भाषा वंशावलीलाई आधार मानेर कतिपय विद्वानहरूले गोरखा राज्यका शाहवंशीय शाह ठकुरी राजाहरूको पुख्र्यौली थलो भारतको चित्तौड्गढ मेवाड थियो भनेर भन्दछन् । उनीहरूलाई चित्तौड्गढका राजपूत राजवंशका राणाजीहरू सँग नाता जोड्ने गर्दछन् । मेवाड चित्तौड्गढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजी वंशका २३ औं सन्तान राजा भूपति राणाजी रावका तीन भाइ छोराहरू थिए । सोमध्ये माहिला छोरा फत्तेसिंह राणाजी रावको अत्यन्त सुन्दर एवं रुपवती छोरी थिइन । दिल्लीका तत्कालीन सुल्तान अलाउदिन खिल्लजीले फत्तेसिंह राणाजी रावको रूपवती सुन्दर कन्यासँग विवाह गर्न चाहेका थिए । तर सो प्रस्ताव चितौडगढका चन्द्रवंशीय सिसौदिया राजपूत राजवंशलाई कुनै पनि हालतमा मान्य भएन । दिल्लीका सुल्तानको सो प्रस्तावलाई चितौडगढको राजवंशले ठाडै अस्वीकार गरे ।
फलस्वरूप दिल्लीका सुल्तान अलाउदिन खिल्लजीले चितौडगढको प्रसिद्ध किल्लामाथि भीषण हमला गरे । साथै चितौडगढ राज्यमा भयङ्कर अत्याचार, उत्पात र जोड जुलुम गर्न थाले । सन् १३०३ पछि मुस्लिम आक्रान्तहरूबाट आफू र आफ्नो कुटुम्ब परिवारलाई सुरक्षित राख्न चितौडगढका राजवंश राजपूत राणाजीहरुले त्यहाँबाट बसाइँ सरे । भारतको उज्जैन भन्ने ठाउँमा आएर बसोबास गर्न थाले । सोही परिवारहरूमध्ये एक परिवार भुपाल राणाजी राव राजवंश अझ बढी सुरक्षित ठाउँको खोजीमा हिमवत खण्ड प्रदेशमा प्रवेश गरे ।
पश्चिम नेपालको मगरात प्रदेशअन्तर्गत रहेको रिडी भन्ने ठाउँमा उनीहरूले आश्रय लिए । राजा भूपति राणाजी राव त्यहाँ पनि स्थिर हुन सकेनन् । केही समय पछि त्यहाँबाट उनको परिवार र रक्षकहरूका साथ रिडीबाट उत्तरतर्फ मगरात राज्यको भीरकोट खिल्लँु भन्ने ठाउँमा (सन् १४५५) आएर बसोबास गर्न थाले । यसै ठाउँमा राजा भूपति राणाजी रावका दुई भाई छोराहरूको जन्म भयो । जसको नाम “खान्चा खान” तथा “मिचा खान” नामाकरण गरियो । स्थानीय मगर भाषामा “कहिञ्या” शब्दको अर्थ जेठा र “मिहिञ्च्या” शब्दको अर्थ कान्छा हो भन्ने भनिन्छ । यी शब्दहरूको अपभ्रंशबाट खान्चा र मिचा शब्दहरू बनेको हो भनेर पनि भनिन्छ ।
एउटै पुर्ख्यौली
मथि उल्लेख गरिएका “खान्चा खान” र “मिचा खान” दुबै मगर वंशजका थिए भनेर मानवशास्त्री विद्वान हेमिल्टनले सन १८१९ मा लेखेका थिए । अर्थात करिब दुई सय पाँच वर्ष पहिले उनले नेपालका मगर तथा ठकुरीको पुख्र्यौली एउटै हो भनेर संकेत गरेका थिए । यसो हेर्दा पश्चिम नेपालका कतिपय गाउँघरमा प्रचलित रहेको लोककथा, दन्तकथा तथा किवदन्तीहरुमा पनि मगर तथा शाह ठकुरीहरुको एउटै कुल रहेको वर्णन गरेको पाइन्छ । उदाहरणका लागि भनिन्छ “मगरको वंशावली हराए ठकुरी गाउँमा भेटिन्छ ।”
यसै क्रममा भनिन्छ शाह, ठकुरी तथा मगरहरुका कतिपय पूजापाठ, परम्परा, सामाजिक, बैबाहिक एवं सांस्कृतिक अभ्यासहरुमा धेरै समानता रहेको भेटिन्छ । गोरखाली शाह ठकुरीहरुको इष्टदेवी गोरखकाली, मनकामना तथा स्याङ्जाको आलम देवी आदि मन्दिरहरुमा मुख्य पुजारी मगरहरु नै बन्ने व्यवस्था सदियौंदेखि रहेको छ । कतिपय ठाउँ वा देवालयमा मगर तथा ठकुरीहरु एकै स्थान, एकै मिति, एकै समय तथा एकै तरिकाले कुलपूजा गरेका देखिन्छ । कतिपय ठाउँका ठकुरीहरुको शारीरिक बनावट तथा अनुहारमा मंगोलियन झलक वा छवि पनि देख्न सकिन्छ । गोरखा दरवार तथा हनुमान ढोकाको दशैं घरमा परापूर्व कालदेखि मगर पुजारीको दरबन्दी तत्कालिन राज्य सरकारबाट गरिएको रहेछ ।
