नेपथ्यले अमेरिकामा कन्सर्ट गर्दै

लण्डन । नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएको नेपालकै चर्चित लोक रक समूह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगीतिक प्रस्तुति दिने भएको छ ।
तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० मा सांगीतिक प्रस्तुति दिने भएको हो ।
टर्मिनल फाइभ न्यूयोर्कको ठूलो सांगीतिक कार्यक्रम हुने ठाउँ हो ।
न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको कन्सर्ट आयोजना गरेको हो ।
‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्याण्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ इसेन्स स्माइल्सकी डा सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक सांगितिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौं ।
संयुक्त रुपमा पत्रकार सम्मेलन गरी आयोजकहरुले नेपथ्यको सांगीतिक कार्यक्रमबारे जानकारी दिएका छन् ।
नेपथ्य भएकैले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन् ।
उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत संगीतका पारखी र नेपथ्यका फ्यानहरुलाई अनलाईन टिकट किन्न अनुरोध गरिन् । ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइनमा उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मूल्य बढ्छ ।’ अहिले टिकटको अनलाइन मूल्य करिब १ सय ५ डलर छ । त्यसमध्ये ८० डलर आयोजकले पाउने छन् ।


‘नेपथ्य आफैँमा ठूलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१६ मा एक पटक कन्सर्ट गर्नुभएको थियो । यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ ।’
कार्यक्रम आयोजना स्थलमा पार्किङ पाउने सम्भावना कम छ, साथै, पे पार्किङ महंगो भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजक ठिले थकालीले जानकारी दिए ।
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्यूआर कोड स्क्यान गर्नु गरेर टिकट बुक गर्न सकिने छ । साथै, टर्मिनल फाइभको वेवसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिंक सजिलै भेटिन्छ ।
टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् ।
कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुने छ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यबस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रेमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ । नेपाली दर्शक, श्रोतालाई गीत संगीतको माध्यमबाट मनोरन्जन दिनुका साथै नेपाली गीत संगीत र सर्जकको सम्मानको लागि नेपथ्यको ऐतिहासिक साँझ आयोजना गर्न लागिएको आयोजक छोमो डसेलको भनाइ छ ।
नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ । दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।
नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु हुने छ । नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ । त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगीतिक कार्यक्रम राखिएको छ ।

टिकटका लागी लिंक

https://www.axs.com/events/595653/nepathya-tickets?q=Nepathya

प्रतिक्रिया

सम्बन्धित सामाग्री