लिगलिग कोट

पश्चिम नेपाल गण्डकी प्रदेशको गोरखा तथा लमजुङको बीचमा एउटा ठूलो तथा अग्लो डाँडा पर्दछ । सो डाँडा समुद्र सतहदेखि ४ हजार ७९० फिटको उचाईभन्दा पनि माथि रहेको छ । सो डाँडाको टाकुरामा एउटा कोट वा किल्ला वा गढी थियो जसलाई घले थरका मगरहरूले लिङलिङकोट भनेर भन्दथे । लिङलिङ शब्दको अर्थ सुन्दरताले भरिएको ठाउँ वा रमणीय दृश्य हेर्ने स्थल भन्ने भनाइ छ । लिङलिङकोटलाई लिकलिक कोट भन्ने पनि चलन थियो जसको स्थानीय मगर भाषामा सीमा वा सरहद भन्ने अर्थ हुन्छ । लिगलिग कोट घले मगर जनजातिको एउटा सानो राज्य थियो । सो राज्यमा बहुसंख्यक घले थरका मगरहरूको आवादी थियो । गुरुङ जनजाति बस्तीहरू पनि लिगलिग कोट राज्यमा सदियौं देखि रहेको छ ।

खस आर्य समूहको आगमन

भारतमा १५औं शताब्दीको समयमा मुसलमान शासकहरूले हिन्दू राजा र हिन्दू राज्यहरू माथि प्रायः आक्रमण गर्दथे । अत्याचार एवं उत्पात गर्ने गर्दथे । फलस्वरुप खसआर्य समुहका केही ठकुरी राजपूत, क्षेत्री, ब्राम्हण तथा दमाई, कामीहरुले पश्चिम नेपालको गण्डकी प्रदेश, मगरात क्षेत्रमा प्रवेश गरे । खस आर्यहरूले मस्र्याङदी र चेपे नदीभन्दा दक्षिण पूर्व तथा मगरात प्रदेशका विभिन्न भूभागहरूमा आफ्नो स्वतन्त्र राज्यहरू क्रमशः कायम गर्न थाले । फलस्वरूप खस भाषाको प्रचलन बढ्न थाल्यो । स्थानीय मगर भाषामा लिगलिगलाई लिङलिङ र लिकलिक भन्ने चलन थियो । पछि सो शब्दको अपभ्रंश भएर लिगलिग हुन गयो ।

शासन व्यवस्था

प्राचीन समयमा लिगलिग कोट, माझकोट गोरखा, बारपाक, सिहानचोक र अजिरगढ आदि राज्यहरूमा विभिन्न समयमा विभिन्न राज वंशका राजाहरूले शासन गरे । पछि ती राजवंशहरूको पतन हुन थाले । त्यसपछि ती स—साना राज्यहरूमा रहेका कविला समूहका सरदार, प्रमुख वा मुखियाहरूले आफूलाई नै सो राज्यको राजा घोषित गर्न थाले । साथै तिनीहरूका सन्तान नै वंशानुगत आधारमा राजा बनाउने वा हुने परम्परा कायम भयो । यसरी जन्मको आधारमा राजा हुने चलन सुरु भयो ।

चार /पाँच सय वर्ष अघि गण्डकी प्रदेशको लिङलिङ लिकलिक कोटका स्थानीय घले मगरहरू ज्यादै सचेत वा जागरुक थिए । उनीहरूले आफ्ना राज्यका राजा संरक्षक वा मुखियालाई जन्म वा वंशको आधारमा हुने वा बन्ने पद्धतिलाई स्वीकार गरेनन् । जन्म वा वंशको आधारमा बन्ने राजा मुखिया वा संरक्षक योग्य वा सक्षम हुन पनि सक्छ वा नहुन पनि सक्छ भन्ने तर्क पेश गरे । अतः वंशको आधारमा बन्ने वा हुने राजा वा संरक्षक पद्धतिलाई अस्वीकार गरे । सबैको सहमतिबाट आफ्नो राज्यको संरक्षक, मुखिया स्थानीय जनताले आफ्नो छनोट गर्ने पद्धतिप्रति सहमति जनाए । साथै निर्वाचित राजा वा मुखियाको कार्यकाल जम्मा एक वर्ष हुने म्याद पनि तोकिदिए ।

