन्त्रमाथि नै धावा बोल्ने भएकोले विपक्षीहरु अदालतमा पुगे। त्यहाँको संबैधानिक अदालतले यही फेब्रुवरी १५ मा सरकारले सकेसम्म छिटो निर्वाचन गर्न पर्ने आदेश दियो। यही आदेशअनुसार मार्च २४ मा निर्वाचन समापन भएको हो । अहिले निर्वाचनमा विजय प्राप्त गरेका नेता र उनको पार्टीका अध्यक्ष उस्मान सिन्को मार्च १४ गते मात्र काराबासबाट छुटेका थिए। परिवर्तनको आश यी युवा नेताहरुबाट गरिएको छ । केही समयभित्र परिणाम देखिने नै छ । 

सिनेगललाई अफ्रिकाको नै सबैभन्दा शान्त, सुखी र स्थायित्व भएको देश मानिन्छ। यसको ज्वलन्त आधारको रुपमा त्यहाँ अहिलेसम्म सेना वा अरु कसैले बल प्रयोग गरेर सत्ता हत्याएको छैन। फ्राँसबाट स्वतन्त्र भएको सन् १९६० देखि हालसम्म केवल चार जनाले मात्र रास्ट्रपतिको रुपमा शासन गरेका छन्। पहिलोपटक सन् १९६३ मा भएको निर्वाचनमा लियोपोल्ड सेंघोरले नेतृत्व प्राप्त गरेपछि लगालग चार पटक गरी बीस वर्ष शासन चलाएका थिए। उनी पछि आएका उनकै सोसलिष्ट पार्टीका अब्दु डिओकले पनि सन् २००० सम्म सत्ता सम्भालेका थिए। त्यसपछि भने डेमोक्र्याटिक पार्टीका अब्दुल्या वादेले सन् २०१२ नेतृत्व प्रदान गरे भने त्यसपछि अलायन्स फर रिपब्लिक पार्टीका म्याकी साल हालसम्म सत्तामा छन्। अब आउने अप्रिल २ तारिखदेखि नवनिर्वाचित रास्ट्रपतिले शपथ ग्रहण गर्नेछन् । दिवंगत नभएका पूर्व रास्ट्रपतिहरु अहिले पनि राजनीतिमा सक्रिय नै छन् र उनीहरुले निर्वाचनमा हार भए पछि मात्र सत्ता छाडेका छन्। वर्तमान रास्ट्रपतिले भने निर्वाचनमा भाग लिएका थिएनन्। 

त्यस्तै यस अवधिमा १७ जना प्रधानमन्त्री बनेका छन् भने त्यसमध्ये दुई जना त पछि रास्ट्रपति पनि बनेका थिए। तीन पटक गरी १६ वर्ष त प्रधान मन्त्रीको पद पनि हटाइएको थियो। सन् २०२२ देखि फेरि प्रधानमन्त्री नियुक्त गर्न थलिएको हो। अहिलेसम्म यहाँ दुई जना महिला प्रधानमन्त्री भएका छन्। पहिलो पटक सन् २००१ को मार्च ३ देखि सन् २००२ को नोभेम्बर ४ सम्म मामे म्यदिओ बोएले उक्त पद सम्भालेका थिए भने त्यसपछि अमिनाता टाउरेले  ३१० दिनको लागि सन् २०१३/१४ मा प्रधानमन्त्री नियुक्त भएका थिए। यसपालि पनि वर्तमान रास्ट्रपतिले आफ्नो तर्फबाट निकटम प्रधानमन्त्री आमादोउ बालाई उम्मेद्वार बनाएका थिए।