यसै सन्दर्भमा केही स्वदेशी, विदेशी तथा मगर विद्वानहरुले “शाह, ठकुरी तथा मगरहरु एकै पुर्खाका सन्तानहरु हुन् भन्ने गरेका छन । साथै मध्यकालीन चौबिसी राज्यका राजाहरु ठकुरीमा रुपान्तरित मगरहरु हुन् भनेर पनि केही बुढापाकाहरुको भनाइ छ ।
खान राजवंश
राजा फत्तेसिंह राणाजी रावका जेठा छोरा खान्चा खानले मगरात प्रदेशको ढोर भन्ने राज्यमा आफ्नो शासन स्थापना गरे । साथै मगरात प्रदेशका कतिपय ईलाकाहरू आफ्नो राज्यमा गाभ्न सफल भए । यस क्रममा उनले ढोर राज्यमा भीरकोट, गरहुँ र सतहूँ आदि राज्यहरूलाई युद्ध गरेर समावेश गरे । राजा फत्तेसिंह राणाजी रावका कान्छा छोरा मिचा खानले नुवाकोटमा आफ्नो छुट्टै स्वतन्त्र राज्य खडा गरे । यसरी चितौडगढबाट मगरात प्रदेशमा आश्रय लिन आएका राजवंश सिसौदिया राजपूतहरूले मगरात प्रदेशमा दुईवटा आ—आफ्ना राज्यहरू स्थापना गरे ।
भाषा वंशावलीका अनुसार नुवाकोटको राज सिंहासनमा बसेका मिचाखानको मृत्यु भएपछि जयन्त खान, सूर्यखान, विचित्र खान, जयदेव खान तथा कुलमण्डल खान सो राज्यको क्रमशः राजा बने । यी चन्द्रवंशी सिसौदिया राजपुत राणाहरूमध्ये कुलमण्डल खान ज्यादै दूरदर्शी राजा थिए । राजकाज सम्हाल्ने बित्तिकै भारत दिल्लीका तत्कालीन मुगल बादशाहसँग राम्रो सम्बन्ध एवं सम्पर्क स्थापित गरे । भनिन्छ नुवाकोटबाट धेरै उपहारहरू दिल्लीको बादशाहलाई पठाए । वादशाह खुसी भएर यिनीलाई “शाह”को उपाधि वा पदवी राजकीय समारोहका साथ प्रदान गरे । राजा कुलमण्डल शाह पछ्रि जे जति गोरखाका शाही ठकुरीहरू राजा भए सबैले आफ्नो नामसँग “शाह”को पदवी जोड्ने चलन गरे । पछि गएर शाह पदवी शाही ठकुरीहरूको “थर”को रूपमा विकसित हुन गयो । त्यस समयमा दिल्लीका बादशाहले दिएको शाह पदवी धेरै महत्व हुन्थ्यो भन्ने भनाइ छ ।
राजा द्रव्य शाह
कुलमण्डल शाह नुवाकोटबाट कास्कीमा आएर राज्य गर्न थाले । त्यसैबेलामा लमजुङको गद्दी खाली भयो । कुलमण्डल शाहका माइला छोरा कालु शाह लमजुङका राजा बने । उनी पछि कुलमण्डल शाहका कान्छा छोरा यशोब्रम्ह शाह त्यहाँका राजा बने । उनका दुई भाइ छोरा भए । जेठा छोरा नरहरि शाह आफ्नो बुबापछि लमजुङका राजा बने । कान्छा छोरा राजकुमार द्रव्य शाहलाई लमजुङ राज्य अन्तर्गतको रागनिस अड्डाको प्रमुख प्रशासक बनाइयो ।
राजकुमार द्रव्य शाह आफ्नो दाजुको राज्यलाई स्याहारेर बस्न चाहँदैन थिए । उनी ज्यादै महत्वाकांक्षी राजकुमार थिए । आफ्नो छुट्टै स्वतन्त्र राज्य कायम गर्न चाहन्थे । साथै आफ्नो राज्यको विस्तार गरेर ठूलो राज्य निर्माण गर्ने उनले सपना देखिराखेका थिए । लमजुङबाट नजिकै रहेको माझकोट राज्य माथि आफ्नो शासन सत्ता स्थापित गर्ने उनको अभिलाषा एवं तीव्र इच्छा थियो । जे जसरी भएपनि माझकोटको खड्का थरको मगर राजालाई हटाएर सो राज्यको राजा बन्ने उनको सुनौलो सपना थियो ।
