नेपालका तर्फबाट बेलायती पक्षलाई पठाउने प्रत्यूत्तर तयार

जीटूजी वार्ता

फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका बारेमा नेपाल र बेलायत सरकारबीच जारी वार्तामा बेलायत सरकारले उठाएको विभिन्न ३५ बुँदामा नेपाल सरकारले पठाउने जवाफ तयार भएको छ ।

यसबारेमा छलफल गर्न आज बेलायतको लण्डनस्थित नेपाली दुताबासमा आयोजित छलफलमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाल सरकारका तर्फबाट तयार गरिएको प्रत्यूत्तरको सारांश गोरखाहरूलाई बताएका थिए । उनले गोरखाहरुले उठाउँदै आएको गुनासाहरूकै आधारमा सो प्रत्यूत्तर तयार गरिएको पनि जानकारी दिएका थिए ।

सो सारांशमाथि गोरखा भूतपूर्व सैनिकका संघसंस्थाका प्रतिनिधिहरूले विभिन्न सुझाव दिएका थिए । छलफलमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईका अनुसार ती सुझावहरु समावेश गरेपछि दुताबासले सो पत्र परराष्ट्र मन्त्रालयमा पठाउने र त्यहाँबाट स्वीकृत भएर आएपछि बेलायती रक्षा मन्त्रालयलाई पठाइने छ ।

छलफलमा सहभागी गेसो उपसभापति धर्मबहादुर तामाङका अनुसार राजदुत आचार्यले आफू नेपाल फर्कन अघि नै प्रत्यूत्तर बेलायती रक्षा मन्त्रालयमा पठाउने वचन दिनुभएको छ । राजदुत आचार्यले सो जवाफ नेपाल सरकारका तर्फबाट भविष्यमा वार्तामा बस्नका लागि आधार बन्ने पनि बताउनुभएको छ ।

आजको छलफलमा राजदुत आचार्यले वार्ता जारी भइरहेको बेलामा आन्दोलनका कार्यक्रम नल्याउन गोरखाहरूलाई आग्रह गरेका थिए ।

बैठकमा गोरखा सत्याग्रह संघर्ष समितिले आफूहरूको केन्द्रीय समितिको निर्णयअनुसार आन्दोलनमा जाने जानकारी गराएका थिए भने गेसोका प्रतिनिधिले भने वार्ता जारी रहुन्जेल आन्दोलनमा जान नहुने तर्क गरेका थिए ।

आजको छलफलमा दुई सरकारबीच भइरहेको वार्तामा बेलायती पक्षले सोधेका जिज्ञासाहरूको जवाफ आधिकारिक रूपमा नेपाली राजदुतमार्फत नेपाल सरकार र बेलायत सरकारलाई पठाउने पनि समझदारी भएको छ ।

छलफलमा गोरखा संयुक्त संघर्ष समितिबाट संयोजक कृष्णबहादुर राई, गेसोबाट सभापति कृष्णकुमार राई र यमबहादुर गुरुङ, ब्रिटिश नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा)बाट सभापति केशबहादुर गुरुङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीबाट अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, मेजर रिटायर्ड उदयबहादुर गुरुङ, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, अनसनकर्ताहरू धन गुरुङ र पुष्पा राणा घले लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री