पल्लोघरकी आइमाई

तीन महिना कुवेतमा बसेर घर फर्कदै गर्दा बेलुकीको समय ८ बजेको थियो । त्रिभुवन विमानस्थलमा ओर्लने बितिक्कै भन्सारका एकजना कर्मचारीले, “खै ! के के मालसमान ल्यायौ ?” भनेर मेरो सुटकेस जाँच गर्दै गर्दा मुखभरिको जवाफ दिन मन लागेको थियो । तर मुजैमुजा परेको उनको अनुहारमा नेपाली ढाका टोपी ढलक्कै ढल्केको देख्दा मैले जब्बरजस्ती मेरो मुख बारें ।

मध्य आषाढको महिना थियो । विमानस्थलदेखि बाहिर निस्कने बितिक्कै काठमाण्डौ खाल्डोको आकाशमा कालो बादल मडारिरहेको स्पष्ट देख्न सकिन्थ्यो । अझै समय समयमा हवारह्वार्ती मुशलधारे पानी बर्सिरहेको बिरमाइलो दृश्य देख्दा मन भरङ्गै हुन्थ्यो । जाबो मान्छेको जिन्दगी न हो । आफ्नो दुःखमात्र गन्छ तर सुख गन्दैन भनेझै मपनि मेरो पिर, व्यथा, चोट, पीडा र दर्दनाक घटनाहरु मनभरि खेलाउँदै खेलाउँदै कदमहरु सुस्तरी अगाडि बढाइरहेको थिएँ । तर त्यसरी हिडेँको एकछिन पछि विमानस्थलको छानोदेखि झरेको पानीसँग मेरो जम्काभेट भयो । जे सुकै मरोस् है भनेर पानीले निथ्रुक्क भिजेको शरीर लिएर झन् अगाडी बढ्न थालें । 

“ए दिदी ! कहाँ जानुहुन्छ । यता आउनोस् ?” यात्रुहरुको प्रतीक्षा गरिरहेको चालकहरुले निकालेको यस्तै आवाजहरु मेरो कानभरि छरपष्टिन थाल्यो ।  

त्यसो त आफ्नो देश छाडेर परदेशमा भोग्नु परेको पीडा मनभरि छँदै थियो । त्यसैले मसँग धेरै बोलिरहने ताकत चाहिँ पटक्कै थिएन । मेरो मगजमा चिन्ता थियो र हृदयमा वेदनाको छाल उर्लिरहेको थियो । त्यसैले गत रात झिमिक्क ननिदाई छटपटाइरहेको थिएँ । यिनीहरुले जेसुकै भनिराखोस् है बरु कसैसँग बोल्दिनँ भन्ने सोचें । तर आफ्नै आँखा अगाडी खेलेका ती ट्याक्सी चालकहरुको रमाईलो खेल एकछिनसम्म हेरिरहें । एकछिन आँखा झिमिक्कै नगरी उनीहरुको खेल हेरेपछि बलियाहरुमात्र बाँच्छन र निर्धाहरु मर्छन् भन्ने भनाइलाई तिलान्जली दिँदै म नजिकै उभिरहेको तर हेर्दा मरन्च्याँसे देखिने एकजना चालकलाई लक्षित गर्दै, –

“भाइ ! तिमी मसँग जाने हो ?” भनेको मात्र के थिएँ मेरो भनाइले उनको मुहार मध्यान्हको सूर्यझैं चमक्कै चम्क्यो । हतारहतार गएर अर्कोले समातिरहेको मेरो सुटकेस उनले थपक्कै खोस्यो र खुरखुरु मेरो अगाडी बढ्यो । म उसको कदममा कदम मिलाउँदै पछिपछि लागें । ट्याक्सीमा पुगेर अगाडीको सिटमा बस्दै गर्दा ‘कमाउन गाको धन्न गर्भवती नभै आइयो । नत्रभने बतासे छोरा लिएर कसरि बाँकी जीवन बिताउँथे होला’ भनेर मनमनै सोचें ।

एकछिनपछि छ्याके अनुहारमा मिरमिर पलाएको जुङ्गा तर लुइरे चालकले डिकीमा मेरो सुटकेस राखेपछि ट्याक्सी हाँक्न शुरु गरिहाल्यो । ट्याक्सी केहीबेर गुडेर अलिक अगाडी मूल सडकमा पुगेपछि, “दाहिने घुम्नु है भाइ,” सडकमा धेरै होहल्ला थियो । त्यसैले उनको कान फुट्ने गरी एक वचन भनें ।

मेरो कुरो सुनेर उसको जुङ्गा हल्लियो । त्यसपछि ट्याक्सी आफ्नै गतिमा चक्रपथमा हुइँकिन थाल्यो । एकैछिनमा हामी बागमतीको साघुँमाथि पुग्यौं । तर त्यहाँ पुग्दा मेरो आँखा अचानक आर्यघाटमा पुगेर एकछिन विश्राम गर्यो । त्यहाँ लहरै जलिरहेको लाशदेखि आकाश छेडौझैं गरेर निस्केको धुँवाको मुश्लो देख्दा मेरो आँखा यसै यसै तिरमिराएको थियो । जाबो मान्छेको जिन्दगी न हो । अन्तिममा जलेर धुवाँ नै हुनु पर्ने रहेछ । के बिनाबित्थैमा लोभ गर्ने हौ भन्ने मलाई त्यसबेला लाग्यो ।

