बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’ : प्रतिवेदन


लन्डन । इङ्गल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका अपराधहरू दर्ता भएसँगै यो एक “राष्ट्रिय आपतकाल” भएको मङ्गलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ ।

दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तीमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ । “महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो”, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भन्नुभयो ।

सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध दश लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ । प्रतिवेदनले सन् २०१८–२०१९ देखी गत वर्षसम्म महिला र बालिका विरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ ।

बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिका विरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो । गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधहरूको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो ।

सन् २०२२ डिसेम्बर को अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री