बेलायतमा स्व. आङ कलजंग लामाको श्रद्धाञ्जलीसभा आयोजना

लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) युकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा आइतबार नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लबमा स्वर्गीय लामाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

सभामा उपस्थित महानुभावहरुले स्वर्गीय लामाले बेलायतस्थित नेपाली समाजमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभएको थियो ।

पार्टी विशेषको मात्र नभई सामाजिक अभियन्ताका रुपमा रहेका लामा साझा व्यक्तित्वका रुपमा रहेको वक्ताहरुले बताउनुभयो ।

एमाले पूर्वसांसद तथा केन्द्रीय सदस्य सूर्य पाठकले लामाले प्रवासी नेपाली समाजमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रवासका समस्याहरु समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा युके इन्चार्ज सरस्वती केसीले स्वर्गीय लामाको सरल बानी व्यवहारका कारण साझा व्यक्तिका रुपमा सबैले उहाँलाई लिने गरेको स्मरण गर्नुभयो ।

उहाँले लामाले डायस्पोराको नेपाली समाजमा दिएको योगदान कहिल्यै भुल्न नसकिने बताउनुभयो ।

ओएनएफ युके अध्यक्ष भुसालले स्वर्गीय लामा सरल स्वभाव र लोकतान्त्रिक आचरणका व्यक्ति भएको र जस्तोसुकै परिस्थितिमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा आफूले पाएको बताउनुभयो ।

उहाँले स्वर्गीय लामाजस्ता व्यक्तिहरु डायस्पोराको नेपाली समाजमा अझै आवश्यक रहेकाले आफूले दैनिकरुपमा लामालाई सम्झिने गरेको जनाउनुभयो ।

ओएनएफ युकेका पूर्वअध्यक्ष भक्त गुरुङ र पूर्वअध्यक्ष सुरेन्द्र थपलियाले पनि स्वर्गीय लामाको योगदानको चर्चा गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र पश्चिम अन्तरदेशिय प्रवास प्रदेश समिति उपसंयोजक तथा यूरोप इन्चार्ज रण खाती क्षेत्रीले स्वर्गीय लामा एमाले पार्टीको मात्र नभई सबैको साझा व्यक्तिको रुपमा आफूले पाएको बताउनुभयो ।

बेलायतस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले पनि लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

त्यस्तै, प्राध्यापक कृष्ण उपाध्यायले पनि स्वर्गीय लामाप्रति श्रद्धाञ्जलीसहित उनको योगदानको चर्चा गरे ।

स्वर्गीय लामाकी श्रीमती माया लामासहित छोराहरु पेम्मा र कर्मा लामा श्रद्धाञ्जलीसभामा उपस्थित थिए । परिवारका तर्फबाट बोल्दै स्वर्गीय लामाका छोरा कर्मा लामाले स्वर्गीय बुवाप्रति श्रद्धाञ्जलीसभा आयोजना गरेकोमा ओएनएफ युकेलाई धन्यवाद दिए ।

सचिव पुण्य रेग्मीले संचालन गरेको श्रद्धाञ्जलीसभामा उपाध्यक्ष कृष्ण भण्डारी, संगठन विभाग प्रमुख बालकृष्ण भुसाल, बसन्त नेपाल, कैलाश नेपाल, प्रसुना कँडेल, विमला सेनेलगायतको उपस्थित रहेको थियो ।

स्वर्गीय लामाको अन्तिम इच्छाअनुसार उनले अध्ययन गरेको श्री गर्जाढुङ्गा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ ।

उक्त रकम स्थानीय व्यवस्थापन समिति, स्वर्गीय लामाकी धर्मपत्नी माया लामा र ओएनएफ युकेको सहमतिमा चल्ने गरी कोष स्थापनाको कार्यविधि बनाइनेछ ।
नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयाघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री