गोरखाको प्रख्यात एवं प्रसिद्ध गोरखा दरवारसंगै जोडिएको दक्षिणपट्टि एउटा अत्यन्त प्राचीन, पुरात्वातिक एवं ऐतिहासिक गुफा छ । सोही गुफाको परिसरमा महायोगी गोरखनाथ बाबाको आगमन दशौं शताब्दीको उत्तरार्ध भएको थियो । उनी नाथ सम्प्रदायका आदि गुरु महात्मा मत्सेन्द्रनाथका अनन्य भक्त तथा प्रिय शिष्य थिए । नाथ सम्प्रदायको दर्शन, सैद्धान्तिक पक्ष तथा हठयोगको अभ्यास आदि बारेमा चिन्तनमनन तथा ध्यान गर्न हिमवतखण्ड प्रदेशमा प्रवेश गरेका थिए ।
यसै क्रममा बाबा गोरखनाथ घुम्दै डुल्दै माझकोटको निर्जन डाँडामा आइपुगे । सोही डाँडामा अवस्थित गुफामा १५ वर्षसम्म हठयोगको कठिन अभ्यास गरे । नाथ सम्प्रदायको दर्शन, पूजा पद्धति, तान्त्रिक विधि आदि बारेमा कठोर साधना, अभ्यास एवं चिन्तनमनन गरे । फलस्वरुप बाबा गोरखनाथले यसै गुफामा सिद्धि प्राप्त गरे । सिद्धि महात्मा बने । फलस्वरुप गोरखाको यस गुफाको नाम “गोरख गुफा”, “गोरखनाथको गुफा” वा “गोरख सिद्ध गुफा” विश्वभरिमा प्रख्यात हुन गयो भनेर केही भक्तजनहरुको भनाइ छ ।
गुरु गोरखनाथको यस क्षेत्रमा आगमन हुनुभन्दा पहिले लिच्छविकालीन राजाहरुको शासन सत्ता थियो । यस गुफाको परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । (सन ४००—७५०) यसै गुफाको परिसरमा वौद्धचैत्यका अवशेषहरु पनि भेटिएको छ । यसबाट प्रमाणित हुन्छ गोरखाको “गोरख गुफा”को अस्तित्व परापुर्वकालदेखि नै थियो । यस गुफामा बाबा गोरखनाथले ध्यान तपस्या गर्नुभन्दा पहिले बज्रयानी बौद्ध दर्शनका अनुयायीहरुले साधना गरेका थिए भनेर केही विद्वानहरुले अनुमान गरेका छन् । वास्तवमा नाथ सम्प्रदाय तथा बज्रयानी बौद्ध धर्मका कतिपय पूजा पद्धति एवं अभ्यासहरु आ-आपसमा मिल्दो जुल्दो रहेको पाइन्छ ।
लिच्छविकालीन शासन व्यवस्थाको अवसान भएपछि खड्का थरका मगर राजाहरुको शासन व्यवस्था यस क्षेत्रमा कायम हुन गयो । त्यस समयमा मगरहरुले यस क्षेत्रलाई माझकोट भन्ने गर्दथिए । माझकोट मगरात प्रदेशको महत्वपूर्ण राज्य थियो । मगरहरुको आफ्नै छुट्टै धार्मिक परम्परा एवं संस्कृति भएको हुंदा यस गुफाप्रति उनीहरुको ध्यान उति गएन जस्तो लाग्दछ । फलस्वरुप यस गुफाको वरपरको सम्पूर्ण भूभागहरु घना वनजंगल तथा विषालु झारपातले ढाकिन गयो । गुफा कहाँ छ, कुन अवस्थामा छ सो बारेमा अधिकांश स्थानीय निवासीहरुलाई ज्ञान भएन ।
त्यसै समयमा बाबा गोरखनाथको यस क्षेत्रमा आगमन भयो । उनले आफ्नो दैविक र तान्त्रिक शक्तिको बलमा लुकिरहेको गुफालाई फेला पारे । सोही गुफामा आश्रय लिए । नाथ सम्प्रदायको दर्शन, सिद्धान्त बारेमा ध्यान र चिन्तनमनन गरे । फलस्वरुप “कायाबोध” “गोरक्ष योग संहिता” र “सिद्धान्त संग्रह” आदिग्रन्थहरुमा आफ्नो सिद्धान्तहरु प्रतिपादित गरे भनेर भनिन्छ ।
