फिल्म ‘कार्साङ’बाट बेलायतवासी नवनायिका सिर्जना निङ्लेकुको डेब्यू

काठमाडौँ । बेलायतवासी सिर्जना निङ्लेकुले छिट्टै छायांकन हुने नेपाली चलचित्र ‘कार्साङ’बाट डेब्यू गर्नुहुने भएको छ ।

केही म्युजिक भिडियो खेलिसक्नु भएकी सिर्जनाले मुख्य पात्र अभिनेता दयाहाङ राई रहनुहुने ‘कार्साङ’बाट चलचित्रमा प्रवेश गर्नु लाग्नुभएको हो । त्यस्तै सोही फिल्ममार्फत नवनायक छिरिङ शेर्पाले पनि डेब्यू गर्नुहुनेछ । छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसक्नुभएको छ ।

फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो ।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यतिबेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । केही महिनाअघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमूर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहनुभएको छ ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दै हुनुहुन्छ । उहाँको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उहाँ स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसक्नुभएकव छ ।

यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुनुहुन्छ । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुनुहुन्छ ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेको छ ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री