बेलायतमा यो वर्षदेखि बीआरपी, आइएलआर, आइएलई खारेज हुँदै, अब के गर्ने ?

बेलायतले यो वर्षको अन्त्यदेखि विद्युतीय अध्यागमन प्रणाली (ईभिसा)लागू गर्ने भएको छ । जसका कारण मानिसहरुले आफ्नो अध्यागमन स्थितिका बारेमाजानकारी दिन पासपोर्ट बोकिरहनु पर्ने छैन । अध्यागमनसम्बन्धी सबै तथ्यांकहरु अनलाइनमा राखिने छन् । फलत अहिले बोक्नु परिरहेको बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी),बायोमेट्रिक रेसिडेन्स कार्डस (बीआरसी) र पासपोर्टमा छाप लगाइएको इन्डिफिनेट लिभ टु इन्टर (आइएलई), इन्डिफिनेट लिभ टु रिमेन (आइएलआर) लगायत खारेज हुँदैछन् । यसबारेमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि धेरै अन्यौल र जिज्ञासा रहेको छ । त्यसैको समाधानका लागि हामीले बेलायतको सरकारी वेभसाइटमा रहेको जानकारीलाई नेपालीमा भावार्थ अनुवाद गरिएको छ ।

ईभिसा के हो ?

ईभिसा तपाईको अध्यागमनसम्बन्धी स्थिति, तपाईको बेलायतमा प्रवेश गर्ने र बसोबास गर्ने अधिकारका बारेमा अनलाइनमा जानकारी राख्ने तरिका हो । यसका लागि तपाईले युके भिजाज एण्ड इमिग्रेसन (युकेभिआई) मा अकाउण्ट बनाउनुपर्नेछ । तपाईको कागजमा रहेको भिजालाई अनलाइनमा परिणत गर्दा तपाईको अध्यागमन स्थिति वा बेलायतमा प्रवेश गर्ने वा बसोबास गर्ने अधिकारमा केही परिवर्तन हुने छैन । भविष्यमा बेलायत आउँदा तपाईले पासपोर्टबाहेक अरु कागजात बोकिरहनुपर्ने छैन । यो साल सन् २०२४ को अन्त्यसम्म मात्र तपाईले यात्रा गर्दा त्यस्ता कागज बोक्नुपर्नेछ । ईभिसाले तपाईको कागजातहरु हराउन, चोरिन, च्यातिनबाट सुरक्षित बनाउने छ । तपाईको आवेदन स्वीकृत भएपछि कागजात पाउनका लागि पर्खिरहनुपर्ने छैन । यसबाट बेलायतका नाकामा, तपाईको घरबेटी वा रोजगारदातालाई तपाईको अध्यागमनसम्बन्धी स्थितिका बारेमा जानकारी दिन सजिलो र छरितो बनाउने छ ।

युकेभिआईमा किन अकाउण्ट बनाउने ?

युकेभिआईले कागजात बोक्नुपर्ने प्रणालीलाई अनलाइन प्रणालीद्वारा विस्थापित गर्न लागेकाले यस्तो अकाउण्ट बनाउनु परेको हो । तपाईको भिसाको बारेमा जानकारी पाउन र तपाईको अध्यागमन स्थिति जस्तै: काम गर्न पाउने, भाडामा बस्न पाउने अधिकार आदिका बारेमा जानकारी दिन यस्तो अकाउण्ट बनाउनु परेको हो । तर यस्तो अकाउण्ट बनाउँदा कुनै शुल्क तिर्नुपर्दैन । यस्तो अकाउण्ट बनाएपछि पासपोर्ट वा अध्यागमनसम्बन्धी परिचयपत्रको विस्तृत विवरणहरु फेरिँदा अपडेट गरिरहनुपर्छ । जस्तो नयाँ पासपोर्ट बनाएमा सोको जानकारी अपडेट गर्नुपर्छ । घरभाडामा बस्नुपर्दा घरधनीलाई वा जागिर खाँदा रोजगारदातालाई अध्यागमनका बारेमा जानकारी दिनुपर्यो भने तपाईले एउटा कोड बनाएर दिन सक्नुहुनेछ । यस्तो कोड केही समयका लागि मात्र हुनेछ र तपाईले जुनबेला चाहनुभयो त्यहीबेला त्यस्तो नयाँ कोड बनाउन सक्नुहुनेछ ।

मैले कसरी यस्तो अकाउण्ट बनाउन सक्छु ?