केही समयदेखि यहाँको राजनीतिक क्रियाकलापहरुबाट त्यहाँका जनताहरु अलि दिक्क भैसकेका थिए। भ्रस्ट्राचार र अनियमितताको कारण युवाहरुमा नैराश्यता बढी रहेको थियो। यहाँ कुल जनसंख्याको करिब ७५ प्रतिशत नागरिक ३५ वर्षभन्दा कम उमेरका छन्। बेरोजगारीको संख्या बीस प्रतिशतभन्दा माथि पुगेको छ भने गरिबीको रेखामुनि करिब चालिस प्रतिशत पुगेको छ। यिनै समस्याहरु समाधान गर्न लामो समयदेखि शासन गरिरहेका शासकहरुलाई हटाउन पर्छ भनेर सन् २०१४ ओस्मान सुन्कोले द अफ्रिकन प्याट्रीओट्स सिनेगल अफ वोर्क इथिक्स एंड फ्र्याटरनिती भन्ने पार्टी स्थापना गरेका थिए। फे र सुन्कोको भेट दुवै जना कर कार्यालयमा कार्यरत रहँदा भएको थियो। सरकारी अनिमियतता तथा अन्य आर्थिक हिनामिनाका फायलहरु खोल्ने क्रममा उनिहरुले भ्रस्टाचारको जरा काट्नको लागि नयाँ पार्टीमार्फत युवाहरुलाई आव्हान गर्ने निर्णयमा पुगेका थिए। सुन्को रास्ट्रिय रुपमा नै परिचित हुँदै गए। सन् २०१९ मा भएको निर्वाचनमा रास्ट्रपति पदमा उमेद्वारी दिएका थिए। उनी १५. ६७ मत प्राप्त गरेर छ जनामा तेश्रो भएका थिए । तर त्यसपछि उनी झन् बढी सक्रिय भए। सन् २०२२ मा भएको आमनिर्वाचनमा १६५ कुल सिट भएको सदनमा ५६ सिट ल्याएर जबर्जस्त विपक्षी बन्न सफल भएको थियो। पहिलो हुने अलायन्स फर रिपब्लिकले ८२ सिट ल्याएको थियो भने पूर्व रास्ट्रपति वादेको पार्टीले २४ सिट ल्याएर तेश्रो भएको थियो।

अक्टोबर २०२३ देखि २६ डिसेम्बरसम्म रास्ट्रपतिको लागि उमेद्वारी दर्ता गर्न पर्ने सूचना जारी भएको थियो।१४ जुलाइमा सोन्कोले उमेद्वारी दर्ता गराए। तर उनलाई युवाहरु भडकाएको आरोपमा दुई वर्ष जेल सजाय तोकिएको थियो। फेले अदालतको यस फैसलालाई राजनीतिक प्रतोशोधको संज्ञा दिएर सामाजिक संजालहरुमा विचार व्यक्त गरेपछि उनलाई पनि अदालतको मानहानी गरेको भन्दै मुद्दा लगायो। देशभरि विरोधका आवाजहरु उठ्न शुरु भयो। सोन्कु आफैँ पनि एक महिने भोक हड्तालमा बसेको बेला जुलाइ ३१ मा उनको पार्टीलाई नै प्रतिबन्ध लगाइयो। सेप्टेम्बरमा रास्ट्रपति सालले प्रधानमन्त्री बाको उमेद्वारी घोषणा गर्यो। सोन्कुले पनि प्लान बी भनेर फेलाई तयार गरेअनुसार १९ नोभेम्बरमा स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गराए। उनी पनि अप्रिलदेखि जेलमा थिए। रास्ट्रपति उमेद्वारको लागि सात प्रदेशबाट कम्तिमा दुईहजार सहित ०. ८ देखि १ प्रतिशतसम्म मतदाताहरुको हस्ताक्षर अथवा १३ जना सांसद वा १२० जना मेयर वा क्षेत्र प्रमुखहरुको हस्ताक्षर हुन पर्ने संवैधानिक प्रावधान छ। यसको अलावा ३० मिलियन स्थानीय मुद्रा करिब ६५ लाख नेपाली रुपैयाँ शुल्क बुझाउन पर्छ। सोन्कु लगायत दुई पूर्व प्रधानमन्त्री अनि राष्ट्रपतिको सालो आडमा फेसहित केही उमेदवारहरुको निवेदन खारेजी गरियो । यो विषयले थप तनाब शुरु भयो। यसैलाई आधार बनाएर रास्ट्रपतिले संवैधानिक परिषदका दुई जना न्यायाधीशहरुमाथि जांचबुझ गरिने भन्दै ३ फेब्रुवरीमा अनिश्चितकालको लागि निर्वाचन स्थगन गरेका थिए। सरकारले टिभी ,इन्टरनेट, मोबाइल बन्द गरिदिए। तर विरोधको क्रम भने झन् बढ्न थाल्यो। तीन युवाहरुले ज्यान गुमाउन पर्यो। युरोपियन युनियन, अमेरिकी सिनेट, वेस्ट अफ्रिकाको संगठनलगायत मानव अधिकार संगठनहरुले सिनेगलले यो समस्या छिटो समाधान गर्नु पर्ने दबाब दिन थाल्यो। अदालतले यो निर्णयलाई बदर गर्दै सकेसम्म छिटो निर्वाचन गर्ने आदेश दियो। मार्च ६ मा रास्ट्रपतिले सिद्दिकी काबालाई प्रधानमन्त्री नियुक्त गरेर बालाइ चुनावमा केन्द्रित हुन सुझाव दिए। मार्च ९ देखि २२ सम्म प्रचार प्रसार गर्न पाउने गरी सरकारले २४ मार्चमा निर्वाचन घोषणा गर्यो। आममाफीको कानुनअनुसार सोन्को र फेलाइ १४ मार्चमा जेल मुक्त गरेका थिए। थोरै दिनमा प्रभावकारी ढंगले चुनाव प्रचारमा लागे। फेका दुई श्रीमती पनि यो अभियानमा निकै सक्रियसंग खटेका थिए। देशको विकार सबै बढार्न आफू उम्मेद्वार भएको सांकेतिक जानकारी दिन उनले कुचो लिएर प्रचार प्रसारमा लागेका थिए। 

