बेलायतको साउथपोर्टमा छुरा आक्रमण, २ बालबालिकाको मृत्यु, ९ घाइते

लन्डन । उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो ।

मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको बताउनुभयो ।

आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ ।

“आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ ”, केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भन्नुभयो ।

आपतकालीन सेवाहरूलाई लगभग ११ः५० को स्थानीय समयमा सहरमा “ठूलो घटना“ भएको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।

“अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ”, केनेडीले भन्नुभयो ।

यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो ।

घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीले उक्त आक्रमण “हरर फिल्मको दृश्य” जस्तै भएको बताउनुभएको छ ।

साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सिएनएनले जनाएको छ ।

“ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपतकालीन विभाग हाल अत्यन्त व्यस्त छ”, अस्पतालको वेबसाइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

बेलायतका राजा चार्ल्स र उहाँकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताउनुभयो ।

“साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौँ”, राजा चार्ल्सले सोमबार शाही परिवारको आधिकारिक सामजिल सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ ।

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री