यदि तपाईको बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी) छ भने युकेभिआईले तपाईलाई कसरी अकाउण्ट बनाउने भन्ने बीआरपीको म्याद सकिनु अगावै बारेमा बताउने छ । यदि युकेभिआईले तपाईलाई अकाउण्ट खोल्नका लागि पत्रबाट वा इमेलबाट सम्पर्क गरिसकेको छ भने सोही निर्देशनलाई पछ्याउँदै त्यस्तो अकाउण्ट खोल्न सक्नुहुनेछ । यदि इमेल वा पत्र नआएको अवस्थामा तपाई आफैँले अकाउण्ट खोल्नसक्ने सुविधा अहिले छैन र केही समयपछि त्यस्तो सुविधा दिइने बताइएको छ ।

अरु कागजात भएकाले के गर्ने ?

यदि तपाईसित आइएलई वा आइएलआर छ भने वा अरु विभिन्न कागजमा तपाईको अध्यागमनसम्बन्धी प्रमाण छ भने तपाईले पहिले नो टाइम लिमिट (एनटीएल) का लागि आवेदन दिनुपर्नेछ । एनटीएलको आवेदन स्वीकृत भएपछि तपाईले बीआरपी कार्ड पाउनुहुनेछ । बीआरपी पाएपछि तपाईले युकेभिआईमा अकाउण्ट खोल्न सक्नुहुनेछ । यसरी कागजको भिसालाई बीआरपीमा परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । परिवारका अरु सदस्यहरुको पनि आइएलआर वा आइएलई छ भने उनीहरुको पनि व्यक्तिपिच्छे आवेदन गरी बीआरपी कार्ड प्राप्त गर्नुपर्नेछ ।

युकेको पासपोर्ट पाइसकेकाले के गर्नुपर्छ ?

यदि तपाई बेलायतको वा आयरल्याण्डको पासपोर्ट बोक्नुहुन्छ भने तपाईले केही गर्नु पर्दैन । युकेभिआईमा अकाउण्ट पनि खोल्नुपर्दैन ।

अकाउण्ट बनाउन इमेल नआएकाले के गर्ने ?

अहिलेसम्म इमेल नआएकाले केही गर्न नपर्ने बताइएको छ । अलि पछि युकेभिआईमा अकाउण्ट खोल्न सबैका लागि पहुँच दिइने छ ।

 युकेभिआईबाट इमेल आएपछि के गर्ने ?

निर्देशन पालना गरेर अकाउण्ट खोल्ने । मोवाइलमा युके इमिग्रेसन आइडी चेक एप्लीकेसन(एप्स) डाउनलोड गरेर आफ्नो परिचय पुष्टि गर्नुपर्ने हुन्छ । त्यसैले युकेभिआईबाट इमेल प्राप्त भएपछि आवेदन अगाडी बढाउन तपाईसित इमेल ठेगाना, फोन नम्बर र स्मार्ट फोन,बीआरपी कार्ड हुनुपर्दछ ।   

सहयोग चाहिएमा के गर्ने ?

युकेभिआईमा अकाउण्ट खोल्न मद्दत चाहिएमा युकेभिआईमा च्याट गर्न पनि सकिनेछ। फोनमा बोल्न वा प्रत्यक्ष भेटेर सहयोग पाउन सकिनेछ । सोमबार बिहान ९ बजेदेखिबेलुकी ६ बजेसम्म ०७५ ३७४१ ६९४४ वा ०३३३३ ४४५ ६७५ मा सम्पर्क गर्न सकिने छ भने [email protected] मा VISA लेखेर टेक्स्ट पनि गर्न सकिने छ । तपाईसित स्मार्ट फोन छैन, ल्यापटप छैन, इन्टरनेट छैन भने पनिसहयोगका लागि मद्दत माग्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री