चितवनको दियालो बङ्गला सर्वसाधारणका लागि खुला

चितवन । भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गर्नुभएको हो ।
नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो । मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहाने जो कोहीका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । “भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान हुने र भाडादर घट्ने हुँदा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरले सञ्चालन र व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ, यसले पनि पर्यटकको सङ्ख्या वृद्धिमा योगदान गर्नेछ”, मन्त्री तामाङले भन्नुभयो । ट्रष्टले पूर्वराजपरिवारको सम्पत्तिको अध्ययन, अवलोकन एवं आवश्यकताअनुसार प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।
महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको अवसर पारी ट्रष्टसँगको सहमतिमा महानगरपालिकाले बङ्गला सबैका लागि खुला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वषौँदेखि आमनागरिकले के होला भनेर उत्सुकताका साथ हेरिरहेको दरबार अब प्रत्यक्ष हेर्न पाउने छन् । यसले आन्तरिक र बाह्य पर्यटक बढाउने आशा छ ।” अब कार्यविधि बनाएर सञ्चालन बङ्गलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताउनुभयो । भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बङ्गला सञ्चालनमा ल्याउन सकिएको उहाँको भनाइ छ ।
उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा सञ्चालनसम्बन्धी सम्झौता भइसकेको थियो । ट्रष्टले ट्रष्टले रु ९२ लाखमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो ।
भरतपुर महानगरपालिका–१ मा रहेको बङ्गलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ । भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउँको जस्ताको तस्तै अवस्थामा छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले राजपरिवारको इतिहाससँग जोडिएको ठाउँ भएर पनि आमनागरिकको पहुँचभन्दा बाहिर रहेकाले महानगरले सबैका लागि खुला गर्न पहल गरेको बताउनुभयो । उहाँका अनुसार ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय छ । बङ्गलाको पश्चिमतर्फ रहेको नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ ।
ट्रष्ट सञ्चालक समितिका सदस्य सुनिता गौतमले पर्यटन प्रवर्द्धनका लागि दियालो बङ्गला उपयुक्त स्थान रहेको बताउनुभयो । राजपरिवारको इतिहास बुझ्न यो बङ्गला महत्वपूर्ण रहेको भन्दै उहाँले ट्रष्टले यसअघि पोखराको रत्नमन्दिरसमेत सबैका लागि खुला गरिसकेको जानकारी दिनुभयो । मकवानपुरमा रहेको कान्ती इश्वरी गृहसमेत संञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले पर्यटन प्रवर्द्धनका लागि स्थानीय र नीजि क्षेत्रको सहकार्यमा भएको काम उदाहरणीय रहेको बताउनुभयो । सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न सके पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री