डोटी राज्यको अवसान
नेपाल एकीकरण अभियानअन्र्तगत काठमाडौं उपत्यकाका मल्ल राज्य, पश्चिममा बाईसी चौबीसी राज्य तथा सेन राज्यहरुलाई एक पछि अर्को गर्दै विशाल एवं बृहद गोरखा साम्राज्यमा मिलाइयो । त्यसपछि सन् १७९० को अगष्ट महिनामा शक्तिशाली “डोटी” राज्यमाथि गोरखाली फौजले पूर्ण तयारीका साथ भीषण हमला गर्यो । तर डोटीका राजा दीप शाही भागेकाले सो राज्य आफैँ बृहद गोरखा साम्राज्यमा गासिन गयो । यसरी पुर्वमा टिस्टा नदी तथा पश्चिममा महाकाली नदीसम्म बृहद एवं विशाल गोरखा साम्राज्यको सरहदहरु विधिवत कायम हुन गयो । तैपनि नायब बहादुर शाह, जनरल अमरसिंह थापा र अन्य सेना नायकहरुको सरहद विस्तारको चाहना तथा नेपाल एकीकरण अभियानको भोक मेटिएको थिएन । उनीहरु काश्मीर राज्य; त्यसपछि अफगानिस्तानसम्म बृहद गोरखा साम्राज्यको पश्चिमी सरहदलाई विस्तार गर्ने सपना देखिराखेका थिए ।
महाकाली नदी
गोरखाली फौजलाई भारी भरकम्प हातहतियार, गोलीगठ्ठा, बारुद, रसदपानी, राशन, औषधी, लुगाफाटा तथा अन्य आवश्यक सैन्य सामाग्रीहरुका साथ बिकराल महाकाली नदी पार गर्न गराउन चानचुनको कुरा थिएन । महाकाली नदी तरेर कुमाउँको अन्जान एवं अनकन्टार भूमिमा सैन्य शिविर खडा गर्नु पनि कठिन कार्य थियो । काठमाडौबाट समयमा थप सहयोग र सहायता पाउन पनि गाह्रो थियो ।
काठमाडौंबाट कुमाउँ राज्यमा पुग्न अनुमानित ३२० माईलभन्दा बढी हिँड्नु पर्दथियो । आज भोलि जस्तो सुगम र सजिलो बाटो घाटो पनि थिएन । गोरटो बाटो पनि थिएन । आफैँ बाटोहरु बनाउंदै हिँड्नु पर्ने थियो । संचार तथा दोहोरो संचारको ब्यवस्था पनि थिएन । एक पटक हिँडेपछि निर्धारित ठाउँमा पुग्छ वा पुग्दैन सोको ठेगान हुँदैन थियो । कारण हिंस्रक वन्यजन्तु, विषालु झारपात, घना वनजंगल, अग्ला अग्ला रुख, दुर्गम डाँडा, पाखा, भीर, पहाड, अपत्यारिलो नदी नाला, खोला छहरा आदिलाई छलेर कुमाउँ राज्यभित्र पस्नु पर्ने अवस्था थियो । अत्यन्त कठिन यात्रा थियो ।
भौगोलिक कठिनाई र अफ्ठ्यारा बाटाहरु बाहेक गोरखाली सैनिकहरुको मनोबल, हौसला र साहसलाई संधै उच्च राख्न सेना नायकहरुलाई सजिलो थिएन । त्यस माथि गोरखाली फौजसंग ज्यादै सीमित श्रोत, साधनहरु थिए । दिल फुकाएर खर्च गर्न गराउन ज्यादै अप्ठ्यारो थियो । हरेक कुरामा सेना नायकहरुलाई मितब्ययिता पालन गर्नु गराउनु पर्दथियो ।
यस्तो स्थिति एवं परिस्थितिमा पनि गोरखाली सेनाका पश्चिम भेगका सेनापति जनरल अमरसिंह थापाले गोरखा साम्राज्यको पश्चिम सरहद विस्तार गर्न गराउन कठोर निर्णय गरे । गोरखाली सैनिकहरुले पनि आफ्नो कमाण्डरको निर्धारित लक्ष्यलाई हासिल गर्न दृढ प्रण गरे । यसै समयमा कुमाउँ गढवालको राजनीतिक परिस्थितिले पनि जनरल अमरसिंह थापाको पक्षमा सकारात्मक वातावरण तयार पारेको पाइन्छ ।