गाम्बिया,गिनी,गिनी-बिसाउ,माली, मौरिटानिया र एटलान्टिक महासागरले घेरिएको सिनेगलको नाम त्यहाँको स्थानीय वोलोफ भाषा “सुनु गाल” बाट उत्पन्न भएको मानिन्छ जसको अर्थ “हाम्रो डुङ्गा” हो। यहाँको सडक, समुन्द्री तथा हवाई यातायातको कारण यस देशलाई अफ्रिकाको प्रवेशद्वार पनि मानिन्छ। हाल अनुमानित १ करोड ८५ लाख जनसंख्या रहेको यो क्षेत्र वोलोफ, फुलानी र मालिनके लगायत विभिन्न जातीय समूहहरुको साझा देश हो। यहाँ फ्रेन्च र वोलोफ मुख्य भाषाहरू बाहेक विभिन्न जातीय समूहको भाषाहरू जस्तै पुलार, सेरेर लगायत करिब ३८ विभिन्न अफ्रिकी भाषाहरू बोल्दछन्।

लेखक सुरेन्द्र श्रेष्ठ

सिनेगल धेरै पश्चिम अफ्रिकी साम्राज्यहरूको हिस्सा रहेको थियो। जसमा घाना साम्राज्य (८ औं शताब्दी), टुकुलोर साम्राज्य (११ औं शताब्दी) र जोलोफ साम्राज्य (१२ औं-१४ औं शताब्दी) थियो। इतिहासकारहरूका अनुसार सन् १३६४ देखि १४१३ को बीचमा नोर्मान्डीका डिप्पे र रुएन शहरका फ्रान्सेली व्यापारीहरू गाम्बिया र सेनेगल तटका साथै आइभोरी कोस्ट र गोल्ड कोस्टतिर ब्यापार गर्न निस्केका थिए। यस अवधिमा डिप्पेमा हाथीदाँत-नक्काशी गर्ने उद्योगको विकास भयो। पोर्चुगल, नेदरल्याण्ड्स र इङ्ल्यान्डल लगायत विभिन्न युरोपेली शक्तिहरूले १६ औं शताब्दीदेखि सेनेगल क्षेत्रमा व्यापार प्रभुत्वका लागि प्रतिस्पर्धा गरिरहेका थिए। डचहरूले सन् १५८८ मा गोरी टापुकब्जा गरेर रक्षात्मक किल्लाहरू स्थापना गरे र व्यापार विस्तार गरे। सन् १६५९ मा फ्रान्सले सेनेगलको सेन्ट लुइसमा व्यापारिक चौकी स्थापना गरेको थियो । अन्ततः, फ्रेन्को-डच युद्ध (१६७२-७८ ) को समयमा फ्रान्सले १६७७ मा गोरीको कब्जा प्राप्त गर्यो। त्यसपछि फ्रान्सले करिब ३०० वर्षको लागि नियन्त्रण कायम राख्यो। यस बीचमा सन् १७५८ मा बेलायती सेनाले केही समयका लागि कब्जा जमाएको थियो। सन् १९६० मा स्वतन्त्रता अभियान सफल भएको थियो। सन् १९५९ को अप्रिलमा सेनेगल र फ्रेन्च सुडान (हाल माली) एकीकृत भै माली फेडेरेशन निर्माण भयो। जुन २० सन् १९६० मा यसले फ्राँसबाट पूर्ण स्वतन्त्रता पायो तर लामो समय भने टिकाउ हुन सकेन र सन् १९६० को अप्रिलमा सिनेगल यो फेडेरेशनबाट अलग भएर स्वतन्त्र देश बन्यो। सन् १९८१ को डिसेम्बर १२ मा सिनेगल र गाम्बिया दुई देश बीच