एनआरएनए टोलीसँग परराष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘रचनात्मक सहकार्य गर्नेछु’


लन्डन । नेपालको नवनियुक्त परराष्ट्रमन्त्री आरजु देउवा राणाले गैर आवासीय नेपालीहरुसँग सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नेतृत्वको टोलीसँगको भेटका क्रममा बिहीबार परराष्ट्रमन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका निम्ति रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभएको हो । भेटबारे एनआरएनए अभियन्ता रोजिना प्रधान राईले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीज्यूसमक्ष हामीले एनआरएन अभियानका समसामयिक महत्वपूर्ण विषयमा साझा धारणा राख्यौं । उहाँले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका निम्ति रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।’

एनआरएनए टोलीले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको थियो ।

उक्त टोलीले बुधबार गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेको थियो । त्यस क्रममा गैरआवासीय नेपाली नागरिकताको विषय र एनआरएनको नेपालमा लगानीबारे छलफल गरिएको थियो ।

टोलीमा संस्थापक अध्यक्ष डा महतो, डा.बद्री केसी, रोजिना प्रधान राई, सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याललगायत संलग्न रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री