काठमाडौँमा बढ्दै गरेको बाढीको प्रकोप


बर्सेनि नेपालमा मनसुन सक्रिय भएर आउँछ । यसले बाढी पहिरो निम्त्याउँछ र सयौं जनाको ज्यान लिन्छ, बस्तीहरु डुबानमा पार्छ, सडकहरू अवरुद्ध पार्छ, अर्बौंको भौतिक नोक्सानी गरेर जान्छ ।

यसै सिलसिलामा राजधानी काठमाडौँ पनि अछुतो रहन सक्दैन । मनसुन सिजनमा बागमती, मनोहरा, धोबी खोला, विष्णुमतीलगायत नदीका तटीय बस्ती डुबानमा पर्छन् । यी नदीमा खस्ने ढलको मुख बाढीले अवरुद्ध हुँदा तटीय क्षेत्रभन्दा अलि परका सडक तथा घरहरू पनि प्रभावित बन्छन् । फलस्वरुप तटीय क्षेत्रमा बस्ने सर्वसाधारणको जनजीवन कष्टपूर्ण बन्न जान्छ । दिनभर यातायातका साधन सञ्चालनमा आउन सक्दैनन् । कर्मचारी काममा जान बाधा पैदा हुन्छ । विद्यार्थी स्कुल जान पाउँदैनन् । व्यापार ठप्प हुन्छ ।

काठमाडौँका नदीका स्रोत हिमाल होइनन्, वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन् । त्यसर्थ यहाँका नदीहरू सानादेखि मझौलास्तरका छन् । बागमतीलाई मझौला नदी र यसका सहायक नदीहरूलाई साना नदीमा वर्गीकरण गर्न सकिन्छ । यस्ता स-साना नदीमा बाढी आएर वरिपरिका बस्ती डुबानमा पर्दा सर्वसाधारणलाई अस्वाभाविक लाग्न सक्छ । आजकल यी नदीहरूमा ‘आकस्मिक बाढी’ (Flash Flood) देखिन थालेको छ । विशेषतः पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्–झन् भीषण बनाइरहेको छ र चुनौतीहरू पनि क्रमश: थपिँदा छन् ।
साधारणतः बाढी पहिरो आउनुको प्रमुख कारण अतिवृष्टिलाई मानिन्छ । जलवायु परिवर्तनको प्रभावले गर्दा अतिवृष्टि हुन्छ भनेर त वैज्ञानिकहरू भनिरहेका छन् । यद्यपि काठमाडौँमा अतिवृष्टि नभएर मध्यमस्तरको वृष्टि हुँदा पनि नदीहरूमा बाढी आउँछ र सहर बजार डुबानमा पर्न थालेको छ ।

काठमाडौँमा आउने बाढीको प्रमुख कारण वर्षापात नै भए पनि त्यसका अन्य कारण पनि छन् । ती अतिरिक्त कारणमाथि सामान्य चर्चा गरिनु यस लेखको मुख्य आशय हो ।

काठमाडौंमा आउने यस्ता बाढीहरू मानव सिर्जित छन् । अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित सहर विस्तार एवं जलविज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं बर्सेनि डुब्दै र उत्रँदै आएको देखिन्छ ।

काठमाडौँ वरिपरिका पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन् । ती प्लटिङ नाङ्गै राखिएका छन् । डाँडाकाँडामा डोजरले खनेर सडक निर्माणका परियोजना पनि चलाई राखिएका छन् । ट्र्याक्टरले खनेर खेतीपाती गर्ने बानीको विकास तीव्ररूपमा भएको देखिन्छ । साथै, भवन निर्माण कार्य पनि युद्धस्तरमै चलेका छन् । यस्ता गतिविधिहरूमा गिट्टी, माटो, बालुवा उत्खनन गरिने, उदाङ्गै पारिने, थुपारिने र प्रयोग गर्ने गरिन्छ ।

