बेलायतमा लेबरलाई प्रचण्ड बहुमत

लेबर पार्टीका नेता सर किअर स्ट्यामर । (Photo by Leon Neal/Getty Images)

लण्डन । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा प्रतिपक्षी दल लेबर पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेको छ ।

निर्वाचनको सम्पूर्ण परिणाम आइनपुग्दै लेबरको प्रष्ट बहुमत देखिएको छ । हालसम्म घोषित परिणामअनुसार लेबरले ४०९ सीट प्राप्त गरेको छ भने अझै परिणाम आउने क्रम जारी छ ।

६५० सदस्य रहेको बेलायतको हाउस अफ कमन्समा प्रष्ट बहुमत ल्याउन ३२६ सीट पर्याप्त हुन्थ्यो तर लेबरले त्योभन्दा धेरै सीट ल्याइसकेको छ । विश्लेषकहरूले लेबरलाई सन् १९९७ मा टोनी ब्लेयरले ल्याएको जस्तै प्रचण्ड बहुमत आउन सक्ने अनुमान गरेका छन् । त्यतिबेला लेबर ४१९ सीट ल्याएको थियो ।

लेबरले बहुमत पाएसँगै यसका नेता सर किअर स्ट्यामर बेलायतको प्रधानमन्त्री बन्नेछन् ।  

उता विगत १४ वर्ष २ महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले हालसम्म ११४ सीट जितेको छ भने प्रभावशाली मन्त्री तथा पार्टी नेताहरूले हारको सामना गर्नुपरेको छ ।

पूर्व रक्षा मन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रस लगायतले पराजय व्यहोर्नुपरेको छ । उता लेबरका छायाँ मन्त्री जोनाथन आसवर्थ पनि स्वतन्त्र उम्मेदवारसित पराजित भएका छन् भने लेबर पार्टीबाट निकालिएका पूर्व नेता जेरेमी कोर्बिन स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

उता दक्षिण पन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराजले पहिलोपटक संसदमा प्रवेश पाएका छन् । त्यतिमात्र होइन दर्जनौँ सिटमा कन्जरभेटिभ उम्मेदवारलाई हराउन पनि रिफर्म पार्टी सफल भएको छ ।

चुनावमा लिवरल डेमोक्रयाटिक पार्टी र ग्रीन पार्टीले पनि पहिलेभन्दा सीट बढाएका छन् भने स्कटल्याण्डमा केही दशक एक छत्र रजगज गरिरहेको स्कटिश न्याशनालिष्ट पार्टीले उल्लेख्य सीट गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री