वर्षायामको समय थियो । त्यसैले बागमतीको पानी उर्लेर साँघुमाथि निस्कन सक्छु भनेर आँट गरिरहेको त्यहाँ देख्न सकिन्थ्यो । म तिनै पानीको तरङ्गहरुमा मेरो मनका भावनाहरु एकछिन बगाइरहेको थिएँ । तर सोहीबेला, – “दिदी ! अनि हजुर कहाँसम्म सवारी हुनु हुने हो भनिदिनु भए हुन्थ्यो कि ?” धुजैधुजा भएको धर्के कमेज, रङ्ग गएर बेरङ्गी देखिने पतलुङ, खुट्टामा हात्तीछाप चप्पल र घेरा फाटेको पाल्पाली ढाका टोपी लगाएका चालकको मुखदेखि त्यस्तो आवाज फुत्क्यो । 

उनको प्रश्न सुनेर म एकछिन अमुक बसें । त्यसपछि उनको बुढो नहुँदै तीन चाउरी परेको अनुहारलाई एकपटक मज्जाले अध्ययन गरें ।

“भाइ ! तिमीलाई जतातिर लान मन छ त्यतैतिर लैजाऊ । आखिर यो जाबो जिन्दगीसँग हार खाइसकेको मान्छे त हुँ ।”

मेरो कुरो सुनेर ऊ निशब्द बन्यो । तैपनि उसले एक रफ्तारमा ट्याक्सी हाँकिरह्यो । एकछिनपछि ट्याक्सी गौशालाको गोलघुम्तीमा पुग्यो । दिउँसोको समय हुँदो हो त त्यहाँ ट्राफिक प्रहरीले सिट्टी बजाइरहेको दृश्य देख्न सकिन्थ्यो । रात छिप्पिदै गइरहेको थियो । त्यसैले ट्राफिक प्रहरीको त्यहाँ उपस्थिति थिएन । तर त्यतिन्जेलसम्म चालक केही नबोलेपछि,

“भाइ ! बसुन्धरातिर है,” संक्षिप्तमा भनें । मेरो कुरो सुनेपछि यसचोटी चालकले मुन्टो हल्लाएर जवाफ दियो ।

“दिदी ! राम्रै देश गएर आउनु भएको होला । गाँठ टन्नै कमाउनु भयो होला ? हामी त खाडी मुलुक पनि जान सकिएन । खयर जे सुकै होस् । तर हजुरको घर चाहिँ कता हो नि ?”

मेरो जन्मघर माङ्सेबुङ, इलाम हो । म एक्ली भएर पनि अभागी नेम्बाङको छोरी । मेरो आमा र बुबा दुवैजनाको अल्पायुमा मृत्यु भएको थियो । त्यसैले म काकाको घरमा हुर्के । मलाई काकाले हुर्काउनु त भयो तर आफ्नै छोरी जत्तिको माया चाहिँ दिन सक्नु भएन । किनभने काकाको एकजना पुल्पुले छोरो पनि थियो ।

सानैमा परिवारविहीन भएपछि मैले राम्रो लेखपढ गर्ने अवसर पाइनँ । हुनत यसमा मेरो पनि दोष थियो । किनभने पढ्न मलाई एकदम अल्छी लाग्थ्यो । कलेजमा पढ्नभन्दा केटाहरुसँग हिँड्न बढी मन लाग्थ्यो । सायद कुरकुरे वैँशले छोएकोले होला ? कलेजमा हुँदा दुईजना केटाहरु पनि साथी बनाएँ र पछि भेटेको साथीसँग त पाँच वर्ष अगाडी ट्यामकुली नै बजाई दिएँ ।

अनि भाइ ! मेरो उनै नायकको घर फुङ्लिङ – ताप्लेजुङ । अझै भनौ ऊ चाम्लिङ – राई । हाम्रो बिहेको कुटनीको भूमिका मुहार पुस्तिकाले नै निभाएको थियो । हाम्रो बिहे भएपछि बुढो खाडीतिर हानिएर गयो । म उनको पछिपछि यो नाथे काठमाण्डौमा के के न पाइन्छ कि भनेर छिरें । यहाँ आएपछि पहिले मैतीदेवीमा डेरा गरेर बसें । त्यहाँ एउटा कोठा थियो र मसँग केवल एउटा सिङ्गो जीवनमात्र थियो । केही कामसाम थिएन । बेरोजगार थिएँ त्यसैले मसाज पार्लरमा छ महिना जति काम गरें । मसाज पार्लरको कामले मलाई फापेन । किनभने त्यहाँ अरु कुरो केही हुदैनथ्यो केवल मेरो जवानीको मात्र कुरो हुन्थ्यो । त्यसैले मैले त्यो पनि छाडिदिएँ ।

काकाको छोरा जापान जानु भाको थियो । जापानमा उनले निक्कै पैसा कमायो । पछि उनले बसुन्धरामा एकतले घर किन्यो । माङ्सेबुङदेखि काकाकाकी तिनै घरमा सरे । मैले काम छाडेपछि म पनि उहाँहरुसँग बस्न थालें । त्यहीँदेखि मैले एकचोटी कतार र अर्कोचोटी दुबईमा मेरो आँशु, पसिना र रगत बगाइसकेको छु । यसचोटी कुवेतबाट धन्न बाँचेर फर्कन सकें । यति भन्दै गर्दा मेरो स्वर थरर काँपिरहेको थियो । 

