पुस्तक समीक्षा : “निरजोया” सँगको यात्रा

जीवन जिउने क्रममा अति आवश्यक काम कर्तव्यहरूलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्दा बढ्दै समयले हुत्याएर कहाँ-कहाँ पुर्‍याउँछ पत्तै हुँदैन | समयको रफ्तारलाई पछ्याउने दुस्साहस त गर्छौं, तर पनि समयको पछि आफ्ना कतिपय रहर अनि अनेकौं सपनाहरू कहींकतै अधुरै छाडेर अघि बढ्नु पर्छ सायद यहीं होला जिन्दगी |

अधुरा काम एकदिन पूरा गर्छु भन्ने आशा त बाचुन्जेल राखिन्छ नै । तैपनि समयले कहिल्यै पर्खंदैन, त्यस्तै छटपटीमा सास फेरिरहेको बेला फेरि दाजु गुरुङ दाइको नयाँ कृति उपन्यास “निरजोया” मेरो हातमा आइपुग्यो | अहिले सम्झन्छु त्यसबेला म जोर्डनको सब्जी बजारमा तरकारी किन्दै थिएँ कि सायद ! हुन त म समयसँग आत्मसमर्पण गरेर अघि बढ्न सिकिसकेको मान्छे एकदिनमा कति ठाउँ पुग्छ, कहाँ कहाँ, कोको सित भेट्छु पत्तै हुँदैन |

किताब पढ्न मेरो रुचिको विषय भैकन पनि समय अभावले थुप्रै किताबहरू अल्मारिमा थन्किएका छन् | नेपालमा रिटायर्ड लाइफ बिताइरहेका कतिपय अभिभावकहरूलाई देख्दा म पनि त्यो मोडमा कहिले पुगौं जस्तो पनि लाग्छ, डर पनि लाग्छ खोई कति धेरै कन्फ्युजन हो जीवनमा ?

ठ्याक्कै भोट माग्ने नेताले जितें भने यो गर्छु र त्यो गर्छु भन्दै जनतासामू वाचा गरे जस्तो म पनि ती किताबहरूसित भोलि पढ्छु, पर्सि पढ्छु भन्दै निस्फिक्री वाचा गर्छु, बिचरा ती अल्मारिमा निर्निमेष बसिरहेका किताबहरूले न सवालजवाफ गर्छन्, न विरोध नै, अदृश्य समयसँग वाचा गर्नु अथवा बात गर्नु पनि गज्जबै कुरा रैछ |

मेरो रुचीको विषय भएर हो कि ! दाइको यो किताबको कभरको फोटो फेसबुकमा देख्दै पढ्न खुब मन लागेथ्यो | तर, यति चाँडो यो किताब हात लाग्छ जस्तो चाहिँ लागेको थिएन कारण यहाँ लोकार्पण हुन बाँकी नै थियो | किताब दिँदै दाइले पढेर केही भन्नु पर्‍यो है बहिनी लोकार्पणमा भन्नु हुँदा पो, हस् हुन्छ दाइ भनौं कि सक्दिनँ भनौं ? को दोसाँधमा एकछिन उभिएर सोचिरहें |

दाइले छेउमै उभिएर मेरो जवाफ पर्खिरहे जस्तो लागेकोले, हुन्छ को भावमा टाउको हल्लाएर छुट्टिएँ | खोई के काम थियो कुन्नि ? किताब लिएर केहीबेर नेपालीहरूको राजधानी सहर जोर्डनतिरै अलमलिएँ | यो राजधानी घुम्ने कामले पनि केही महिनादेखि निरन्तरता पाएको छ | त्यहाँ पुगेपछि ठ्याक्कै काठमाडौं सहर जस्तो कोही न कोही भेटिहालिन्छ र ब्यर्थै अलमल हुन्छ |