त्यस समयमा त्यस भेगमा माझकोट तुलनात्मक रुपमा अन्य छिमेकी राज्यहरू भन्दा धेरै विकसित एवं समृद्धशाली राज्यको रूपमा मानिन्थ्यो । सामाजिक सांस्कृतिक एवं आर्थिक दृष्टिकोणबाट पनि माझकोट राज्य विकसित थियो । गोरखा राज्यको उत्तरतर्फ पर्ने भोट तिब्बत राज्यसँग पनि व्यापारिक सम्बन्ध र सम्पर्क थियो । सामरिक दृष्टिकोणबाट पनि माझकोट राज्य ज्यादै शक्तिशाली राज्य थियो । माझकोट राज्यका तत्कालीन खड्का थरका मगर राजा मानसिंह खड्का मगर पनि अत्यन्त शक्तिशाली, अनुभवी, बलवान, युद्धकलामा निपूण तथा जनप्रिय राजा थिए ।
झन्डै पाँच सय वर्षभन्दा पहिले माझकोट गोरखालाई “१२ हजार गोर्खा राज्य” भन्ने गर्दथे । अर्थात् त्यस समयमा गोरखामा १२ हजार घरधुरी थियो । सो घरधुरीमा अधिकांश खड्का थरका आदिवासी मगर परिवारहरू थिए । यसरी गोरखा राज्यमा मगर जनजातिको बाहुल्यता थियो । गोरखाको उत्तरतर्फ आदिवासी गुरुङ जनजातिको आवादी थियो ।
माझकोट गोरखा राज्यमाथि हमला गर्ने तयारी
अतः लमजुङका राजकुमार द्रव्य शाहलाई शक्तिशाली एवं संगठित माझकोट राज्यमाथि सिधै आक्रमण गर्न साहस भएन । साथै माझकोटका अनुभवी शक्तिशाली राजा मानसिंह खड्का मगर माथि हमला गरेर जित्ने आँट आएन । अतः राजकुमार द्रव्य शाहले कूटनीतिक चतुराईबाट गोरखा राज्य माथि विजय प्राप्त गर्ने सोच गर्न थाले ।
यसै समयमा मस्र्याङडी तथा चेपे नदी भन्दा दक्षिण पूर्वतर्फ रहेको मगरात प्रदेशको भूमिमा खस क्षेत्री, बाहुन, दमाई, कामी तथा अन्य समुदायहरूको आगमन बढ्न थाल्यो । माझकोटको दक्षिण भूभागमा केही परिवार अन्य ठाउँहरूबाट आएर बसाइँ सरेर त्यहाँ बस्न थाले । यसरी माझकोट गोरखामा उनीहरूको आवादी क्रमशः बढ्न थाल्यो । भनिन्छ खेतीपातीको लागि यो उपयोगी भूमि रहेको थियो ।
केही समय पछि बसाइँ सरेर आएका युवाहरूले माझकोट राज्यका खड्का थरका मगर राजा मानसिंह खड्काको शासन व्यवस्थालाई मन पराएनन् । उनीहरूले लमजुङका राजकुमार द्रव्य शाहसँग आत्मीय सम्बन्ध एवं सम्पर्क स्थापित गरे । उनीहरूको मुख्य उद्देश्य मगर जातिका खड्का राजाहरूको बदलामा क्षेत्रीय कुलका राजकुमारलाई आफ्ना संरक्षक एवं राजा बनाउन चाहन्थ्ये । युवाहरूको अभिलाषा तथा राजकुमार द्रव्य शाहको महत्वाकांक्षी चाहना एकाकार हुन गयो । दुवै थरीका इच्छा एवं चाहना एक आपसमा मिल्न गयो । यसै समयमा माझकोटका राजा मानसिंह खड्का मगरप्रति असन्तुष्ट रहेका स्थानीय केही युवाहरू पनि राजकुमार द्रव्य शाहको सहयोगी बन्न पुगे ।
फलस्वरूप सबभन्दा पहिले गोर्खा राज्यको निकट रहेको लिगलिग राज्यमाथि अधिपत्य कायम गरेपछि त्यहाँबाट माझकोट राज्यमा हमला गर्ने सहमति भयो । यसरी माझकोट राज्यमा शाहवंशीय राजाले आफ्नो शासन व्यवस्थाको स्थापना गर्ने अठोट गरे । साथै खड्का थरका मगर राजाहरुको सदियौं देखिको शासन सत्ता र राजवंशको अवधारणाको अवसान शुरु भयो । ई. सन १५५९ देखि गोरखा राज्यमा शाहवंशीय शासन व्यवस्थाको ऐतिहासिक कथाको शुरुवात भयो भन्ने बुढापाकाहरुको भनाइ छ ।
(नेपाल सरकारको पूर्व वरिष्ठ अधिकृत लेखक मास्टर मित्रसेन स्मृति प्रतिंष्ठानका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता हुन। ऐतिहासिक कथा लेखनमा उनको अभिरुचि छ।)
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।