बेलायतमा धुमधामका साथ मनाइयो ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) बेलायतले ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस धुमधामका साथ मनाएको छ ।

आइतबार ४ अगस्ट २०२४ को दिन अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको हो । नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षता, संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम महासचिव फ्रम दुरा र सचिव मेजर इन्द्रप्रसाद राईले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्त्यव्य नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका उपाध्यक्ष गंगामाया गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि तथा द्वितीय सचिव रामबाबु नेपाल, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष श्री प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव भक्तबहादुर दुरा, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष सिरीप्रसाद लिम्बु, पूर्वअध्यक्ष जंग सुनुवार र निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरु डा. सुमाया राई, एकेन्द्र गुरुङ, विश्वदीप तिगेला, तमु धीं बेलायतका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, गैर आवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष सुशीला राई, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका निवर्तमान अध्यक्ष गोमा रानालगायतको उपस्थिति थियो ।

आदिवासी जनजाति महासंघ बेलायतका जातीय सदस्यहरुको तर्फबाट तमु धीं बेलायतका अध्यक्ष हरि गुरुङ, मगर संघ बेलायतका अध्यक्ष सिता पुन, किरात राई यायोक्खा बेलायतका प्रतिनिधि प्रसाद राईका साथै विभिन्न जातीय र क्षेत्रीय संगठनहरु आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष राईले कार्यक्रम संख्यात्मक नभए पनि गुणात्मक रहेको र अधिकतम सफल भएको दाबी गर्नुभयो । कार्यक्रमको सुरुआतमा थप कार्यसमितिहरु र सल्लाहकारहरुलाई बधाई तथा स्वागत गरिएको थियो । कार्यक्रमको स्वागत मन्त्यव्य सकिएलगत्तै अध्यक्ष राईले क्रमभंगताको शब्द उद्धृत गर्दै आदिवासी जनजाति महासंघ बेलायतको आजको हाम्रो आवश्यकता विषयमा महत्वपूर्ण अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत अवधारणापत्रमा अध्यक्ष राईले तत्कालीन आवश्यकताहरु र अपरिहार्यताका मुख्य विषयहरु; महासंघको महत्व, पहिचान, सम्मान, स्थानीय कानुन र सरकारसँग आबद्धता र आधिकारिकताको विस्तृत रुपमा विचार राख्नुभएको थियो ।

उहाँले विशेष गरेर सबै जातीय संगठनहरुको वार्षिक कार्यक्रमहरु सकेसम्म फरक-फरक मितिमा राखि सबै कार्यक्रमहरु सफल बनाउने र ‘deconflict principle’ प्रयोग गरी सबै जातीय संगठनहरुको संयुक्त भित्तेपात्रो निकाल्ने, बैंक एकाउन्ट तुरुन्तै खोलिनु पर्ने, आदिवासी सांस्कृतिक मेला वार्षिक रुपमा सम्पन्न गर्ने, महासंघलाई परोपकारी संस्था वा समुदायिक हित कम्पनीमा दर्ता गर्नुपर्ने साथै सबै सदस्य संगठनहरुलाई आर्थिक, नैतिक र भारवहनको जिम्मेवारी दिइनु पर्ने कुरामा विस्तृत विचार राख्नु भएको थियो । दिर्घकालीन आवश्यकतामा नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खा सैनिकका समस्याका पहलकदमीहरुलाई थप सहयोग साथै अन्तर्राष्ट्रिय संस्थाहरुसँग आबद्ध हुँदै आदिवासी जनजातिहरुको पहिचान, संस्कार, संस्कृति र समान हकहितका विषयहरुको सुरक्षा र सुनिश्चितताको लागि पहल गर्ने जस्ता विषयहरूमा बिस्तृत विचार राख्नु भएको थियो ।

कार्यक्रमको विशेष महत्व हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति महासंघ बेलायत वर्ष पुरुष र वर्ष महिलाको पहिचान साथै सम्मान गरिएको थियो । उक्त सम्मान पुरुषतर्फ पूर्वअध्यक्ष तथा सल्लाहकार सिरीप्रसाद लिम्बुलाई दिइएको थियो भने महिलातर्फ पूर्वमहासचिव तथा सल्लाहकार विमला सेनेलाई दिइएको थियो । वार्षिक सम्मान प्राप्त सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि तारा राई र अध्यक्ष मेजर योगेश राईले खादा र ट्रफी प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा नवनिर्वाचित नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष विमला सेनेसहित उहाँका कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फेटा र खादा ओडाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु धीं बेलायतले स्वागत नृत्य र किरात राई यायोक्खा बेलायतले साकेला सिली प्रदर्शन गरेका थिए भने गायिका जानुका राईले “राई माइलाले गाउँ छाडेछ” र बिना राईले “गुरुङ “ भाषामा गीत गाएर आदिवासी दिवस कार्यक्रमलाई थप मनोरन्जनात्मक र उत्साहमय बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री