गोरखा राज्यको ऐतिहासिक कथा

प्रारम्भः
“गोरखा जिल्ला” पश्चिम नेपाल गण्डकी प्रदेशमा स्थित छ । प्राचीन समयमा यस जिल्लालाई “गोरखा राज्य” को नामले चिनिन्थ्यो । नेपालको ऐतिहासिक विकासक्रममा यस राज्यको महत्वपूर्ण योगदान तथा स्थान रहेको पाइन्छ । प्राचीन समयदेखि नै गोरखा राज्य आफ्नो ऐतिहासिक, पुरात्वाविक, धार्मिक, सांस्कृतिक सम्पदा तथा वैभवका लागि विश्वभरिमा प्रसिद्ध रहेको छ ।
कुनै समयमा गोरखा राज्य तथा यस्को वरपरको भूभागहरु लिच्छविकालीन तथा सेनवंशीय राजवंशको अन्तर्गत थियो । उनीहरुको अवसान भएपछि खड्का थरका मगर राजवंशको यस क्षेत्रमा उदय भयो । त्यस समयमा यो सम्पूर्ण भूभागलाई माझकोट भनेर चिनिन्थ्यो । माझकोट मगर जनजातिको एउटा सानो राज्य थियो । त्यस समयमा माझकोट त्यस भेगको अत्यन्त शक्तिशाली तथा समृद्धशाली राज्य थियो ।
सन् १५५९ को हाराहारीमा माझकोटमाथि शाहवंशीय राजाहरुको आधिपत्य कायम हुन गयो । माझकोट तथा यस्को वरपरका राज्यहरुलाई मिलाएर लमजुङका शाहवंशीय राजकुमारले गोरखा राज्यको स्थापना गरे । झण्डै २० औं शताव्दीसम्म यो सम्पूर्ण भूभाग “गोरखा राज्य” को नामले चर्चित थियो ।
त्यस समयमा काठमाण्डौं उपत्यकालाई “नेपाल खाल्टो” वा “चार भञ्ज्याङ” भन्ने चलन थियो । बडामहाराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानअन्तर्गत गोरखाबाट नुवाकोट हुँदै अठारौं शताब्दी (सन् १८२६)मा राजधानी काठमाडौं सारे । त्यसपछि गोरखा राज्यको स्वरुपमा परिवर्तन भयो । सानो एवं साधारण गोरखा राज्य विशाल नेपाल राज्यले प्रख्यात हुन गयो । “नेपाल” शब्द हिन्दू पौराणिक ग्रन्थ, कौटिल्यको अर्थशास्त्र तथा लिच्छविकालीन शिलालेखहरुमा उल्लेख गरिएको पाइन्छ । यसबाट थाहा हुन्छ नेपाल राज्यको अस्तित्व परापूर्वकालदेखि नै रहेको थियो भन्ने कुरा ।

लेखक त्रिलोकसिंह थापामगर

भौगोलिक सरहद
गोरखा जिल्ला नेपालको राजधानी काठमाडौंबाट पश्चिमतर्फ १५६ कि.मि. को दुरीमा अवस्थित छ । यस जिल्लाको अनुमानित क्षेत्रफल ३ हजार ६१० वर्ग कि.मि. (१३९० माइल) र समुन्द्र सतहबाट १ हजार ५२२ मि. (४९९३ फि.) उचाईमा रहेको छ । गोरखा जिल्लाको पूर्व सीमामा धादिङ, पश्चिम सीमामा तनहुँ र लमजुङ जिल्ला, उत्तर सीमामा भोट तिब्बत (चीन), तथा दक्षिण सीमामा चितवन जिल्ला पर्दछ । प्राचीन समयमा यस जिल्लाको सरहद कहिले बढ्ने कहिले घट्ने भइरहन्थ्यो । यसै जिल्लाको भूभाग भएर चेपे, दरौदी र बुढीगण्डकी नदी निरन्तर बगिरहन्छन् ।