लमजुङ समाज युकेको ग्रीष्मकालीन भेटघाट सम्पन्न, खेलकुद र साँस्कृतिक कार्यक्रम आकर्षण

लन्डन । खेलकुद र साँस्कृतिक कार्यक्रमसहित लमजुङ समाज युकेको ग्रीष्मकालीन भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दलबहादुर गुरुङको निर्देशन, उपाध्यक्ष जुना गुरुङले संयोजन गरेको कार्यक्रम शनिबार अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुआतमा फुटबल, ठेलो, महिफा भलिबललगायत  विभिन्न खेलकुद प्रतियोगिता भएको थियो ।

सम्पूर्ण खेलकुदको संयोजन सल्लाहकार क्याप्टेन दीपक घलेले गरेका थिए । खेलकुद समापन हुनासाथ मैदानमै पुरस्कार वितरण गरिएको थियो ।

भेटघाट कार्यक्रममा स्वादिष्ट बीबीक्यूको व्यवस्था अल्डरसटस्थित गोरखा किचनले गरेको थियो । दिउँसो दुई बजेदेखि उपस्थित सबैलाई बीबीक्यू र खाना खुवाइएको थियो । आमा समूहका स्वयंसेवकहरूले चिसो पेय पदार्थको बन्दोबस्त गरेका थिए ।

औपचारिक कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको सभापतित्वमा सचिव कुमार गुरुङले सञ्चालन गरे । संयोजक जुना गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य राखिन् ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरू मनमाया वाइबा, राजु आरडी, लक्ष्मी गुरुङ र तिलक गुरुङलाई समाज र आमा समूहबाट मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको थियो ।

स्थानीयसहित नेपालबाट आएका कलाकारले बेजोड प्रस्तुति दिए । उनीहरूको गीत तथा नृत्यमा दर्शकहरू झुमेका थिए । दर्शकले अति नै मन पराएका गायिका मनमाया वाइबा, राजु आरडी र तिलक गुरुङले सबैलाई नचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री