बसुन्धरामा फिरेपछि मेरो समय त्यतिक्कै बित्न थाल्यो । ऋणमा थिएँ, त्यसैले मनभरि पिरको भारी थियो । घरबाट बाहिर जान कतै मन लाग्दैन थियो । हरेक बिहान र बेलुकी दिनमा दुईचोटी बुढासँग फोनमा बोल्थेँ । त्यहाँदेखि उब्रेको समय छतमा बसेर बित्थ्यो । मनमनै पैसा कमाउने अनेकौं उपायहरु सोच्थें तर मसँग अध्ययन, अनुभव, सीप वा तालिम केही थिएन । यो २८ वर्षे जवानी मात्र छ भनेर सोच्ने गर्थें । अब यसलाई कसरी प्रयोग गर्ने भनेर गृहकार्य गर्न थालें । काम केही थिएन र समय प्रशस्त हुन्थ्यो । मोबाइल खेलाउने क्रममा टिकटकमा लत बस्यो । टिकटकमा कस्को परिवार कस्तो छ । कुन कुन बुढो मान्छेहरुसँग पैसा छ । उनीहरु कहाँ कहाँ गएका छन् र के के खाएका छन् भनेर हेर्न थालें । र, उनीहरुसङ्ग च्याट गरेर सुढ्ढोहरुको शिकार गर्ने दिनचर्या हुन थाल्यो ।   

हाम्रो घरको दाहिनेतिर छिमेकीको तीनतले घर थियो । त्यो घरको मुनि एउटा कोठामा भर्खर भर्खरै बिहे गरेका एकजोडी परिवार बस्थ्यो । आक्कलझुक्कल आँखा जुध्दा केटो निक्कै भलादमी देखिन्थ्यो । तर ऊ ज्यामी काम गर्थ्यो होला ? किनभने उनको पहिरन त्यस्तो देखिन्थ्यो । तर उनको बुढीको फेसन हेर्दा अलिक नक्कली जस्तो लाग्थ्यो ।  

एकदिन तिनै टप्परटुँइया बैनीसँग मेरो परिचय भयो । उनको नाम नेहा रहेछ । तर हाम्रो परिचय भएको अर्को दिन नेहा हाम्रो घरमा आइन् । घरमा आउने बितिक्कै, – “दिदी ! कति घरमा बस्नु हुन्छ है ? ल आउनोस्, एकछिन बाहिरतिर घुम्न जाऊँ । घरमा बस्दाबस्दा वाकदिक लाग्यो,” उनले भनिन् ।

यसै त म मानसिक रुपमा कमजोरी थिएँ । कतै एकछिन भएपनि सान्त्वना मिलिहाल्छ कि भनेर बैनीको वचन काटनै सकिनँ । त्यसपछि, “हुन्छ है,” भनेर शरीरमा एउटा फिलफिले जामा उनें र हामी दुईजना घरदेखि बाहिर निस्क्यौं ।

घरदेखि निस्केर बायाँ लाग्यौं । अनि निक्कैबेर हिँडेपछि “फुल मस्ती खाजा घर” लेखिएको एउटा खाजाघरको अगाडि पुग्यौं । त्यहाँ पुगेपछि, – “दिदी ल यहाँ एकछिन बसौं है,” उनैले भनिन् ।

“होइनौ बैनी ! नाम त खतरा पो छ त, यो के हो ?”

“नाम खतरा भएपनि काम खतरा छैन नि । के डराउनु हुन्छ, हजुर ? यो मेरी गाउँले दिदीको खाजा घर हो क्या ।”

नेहाको गाउँले दिदीको खाजा घरभित्र पस्दा मलाई थोरै अफ्ठ्यारो महसुस भयो । धुले बाटोको बायाँ किनारमा रहेको उक्त्त खाजा घर कर्कटपाताको छानोमात्र नभएर त्यसैको पर्खालले बनेको थियो । मुख्य द्वारमा पातलो तर रातो जालीको पर्दा झुन्डयाएको थियो । यसो हेर्दा अस्थायी शौचालय जस्तो देखिने खाजाघर एकदम सानो र एउटा कोठामा मात्र सीमित थियो । हुनत ७-८ जना जति मान्छेहरु खाँदिएर बस्न मिल्ने त्यो खाजा घरमा हामी पुग्दा बिल्कुल खाली थियो र त्यहाँ काम गर्ने एकजना भाइमात्र थियो । तर हामी त्यहाँभित्र छिर्ने बितिक्कै, – “ए फुच्चे ! दुईटा तुङ्बा ले ?” नेहाले ठूलो स्वरमा हुकुम बर्साइन् ।

“पहिले कुर्सीमा बस्नु न हौ ।” कट्टु तान्दै फुच्चे बोल्यो ।

“कति कट्टु तान्छस् है । बरु कट्टुको इँजार अलिक बन्धिलो कस् है ?”

“के खुस्केको देख्नु भा छ र ?”

“खुस्क्यो भने त देखिहाल्छ नि ?”

“अहिले पूरै खोलेर देखाइ दिन्छु र पो अनि खानु हुन्छ झुप्पा ?”

“तँ ! अलिक बढी नहो है । तेरो गाला साला पडकाई दिउँला र ?”

त्यति प्रश्नोत्तर पछि फुच्चे हामीदेखि बिलय भयो । नेहा र फुच्चेको वार्तालापले मलाई थोरै असहज उत्पन्न भयो । पहिलो चोटी बैनीसँग हिडेँको थिएँ त्यसैले केही बोल्न सक्तै सकिनँ । तर मलाई के थाहा भो भने यिनी यहाँको नायिका नै रहेछिन् । त्यसैले त फुच्चेसँग त्यसरी बोलिन् भन्ने मेरो मनमा लाग्यो ।