राजवंशको आन्तरिक कलह
सन् १७७८ भन्दा पहिले कुमाउँ, गढवाल तथा देहरादुन राज्यहरुमा कस्तुरी, पवांर तथा चन्दवंशका राजवंश, राजा, राजदरबारियाहरुको धेरै राम्रो, उत्तम शासन प्रणाली र ब्यवस्था थियो । भनिन्छ हिमवतखण्डमा कुमाउ, गढवाल र देहरादुन जनपद सबैभन्दा बढी समृद्धशाली एवं धनधान्यले सम्पन्न राज्यहरु थिए । त्यस समयमा तत्कालीन राजा राजवंश, दरवारियाहरु अत्यन्त लोकप्रिय थिए । प्रजाका हितैषी तथा शुभचिन्तक थिए । पंवार राज्यवंशका राजा फत्ते शाहको कार्यकालमा गढवाल राज्यमा “स्वर्णिम युग” थियो । उनको राजदरबारमा “नवरत्न”हरुको जमघट हुन्थ्यो । स्थानीय प्रजा खुशी, सम्पन्न तथा खुशहाल थिए । आफ्नो राजा, राजवंश तथा दरबारियाहरुमाथि स्थानीय प्रजाले अथाह विश्वास र गर्व गर्दथिए ।
उत्तराधिकारीहरु
भनिन्छ सन् १७७८ को उत्तराद्र्धमा कुमाउ, गढवाल तथा देहरादुनका राजा, राजवंश राजदरबारियाहरुको सन्तति र उत्तराधिकारीहरुमा अत्याधिक स्वार्थ, लालच, लोभको भावना बढ्न थाल्यो । उनीहरु ज्यादै महत्वाकांक्षी थिए । राजगद्दी, राज्य शक्ति, राज्य सत्ता पाउनका लागि आपसमा लडाई, झगडा, षडयन्त्र तथा कलहहरु गर्न गराउन थाले । एकले अर्को माथि हमला गर्ने, परास्त गर्ने, बन्दी बनाउने, कठोर यातना दिने, त्यसपछि षडयन्त्रपूर्वक हत्या गर्ने गराउने घटनाहरु दिन प्रतिदिन बढ्न थाल्यो । परिणामस्वरुप कुमाऊँ, गढवाल, देहरादुन जस्ता शान्ति, सुख, सुबिधा, सम्पन्न राज्यहरुमा अत्यधिक संख्यामा अशान्ति, अराजकता, हिंसा, वैमनस्यता, कलह तथा झै—झगडाहरु बढ्न थाल्यो ।
असफल राज्य
पुर्वराजा, राजवंश र दरबारियाहरुको उत्तराधिकारी एवं सन्ततिहरुले दुःखी पीडित प्रजाहरुबाट अनावश्यक रुपमा बढी राजस्व र करहरु उठाउन थाले । उठेका रकमहरु प्रजाको कल्याण कार्यमाथि खर्च गर्दैन थिए । आफ्नै मोजमस्ती तथा राजशी ठाँटबाटमा अनावश्यक रुपमा खर्च गर्न थाले । राज्यको सरकारी खजानामा जम्मा भएको रकम दिन प्रतिदिन घट्न थाल्यो । ढुकुटी रित्तिन थाल्यो । प्रजाको दुःख, वेदना, पीरमर्का, एवं दैनिक समस्याहरु दिन प्रतिदिन अप्रत्याशित रुपमा बढ्न थाल्यो । अयोग्य, अकुशल, असक्षम उत्तराधिकारी वा सन्ततिहरुले गर्दा त्यहाँ राजनैतिक अस्थिरता बढ्न थाल्यो भनेर भनिन्छ । कुमाउःँ र गढवाल राज्यहरु दिन प्रतिदिन कमजोर एवं असफल राष्ट्रको रुपमा देखा पर्न थाल्यो । कुमाऊँ राज्यका शक्तिशाली पूर्व दिवान, राजदरबारिया पण्डित हर्षदेव जोशीको कथा पनि यसै समयदेखि शुरु भयो ।
पण्डित हर्षदेव जोशी