भविष्यमा एकीकरणसम्म हुन सक्नेगरी सेना, सुरक्षा,अर्थतन्त्र समेत साझेदारी हुनेगरी सिनेगाम्बिया कन्फेडेरेशन निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएपछि फेब्रुवरी १ सन् १९८२ देखि ब्यबहारमा पनि लागू भयो। सिनेगलको रास्ट्रपति र गाम्बियाको उपरास्ट्रपतिको सामूहिक नेतृत्वमा एक शासकीय संयन्त्र निर्माण भयो। गाम्बियाले पूर्ण एकीकरण गर्ने मनशाय नदेखाएपछि सन् १९८९ को सेप्टेम्बर ३० मा यो सम्झौता रद्द भएको थियो। यस बिचमा मालीमा १० जना रास्ट्रपति बने भने मे २४, २०२१ देखि अहिले सेनाको हातमा शासन चलिरहेको छ। यस अगाडी पनि पटकपटक गरी झन्डै २४ वर्ष सेनाले शासन चलाएका थिए।  

देशको भूगोल त्यहाँका मानिसहरू जत्तिकै विविधतापूर्ण छ। जसमा सुख्खा मरुभूमिदेखि हराभरा उष्णकटिबन्धीय क्षेत्रहरूसम्मका सबै चीजहरू छन्। सम्बृद्ध इतिहास, सांस्कृतिक विरासत, भौगोलिक विशेषता, मोडेल डेमोक्रेसी, सात युनेस्को साइटहरूले सिनेगललाई संसारसामू पृथक परिचय दिन सफल भएको छ । यिनै बिबिधता महशुश गर्न वर्षेनी लाखौं पर्यटकहरु आउने गर्दछन् । गोरी टापु अफ्रिकी तटमा सबैभन्दा ठूलो दास-व्यापार केन्द्रको इतिहासको साथै अफ्रिकाको सबैभन्दा अग्लो मूर्ति ४९ मिटर अग्लो अफ्रिकी पुनर्जागरण स्मारक रहेको छ। जसको लागत २ करोड ७० लाख अमेरिकी डलर रहेको र यसलाई उत्तर कोरियाली कलाकारले निर्माण गरेको थियो। समुन्द्रको पानीमा हुनपर्ने भन्दा दश गुणा बढी नुनको कारण गुलाबी रंगको देखिने लेक रोज अर्थात् लेक रेट्बा पनि यहाँ अवस्थित छ। यहाँ एउटा बिचित्रको गाउँ पनि छ। जहाँका घर, बाटो,कब्रिस्तानहरू सबै एक प्रकारको संख्या किरा क्ल्यामको सेलबाट मात्र निर्माण गरिएका छन्। त्यहाँ कुनै प्रकारको सवारी साधन चलाउन निषेध गरिएको छ।

यहाका नागरिकहरु आदर सत्कारमा अति नै सुसंस्कृत र सभ्य मानिन्छन्। पाहुनालाई मात्र हैन आफूभन्दा ठूलाबडालाई सम्मान र सानालाई स्याहार गर्ने यहाको चलन छ। यस प्रचलनलाई यिनीहरु टेरांगाको सभ्यता मान्दछन्। त्यसैले उनीहरु सेनेगललाई टेरांगाको भूमि भन्न रुचाउँछन्। वोलोफ भाषाबाट आएको टेरांगाको अर्थ खुलापन, मित्रता र आदर हो। त्यसैले यसलाई नैतिक शिक्षाको रुपमा सानो उमेरदेखि नै सिकाउने गर्दछन् । यसलाई उनिहरु विशेष सांस्कृतिक खजाना मान्दछन्।