घर पुगेर त्यहीं साँझदेखि किताब पल्टाउन थाले पनि व्यस्तताको कारण सक्नु महिनौं लाग्यो | लोकार्पण कार्यक्रम मे २६-२०२४ आइतबारका दिन आयोजक संखुवासभा समाज हङकङ र सहसंयोजक हङकङ साहित्यिक साँझले संयुक्त्त रुपमा जोर्डनस्थित ब्लू ओसियन रेस्टुरेन्टमा सम्पन्न गर्ने भएको थियो |

कार्यक्रम नजिकिंदै गर्दा पढेर नसकिने पो हो कि ? भनेर जता-जता गयो उताउतै झोलामा बोकेर हिँडिरहें | “निरजोया” निरजको मात्र कथा नभएर लाखौं नेपाली युवाहरूको कथा हो, निरज त एक प्रतिनिधि पात्रमात्र हुन् | मलेसियाका विभिन्न ठाउँमा उसैगरी लाखौंलाख नेपाली युवाहरू हराइरहेका छन् | कतिले आफ्नो कथा भन्न चाहन्छन् कतिले चाहँदैनन् फरक त्यति हो |

यो कथा पढ्दै गर्दा मैले पनि मेरै एकजना आफन्तको अनुहार झल्झली सम्झें, जो मलेसिया गएको १० बाह्र वर्ष बितिसक्यो न
पैसा पठाउँछ, न आफै सम्पर्कमा आउँछ | १२ वर्षमा त खोला पनि फर्कन्छ भन्छन् तर भासिएका मान्छे नफर्कने रैछन् |

पहिले एकपल्ट त झन् मुस्लिम धर्म नै अपनाइसकेको जस्तो फोटो पोस्ट गरेको र आफन्तले सोध्दा यहाँ बस्ने कागजपत्रको लागि त्यसो गरेको भन्ने कुरो बाहिर आएको थियो | सायद ! निरजलाई जोयाले पटक-पटक मुस्लिम धर्म अपनाउन अनुरोध गरे जस्तै उसलाई पनि अर्को कुनै जोयाले फकाई होलिन् र उतै हराएको होला | यस्तै अनेक तर्कनाहरूसित खेल्दै किताब पढी सिध्याएँ |

बाबा आमाले रोजीदिएको एक युवतीसँग बिहे गरेर नवदुलही छाडी सुन्दर भविष्यको सपना बोकेर मलेसिया पुगेको निरजको भोगाई हो यो उपन्यास, कथा यथार्थपरक छ | यो किताबबारे मभन्दा अघिका केही अग्रजहरूको समीक्षामा पनि यहीं विषय उठेको पाएँ |

घरिघरि त निरज भन्ने पात्र लेखक आफै हुन् कि ! नभए पनि कसैले आफ्नो कथा लेखिदिन अनुरोध गरेका हुन् ? यो प्रश्नले पाठकलाई सुरुदेखि अन्त्यसम्म पछ्याउँछ | किनकि आफू नपुगेको देशको गल्ली गल्ली, घर, चोक अनि त्यहाँ चल्ने यातायात र तिनका स्टप र सारा भौगोलिक रुपरेखा र त्यहाँका संस्कार संस्कृति अनि परम्पराहरूको त्यति मिहिन तरिकाले कसरी कल्पना गर्न सकिन्छ ?

स्वभावैले आफू नपुगेको ठाउँको कल्पना हामी स्वर्गकै गर्छौं | तर त्यहाँका मसिना मासिना चिजहरूलाई समेट्न सक्दैनौं जस्तो लाग्छ | देश आफैमा नराम्रो हुँदैन | नराम्रो त त्यहाँका शासक र कानुन बनाउने ठेक्केदारहरूले बनाएका हुन्छन् | यो उपन्यास पढेपछि मलाई त्यस्तो सुन्दर देश मलेसिया कुरुपमात्र होइन, एक नर्क नै हो जस्तो लाग्यो |