नेहाले फेरि कुरो गर्न सुरु गरिन्, –

“दिदी ! सुन्नु न । मेरो जीवनकहानी पनि अचम्मैको छ । पोहोर साल एउटा लफङ्गासँग बिहे गरें । बिहे गरेपछि बुढालाई विदेश पठाउने भनेको उहाँ पटक्कै मान्नु हुन्न । एकदम धेरै देशभक्त्त पल्टनु हुन्छ । के जान्थेँ विदेश ? बरु आफ्नै देशमा पसिना बगाएर गरिखान्छु भन्नुहुन्छ । जाबो बागमतीको बालुवा र अरुको घर बनाउने इँटा बोकेर घरभाडा तिर्न नसक्नेले के देशभक्त्तिको कुरो गर्नु होइन र ? अनि खाली पेट बसेर के राष्ट्रभक्त्तिको कुरो गर्नु हगि ? देशभक्त्ति र राष्ट्रभक्त्ति भन्ने कुरो त पेट टन्न हुँदा गरिने कुरो हो । म त त्यसै भन्छु ।” त्यसपछि उनी एकछिन रोकिइन् । 

“बैनी ! हुन त हो । तर विदेशमा पनि कहाँ त्यति सजिलो हुन्छ र ?” सानो स्वरमा मैले मुख खोलें ।

“आ….जतिसुकै अफ्ठ्यारो नै किन नहोस् । म त विदेश नै जान्छु । एक जान्छु, दुई जान्छु र तीन जान्छु । चाहे विदेशमा अर्काको बिस्तारा नै हुन परे पनि म पछि पर्दै पर्दिनँ । के पर्थें ? मैले त्यहीँ अठोट लिएको छु । जुनैसुकै मूल्यमा पनि जान्छु, जान्छु । चाहे त्यो बङ्गाली होस् वा पाकिस्तानी अथवा इन्डियन होस् कि अरेबिक । मलाई पैसासँग मात्र मतलव छ । पैसाले मात्र यहाँ शिक्षा र स्वास्थ्य पनि किन्न सकिने रहेछ । त्यो भन्दा ठूलो यहाँ के छ र ? पैसाको आडले अमेरिकाले संसार हल्लाइरहेको छ । कि तपाइँलाई कतै त्यस्तो लाग्दैन र ?” त्यति बोलिसकेर उनी सीधै माथिको कर्कटपाताको छानो एकटक हेरि रहिन् ।

“बैनी ! खै कोनी त हौ ? म त कुवेतबाट मुसल्टे मालिकको छोरासँग सुत्न नमानेर फिरेको हो । अहिलेसम्म पनि त्यो महम्मद हुसेनको झुसे अनुहार सम्झँदा आङ जिरिङ्गै हुन्छ । हुनत कतिपय कुरोहरु भावनामा बग्न सकिन्छ तर व्यवहारमा उतार्न सकिँदैन ।” एउटा आँखाले उनको आधा खोलिएको वक्षस्थलतर्फ हेरेर जवाफ फर्काइ दिएँ ।

म त्यति बोलिसकेपछि हातमा दुईटा तोङ्बा ल्याएर फुच्चे हाम्रो अगाडी सुरिलो पोजिसनमा खडा भयो । त्यसपछि तोङ्बालाई ठ्याक ठ्याक टेबलमा राखिदियो । उनले तोङ्बाको नजिकै एक थर्मस तातोपानी पनि ल्याइदियो । मैले उनलाई धन्यवाद भनें । तर बिचरा भाइले प्रत्यूत्तरमा एक्कै शब्द बोल्दै बोलेन । उनको रुन्चे अनुहारलाई निक्कैबेर सम्झिरहें । भाइ तिम्रो जिन्दगी पनि मेरोभन्दा झन् गएगुज्रेको रहेछ मनमनै भनें ।

तोङ्बाको दिएपछि भाइ हामीभन्दा थोरै टाढा उभियो । ठीक त्यहीबेला, “खै ! सेकुवा ?” कर्के आँखा तर्दै नेहा दोश्रोचोटी बोलिन् ।

“हेर ! एक सर्को तुङबा तानेको छैन् । सेकुवा चाहिहाल्यो,” रुखो जवाफ दिएर उनले नेहाको मुख बन्द गर्न खोज्यो ।

“धेरै हल्ला नगर है फुच्चे । यहाँ नाना भएकी भए तेरो नलीखुट्टा टङ्लङ्गै भाँचि दिन्थिन्,” उनी कड्किन् ।

“भाँच्यो भाँच्यो, खुलित्त पारेर । कसैले नभएर नानाले,” हात बनाएर देखाउँदै मुख छाड्यो ।

“यिनीहरुसँग बोलेर के सकिन्थ्यो हौ बैनी ! ल भयो छाडी दिऊ” मसिनो स्वरमा बैनीलाई भनें ।

“होइन दिदी यस्को बानी नै यस्तो हो । नानाले यसलाई अलिक छाडा बनाएकी छिन् । म यस्को मालिक्नी भए जानेको थिएँ ।” तुङ्बामा मुख गाड्दै त्यतिसम्म भनिन् ।

ऊ त्यहाँदेखि गएपछि कोठा एकछिन शान्त भयो । त्यसपछि हामी चुपचाप तुङ्बा पिएर बस्न थाल्यौं । केहीबेरपछि फुच्चेले दुई प्लेट सेकुवा लिएर फेरि हाम्रोसामु आयो । तर काकताली के पर्यो भने सेकुवा सँगसँगै दुईजना ग्राहकहरु पनि खाजाघरभित्र छिरेको देखियो । उनीहरु मध्ये एउटाको जिउ सुकेको चिलाउनेको दाउरा जस्तो थियो । अनि अर्को चाहिँ त्यस्को ठीक विपरीत बाम पुड्के देखिन्थ्यो । अझै दाउरा जस्तो उसको जिउमा पतलुङ खुस्केर झन्णै घुँडासम्म झरेको जस्तो देखियो । त्यो मान्छे, – “हामीलाई पनि तुङ्वा किनिदिनु हौ डियर,” भन्दै नेहाको ठीकसामु कुर्सीमा आएर थपक्कै बस्यो ।  

