बेलायतका लागि नेपाली राजदूतमा चन्द्रप्रसाद घिमिरे सिफारिस

काठमाडौँ । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा चन्द्रप्रसाद घिमिरेलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित बेलायत र अन्य विभिन्न देशका राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बेलायतका लागि तत्कालीन नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, सत्ता गठबन्धन फेरिएसँगै डा पन्त बेलायतमा राजदूत हुन पाउनु भएन । तत्कालीन नेपाली राजदूत आचार्य फर्किनु भएकोले सोमबार एमाले र कांग्रेस गठबन्धनको सरकारले घिमिरेलाई राजदूत सिफारिस गरेको हो ।

यस्तै सरकारले छिमेकी भारतका लागि शंकर शर्मा, अमेरिका लोकदर्शन रेग्मी र चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ । शर्मा भारतमा पुन: दोहोरिँदै हुनुहुन्छ ।

जर्मनीमा शैल रुपाखेती, साउदी अरब नरेशविक्रम ढकाल, इजरायल धनप्रसाद पण्डित, दक्षिण अफ्रिका कपिलमान श्रेष्ठ, दक्षिण कोरिया शिवमाया तुम्बहाम्फे, पोर्चुगल प्रकाशमणि पौडेल, पाकिस्तान रिता धिताल, अस्ट्रेलिया कान्ता रिजाल राजदूतमा सिफारिस हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री