निरजले जोयासँगको संसर्गमा जति समय बितायो सायद ! उसले सोचेको स्वर्ग त्यति नै थियो | किनकि निरज एक विवाह अघिको सहबासलाई मान्यता नदिने समाजमा हुर्केको केटा हो | त्यसैले पनि स्वर्ग ठानेर त्यो अचम्मको समाजमा डुबुल्की मरिरह्यो | आफ्नो चाह पूरा भएपछि जोयाजस्तो मायालुलाई छाडेको पक्ष एकछिनको लागि सोच्ने हो भने मान्छे स्वभावैले स्वार्थी हुन्छौं जस्तो पनि लाग्छ | अर्कोतिर जोयाको घरबाट निस्कँदा एउटा केही चिज नलिई निस्केको पक्षमा
नेपालीहरू कति सच्चा अनि स्वाभिमानी हुन्छौं भन्ने पनि प्रमाणित हुन्छ |

तर मेरो नजरमा निरज स्वार्थी होइनन् बरु “धेरै खाए मह पनि तितो हुन्छ” भन्ने नेपाली उखान उसमा लागू भएको देखिन्छ | जब ऊ त्यो स्वर्गरुपी मिठो सपनाबाट ब्युँझन्छ तब घर परिवारको निम्ति सोच्न थाल्छ | त्यसपछि आफू केका लागि मलेसिया आएको हो भन्ने ग्लानिभाव ज्वारभाटाझैं मनमा उर्लन थाल्छ | अनि बल्ल एउटा छोरो हुनुको दायित्वबोध उत्पन्न हुन्छ | र अन्तोत्वागत्वा उसले जोहोरबारुद्ध छाड्ने निर्णय गर्छ, त्यो पक्ष एकदम सकारात्मक लाग्यो |

नत्र उपन्यासकारले यहाँनिर पुगेर निरजलाई धर्म परिवर्तन गरेर जोयासँगै जीवन बिताउने निर्णय गरेर आफू उतै भासिएको पात्र बनाएको भए नेपाली समाजलाई यो उपन्यासले नकारात्मक सन्देश दिन्थ्यो | यस्ता साना-साना कामले लेखकलाई सफल बनाएको हुन्छ भन्छन् त्यो कुरो सही लाग्यो |

समग्रमा यो उपन्यासले नेपाली युवाहरू पलायन हुनु हुँदैन भन्ने राम्रो सन्देश दिएको छ | अर्कोतिर निरजलाई आफूतिर तान्ने देश, धर्म, परिवार अनि संस्कार संस्कृति पनि बलियो डोरी बनेको छ | त्यतिकै भनेका होइन रहेछन् विज्ञहरूले भाषा, धर्म र संस्कार संस्कृति नै हाम्रो पहिचान हुन् भनेर |

नत्र निरजलाई के थियो र ? उतै जोयाको मायामा जिन्दगीभर लुटपुटिएर बस्न पनि त सक्थ्यो नि ? देशमा आफूले घर छाडेपछि जन्मिएको छोरा, आफूले राम्रोसँग अनुहार पनि नहेरेको स्वास्नी र बुढेसकाल लागेका एक जोडी बाआमा त थिए नि होइन र ?

निरज केही वर्ष बहकिए पनि अन्त्यमा एउटा बलियो देश भक्त्त अनि आफ्नो परिवारप्रति कर्मनिष्ठ
युवा भएर उभिएको छ | उसलाई आफू को हुँ र के का लागि मलेसिया आएको हो भन्ने कुरो सम्झाइरहने अर्को को-पात्र डम्बर दाइको भूमिका पनि धन्य छ |

अहिलेको यो सामाजिक संजालले सारा युवा युवतीहरूलाई अति व्यस्त बनाइरहेको समयमा गलत बाटोतर्फ उन्मुक्त साना भाइ बहिनीहरूलाई सही बाटोतर्फ मोड्नु हाम्रो धर्म हो भन्ने एउटा राम्रो सन्देश बोकेको डम्बर दाइको भूमिकाले पनि हामीलाई सकारात्मक संदेश दिएको छ |