गोरखा प्राकृतिक दृष्टिकोणले हेर्दा अत्यन्त मनमोहक, रमणीय एवं अति सुन्दर जिल्ला हो । यस जिल्लाको पृष्ठभूमिमा मनासलु पर्वत (८ हजार १७३ मिटर), गणेश हिमाल (७ हजार ४२२ मिटर), हिमालचुली (७ हजार १७७ मिटर) आदी पर्वतहरुको हिमश्रृंखलाले अत्यन्त सुन्दर छवि बनाएको पाइन्छ । जैविक विविधताले भरिएको यो जिल्ला पर्यटकहरुको लागि अति आकर्षणको केन्द्र रहेको छ ।
आवादी
प्राचीन समयमा मूलबासी मगर जनजातिको बाक्लो बस्तीहरु गोरखा राज्यमा थियो । उनीहरुको जनसंख्या दक्षिण भेगमा बढी थियो । उत्तरतर्फ जनजाति गुरुङ्ग समुदायको बाक्लो बस्ती थियो । बिस्तारै बिस्तारै पश्चिम तथा अन्य ठाउँहरुबाट बाहुन, क्षेत्री, खस, दमाई, कामी आदि जाति, जनजातिहरुको आगमन गोरखा राज्यमा बढ्न थाल्यो । त्यस समयमा गोरखा राज्यलाई १२ हजार गोरखा भन्ने चलन थियो । केही बुढापाकाहरुले अझ पनि १२ हजार कुरिया गोरखा भन्ने गर्दछन्् । प्रत्येक कुरियाबाट एक÷एक जना युवा राज्यको सैन्य सेवामा जानु पर्ने अनिवार्य थियो । गोरखा राज्य व्यापारको थलो थियो । गोरखा राज्यमा तामा, फलाम तथा अन्य खानीहरुको विशाल भण्डार पनि रहेको छ । केही स्थानीयहरुको भनाइअनुसार गोरखा राज्य जनधन र धनधान्यले सम्पन्न मगरात राज्यको अभिन्न अंग थियो ।
गोरखा राज्यको नामाकरण
किवदन्तीअनुसार महायोगी गोरखनाथ शैव, बज्रयानी बौद्ध, हठयोग, एवं तान्त्रिक विद्याको दर्शन सिद्धान्त आदि बारेमा चिन्तनमनन गर्नका लागि हिमवत्तखण्डमा प्रवेश गरेका थिए । शान्त, एकान्त एवं निर्जन वातावरणको खोजीमा गण्डकी प्रदेशको माझकोट डाँडामा आइपुगेका थिए । यसै ठाउँमा १२ वा १५ वर्षसम्म साधना गरेपछि उनी अन्तरध्यान भए । स्थानीय भक्तजनहरुले यस सम्पूर्ण डाँडाको नाम बाबा गोरनाथको नाममा नामाकरण गरे । राजा द्रव्य शाहले बाबा गोरखनाथको मूर्ति पनि यसै ठाउँमा स्थापना गरे । भनिन्छ गोरख डाँडाबाट गोरखा राज्य हुन गयो । गोरखा राज्यबाट गोरखाली जातिको उद्भव वा नामाकरण भयो । त्यसपछि गोरखा सस्कृति, गोरखा भाषा, गोरखाली परम्परा एवं गोरखाली सभ्यताको विकास हुन गयो । बाबा गोरखनाथ वा गोरक्षक नाथ तत्कालीन गोरखा राज्यका शुभचिन्तक एवं संरक्षक थिए भन्ने जनविश्वास थियो ।
गोरखा राज्यको नामाकरणका बारेमा केही मगर विद्वानहरुको फरक मत रहेको पाइन्छ । मगर भाषामा “गर्खा” शब्दको अर्थ सानो गाउँ हुन्छ भनेर भनिन्छ । त्यस समयमा गोरखा राज्यमा मगर जनजातिको बाहुल्यता थियो । अतः यस ठाउँलाई “गर्खा” भन्ने गर्दथिए । सोही गर्खा शब्दबाट पछि गएर “गोरखा” हुन गएको भन्ने भनाइ रहेको छ ।