“एइ बाङ्गे ! हिजो किनिदेको बिर्सिस् । म ज्यामीको श्रीमती हुँ । तिमीहरुलाई दिनैपछि तोङ्बा किनिदिने के म लाहुरेनी सम्झेको छस् ?” नेहाले आखिभुइँ उचालेर उनलाई थर्काइन् ।

“हुनत हिजो निक्कै मातिएछ । त्यसैले आज नखाए पनि हुन्थ्यो । तर बानी परेको यो मन नखाइ के मान्थ्यो र ?” बाङ्गेले त्यति भन्यो र गोजीबाट एउटा चुरोट निकाल्यो । अब उनको एउटा हातमा चुरोट थियो र अर्को हातले नेहाको प्लेटमा भएको एक चोक्टा सेकुवा टिपेर खप्लक्कै खायो । म त्यसबेलासम्म उनको त्यो गतिविधि नजिकदेखि नियालिरहेको थिएँ । कसैलाई सोध्दै नसोधी उनले सेकुवा खाएको देखेर मैले नेहाको नाङ्गो फिलामा एकचोटी मज्जाले चिमोटेँ ।

“आ छाडिदिनुस् दिदी । यो जाबो गजेडेहरु हुन् । अलि अलि खान्छन् । आखिर केही गर्न सक्तैनन्” जवाफ फर्यो ।

नेहाको कुरो सुनेर मैले एकचोटी लामो सास तानें । तर यिनीहरुसँग उनको सम्बन्ध राम्रै रहेछ भन्ने मलाई त्यसबेला ज्ञान भयो । तैपनि उनीहरुलाई देख्दा आखिर मान्छे किन मान्छे हुन सक्त्तैन् । अनि बल्ल बल्ल पाएको एकपटकको जिन्दगी किन व्यर्थै खेर फालेको होला भन्ने मेरो दिमागमा खटपटाइ रह्यो । 

माङ्सेबुङ छाडेदेखि मैले पहिलोचोटी तुङ्बा पिएको थिएँ । त्यसैले मलाई हल्का मातेको आभास हुन थाल्यो । फेरि त्यो केटाहरुले पिएको चुरोटको धुँवाले मलाई झन धेरै मात्न सहयोग गरेको थियो । चुरोटको धुँवाले मेरो आँखा तिरमिराइ रहेको थियो । तर बाङ्गेलाई अचानक खै के भएर जोस चल्यो हो कुन्नि, –

“माई डियर ! तिमी कति सुन्दरी छौ, ब्यूटी” भन्दै पहिले नेहाको गाला मुसार्यो । त्यसपछि थपक्कै उनको काखमा बस्न खोज्यो । 

“म जति सुन्दरी भएपनि तँ मुलालाई के भयो र ? आखिर तेरै अगाडी सर्वाङ्ग नाङ्गो हुँदा पनि तैले के गर्न सक्छस् र ? तँलाइ नचिनेको बिष्ट होइन । तेरो एक पैसाको हुति छैन् । जा बरु परै बस् । अरुबेला जस्तो होइन । आज मेरी छिमेकी दिदी साथमा छिन् । अलिक अनुशासित हुन सिक है”  नेहाले त्यति भनिन् र उनलाई दुई हातले हुत्याइ पठाइन् ।   

बाङ्गे हुरिएर केही पर पुग्यो । तर फेरि आएर उनको गालामा चुम्मा गर्यो । त्यसपछि उनीहरु एक अर्कामा एकछिन जोडिने र एकछिन छुट्टिने खेल खेलिरहे । आफ्नै आँखा अगाडी चलचित्रको जस्तो दृश्य देखेपछि मेरी छिमेकी बैनी अर्ध बेश्या जस्तै रहेछिन भन्ने मलाई भान भयो । अझै बैनीले भाडाको कोठामा सोझो बुढालाई एक्लै छाडिराखेर फुलमस्ती खाजाघरमा मस्ती गरेको देख्दा मलाई त्यति निको लागेन ।

झन् मलाई के लाग्यो भने यो बैनी पनि चौतारीको मादल जस्तै सजिलो रहिछिन् जस्ले बजाए पनि भयो भन्ने मैले त्यसबेला महसुस गरें । वास्तवमा केटाहरुलाई आकर्षण गर्नको लागि केटी मानिसमा नै भर पर्ने रहेछ भन्ने मैले त्यसबेला राम्ररी बुझें । नत्रभने एक जना केटाले एकजना केटीलाई मरिगए बलात्कार गर्न सक्दैन रहेछ भन्ने निचोडमा पुगें । अन्तमा आमाले दुध ख्वाउनको लागि आफ्नो बच्चालाई काखमा राखेझैँ बाङ्गेलाई काखमा राखेर नेहाले, –

“ए ! फुच्चे फेरि तुङ्बा ले ?” बेस्सरी कराएर भनिन् । उनको कुरो सुन्ने बितिक्कै फुच्चेले हुरुरु गएर अर्को चक्कर तुङबा ल्यायो ।

तुङ्बा टेबलमा आउने बितिक्कै, “बैनी ! म त पिउदिनँ है । यतिले नै माति सक्यो” भन्दै मेरो सामुन्नेको तुङ्बा अलिक परतिर सारि दिएँ ।

“तुङ्बा पिएर को मरेको छ र दिदी ? यति त पिउनु पर्छ नि,” मेरो तोलाको वचन खोलामा गयो । 

बेलुकीको समय त्यस्तै १० बजेको थियो । “बैनी ! अब घर जानु पर्छ,” सुस्तरी भनें । गजेडेहरुलाई त्यहीँ छाडेर हामी खाजाघरबाट हल्लिँदै हल्लिँदै बाहिर निस्क्यौँ । बाहिर धूले बाटोमा एकछिन हिँड्ने बितिक्कै, –

