पत्रकार महासंघ युकेको निर्वाचन समिति विस्तार

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति बिस्तार गरिएको छ ।
सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो ।
बैठकले यसअघि शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा शाखाका सल्लाहकारद्वय पूर्ण गुरुङ र प्रजय शुक्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गुरुङ शाखाका पूर्व कोषाध्यक्ष र सचिव रहिसकेका छन् भने शुक्ल ललितपुर शाखाको दुई कार्यकाल सचिव रहिसकेका छन् ।
साथै, निर्वाचन समितिलाई आवश्यक कानूनी परामर्शको लागि सोलिसिटर उत्तरमान तिगेलालाई कानूनी सल्लाहकारमा नियुक्त गरिएको छ ।
बैठकले यही जुलाई १४ मा हुने शाखाको छैठौं अधिवेशन आयोजनाका लागि उपाध्यक्ष प्रमिला लावुंग राईलाई संयोजक तोकेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारलाई कार्यक्रम संयोजक र कोषाध्यक्ष एसके गुरुङलाई आर्थिक संयोजकको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
बैठकले निर्धारित मितिमै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यका लागि महासंघ केन्द्रीय समितिसंग समन्वय गर्ने र शाखाका सम्पूर्ण सदस्यलाई सहभागिता तथा सहयोगको लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुंग राई, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम, कार्यसमिति सदस्यहरु गोमा राना, मिलन तमु, बाचस्पति रेग्मीका साथै पर्यवेक्षकका रुपमा केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेलाको सहभागिता थियो ।
शाखाको आगामी जुलाई १४ मा फार्नब्रोमा तय अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री