पहिलो एनआरएनए कप र नेपाली महोत्सवको तयारी अन्तिम चरणमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले आगामी ३ अगस्टमा आयोजना गर्ने पहिलो एनआरएनए कप र नेपाली महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले खेलकुद प्रतियोगिता र महोत्सवको तयारी अन्त्यतिर पुगेको जानकारी गराउनुभएको हो । लन्डन फेल्थाममा हुने एनआरएनए कप फुटबल प्रतियोगिताको ‘टिम ड्र’ समेत गरिएको छ ।

एनआरएनए यूके खेलकुद विभाग सल्लाहकार दिपेन्द्र गुरुङले अध्यक्ष गाहामगर, मिडियाकर्मी, अतिथिहरू, प्रायोजक लगायतको रोहवरमा ‘टिम ड्र’ गराउनुभएको हो । प्रतियोगितामा भेट्रान र ननभेट्रान गरी ४० टिमको सहभागिता रहने छ । ननभेट्रान विजेताले २ हजार पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र तथा रनर अपले एक हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द म्याच, वेस्ट स्कोरर, वेस्ट किपरलाई पनि उपाधि प्रदान गरिनेछ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतमा नेपाली नयाँ र पुरानो पुस्ताबीच बढ्दै गएको दुरी कम गर्न प्रतियोगिता गरिएको प्रस्ट्याउनुभयो । खेलकुद गतिविधिमा युवा सहभागिता बढी हुने भएकाले एनआरएनए कप गरिएको उहाँको भनाइ थियो ।

‘नेपाली कला संस्कृति, रीतिरिवाज, भाषा, भेषभूषा नयाँ पुस्तामा हस्तान्तरण गर्दै नगए लोप हुने अवस्था भएकाले संस्थाले आफ्नो स्वार्थका लागि नभई दोस्रो पुस्तालाई ध्यानमा राखेर इभेन्टस गरेको हो,’ गाहामगरले भन्नुभयो, ‘अबका दिनमा यहाँका झन्डै ३३४ नेपाली संघसंस्थासँग मिलेर एनआरएनए कप र नेपाली महोत्सव पालैपालो सञ्चालन गर्ने योजना पनि भइरहेको छ ।’

उहाँले महोत्सवमा सातै प्रदेशका किशोरी, पाइपर धुन र पन्चे बाजाद्वारा अतिथिलाई स्वागत गरिने जनाउनुभयो । महोत्सवमा खाना र अन्य व्यापारिक स्टल रहने जनाउँदै उनले सबै संघसंस्थाका प्रतिनिधिलाई सहभागी भएर युवाहरूलाई हौसला प्रदान गर्न अपिल गर्नुभयो । उहाँले धेरथोर आर्थिक सहयोग गरी ऐक्यबद्धता जनाइदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेल संयोजक विशाल राईले एनआरएनए कपको उद्देश्यबारे प्रस्ट पार्दै यसलाई सफल बनाइदिन सबैमा अपिल गर्नुभयो । बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गर्न लागिएको उहाँले जनाउनुभयो ।

खेल सहसंयोजक एवं आर्थिक संयोजक असल लिम्बूले प्रायोजकबारे जानकारी दिनुभएको थियो । लिम्बुले प्रतियोगिताका लागि सयौँ व्यक्ति तथा कम्पनीले स्वत:स्फूर्त आर्थिक सहयोग गरेर युवाहरूलाई थप हौसला प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

सदस्य सचिव निकेश लिम्बूले इभेन्ट्स तयारी करिब ९५ प्रतिशत पूरा भइसकेको जनाउँदै प्रतियोगिता र महोत्सव दुवैमा प्रवेश नि:शुल्क भएको जनाउनुभयो । उहाँले खेल हेर्न आउने दर्शकको ‘हेल्थ एन्ड सेफ्टी’सम्बन्धी व्यवस्था मिलाइसकिएको पनि उल्लेख गर्नुभयो ।

एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रममा प्लाटिनम स्पोन्सरहरू सी ५३ कम्पनीका निर्देशक अजय ठकुरी र मनिष खालिङ, नेपाल फुड्सका निर्देशक विकास नेपाल, श्रीकृष्ण बडा पाउका अपरेसनल म्याजेनर चेत गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए यूके गोर्खा टास्क फोर्सका प्रमुख संयोजक ओमप्रसाद थापा, एनआरएनए यूके आइसीसी सल्लाहकार शारदा गुरुङ, गुल्मी जिल्ला समाज यूके अध्यक्ष रुद्र थापा, तमु धीं लन्डन इकाई अध्यक्ष भरत गुरुङलगायत उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री