माझकोट
यस क्षेत्रमा लिच्छवी तथा सेन वंशीय राजाहरुको शासन सत्ता पछि खड्का थरका मगर राजाहरुले आफ्नो छुट्टै स्वतन्त्र राज्यको स्थापना गरेका थिए । जुन “माझकोट” नामले चिनिन्थ्यो । धेरै वर्षदेखि खड्का थरका मगर राजाहरुको माझकोटमा शासन व्यवस्था थियो ।
माझकोटमा खड्का थरका मगरहरुको बाहुल्यता थियो । उनीहरु खुँडा, खड्ग एवं तलवार आदि चलाउनुमा ज्यादै सिपालु थिए । फलस्वरुप उनीहरुलाई खड्गा मगर भन्ने चलन थियो । पछि गएर खड्का भन्न थालियो । खड्गा राजाहरुको वीरताले गर्दा माझकोट अत्यन्त शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो । यसै कारणले गर्दा लमजुङका राजकुमार द्रव्य शाहलाई माझकोटमाथि १५ दिनसम्म भीषण हमला गर्नु पर्यो । तर सो हमलाबाट राजकुमार द्रव्य शाहले कुनै सफलता प्राप्त गर्न सकेनन् । आफै अपमानित र पराजित भएर सुरक्षित ठाउँ खोज्दै लिगलिग कोटतिर फर्किनु प¥यो । यसबाट प्रमाणित हुन्छ माझकोट शक्तिशाली राज्य थियो । राजा मान सिंह खड्का मगर शक्तिशाली योद्धा थिए ।
आर्थिक रुपबाट माझकोट एउटा समृद्धशाली राज्य थियो । माझकोटको तल्लो फेदमा अत्यन्त उर्वरा भूमि तथा पशुपालन व्यवसायका लागि पनि उपयुक्त वनजंगल रहेछ । भोट (तिब्बत) संग व्यापार गर्नको लागि माझकोट उपयुक्त थलो थियो । तुलनात्मक रुपमा समृद्धिशाली माझकोटका खड्का थरका मगर राजाहरु आर्थिक दृष्टिकोणले सम्पन्न थिए ।
नेपाल एकीकरण अभियानको क्रममा सन् १७५२ (वि.सं. १८०९) मा नुवाकोटमाथि आक्रमण गर्दा बडामहाराजा पृथ्वीनारायण शाह असफल भए । त्यस समयमा गोरखाली फौजलाई रसदपानी खुवाउन आवश्यक रकम पुगेन । अतः सायरी भञ्ज्याङ पुगेर माझकोटका पूर्व राजा मान सिंह खड्का मगरको सन्ततिबाट चांदीका सिक्का चार हजार त्रिपन्न रुपैया र त्रिपन्न आना सीसा तामासहित ऋण लिएका थिए । राजा पृथ्वी नारायण शाहले तमसुक पनि गरिदिएका थिए । सन् १९५८ (वि.सं. २०१५) सालमा साँवा व्याज बुझाई राजा महेन्द्र विक्रम शाहले सो तमसुक फिर्ता गरे भन्ने भनाइ छ । यसबाट थाहा हुन्छ त्यस बखतमा खड्का थरका राजाहरु कति सम्पन्न थिए ।
हालको गोरखा दरबार रहेको स्थानमा खड्का थरका मगर राजाहरुको कोट थियो भनेर भनिन्छ । मगरहरुले सो कोट आफ्नो जातीय शैलीमा निर्माण गरेका थिए । पर्वतीय शैलीमा निर्माण गरिएको सो कोट आकर्षक एवं मनमोहक थियो । सोही कोटलाई शाहवंशीय राजाहरुले समय समयमा बिस्तार गरेका थिए । समय समयमा निर्माण एवं जिर्णोद्वार गरे । राजा मान सिंह खड्का मगरमाथि खुँडा वा तरवारले हान्दा सो कोटको दलिनमा लागेको चिनो आज पनि सुरक्षित छ । यसै चिनोले संकेत गर्दछ गोरखा दरबारको पहिलो भाग खड्का थरका मगर राजाहरुबाट निर्माण गरिएको थियो । (केही बुढापाकाहरुको भनाइ छ )