गोरख धुनी पाटी
महायोगी गोरखनाथले गोरख सिद्ध गुफामा आफै “गोरख धुनी” प्रज्वलित गरे । सो धुनी पाटीको आगो आजसम्म पनि यथावत बलिरहेको छ । हुरी, बतास, वर्षा एवं भुईचालोले यस गोरख धुनीमाथि कुनै असर पारेको देखिंदैन एकनास बलिरहेको पाइन्छ । गोरख पन्थी भक्तजनहरुले बडो श्रद्धा, भक्तिभाव तथा आस्थाका साथ गोरख धुनीको विभूतिलाई बाबाको प्रसाद स्वरुप ग्रहण गर्दछन् । भनिन्छ कतिपय मनोविकारलाई यस विभूति प्रसादले निराकरण गर्न गराउनमा मद्दत गर्दछ ।
महाप्रसाद रोट
महायोगी गुरु गोरखनाथ वा गोरखनाथको उत्पति बैशाख महिनाको पूर्णिमाको दिनमा भएको थियो भन्ने जनश्रुति रहेको छ । सो अवसरमा प्रत्येक वर्ष गोरखाको गोरख सिद्ध गुफाको परिसरमा झण्डै एक लाख पचास हजारसम्म रोट प्रसाद पकाउने व्यवस्था रहेको पाइन्छ । बाबाको मन्दिरमा सो रोट चढाउने, भजन कीर्तन, प्रवचन, सत्संग, पूजापाठ होम तथा शोभायात्रा आदि गरेर गोरखा गुफाको परिसरमा रोट महोत्सव मनाउने चलन सदियौंदेखि रहिआएको छ ।
पृथ्वीनारायण शाहको गोडामा पर्न गएको दही प्रसादले गर्दा बाबा गोरखनाथले उनलाई आशिर्वाद दिएका थिए । जहाँ जहाँ टेक्ने छौ सो भूमिमा तिम्रो शासनअन्तर्गत हुनेछ । यसै बिन्दुबाट पृथ्वीनारायणको एकीकरणको अभियान शुरु भएको मानिन्छ । सो अभियानअन्तर्गत युद्धमा लड्न जाने गोरखाली सैनिकहरुलाई पौष्टिक एवं गरिष्ट भोजनको आवश्यकता पर्दथ्यो अतः बाबा गोरखनाथले पृथ्वीनारायण शाहका सैनिकहरुका लागि महाप्रसाद “रोट” तयार गर्नुभएको थियो भन्ने केही भक्तजनहरुको भनाई छ ।
गहुं, चामल वा जौको पीठो, पचास थरिका मसला वा सुख्खा फल तथा शुद्ध घ्यूको मिश्रण गरेर भुङ्ग्रे वा तावामा रोट पकाइन्छ । लामो समयसम्म “रोट” बिग्रिन्दैन । ताजा नै रहन्छ । ओसारपसार गर्न सजिलो हुने । एकपटक खाए पछि धेरै समयसम्म भोख लाग्दैन । गोरखाली सैनिकहरुका लागि अति उत्तम पौष्टिक तथा गरिष्ट आहार थियो । वास्तवमा तत्कालीन गोरखा राज्य केवल सैनिक संगठनका लागि मात्र होइन पूmड टैक्नोलोजीको लागि पनि तुलनात्मक रुपमा विकसित थियो ।
राष्ट्र देवता
महायोगी बाबा गोरखनाथलाई शाहवंशीय राजाहरुले गोरखा राज्यका राष्ट्र देवताको रुपमा प्रतिष्थापित गरेका थिए । उनी शाहवंशीय गोरखा राज्यका सरंक्षक, हितैषी, शुभचिन्तक तथा राजकीय सल्लाहकार समेत थिए । फलस्वरुप तत्कालीन गोरखा राज्यका कतिपय मुद्रा, सिक्का, सरकारी दस्तावेज, छाप तथा राजकीय पत्रहरुमा श्री श्री श्री गोरखनाथ भनेर अंकित गरेको पाइन्छ । गोरखा राज्यको कतिपय पल्टनहरुको नाम महायोगी गोरखनाथको नाममा राखिएको पाइन्छ । जस्तो मगरहरुको पल्टनको नाम “पुरानो गोरखगण” तथा मगर र गुरुङ्ग जनजातिको मिश्रित पल्टनको नाम “श्रीनाथ गण” नाम नामाकरण गरिएको थियो । बाबा गोरखनाथको नाममा “गोरखा राज्य” तथा भारतको “गोरखपुर” शहर भनेर नामाकरण गरिएको पाइन्छ ।
