बेलायतको रोयल ग्रीनीच बरोमा पहिलो नेपाली मेयर

लण्डन । लण्डनको रोयल ग्रीनीच बरोले पहिलोपटक नेपाली मूलका मेयर पाएको छ ।
बरोको गतसाता सम्पन्न साधारणसभाले काउन्सिलर जीत रानाभाटलाई सर्वसम्मतरुपमा मेयरमा निर्वाचित गरेको हो । रानाभाटले बुधबार ग्रीनीच टाउन हलमा आयोजित एक समारोहबीच मेयरको पदबहाली गरेका छन् ।
कार्यक्रममा उनलाई मेयरका रुपमा दौरासुरुवाल र ढाकाटोपीमा सजिएका काउन्सिल लिडर एन्थोनी ओकेर्केले प्रस्ताव गरेका थिए भने निवर्तमान मेयर डा डोमिनिक बाङले मेयरको माला लगाइदिएका थिए ।
रानाभाट सो काउन्सिलको १३ औँ मेयर हुन् ।
उनले मेयरका रुपमा हस्ताक्षर गर्दै कार्यारम्भ गरेका थिए भने सो अवसरमा डायमण्ड बुद्धिष्ट सेन्टर लण्डनका तर्फबाट अष्टमंगल पाठ गरिएको थियो । पासा पुच गुथी युकेले धिमे र धा बाजा बजाएको थियो ।
त्यसपछि नवनिर्वाचित मेयर रानाभाटले ग्रीनीचको मेयर बन्न पाउनु आफ्नो लागि गौरव भएको बताउँदै आफ्नो कार्यकाल पूर्ण रुपमा बरोबासीको सेवामा लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले मेयरका रुपमा कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर युकेलाई सहयोग जुटाउने घोषणा गरेका छन् ।
सो अवसरमा रानाभाटकी धर्मपत्नी गौमाया गुरुङलाई पनि मेयरेसका रुपमा परिचय गराइएको थियो भने काउन्सिलर लिण्डा बर्डलाई उपमेयरका रुपमा बहाली गरिएको थियो ।


काउन्सिलर रानाभाटले निवर्तमान मेयर बाङलाई मायाको चिनो प्रदान गरेका थिए ।
सन् २००८ मा हाइली स्किल्ड भिसामा बेलायत आएका रानाभाटले पोखरा विश्वविद्यालयबाट एमफीलसम्मको अध्ययन गरेका छन् । बेलायत आउनुअघि उनी प्राध्यापन पेशामा आवद्ध थिए ।
बेलायत आएपछि उनले सेक्युरिटी, इन्जिनियरिङ र कन्सट्रक्सन क्षेत्रमा काम गरे । हाल उनी व्यवसायमा संलग्न छन् ।
सन् २०२२ मा उनी पहिलोपटक प्लमस्टिड र ग्लेन्डन वडाबाट काउन्सिलरमा निर्वाचित भएका थिए । सन् २०२३ २४मा उनले उपमेयरको कार्यभार सम्हालेका थिए । यसबाहेक उनले इजाजत समितिको संयोजक, उलीच थेम्समिड प्लानिङ समितिको सदस्य, कर्पोरेट फाइनान्स पर्फमेन्स स्क्रुटनी प्यानलको सदस्य, ग्रीनीच च्याम्पियन फर नेबरहुड हाउजिङ डेभलपमेण्ट लगायतमा काम गरिसकेका छन् ।


उनी ग्रीनीच लिजर लिमिटेड, लाइब्रेरिज बोर्ड, लण्डन युथ गेम्स, प्लमस्टिड इम्हाउस एण्ड एडमण्ड च्यारिटीमा पनि सक्रिय छन् ।
कास्की पुख्र्याैली घर भएका रानाभाटका मातापिता उनको पदबहाली हेर्न नेपालबाट बेलायत आइपुगेका थिए ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य लगायत नेपाली समुदायको विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सो क्षेत्रका सांसद, काउन्सिलरहरु, पूर्व मेयरहरु, सैनिक अधिकृतहरुको समेत सहभागी थिए ।
सो काउन्सिलमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको छ । सन् २०२१ को जनगणनाअनुसार सो काउन्सिल बेलायतको नेपालीहरुको दोस्रो ठूलो संख्या रहेको काउन्सिल हो । जहाँ ७ हजार ६४९ जनाको बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री