पाँच /छ सय वर्ष भन्दा पहिले हिमवतखण्ड प्रदेशका लिङलिङकोट मात्र पहिलो राज्य हो जहाँ घले थरका मगरहरूले राज्य शासन व्यवस्थामा आधुनिक प्रजातान्त्रिक शासनको अभ्यास सुरु गरे । आफ्नो राज्यको शासन सञ्चालनमा सम्पूर्ण जनताको सहमति लिने परिपाटीको सुरुवात गरे । साथै राज्यको राजा वा संरक्षक पनि सम्पूर्ण जनताको सहमतिबाट छनोट गर्ने पद्धतिको अभ्यास सुरु गरे । हिमवतखण्डमा सबभन्दा पहिले प्रजातान्त्रिक शासन व्यवस्थाको शुरुवात लिगलिगबाट शुरु भएको थियो भनेर भन्न सकिन्छ ।

लेखक

सात सय लिगलिग

यस राज्यलाई प्राचीन समयमा सात सय लिगलिग कोट भन्ने चलन थियो । सो अनुसार लिगलिग राज्य जम्मा सात सय घरधुरीहरू थिए । सोही तथ्यलाई आधार मानेर धेरै पछिसम्म तत्कालीन राज्य प्रशासनले लिगलिगलाई एउटा मौजा मानेको थियो अर्थात् प्रशासनिक एकाइ । बाली तिरेको रसिद वा भरपाईमा मौजा लिगलिग भनेर उल्लेख गर्ने चलन धेरै समयसम्म रहेको थियो ।

न्याय व्यवस्था

सात सय लिगलिग कोटमा प्राचीन समयदेखि भाइ भारदार घले मगर एवं गुरुङ समुदायहरुलाई एक ठाउँमा भेला गराई न्याय अन्यायको छानबिन गर्ने परम्परा थियो । त्यस भेलालाई सभा चौतारी भन्द थिए । सोही चौतारीमा न्याय इन्साफ र आपसमा कलह गर्नेहरूको बिचमा मेलमिलाप गने चलन थियो ।

सांस्कृतिक मेला

लिगलिग कोट मुख्यतः बडा दशैंको सप्तमीका दिन स्थानीय घले मगर युवाहरूलाई चोखो बसी फलास, बेलपत्र तथा अन्य फूलपाति टिपी ल्याई जमघट गरी फूलपाति झिकाउने चलन थियो । सो उत्सव लिगलिगकोटको दर्खे ठाउँको डाँडा माथि आयोजना गर्ने चलन थियो । सो ठाउँलाई स्थानीयहरूले फूलपाति डाँडा पनि भन्दथे । यसरी स्थानीय निवासीहरूले संगठित भएर आफ्नो सामाजिक एवं सांस्कृतिक चाडबाड मनाउने चलन थियो । साथै स्थानीय निवासीहरूको पारिवारिक एवं अन्य सामूहिक चाडपर्वहरू धुमधामले मनाउने परम्परा पनि रहेको थियो ।

राजा वा संरक्षक चयन

प्रत्येक आश्विन शुक्ल दशमीको टीकाको दिनमा लिगलिग कोटमा आफ्नो राज्यको राजा वा मुखिया छान्ने परिपाटी थियो । सो दिन लिगलिगको तल्लोकोटदेखि माथिल्लो कोट सम्मको दौड प्रतियोगितामा पहिलो हुने विजेतालाई राजा, मुखिया वा संरक्षक छान्ने परम्परा थियो । दौडमा पहिलो हुने विजेतालाई सम्पूर्ण स्थानीय जनताको सहमतिबाट राज्यको संरक्षक वा राजा वा मुखियाको पगडी पहिराई दिने चलन रहेको थियो । साथै एक वर्षको पदावधि पनि तोक्ने नियम थियो । यो उत्सव सदियौंदेखि धुमधामले मनाउने परम्परा लिगलिग राज्यमा थियो ।