अन्तरध्यान
महायोगी गोरखनाथ बाबा एकदिन एक्कासी गोरख डाँडा, गोरखा तथा गोरख सिद्ध गुफाबाट अन्र्तध्यान हुनुभयो । त्यसपछि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश तथा अफगानिस्तानका कतिपय शहर तथा बस्तीहरुमा बाबा गोरखनाथको मठ, मन्दिर, आश्रम एवं गोरख धुनी आदिको स्थापना भएको पाइन्छ । उनले प्रतिपादित गरेका दर्शन, सिद्धान्त, तन्त्रविद्या, हठयोगको अभ्यासहरु बारे व्यापक प्रचारप्रसार भयो । महायोगीको अनुयायी कुनै पनि धर्म, सम्प्रदाय तथा जाति जनजातिबाट हुनसक्ने प्रावधान रहेको छ ।
फलस्वरुप पाकिस्तानको कराँची शहरभन्दा ४२३ कि.मी. मा “गोरखटिला” पर्यटकीय स्थलको रुपमा विकसित भएको पाइन्छ । स्थानिय बासीहरुले भन्छन् कुनै फकिरले यो स्थानको नाम नामाकरण गरेर गएको थियो । पाकिस्तानको झेलम जिल्लामा पनि गोरखा टिला छ । बंगलादेशका प्रसिद्ध शायर फैजुलाले आफ्नो रचनामा गोरखनाथको चमत्कारहरु बारे वर्णन गरेका छन् । त्यस्तै १५ औं शताब्दीमा मैथिल भाषाका कवि बिद्यापतिले “गोरख विजय” नाटकको रचना गरेका थिए । नाथ सम्प्रदायका आदी गुरु महायोगी मत्सेन्द्रनाथको पाटनको रातो मच्छेन्द्र जात्रासंग पनि सम्बन्ध जोडिएका किवन्दन्तीहरु प्रचलित छ ।
निर्क्यौल
क) तत्कालीन गोरखा राज्यको गोरख सिद्ध गुफा वा गोरखनाथको गुफा वास्तवमा नाथ सम्प्रदायको दार्शनिक, सैद्धान्तिक, आध्यात्मिक, नैतिक शिक्षा एवं तान्त्रिक ज्ञानको क्रमिक विकासको थलो थियो भनेर अनुमान गर्न सकिन्छ ।
ख) यसै गुफामा ध्यान तपस्या गरेपछि महायोगी गोरखनाथ बाबा नाथ सम्प्रदायका संस्थापक तथा प्रर्वतकको रुपमा प्रख्यात हुनुभयो । गोरखा तथा गोरखसिद्ध गुफाबाट नै नाथ सम्प्रदायको दर्शन, सिद्धान्त, हठयोग एवं तान्त्रिक अभ्यासहरुको प्रचार, प्रसार, बिस्तार भारत लगायत अन्य छिमेकी मुलुकहरुमा भएको धारणा केही गोरखपन्थी भक्तजनहरुको रहेको छ । अतः नाथ सम्प्रदायको क्रमिक बिकासमा गोरखा राज्य, गोरखनाथको गुफाको महत्वपूर्ण स्थान तथा योगदान रहेको भन्न सकिन्छ । (कुराकानीमा आधारित)
(लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता त्रिलोक सिंह थापामगर ऐतिहासिक कथाका विषयमा लेख्न रुचाउँछन् ।)
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।