“बैनी ! मलाई अलिक रिङ्गटा लाग्ला जस्तो भयो । तपाइँको गोजीमा मेरो मोबाइल पनि राखि दिनोस् है । किनभने मैलै जामामात्र लगाएकी छु । यी हेर्नु होस् त ? यस्मा गोजी नै छैन् । हातमा बोकेर हिँड्दा कतै बाटोमा खस्यो भने त मेरो जुलुम हुन्छ । यति नयाँ मोबाइल अस्तिको हप्तामात्र बुढाले विदेशदेखि किनेर पठाइ दिनु भएको हो । यदि हरायो भने त मेरो पारपाचुके नै हुने खतरा हुन्छ ।” त्यति भनें र मोबाइल सुरक्षित गर्नको लागि उनलाई जिम्मा दिएँ ।

रातको समयमा बाटो पूर्णतय खाली थियो । त्यसैले हामी जम्मै बाटो हाम्रो हो है भनेर बाटोको बीच भागमा लख्खरलख्खर हिडिँरहेका थियौँ । बाटोको किनारमा बत्तीहरु थिएनन् तर दायाँबायाँको घरहरुदेखि आएको बत्तीको प्रकाशले हल्का उज्यालो दिएको थियो । केही अगाडी बढ्दै जाँदा दुईजना आइमाईहरु काठका मसिनो टुक्राहरु जम्मा गरेर कराहीमा सानो आगो ताप्दै ताप्दै चुरोट पिइरहेका देखिन्थे । उनीहरुको नजिक पुग्ने बितिक्कै बैनीले, –

“यो को हो हँ ? हामी हिँड्ने बाटोको बीचमा गाँजा खाने ? हाम्रो नाखै भाँच्यो । नकचरीहरु,” भन्दै एउटीलाई पछाडीदेखि एक लात्ती हिर्काई हालिन् ।

मैले, “आहा ! बैनी,” भन्न पाउँदानपाउदै ती केटीहरु जर्याकजुरुक उठे । र, एकजनाले बैनीलाई ड्याङड्याङ दुई/ तीन मुक्का प्रहार गरे । उनीसँग बसिरहेकी अर्कीले, “मा सालालाई ठोक,” भन्दै बैनीलाई लात्तैलात्तीले हानिन् । त्यसपछि दुईजनाले पहिले बैनीको केस ताने । अनि हुत्याएर डिलमुनी झारी दिए । 

डिलमुनी सिस्नु घारी थियो । उनीहरु त्यहीँ झरेर जुध्न थाले । उनीहरु एक अर्कामा लछारपछार गरेको एकछिन रमिता हेरें । तर मलाई अफ्ठ्यारो लाग्यो । अनि म पनि उफ्रेर डिलमुनि झरें । त्यसपछि, “यो के गरेको हौ ?” भनेर म उनीहरुलाई छुट्टाउन थालें । तर उल्टै एउटी आइमाईले ढुङ्गा प्रहार गरेर मेरो टाउको फुटाइ दिइन् ।

टाउको छामे अलिअलि रगत आएको देखें । त्यसपछि मलाई बेस्सरी रिस उठ्यो । मैले पनि तिनीहरुलाई बेस्सरी कुट्न थालें । झगडा मज्जाले नै भयो । गाली बेइज्जत र होहल्लाले उग्र रुप लियो । एक्कैछिनमा वरिपरि घरका मान्छेहरु त्यहाँ भेला भए र रमिता हेर्न थाले । तर उनीहरु मध्ये कसैले प्रहरीलाई खबर गरेछन् । एक्कैछिनमा प्रहरीको गाडी आयो । र, हामी सबैजनालाई प्रहरी चौकीमा लगियो ।

रातको १२ बजेसम्म प्रहरीहरुले अनुसन्धान गरे । त्यसपछि निशर्त घर जान दिइयो । तर त्यहाँ पुगेपछि हामीलाई के थाहा भयो कि उनीहरु झन् असली गजेडे रहेछन् । अझै गत हप्तामात्र प्रहरीको खोरदेखि निस्केको उनीहरु पटके परेछन् । त्यसैले त्यसरात उनीहरुलाई प्रहरी चौकीमा नै राखे ।  

बर्खायामको मौसम थियो । मुशलधारे पानी परिरहेको थियो । नत्रभने भने कोलाहलमय मध्यरातको समयमा वातावरण सुनसान थियो । यसो समय समयमा गल्लीका भुस्याहा कुकुरहरु भुकिरहेको सुनिन्थ्यो । प्रहरी चौकीदेखि निस्केर निक्कैबेर हिडेँपछि घरको अगाडी पुग्दा हामी भिजेर लुथ्रुक्कै भएका थियौं । त्यहाँ पुगेर बैनीलाई, –

“खै ! मेरो फोन दिनुहोस् त । म घरको गेट खोल्नको लागि काकालाई फोन गर्छु,” सुस्तरी भनें ।

“ला ! दिदी, अघि केटीहरुसँग जुध्दा दुइटै फोन हराएछ,” एकचोटी गोजी छामिन् र अतालिदै उनी बोलिन् । 

त्यसै त पानीले भिजेर मुसा भइरहेको थिएँ । तर उनको त्यस्तो उत्तर आएपछि म रिसले अगुल्ठो भएँ । “तिमीले गर्न गर्यौ नि,”  त्यति बोलेपछि मलाई उनको अनुहारप्रति घृणा जाग्यो । रिसको पारो ह्वात्तै बढेर आयो । त्यहाँदेखि उनलाई एक सेकेण्ड पनि हेर्न मन लागेन ।