राजा दलसुर घले मगर

भनिन्छ वि.सं. १६०४ (सन १५४७) देखि वि.सं. १६१५ (सन १५५८) सम्म हरेक वर्ष लिगलिग राज्यको राजा छनोट गर्ने दौड प्रतियोगितामा स्थानीय घले थरका युवा मगर दलसुर घले मगर विजेता भए । लिगलिग कोट राज्यको झन्डै १२ वर्षसम्म राजाको पगरी पहिरन उनी सफल भए । उनी ज्यादै शक्तिशाली तथा लोकप्रिय निर्वाचित राजा थिए । स्थानीय जनताले उनको लागि लिगलिग कोटको छेउमा भव्य दरबारसम्म बनाइदिएका थिए । जसलाई राजा दलसुर घलेको दरबार भनेर भन्ने चलन थियो । लामो अवधिसम्म राजा भएपनि जनताको चाहनाको कदर गरे । आफ्नो वंशको आधारमा जन्मदेखि आफ्नो सन्तानलाई राजा बनाउने प्रयास गरेनन् । वंशानुगत राजाको परम्परा कायम गरेनन् । जनताको सहमतिबाट प्रत्येक वर्ष लिगलिग कोटको राजा बनाउने परिपाटीलाई नै कायम राखे । फलस्वरूप आज पनि राजा दलसुर घले मगरको दरबारमा नियमित पूजापाठ गर्ने चलन कायम रहेको पाइन्छ ।

लिगलिकोट माथि आक्रमण

त्यस समयमा घले थरका मगरहरूको राज्य लिगलिग कोट एउटा सानो राज्य थियो । तर ज्यादै संगठित एकतावद्ध र सशक्त थियो । सो राज्यको राजा युवा मगर दलसुर घले मगर अत्यन्त शक्तिशाली बलवान एवं युद्धकलामा निपुण थिए । सातसय लिगलिग राज्य माथि सिधा हमला गरेर विजय प्राप्त गर्न लमजुङका राजकुमार द्रव्य शाहलाई आँट आएन । सिधा युद्धबाट लिगलिग कोट जस्तो सशक्त राज्य तथा शक्तिशाली राजा दलसुर घले मगरलाई परास्त गर्न सकिँदैन भन्ने राजकुमार द्रव्य शाहको निष्कर्ष थियो । अतः उनले कुटनीतिक चालबाजीबाट लिगलिग राज्यका राजा दलसुर घले मगरलाई हटाउने रणनीति तयार गरे ।

इं. सन् १५५९ दशैँको टीकाको दिनमा लिगलिग कोटका स्थानीय जनता भुकण्डे खोलाको शिवालय मन्दिरको प्रागंणमा जम्मा भएका थिए । दौड प्रतियोगितामा भाग लिने युवाहरू त्यही भेला भएका थिए । राजकीय नियम अनुसार कसैले पनि सो समारोहमा आफ्नो हात हतियार बोकेका थिएन । दौड प्रतियोगितामा भाग लिन घले थरका मगर युवाहरू तयारीमा लागेका थिए । सो अनुसार युवाहरू रक्सी खाई मसलमा तेल लगाई मालिश गर्दै तयारी गर्दै थिए । स्थानीय प्रजाले बाजा नगरा बजाउने नाच्दैे रमाइलो गर्दै थिए । युवाहरूको साहस बढाउदै थिए । त्यसै मौकाको फाइदा उठाउने उद्देश्यले लमजुङका राजकुमार द्रव्य शाह आफ्नो सहयोगी लडाका साथीहरुका साथ सो दौड प्रतियोगिता उत्सवमा दर्शकको रुपमा भकुन्डे खोलाको शिवालयमा पुगे । प्राय हरेक वर्ष छरछिमेकी राज्यहरूबाट धेरै सङ्ख्यामा दौड प्रतियोगिता एवं राजा छान्ने उत्सव हेर्न दर्शकहरूको आवतजावत हुने गर्दथ्यो । अतः स्थानीय घले मगरहरूलाई राजकुमार द्रव्य शाहको आगमन प्रति कुनै शंका उपशंका भएन । उनी पनि दौड प्रतियोगितामा भाग लिन थाले । राजकुमार द्रव्य शाह र उनका सहयोगीहरूले लिगलिग कोटमा प्रवेश गर्नुभन्दा अगाडि नै आफ्नो विध्वंशक शस्त्र अस्त्र ठाउँ ठाउँमा लुकाएर राखेका थिए । सो गोप्य कुराको कुनै जानकारी लिगलिग कोटका सुरक्षा कर्मचारीलाई भएन । सबै उत्सवमा रमाइरहेका थिए ।