काठमाडौं आज पनि नवनिर्माण एवं पुनर्निमाणकै चरणमा छ । भुइँचालोपश्चात् पुनर्निमाण तीव्र गतिमा भएका छन्, नदी करिडोरलाई हरियो बनाउने नाममा कंक्रिटका पार्कहरूको निर्माण पनि जोडतोडले बढेको छ । यी यस्ता संरचना निर्माण गर्दा उत्पन्न हुने इट्टा, कङ्क्रिट, माटो, ढुङ्गा जस्ता फोहोर पनि सिधै नदीमा या नदी किनारमा लगेर थुपारिएको पाइन्छ । यस्ता वस्तुबाट सिर्जित लेदो वर्षायाममा पानीले बगाएर नदीमा थुपारेको छ । जसको कारणले नदी गेग्र्यानीकरण (siltation) भएको छ । नदीको आयतन खुम्चिनुमा गेग्र्यानीकरणको मुख्य भूमिका हुन्छ ।

अर्कोतर्फ, तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिँदै गएको छ । प्राय: काठमाडौँका सबै नदीमा तटबन्धन गरिएको छ र कतिमा गरिँदै छ । बाढी न्यूनीकरणका यस्ता इन्जिनियरिङ कार्य जलवायु परिवर्तनको जोखिम मूल्याङ्कन नगरीकन सम्पन्न गरिएको जस्तो देखिन्छ । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने मापदण्ड पुरा गरेर निर्माण गरिएको भए नदीका दुई किनारमा यति साँघुरा पर्खाल उठाइने थिएनन् होला ।

काठमाडौँको ढल सिधै नदीमा मिसाउनाले पनि नदीको आयतन घटनमा यसले भूमिका खेलेको छ। अप्रशोधित ढलमा तरलको साथै ठोस पदार्थ पनि अत्यधिक मात्रामा हुन्छ । यस्तो ढल नदीमा विसर्जन गरिदा ठोस मात्राको एकत्रीकरणले नदी विस्तारै पुरिँदै गएको छ ।

यसको साथै नदीमा प्लास्टिक तथा सिमेन्टका ब्याग, पुराना कपडा, गुट्का, सुर्ती, चाउचाउ, चिप्सका खोल, पानीका बोतल जस्ता फोहर पनि मिल्क्याइको पाइन्छ । यो पङ्क्तिकारले काठमाडौँ वरिपरिका डाँडाकाँडा र नदी किनार भएर केही पदयात्रा गरेको छ । सोही क्रममा सडकलाई कङ्क्रिटिङ गरेपछि सिमेन्टका खालि बोरा खोल्सातिर फालेको देखेको छ । यस्ता फोहरमैलाले पनि नदीको पिँधलाई पुर्ने काम गरेको हुन्छ ।

यसर्थ, जलवायु परिवर्तन मात्रै नभै स्थानीयस्तरमा माथि उल्लेखित मानव सिर्जित क्रियाकलापले पनि काठमाडौँ डुबानमा पर्ने गरेको छ । यसको निवारणको लागि तत्काल उचित कदम चालिहाल्नु पर्ने देखिन्छ । अन्यथा, यस्तो प्रकोप काठमाडौँमा आउँदा वर्षहरूमा पटकपटक दोहरिन सक्दछ । काठमाडौं, ललितपुर र भक्तपुरकाको मुख्य राजमार्ग एवम् सहायक राजमार्ग, गोरेटाहरू जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भइरहने घटनाहरूमा वृद्धि हुन् सक्दछ । नदी बग्ने जमीनमै भवन उभ्याइदा थप समस्याहरू निम्तिन सक्ने सूचकहरू प्रष्टै देखिन थालेका छन् ।

काठमाडौँमा बाढी र डुबानलाई न्यूनीकरण गर्न थुप्रै उपायहरू छन् । ढल प्रशोधन गरि त्यसमा भएको ठोस पदार्थलाई छानेर निकाल्ने र तरल पदार्थलाई मात्र नदीमा विसर्जन गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा, माटो जस्ता वस्तु नदीनालामा नपसुन् भनेर यसको स्रोतमै रोकथामका योजना कार्यान्वयनमा ल्याइनुपर्छ । निर्माणकार्यजन्य फोहरमैला विसर्जनको लागि पनि छुट्टै ल्याण्डफिल साइटको व्यवस्था गरिन पर्छ । नदीमा थुप्रिएको गेग्र्यानलाई बेलाबेलामा निकालेर फाल्ने (De-silting) पनि गर्नुपर्छ । यसका साथै जलवायु परिवर्तन र यसबाट सिर्जित बाढीको जोखिम मूल्याङ्कन गरेर तटबन्धन निर्माण गरिन पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री