ऐतिहासिक भौतिक सरंचना
(क) “गोरखा” प्राचीन समयदेखि नै आफ्नो ऐतिहासिक, पुरात्वातिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुका लागि विश्वभरि प्रख्यात रहेको छ । यस ठाउँमा लिच्छिवीकालीन महत्वपूर्ण शिलालेखहरु छ । खड्का थरका मगर जनजातिका राजाहरुको पर्वतीय शैलीका आकर्षक एवं सुन्दर ऐतिहासिक कोट, किल्ला तथा गढिहरु थिए । ती भौतिक संरचनाहरु हाल लोपोन्मुख अवस्थामा छन् ।
(ख) समुन्द्र सतहदेखि अनुमानित १ हजार मिटर (३३०० फिट) कोे डाँडामा शाहवंशीय राजाहरुको भव्य एवं आकर्षक गोरखा दरबार छ । साना ठूला ढुङ्गा तथा काठ आदिले गोरखा दरबारको निर्माण गरिएको हो । जगदेखि नै बलियो पर्खाल उठाएर यो ऐतिहासिक दरवार १६ औं शताब्दीमा निर्माण गरिएको थियो । दरबारको झ्याल, ढोका, बार्दली तथा कौसी अति सुन्दर तथा कलात्मक छ ।
(ग) शाहवंशीय राजाहरुको गोरखा दरबारलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो भागमा सामरिक दुर्ग वा किल्लाको निर्माण गरिएको छ । यस ठाउँलाई शत्रुमाथि निगरानी, रक्षा, प्रतिरक्षा तथा आक्रमण गर्न सकिने स्थलको रुपमा खडा गरिएको छ । साथै यसै ठाउँबाट प्रशासनिक संगठन एवं संचालनको व्यवस्था पनि गरिएको रहेछ ।
(घ) गोरखा दरबारको दोश्रो भागलाई धार्मिक, सामाजिक, सामुदायिक एवं सांस्कृतिक गतिविधी संचालनका लागि निर्माण गरिएको थियो । यस स्थललाई समय समयमा राजपरिवार, दरवारिया तथा प्रजाहरुको धार्मिक, सामाजिक एवं सामुदायिक गतिबिधीहरु संचालन गर्ने गराउने प्रयोजनले निर्माण गरिएको थियो । यसै परिसरमा “दशैंघर” पनि स्थित छ ।
(ङ) प्रत्येक वर्ष गोरखा दरबारको “दशैंघर”बाट छ जवान मगर जनजातिका पुजारीहरुले पालो पालो गरी फूलपाति बोकेर धादिङको जीवनपुरमा पुग्ने गर्दछन् । त्यहाँबाट काठमाडौंको जमल रानीपोखरी हँुंदै हनुमान ढोकाको दशैंघरमा सो फूलपाति पुर्याउने चलन अझसम्म रहेको छ । गोरखा दरबारबाट फूलपाति आए पछि मात्र हनुमान ढोकामा बढाई गर्ने परम्परा बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए ।