सन् २०१२ मा सेनेगलले ग्रेट ग्रिन वाल अर्थात रुखको पर्खाल रोप्न सुरु गरेको थियो। जुन ७ हजार किलोमिटर लामो र १६ किलोमिटर चौडा रूखहरूको पर्खाल हो। यो विभिन्न देशहरू र सुख्खा साहेल सवानापारि अटलांटिक महासागरदेखि हिन्द महासागरसम्म फैलिएको छ। आयोजना निर्धारित समयभन्दा पछाडि परेको छ तर अझै पनि पूरा हुनेमा आशावादी छ ।

तेल, ग्यास र खनिजको अलावा यहाँको मुख्य उत्पादन अनाज मध्य पनि बदाम संसार प्रसिद्ध छ। वार्षिक करिब चौध लाख मेट्रिक टन उत्पादन गर्ने यो अफ्रिकाको नाइजेरिया र सुडानपछि तेश्रो देश हो भने पश्चिम अफ्रिकाको कुल ६० प्रतिशत उत्पादन हो। यहाँको माछा उत्पादन पनि आय श्रोतको अर्को भरपर्दो श्रोत हो। बेलाबखत माछा मार्ने माझीहरुलाई सामुन्द्रिक हिप्पोपोटामसले आक्रमण गरी मारिने पनि गर्दछ। प्रत्यक्ष रुपमा करिब ५३ हजार र परोक्ष रुपमा झण्डै पाँच लाख मानिसहरु रोजगार दिने यो व्यवसायले देशको वार्षिक जीडीपीमा तीन प्रतिशत जति योगदान पुर्याउँछ। अमेरिकामा मात्र यसले करिब ३५३ मिलियन डलर बराबरको माछा निर्यात गर्ने गरेको छ। गीत संगीत र फिल्म निर्माणमा पनि सेनेगलले उल्लेख्य भूमिका निर्बाह गरेको छ। आकन, बाबा माल, युनुस, भिभियांस थिओने जस्ता कलाकारले संसार प्रसिद्धि पाएका छन्  ।

विगत केही वर्ष सिनेगलले विभिन्न प्रकारका उतारचढाबहरु ब्यहोर्न पर्यो। पुराना नेतृत्वबाट शक्ति हत्याउन युवाहरुलाई सडकमा उतार्यो। आफ्नो नेतालाई अन्याय परेको महशुश गरेर ज्यान फाल्न तयार भए। इतिहासमा पहिलो पटक निर्वाचन स्थगित गर्दाको विरोधमा पनि तीन जनाले ज्यान गुमाए। उदाउँदो पार्टीका नेताहरु जेलमा मात्र राखेनन् उनीहरुको पार्टी नै प्रतिबन्धित गरिदियो। स्वतन्त्र रुपमा उमेद्वारी दिएको नेतालाई जनताले पहिलो चरणमा नै ५३. ८९ प्रतिशत मत दिएर विजय गराए। भ्रष्टाचार र सुशासन, आर्थिक सुधार, स्थिरता पुनर्स्थापना, युवा बेरोजगारी, स्वास्थ्य सेवा र शिक्षा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्ध, संस्थागत सुदृढीकरण अहिले त्यहाँ देखिएका चुनौतीहरु हुन् । आफ्नो छुट्टै मुद्रा संचालन गर्ने, पेट्रोल निर्यात गरिने देशहरुसंग नयाँ ढंगले सम्झौता गर्ने, बेरोजगारहरुलाई रोजगार दिलाउने जस्ता चुनावी नाराहरु कसरी सम्बोधन गर्ने हो त्यो भने “दाओमाय भनेको नै ओस्मान” हो भनेर विजय हासिल गरेका यी दुई नेता बीचको सम्बन्धले नै निर्धारण गर्ने छ । सिनेगलको राजनीतिबाट सकारात्मक वा नकारात्मक के कस्तो शिक्षा लिन सकिने छ त्यो भने भविष्यलाई जिम्मा दिनु पर्नेछ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री