“ल । तिमी खुरुक्कै आफ्नो डेरा जाउ । अरु त यस्तै उस्तै हो । तिमीले मेरो जिन्दगी बर्बाद गर्यौ ?” त्यति भनेर म खुट्टा पड्काउदै टुइँटुइँ हिँडेर घरको मूलगेटतिर लागें  । 

बिहानीको समय त्यस्तै १ बजेको थियो । पानी झन्झन बेस्सरी परिरह्यो । मेरो नजरदेखि उनको छाँया अँध्यारोमा जतिजति बिलिन हुँदै गएतापनि उनको कुरुप शरीर मेरो आँखामा नाँचिरह्यो । अब मसँग गेटदेखि भित्र पस्ने अन्य कुनै उपाय थिएन । त्यसैले गेटमा चढ्छु भन्ने मनमनै निधो गरे र सुस्तरी गेटमाथि चढ्न थालें । तर गेटको टुप्पामा पुगेर त्यहाँबाट झर्ने क्रममा फलामे भालामा मेरो जामा अड्कियो । जब्बरजस्ती म जमिनमा झरे पनि आधा जामा गेटमाथि नै च्यातिएर अड्क्यो र आधा मभन्दा अगाडी जमिनमा खस्यो । 

जामा च्यातिएर दुई टुक्रा भएपछि म अर्ध नग्न अवस्थामा पुगेको थिएँ । त्यसबेला दुखी त म यस्सै थिएँ तर गेटभित्र छिरेकोले सुरक्षित छु भन्ने महसुस गरिरहेकी थिएँ । थाकेर लखतरान परेको मेरो जिउलाई सुस्तरी अगाडी बढाएर मूलढोकाको अगाडी पुर्याएको थिएँ । त्यहाँ पुगेपछि हातमा पानीफोको आइन्जेलसम्म ढोका ढकढक गरें । तर रातभरी कतै नभएको बिजुली चम्किरह्यो । मेघ गर्जिरह्यो । भुस्याहा कुकुरहरु कराइ रहे । कतै नभएको मुशलधारे पानी परिरह्यो । काका र काकी मस्त निन्द्रामा परिरहनु भयो ।

मसँग अन्य केही उपाय भएन । घरको मूलढोका नजिकै अलिअलि थोत्रो कपडाहरु थिए । अब तिनै कपडाहरु जम्मा गरेर त्यसैले लाज ढाक्ने प्रयत्न गरें । अब केहीबेर पछि जमिनमा उज्यालो खस्छ, त्यतिबेलासम्म यही ढोकाको छेउमा आराम गर्छु भनेर घुप्लुक्क लडेंको थिएँ ।

समय यस्तै बिहानको ६ बजेको थियो । बिहानी पख भुसुक्कै सुति गएको थिएँ । काकीले घन्द्रङ्गै मूलढोका खोल्नु भयो । त्यसबेला म झसङ्गै भएँ । ढोका खोलेर काकीले मलाई देख्ने बितिक्कै, – 

“जानु ! हन हिजो राति तिमी कता गएको थियौ ? किन फोन नगरेको ? आम्मामा ! अनि तिम्रो यो के हालत हो ? मान्छेहरुले छोरी खाडी राष्ट्र गयो भने बिग्रिन्छ भन्थ्यो । लु हो कि के हो ? रातभरि कुकुरको मुत घिचेर कहाँ कहाँ बस्यौ । कुनकुन केटाहरुसँग छिल्लियौ ? क-कस्लाई खुट्टा खोलिदियौ । को कोसँग सिगौँरी खेल्यौ । खै तिम्रो कपडा के भयो ? अनि टाउकोमा के भो ? चोटै चोट देख्छु त ? मेरी बाबै ! बिहे गरेको मान्छेको व्यवहार हेर । अब तिमी हामीसँग नबस् है । तिमीले त हाम्रो पुर्खाको इज्जत नै फाल्ने भयौ ।” वर्षौ अगाडीदेखिको रिस एकै निमेषमा पोखिन् ।

“काकी ! तपाइँले जे सोच्नु भएको छ । यथार्थमा म त्यस्तो छैन । यदि त्यस्तो हुने भए त कुवेतमा मालिकको छोरासँग मज्जाले सुतेर पैसा कुम्लोमा बोकेर ल्याइहाल्थेँ नी । मलाई पनि राम्ररी थाहा छ । कुन समयमा खुट्टा खोल्नु पर्छ वा कुन समयमा खोल्नु हुन्न भनेर । हिजो मेरो फोन हरायो । त्यसैले अहिले तनावमा छु । अनि एउटा कुरो याद गर्नु होला ? खाडीमा गएको सबै नेपाली नारी बिग्रन्छ भन्ने हुँदैन । एक/दुई जनाले नराम्रो काम गर्यो भन्दै सबैजना त्यस्तो हुँदैनन् । म पनि एक जना विवाहित महिला हुँ । नारीको इज्जत सियोको टुप्पामा हुन्छ र त्यसलाई बचाउनु पर्छ भन्ने मलाई पनि राम्रोसँग थाहा छ ।”

जिन्दगीमा पहिलो चोटी काकीसँग मुख लागें । त्यति भनि सकेपछि म सरासर आफ्नो कोठामा पुगें । अब कुनै पनि हालतमा एउटा फोन चाहिन्छ । किनभने केहीबेरमा बुढाले फोन गर्छ । फेरि फोन उठाउन असमर्थ भएँ भने उहाँले के के सोच्नु हुन्छ होला भनेर मनमा पिर परिरहेको थियो । कोठामा पुगेर हतारहतार नुहाइधुवाइ गरेँ । त्यसपछि बस पार्कतिर लागें । बस पार्कमा पुगेर चक्रपथ घुम्ने एउटा बस पक्रेँ र चाबहिलतर्फ हान्निएँ । चाबहिल चौकमा इलाम बजारको एक जना नेवार दाजुले मोबाइल फोनको दोकान खोल्नु भएको थियो ।

