मंगल बुद्ध बिहार युकेले मनायो बुद्धजयन्ती

लन्डन । मंगल बुद्ध बिहार बेलायतले २६४८ औं बुद्ध जयन्ती मे २५ तारिख शनिवारका दिन लण्डनको ह्यारो बरो फुटबल क्लबमा एक कार्यक्रम गरी मनाएको छ ।
लन्डन माइन्डफुल्नेस मेडिटेसन सेन्टरका प्रमुख सुमना भन्तेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम बिहारका अध्यक्ष ईन्द्रबहादुर पुन, सल्लाहकार कृष्ण दर्लामी, थर्क राना र मगर महिला संघ युकेकी अध्यक्ष बिष्णु श्रीसले संयुक्तरुपमा पानसमा बत्ती बालेर कार्यक्रम शुरु गर्नुभएको थियो । त्यसपछि बुद्धपूजा सम्पन्न गरिएको थियो कार्यक्रममा उपस्थित सुमना भन्ते र ईन्द्रसक भन्तेबाट पञ्चशील ग्रहण गरिएको थियो ।
मंगल बिहारका उपाध्यक्ष टीकाराम दर्लामीले बुद्ध जयन्ती र बुद्ध पात्रोको बारेमा जानकारी गराएका थिए भने सो अवसरमा चार आर्य सत्य र आर्य अष्टांगिक मार्गका बारेमा बिहारका सल्लाहकार कृष्ण दर्लामीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुमना भन्तेले मानसिक अवस्थाले नै सुख र दुःख निम्त्याउने हुँदा सधैं आफ्नो मनलाई सफा राख्नु पर्ने बताउनु भएको थियो । मन सफा भए मात्र राम्रो काम गर्न सकिने भएको हुँदा शील, समाधि र प्रज्ञाको नियमित अभ्यास गर्न आवश्यक रहेको औँल्याउनु भएको थियो । सो अवसरमा यही अगष्ट १४ देखि २५ तारेखसम्म हुन गइरहेको निशुल्क दश दिवशीय विपश्सना ध्यानका बारेमा बिहारका अध्यक्षले जानकारी गराउनु भएको थियो । उक्त निशुल्क ध्यान बेलायतस्थित हेरफोर्डशायरमा अवस्थित धम्म दिपा ध्यान केन्द्रमा हुनेछ भने ध्यान नेपाली र हिन्दी भाषामा गराइनेछ । धम्म दिपा ध्यान केन्द्रको वेबसाइड www.dhamma.orgमा अनलाइन आवेदन फाराम खुल्ला भैसकेको र अगष्टमा हुने उक्त ध्यानमा ६४ जना महिला र ६४ जना पुरुषले भाग लिनसक्ने बताइएको छ ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियती शिक्षाको मगल बुद्ध बिहार युके परिक्षा केन्द्रबाट परीक्षामा सामेल भई कक्षा १ देखि कक्षा ५ सम्मको परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सो अवसरमा प्रमाणपत्र र पाठ्यपुस्तक वितरण गरिएको थियो । बौद्ध परियती शिक्षाको आगामी कक्षा सन्चालन र परीक्षाका बारेमा पनि बिहारका अध्यक्षले जानकारी गराएका थिए । परियती शिक्षा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट समेत मान्यता प्राप्त शिक्षा हो । परियती शिक्षा बिहारले अन्लाइनबाट निशुल्करुपमा अध्यापन गराउँदै आएको छ ।
मंगल बुद्ध बिहारका अध्यक्ष ईन्द्रबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन बिहारका सचिव जगत बहादुर आलेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य टीकाराम दर्लामीले गर्नु भएको थियो । कार्यक्रम बौद्ध परम्पराअनुसार पुन्यानुमोदन गरेर समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री