न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ‘सांस्कृतिक गाला’ कार्यक्रम सम्पन्न गरेको छ ।
फिप्नाले संस्थाको फन्ड रेजिङ (कोष वृद्धि) गर्ने उद्देश्यले ज्याक्सन हाइटको गुल्सन टेरेसमा कार्यक्रम आयोजना गरेको हो । फिप्ना महासचिव दिपक चौधरीले भन्नुभयो, ‘फिप्नाले नेपाली आदिवासी संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथै नयाँ पहल सुरु गर्नका लागि साँस्कृतिक गाला कार्यक्रम आयोजना गरेको हो ।’ कार्यक्रमले संस्थालाई आर्थिक रुपमा सशक्त बनाई समुदायमा सकारात्मक परिवर्तनका लागि एउटा महत्वपूर्ण कदम हुने महासचिव चौधरीको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै फिप्नाका अध्यक्ष तोरण गुरुङले साँस्कृतिक संरक्षण र सामुदायिक सशक्तिकरणको समर्थनमा उभिई आफूहरुको मिसनमा विश्वास गरेको सम्पूर्ण स्पोन्सरहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । संस्कार र संस्कृतिमा सम्पन्न र धनी भएकोमा गर्व लागेको बताउँदै अध्यक्ष गुरुङले भने एउटै स्टेजमा विभिन्न विभिन्न संस्कार र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्न पाउँदा मलाई एकदमै खुशी लागेको छ ।
अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउन अहोरात्र खटेर काम गर्नुहुने कार्यसमिति सदस्यहरु, विभिन्न सहयोग गर्ने जातीय संस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरु, विभिन्न संस्था प्रतिनिधित्व गर्दै उपस्थित कलाकारहरु, पूर्वअध्यक्षहरु लगायत स्वेयंसेवकहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा फिप्नामा आबद्ध सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , संघीय परिषद्का उपसभामुख, विभिन्न पेशामा अबद्ध स्पोन्सरहरू, कलाकारहरू, पत्रकार एवं अन्य आमन्त्रित व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूले आफ्नो कला संस्कृति, भेषभुषा र पहिरन झल्किने विशेष किसिमको नृत्य तथा गीत प्रस्तुत गरेका थिए । प्रत्येक सदस्य संस्थाबाट मौलिक नाच माग गरेकोमा १० वटा संस्थाबाट आदिवासी जनजातिहरूको रीतिरिवाज, धर्म, संस्कृति र परम्परालाई दर्शाउने प्रस्तुति प्राप्त भएको फिप्नाका महिला उपाध्यक्ष तथा सांस्कृतिक संयोजक ममता राईले बताउनुभयो ।
कार्यक्रममा अमेरिकन कलाकार संघका अध्यक्ष वसन्ती राई, वरिष्ठ उपाध्यक्ष विमल डाँगी र महासचिव संगीता थापामगरले पनि सौजन्य प्रस्तुति दिएको सांस्कृतिक संयोजक राईले जानकारी दिनुभयो । कार्यक्रमले संस्कार, संस्कृति संरक्षण र प्रवर्द्धन गर्नुका साथै आदिवासीहरूको मुद्दाका विषयमा सबै आदिवासी जनजातिहरू एकजुट हुनु जरूरी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहकोषाध्यक्ष दावा ल्हामो शेर्पाले साईलेन्ट अक्सनको कार्यक्रम समेत सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष तथा खाना संयोजक राम कृष्ण महर्जनले नेवारी टिपीकल खाना व्यवस्था गर्नुभएको थियो । साथै कोषाध्यक्ष कृष्ण माया महर्जन, सचिव शान्ति गुरुङ, सदस्य तिर्थ तामाङले उपस्थित अतिथिहरुको स्वागत तथा व्यवस्थापनमा जुट्नुभएको थियो । सदस्य संस्थाले स्वेयंसेवक प्रतिनिधिको रुपमा युवा भाइबहिनीहरुलाई सहयोगको लागि उपस्थित गराएको थियो ।
कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुलबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले कार्यक्रम सचांलन गर्नुभएको थियो ।