यो उपन्यासले कामदारको रुपमा पहिलोपटक मलेसिया जान लागेका हरेक युवायुवतीहरूलाई त्यहाँको भूगोल, रहनसहन र पुलिस प्रसाशनबारे जान्न ठूलो मद्दत मिल्नेछ | जब घर छाडेर हिडिन्छ तब संघर्ष सुरु हुन्छ, त्यो परदेश टाढाको होस् या नजिकको दूरी अनुसारको भोगााइ र कठिनाइहरू हुन्छन् नै | यो उपन्यासको पात्रको पनि एक भोगाई हो यो |

अन्तमा उसले पुलिस प्रशासनद्वारा भोगेको त्यो क्रूर यातना पढिरहँदा आङ नै सिरिङ्ग हुन्छ | कति निर्दयी ती सजाय दिने मान्छेहरू ? जानीजानी कसैको ज्यानै मारेको त होइन नि !

अन्य देशका कामदार ल्याउन पाउने प्रावधान सरकारले ल्याएको हो | बस्दै जाँदा विदेशी कामदारहरूको भिसा सकिनु अस्वाभाविक त होइन, मान्छेको जीवन हो यस्ता अप्ठ्यारा कुराहरू आइ नै रहन्छन् तर त्यो एकदम अमानवीय ढंगले मनमानी सजाय दिने दौर तरिकालाई मलेसियन सरकारले किन नजरअन्दाज गरेको होला ? यो जमानामा आएर पनि यस्ता विकृतिहरू परिवर्तन नगर्दा मलेसियन सरकारप्रति नै प्रश्न चिह्न खडा हुन्छ |

“ईश्वरको घरमा देर छ अँधेर छैन” भन्ने उक्त्तिलाई सार्थक बनाउन एउटा छिमेकी मुलुकको मान्छे भागवान भएर निरजको जेलजीवनमा ढिलै भए पनि आइपुग्छ र त्यो जंगलबाट उसले अति मुस्किलले छुटकारा पाउँछ | यो पार्टले अलिकति भए पनि पाठकको मनलाई सुकुन मिल्छ |

तर अर्कोतर्फ निरजले जोहोरबारुद छाडेपछि जोयाको जीवनमा कस्तो तुफान आयो होला ? किनकि उनी निरजबिना बाँच्न नसक्ने भैसकेकी कुरो पटक-पटक गरेकी हुन्छिन् | त्यो लेखकले हामीलाई भनेको छैन त्यसैले कल्पनामै जोयाले के गरिन् ? कता-कता निरजको खोजीमा पुगिन् ? भनि सोचिरहें |

लाग्यो निरज जेल परेको थाहा पाएर उद्धार गर्न जोया रुँदै आएको र उसैले निरजलाई फेरि भेट्ने बाचासहित एयरपोर्टसम्म पुर्‍याएर बिदाई दिएको भए कस्तो हुन्थ्यो भनि कल्पना गरें |

लेखक सन्तुष्ट भए पनि हामी पाठककहाँ सनुष्ट भइँदोरैछ र ? जे होस् यो उपन्यासले पाठकलाई मलेसियाको रहनसहन बताउँदै कुना कन्दरा घुमाएको छ | मैले पढिरहँदा आफै त्यो ठाउँहरूमा पुगेझैं महसुस भो | पहिले मलेसियाको युद्धमा हराएका पुर्खाहरूको बस्ती पुगेर गुरुङ मामासँग म आफैले ढिँडो खाएको भान भो |

साँची हामी नेपाली अब चन्द्रमामा पुग्नमात्र बाँकी छ है ? आशा छ त्यहाँ पनि चाँडै पुगिनेछ | म समीक्षक नभएर मात्र एक पाठक हुँ | त्यसैले उपन्यासभित्रका कमीकमजोरी औंल्याउन हिम्मत गरिन् भनौं या आँट गरिन् भनौं जेहोस् मैले साना-साना कमीकमजोरी छाडेर पाठक प्रतिक्रिया र यति लामो उपन्यास हामीमाझ ल्याउनु भएकोमा दाजु गुरुङ दाइप्रति आभार व्यक्त गर्दै हार्दिक बधाई तथा सफलताको अनेक शुभकामना दिन चाहन्छु |

प्रतिक्रिया

सम्बन्धित सामाग्री