सन् १७८६ को हाराहारीमा गढवाल राज्यका राजा प्रद्दुमन शाह कुमाऊँ राज्यका पनि राजा थिए । उनका दिवान (प्रधानमन्त्री) पण्डित हर्षदेव जोशी कुमाऊँ राज्यका शक्तिशाली राज दरवारिया थिए । सोही वर्षमा चन्द्र वंशका राजा मोहन चन्दले कुमाऊँ राज्यमाथि अकस्मात भीषण हमला गरे । पाली गाउँको युुद्धमा प्रद्दुमन शाह र हर्षदेव जोशीको फौजलाई पराजित गरे । राजा प्रद्दुमन शाह तथा हर्षदेव जोशी दुवै जना कुमाऊँ राज्यबाट पलायन हुन पर्याे ।
केही समयपछि पण्डित हर्षदेव जोशीले आफ्नो समर्थक सैनिकहरुलाई जम्मा पारी संगठित गरी तथा तयारीका साथ कुमाऊँ राज्यमाथि एक्लै आक्रमण गरे । सो आक्रमणमा राजा मोहन चन्दका जेठा छोरा युवराज बिशन सिंहको मृत्यु भयो । राजा मोहन चन्द र उनका भाइ लाल सिंहलाई हर्षदेव जोशीको सेनाले बन्दी बनाए । बन्दी गृहमा उनीहरुलाई अत्यधिक यातना दिइयो । राजा मोहन चन्दको शंकास्पद अवस्थामा मृत्यु भयो । उनका भाइ बन्दीगृहका रक्षकको सहयोगमा भाग्न सफल भए ।
सन् १७८९ मा पुर्व राजा मोहन चन्दका छोरा महेन्द्र सिंहले आफ्नो बुबाको हत्याको बदला लिन कुमाऊँ राज्यमा आइ पुगे । पण्डित हर्षदेव जोशीमाथि भीषण हमला गरे । तर उक्त हमलालाई छलेर पण्डित हर्षदेव जोशी गढवाल राज्यको श्रीनगर पुगे । त्यहाँबाट सैन्य सहयोग तथा सहायता माग्न पहिले अवधका नवाबको रियासतमा पुगे । त्यहाँ सहायता नपाएपछि अन्य ठाउँहरुमा पनि मद्दत माग्न पुगे । तर कतैबाट पनि हर्षदेव जोशीलाई सहयोग सहायता प्राप्त भएन । उनी निराश थिए । अब एउटै आशा थियो महाकाली नदीको पुर्व तर्फको बृहद एवं विशाल गोरखा साम्राज्य ।
गोरखा साम्राज्यमा प्रवेश
सन् १७८९को हाराहारीमा पण्डित हर्षदेव जोशीले महाकाली नदी तरेर गोरखा साम्राज्यमा प्रवेश गरे । महाकाली नदीको पुर्व किनारमा सेनानायक जगजित पाँडे सैन्य शिविर खडा गरेर बसेका थिए । त्यसै समयमा त्यहाँ पण्डित हर्षदेव जोशी बिन्ती पत्र लिएर आइपुगे । सो बिन्ती पत्रमा कुमाऊँ राज्यमाथि आक्रमण गर्न, त्यहाँ शान्ति सुव्यवस्था तथा सुरक्षा बहाली गर्न सेना नायक जगजित पाँडेलाई अनुरोध गरिएको थियो । सोही निवेदन पत्र संलग्न गरी सेना नायक जगजित पाँडेले आवश्यक निर्देशन तथा आदेश पाउन राजदरवारमा बिन्ती पत्र पठाइदिए ।
सोही पत्रहरुको आधारमा बडानायक बहादुर शाहले सेना नायक अमरसिंह थापाको नाममा आदेश पत्र जारी गरे । “हाम्रो छिमेकी मुलुकमा शासन व्यवस्थाको ठेगान नभएकाले स्थानीय प्रजा दुःखी र बिपत्तिमा परेका छन् । शान्ति सुरक्षा बहाल गर्नु हाम्रो कर्तव्य हो । छिमेकीको प्रजालाई जोगाउनु हाम्रो धर्म हो ।” यस्तै आशयको हुकुम आदेश जारी भयो ।
जनरल अमर सिंह थापाको चाहना
