नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा बिमला सेने निर्वाचित


लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखा (एफएनजे युके) को अध्यक्षमा बिमला सेने निर्वाचित हुनुभएको छ ।

फार्नबोरोस्थित बीजीडब्लुएसको भवनमा आइतबार १४ जुलाई २०२४ मा भएको एफएनजे युकेको छैटौं अधिवेशनबाट सेने अध्यक्षमा निर्वाचित हुनुभएकव् हो । सेने एफएनजे युकेको इतिहासमा पहिलो महिला अध्यक्षसमेत बन्नुभएको छ । अध्यक्षको अन्य प्रत्यासीहरूमा श्याम लुँइटेल र दिनेश परियार हुनुहुन्थ्यो ।

प्रमुख निर्वाचन आयुक्त तथा नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष नरेश खपांगी मगरले २३ मतसहित अध्यक्षमा सेने निर्वाचित र कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य निर्विरोध भएको घोषणा गर्नुभयो । १५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ (एसके) र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा मिलनध्वज गुरुङ (मिलन तमु), वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्बाङ, गोमा राना निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष बिमला सेने

एफएनजे युकेको निर्वाचनका लागि खपांगीमगरको नेतृत्वमा पूर्णबहादुर गुरुङ, प्रजय शुल्क रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचनको परिवेक्षकमा वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङ, शिव कल्चरल कम्युनिटी सेन्टर युकेका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष मन गुरुङ रहनुभएको थियो ।

अधिवेशनको पहिलो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष ध्रुवराज अर्यालले गर्नुभएको थियो भने महिला उपाध्यक्ष प्रमिला राईले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम सन्चालन महासचिव नरेन्द्र बस्नेतले र बन्द सत्रको कार्यक्रम सचिव मञ्जु भण्डारीले संचालन गर्नुभएको थियो । अधिवेसनको उद्घाटन शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र अध्यक्ष ध्रुवराज अर्यालले पानसमा बत्ती बाली गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि तथा केन्द्रीय प्रतिनिधि नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, शाखाका निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

शाखाको १३ ‌औँ वार्षिकोत्सव पनि यही साता परेकोले वार्षिकोत्सवस्वरूप केक पनि काटिएको थियो ।

अधिवेशनमा महासचिव बस्नेतले प्रस्तुत गर्नुभएको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।

अधिवेशनको अन्त्यमा निवर्तमान अध्यक्ष ध्रुवराज अर्यालले निर्वाचन मण्डल, परिवेक्षक, नवनिर्वाचित अध्यक्षलगायत कार्यसमिति र उपस्थित सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिनुभएको थियो भने पर्यवेक्षकका तर्फबाट समाजसेवी एकेन्द्र गुरुङले मन्तब्य राख्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष बिमला सेनेले निर्वाचन मण्डल, पर्यवेक्षक, अध्यक्ष, पूर्वअध्यक्ष, महाधिवेशनमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै पत्रकार महासंघ बेलायतलाई एकताबद्ध बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री