(च) गोरखा दरबारमा पृथ्वीनारायण शाहको जन्म ई. सन् १७२३ जनवरी ७ मा भएको थियो । त्यस समयमा न्वारानका लागि बालिएको आगो आजसम्म पनि त्यहाँ निभाइएको छैन भनेर भनिन्छ । हिमवतखण्ड प्रदेशमा रहेका दरबारहरुमध्ये मध्यकालीन गोरखा दरबारको वास्तुकला अत्यन्त उत्कृष्ट तथा नमुनाको रुपमा रहेको छ भनेर भनिन्छ । फलतः स्वदेशी एवं विदेशी पर्यटकहरुका लागि गोरखा आकर्षणको केन्द्र रहेको छ ।
(छ) गोरखा कतिपय धार्मिक मठ, मन्दिर तथा बौद्ध गुम्बाहरुका लागि पनि प्रख्यात छ । मनकामना मन्दिर, गोरखकाली मन्दिर, चण्डेश्वरी मन्दिर, विरमकाली मन्दिर तथा अन्य मन्दिरहरु पनि ज्यादै प्रख्यात र प्रसिद्ध छ । नेपाल अधिराज्यको चर्चित मन्दिरहरुमा गोरखाको मनकामना मन्दिरको नाम अग्रपंक्तिमा रहेको पाइन्छ । गोरखाको अधिकांश मठ मन्दिरहरुमा मगर जनजातिका पुजारीहरु परापूर्वकालदेखि पुजारीको रुपमा कार्यरत छन् ।
(ज) सन् १८७६ को हाराहारीमा पहिलोपटक तानाशाही राणाहरुको विरुद्ध विद्रोह गर्ने तथा शहादत पाउने लखन थापा पनि गोरखाको बुङ्गकोटका थिए । नाथ सम्प्रदायका संस्थापक एवं प्रवर्तक गोरखनाथ बाबाले गोरखामा सिद्धि प्राप्त गरे ।
निर्क्यौल
१) माझकोट गोरखा राज्यमा शाहवंशीय शासनको उदभव १६ औं शताब्दीमा भएको पाइन्छ । त्यसभन्दा पहिले खड्का थरका मगर राजाहरुको शासन व्यवस्था माझकोट गोरखा राज्यमा सदियौंदेखि रहेको थियो । तर गोरखा राज्यको बारेमा प्रायः एकतर्फी विवरण मात्र पाइन्छ । खड्का थरका मगर राजाहरुकोे बिस्तृत विवरणहरुका बारेमा प्रायः हामीलाई धेरै जानकारी छैन । सो बारे अझ गहिरो अध्ययन हुनु पर्ने देखिन्छ । हुनत केही इतिहासकारहरुले मगर थरको राजा मानसिंह खड्का मगरको नाम आ-आफ्नो रचनामा उल्लेख गरेको पाइन्छ ।
२) लिगलिगकोट एवं माझकोटका दरवारहरुको पनि पुनर्निर्माण, जिर्णोद्वार एवं मर्मत भएमा शाहवंशीय शासन व्यवस्था भन्दा पहिलेको मगर राजाहरुको ऐतिहासिक, साँस्कृतिक, सामाजिक अवस्थाका बारेमा भावी पुस्तालाई जानकारी हुने थियो ।
३) माझकोटको दरबारलाई नै बिस्तार गरेर गोरखा दरबारको निर्माण गरिएको थियो भनेर भनिन्छ । सो दरबारको समय समयमा पुनर्निर्माण एवं जिर्णोद्धार गरिन्छ । अतः गोरखा दरबारको पहिलो खण्डलाई माझकोट दरवार भनेर नामाकरण गरिएको खण्डमा खड्का थरका मगर राजाहरु प्रति पनि ऐतिहासिक न्याय हुने थियो । ऐतिहासिक कथालाई नयाँ परिवेशमा वा नयाँ दृष्टिकोणले हेर्नु पर्ने पनि आवश्यक छ । (अन्तरवार्ता र छलफलमा आधारित)
(मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता त्रिलोकसिंह थापामगर ऐतिहासिक विषयमा लेख्न रुचाउँछन् )

त्रिलोकसिंह थापामगर

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री