दौड प्रतियोगिता शुरु हुनाका साथै स्थानिय युवा र मगर सैनिक माथी राजकुमार द्रव्य शाह उनका सहयोगी र सैनिकहरूले एक्कासी भीषण हमला गरे । बिना कुनै सूचनाको सो हमलाबाट एकछिन सम्म लिगलिगका घले थरका मगर युवा तथा स्थानीय जनता अचम्भित भए । तैपनि तिनीहरूले बिना हातहतियार राजकुमार द्रव्य शाह र उनका सैनिकहरूको आक्रमणको प्रतिकार गरे । भनिन्छ लिगलिगका घले मगर र गुरुङ युवाहरूको प्रतिआक्रमणबाट राजकुमार द्रव्य शाहलाई निकै बेरसम्म हम्मेहम्मे परेको थियोे । घातक हतियार साथ गएका राजकुमार द्रव्य शाह र उनका सहयोगीहरूलाई धेरै बेर सम्म प्रतिरोधको सामना गर्नुपर्यो । केही समय पछि लिगलिगका युवाहरुलाई पराजित हुनु प¥यो । त्यसपछि तुरुन्तै स्थानीय कटुवालद्वारा राजकुमार द्रव्य शाहलाई लिगलिग कोटको राजा घोषित गर्न लगाइयो । साथै राजगद्दीमा बस्ने व्यवस्था गराइयो । सन् १५५९ को दशैँको टीकाको दिन लिगलिग कोटको राजगद्दीमा लमजुङका राजकुमार द्रव्य शाहको राज्यारोहण भयो । त्यसै समयदेखि लिगलिग राज्यको वंश परम्परा वा वंशानुगत आधारमा राजा हुने वा बने परम्पराको आरम्भ भयो । साथै सदियौंदेखि पारम्परिक दौड प्रतियोगिताबाट आफ्नो राजा संरक्षक वा मुखिया छान्ने प्रजातान्त्रिक पद्धतिको अवसान भयो ।

लिगलिग कोटमाथि विजय प्राप्त गरेपछि लमजुङका महत्वाकांक्षी राजकुमार द्रव्य शाह ज्यादै उत्साही भए । उनी बढी आँटिलो भए । अब उनको लक्ष त्यस भेगको अत्यन्त महत्वपुर्ण राज्य माझकोट—गोरखा राज्यलाई जसरी भए पनि जित्नु थियो । साथै गोरखा राज्यको सीमा बिस्तार गरेर ठूलो राज्यको निर्माण गर्नु थियो । यसै क्रममा माझकोट—गोरखा राज्यको छेऊमा रहेको एउटा सानो मगर जनजातिको राज्य रागनिस माथि हमला गरे । रागनिसलाई सजिलैसंग आफ्नो अधिकारमा राख्न उनी सफल भए । त्यसपछि माझकोट—गोरखा राज्यको एक छत्र राजा हुने सपना देख्न थाले ।

सारांश

लिगलिग कोटको डाँडा माथि राजा दलसुर घले मगरको अत्यन्त आकर्षक दरवार रहेको छ । सोही दरवार प्रागंणमा श्री काली माई, भूमे, भिमसेन तथा द्रव्या देवी आदीको देवस्थल रहेको छ । त्यहाँ लहरै पाँच वटा साना साना गढीहरु पनि छन् । डाँडामा मूलकोट छ । सो कोटमा घले थरका राजाहरुको भाइभारदारहरुको बैठक वा मिटिङ्ग बस्ने कोठा र संगै पूजा घर पनि रहेको छ । स्थानिय लिगलिग कोटका निवासीहरुको अझ पनि दलसुर घले राजाको प्रतिमा तथा देवी देउताको पूजाआजा गर्ने चलन रहेको छ । लिगलिग कोटको ऐतिहासिक, पुरात्वातिक एवं सास्कृतिक सम्पदाहरु मध्ये अधिकांश धराशायी अवस्थामा छ । केही भग्नावशेषहरु पनि छ । लिगलिग कोटको सम्पदा एवं भौतिक सरंचनाहरुले आज पनि त्यस समयको घले थरका मगर समाजको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवं शासन व्यवस्थाका गाथाहरु सुनाउदै गरेको आभास हुन्छ भन्ने भनाई छ ।

त्रिलोकसिंह थापामगर

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री