बिहानीको समय १० बज्नै लागेको थियो । दाजुको दोकान अगाडी पुग्दा भर्खरभर्खरै दोकानको सटर खोलिएको थियो । मनभरि सयकडौँ पिर र व्यथाहरु भएपनि मोबाइल पसलमा चिनेको दाजुलाई देख्ने बितिक्कै मेरो मुहारमा खुशीका लहरहरु सरर फैलिएर आयो । उनलाई देखेपछि सबैभन्दा पहिले, –

“दाजु ! नमस्ते । सन्चै हुनुहुन्छ होला ?” शीर झुकाएर दर्शन गरें ।

“जानु ! सन्चै छु । यति बिहानै कसो गर्दा आयौ हँ ?” कुचोले दोकान बढार्दै बढार्दै प्रति उत्तरमा त्यति भन्नु भयो ।

“हिजो मेरो मोबाइल फोन हरायो । आज शनिबारको दिन बैँकहरु पनि खोल्दैनन् । त्यसैले मसँग साथमा एकपैसा पनि छैन । मेरो बिहेमा श्रीमानले लगाइ दिनु भएको बिहेको चिनो यो एक तोलाको एउटा बेरुवा औँठी छ । अब यसलाई बन्धकी राखेर भएपनि एउटा मोबाइल लिनु पर्यो । हजुरबाहेक यस ठाउँमा अरु कसैलाई चिनेको छैन । त्यही भएर हजुरलाई सम्झेर त्यति टाढादेखि आएकी हुँ,” बिन्ति बिसाएँ ।

मेरो कुरो सुन्ने बितिक्कै, “तिमीलाई थाहै छ । अहिले बोहनी पनि भाको छैन । अनि अर्को कुरो म सुन राखेर मोबाइल पनि दिन्नँ ? लु त्यस्तो कुरो लिएर मेरोमा नआऊ है । फेरि तिम्रो बुढाले चाल पाएपछि हामी एक अर्कामा नराम्रो पनि भइन्छ ।”

“दाजु । कृपया एकचोटी मेरो इज्जत बचाइ दिनु होला । एकछिनमा उहाँले फोन पनि गर्नु हुन्छ । म जस्तोसुकै मूल्यमा पनि उहाँसँग बोल्नु पर्छ । उहाँसँग बोल्दा एक हप्ताभित्र पैसा पनि पठाइ माग्छु र सुन उकासिहाल्छु नि ?”

“तिमीले जे सुकै भनेता पनि म तिमीलाई फोन दिन सक्त्तै सक्त्तिनँ । भर्खरै दोकान खोलेको हो । त्यसैले धेरै ल्याङल्याङ पनि नगर । जुन बाटोबाट आएकी थियौ, खुरुक्कै त्यही बाटोबाट जाऊ । त्यसैमा तिम्रो भलाई छ ।”

साहुजीको त्यति नमीठो बोली सुनेपछि, “पैसाले मात्र मानिसलाई आफ्नो मानिस बनाउन सकिने रहेछ,” भन्ने लाग्यो । जति जति उनलाई सम्झ्यो । उति उति मेरो बायाँ छाती बेस्सरी ‍पोलेको आभास भयो । अनकन्टर जङ्गलमा एक्लै हिँडिरहेको बेला कसैले मलाई यिनै छातीमा वाण प्रहार गरे जस्तो अनुभूति भयो । मोबाइल दोकानदेखि अँध्यारो मुद्रामा बाहिर निस्कँदै गर्दा नेहा तिमीले मलाई यो हालतमा पुर्यायौ भनेर पल्लो घरको आइमाईलाई मनमनै बेस्सरी गाली गरें ।

उनै आइमाईले गर्दा मेरो विचार छरपष्ट भयो । “दैव पनि कति पापी रहेछ,” भनेर पशुपतिनाथ मन्दिरको अगाडि एकचोटी हेरेर भनें । तर म जस्तो दुखीलाई भगवानले अन्याय गरेको सम्झँदा मेरो आँखादेखि बरर आँसु आयो । कुर्ताको फेरले एक झमट आँसु पुछें । तैपनि छातीभरि पिरको ज्वाला बोकेर चाबहिल मूल सडकको किनारै किनार हिँडिरहेको थिएँ । तर जति जति हिँड्दै अगाडी जान्थे । उति उति मेरा पाइलाहरुले मलाई धोका दिइरहेका हुन्थे । 

सडक किनारमा त्यसरी निरन्तर अगाडी बढिरहँदा मेरा पाइलाहरुले मलाई धोका दिएपनि, “मृत्युले मात्र मानिसलाई धोका दिँदैन,” भन्ने लाग्यो । किनभने सोहीबेला मेरो आँखा अगाडी मारवाडी सेवा समाजको शव बाहनले पशुपतिमा जलाउनको लागि एउटा शव ल्याइरहेको देखें । नेपालमा सतिप्रथा त उन्मूलन भइसकेको नै थियो । तैपनि मलाई जिन्दगीभरि कहिल्यै सुख नहुँदा सारा संसार भुलेर परिचय हुँदै नभएको एउटा शव सँगसँगै आर्यघाटमा सति जाऊँ कि भन्ने लागिरहेको थियो ।

जून १२, २०२४ । अक्सफोर्डसायर ।

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री