(क) भनिन्छ जनरल अमरसिंह थापा कुमाऊँ र गढवाल राज्यहरुका राजवंश, राजा तथा राज दरबारियाहरुको आन्तरिक झैझगडाहरुमा पर्न चाहँदैन थिए । यस्ता झगडा र कलहहरुमा परेर आफ्नो समय नष्ट गर्न चाहदैन थिए । कुमाऊँ र गढवाल राज्यका समस्याहरुमा अल्झियो भने उनको सपना पूरा हुने छैन भनेर अड्कल गरेका थिए । उनको मुख्य लक्ष्य काश्मीर तथा अफगानिस्तानको सरहदमा गोरखा साम्राज्यको झण्डा फहराउनु थियो ।
(ख) जनरल अमरसिंह थापाले आफ्नो सीमित सैनिक, श्रोत, साधनहरुलाई हिमवतखण्डमा चारैतर्फ छर्न चाहँदैन थिए । सबै सैनिक, श्रोत साधन र हात हतियारहरुलाई एकत्र एवं संगठित गरेर अफगानिस्तानसम्म पुग्न चाहन्थे । उनको प्राथमिकता कुमाऊँ, गढवाल र देहरादुन थिएन । तर बफादार सैनिकले आदेश पालना गर्नु गराउनु उसको मुख्य कर्तव्य हो भन्ने उनको धारणा थियो ।
(ग) कुमाऊँ राज्यका शक्तिशाली पूर्व दीवान, राजदरवारिया एवं किंगमेकर पण्डित हर्षदेव जोशीको आमन्त्रण (बिन्तीपत्र)लाई नेपालको तत्कालीन राजदरबारले मानवीय आधारमा स्वीकृति प्रदान गर्याे । तदनुरुप सेना नायकहरु जनरल अमरसिंह थापा, जगजित पाण्डे तथा शूरवीर थापाको कमाण्डमा र पण्डित हर्षदेव जोशीको सहयोगबाट गोरखाली फौजले डरलाग्दो महाकाली नदीलाई सन् १७९० को उतराद्र्धमा पार गर्याे । उनको मार्गदर्शन, पथप्रदर्शन र मद्दतबाट कुमाऊँ, गढवाल, देहरादुन राज्यहरु माथि गोरखाली फौजले विजय प्राप्त गर्न सफलता प्राप्त गर्याे ।
(घ) पण्डित हर्षदेव जोशीको सहयोगबाट बृहद एवं विशाल गोरखा साम्राज्यले सन् १७९० देखि सन् १८१५ सम्म कुमाऊँ तथा सन् १८०४ देखि १८१५ सम्म गढवाल राज्यमाथि आफ्नो शासन सत्ता कायम गर्याे । अर्थात जम्मा २५ वर्षसम्म कुमाऊँ, गढवाल राज्यमा गोरखालीहरुको शासन व्यवस्था थियो । यस्को श्रेय पण्डित हर्षदेव जोशीले पाउँछन् ।
(ङ) तर गोरखा शासन व्यवस्थाबाट पण्डित हर्षदेव जोशीको व्यक्तिगत स्वार्थ पूर्ति हुन सकेन । उनले चाहे जतिको लाभ प्राप्त गर्न सकेनन् । अतः कुमाऊँ, गढवाल राज्यबाट गोरखा शासन व्यवस्थालाई विस्थापित गर्न गराउन अङ्ग्रेज सरकारसंग गुहार एवं मद्दत माग्न थाले । गोरखा शासन व्यवस्थालाई कुमाऊँ, गढवालबाट समाप्त गर्न गराउन उनले ईष्ट इण्डिया कम्पनी सरकारलाई सम्पूर्ण सहयोग र मद्दत पनि गरे ।
सारांश
पण्डित हर्षदेव जोशीलाई अङ्ग्रेज इतिहासकार एडिक्सनले “देशद्रोही र स्वार्थी” भनेर आफ्नो संस्मरणमा लेखेका छन् । इतिहासकार राहुल सांस्कृत्यानले उनलाई “कुमाऊँको विभिषण” भनेर उल्लेख गरेका छन् । केही लेखकहरुले “कुमाऊँ राज्यका चाणक्य थिए” भनेर लेखेको पाइन्छ । जे होस् उनको सहयोग एवं सहायताले गर्दा गोरखाली फौजले सजिलैसंग उत्तराखण्डको भूमिमा प्रवेश गर्यो भन्ने भनाइ छ । ( अन्तरवार्ता र छलफलमा आधारित)
(सामाजिक अभियन्ता लेखक श्री त्रिलोक सिंह थापामगर ऐतिहासिक कथाका विषयमा लेख्न रुचाउँछन् )
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।