‘नेपाली मेलामा भेटौँ’-हरि गुरुङ अध्यक्ष, तमुधिँ युके

हरि गुरुङ तमुधिँ युकेको अध्यक्ष हुनुहुन्छ । पुर्ख्यौली घर पर्वत भए पनि गुरुङको जन्म भने भारतको नागाल्याण्डमा भएको हो । भारतीय सैनिकका छोरा गुरुङले नेपालमै पढ्ने राम्रो अवसर पाए । गाऊँकै विद्यालयमा कक्षा ६ पढेपछि ७ कक्षा पढ्न पोखरा झरे । त्यसपछि कक्षा ८ देखि एलएलसीसम्म उनले काठमाडौँको परोपकार माध्यमिक विद्यालयमा पढे । क्याम्पस पढ्न फेरि उनी पोखरा फर्किए । पृथ्वीनारायण क्याम्पसमा बीकम अन्तिम वर्षको अन्तिम महिना पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भए ।
‘एकैछिनको निर्णयले गोर्खा सैनिक भएको’ बताउने गुरुङ खासमा एक जना साथीको आग्रहमा भर्तीमा देखिन गएका थिए । साथीले ‘तँ बूढो भइहालिस् भर्ती त लाग्ने कुरा भएन तर पनि एक/दुई दिन भात खाएर फर्केलास्’ भनेर उनलाई क्याम्पभित्र छिराएका थिए । प्रारब्धको खेल पनि कस्तो ? उनलाई लैजाने साथी त्यतिबेला भर्ती भएनन् बरु गोर्खा भर्तीको विरोधमा आन्दोलन गर्दा दुई/चार वटा ढुंगा ब्रिटिश क्याम्पतर्फ हानेका गुरुङ पो भर्ती भए ।
बेलायती सेनामा १७ वर्ष बिताएर सन् २००५ मा अवकाश लिएका गुरुङ त्यसयता सामाजिक कार्यमा सक्रिय छन् । विद्यार्थी कालमा पलाएको राजनीतिक, सांगठानिक चेतनाको दियोलाई उनले अवकाशपछि सामाजिक अभियानमा जोडेका छन् । चारभञ्ज्याङ तमु समाज युकेको स्थापनाकालमा साँस्कृतिक सचिव हुँदै उनी ६ वर्ष महासचिव बने । त्यसपछि तमुधिँ युकेको सदस्य, सचिव, महासचिव, दुई कार्यकाल उपाध्यक्ष हुँदै अहिले अध्यक्ष पदमा सेवारत छन् ।
तमुधिँ युकेले सन् २००९ देखि हरेक वर्ष अगष्ट महिनाको अन्तिम आइतबार लण्डनमा नेपाली कला सँस्कृतिको प्रबर्धन र प्रदर्शनका लागि नेपाली मेलाको आयोजना गर्दै आइरहेको छ । यसवर्षको नेपाली मेला अगष्ट २५मा केम्पटन पार्क रेसकोर्स लण्डनमा हुँदैछ । प्रस्तुत छ यसै सन्दर्भमा तमुधिँ युकेका अध्यक्ष हरि गुरुङसित गरिएको कुराकानी :

यस वर्षको नेपाली मेलाको तयारी कस्तो हुँदैछ ?
विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि बेलायतमा रहेका नेपालीका विभिन्न संघसंस्थाहरुलाई नेपाली मेलामा आफ्नो कला सँस्कृति देखिने साँस्कृतिक झाँकीसहित भाग लिन अनुरोध गर्ने, अनुरोध गरिएकालाई फलोअप गर्ने, भाग लिन सहमत हुनुभएका संघसंस्थाहरुलाई नेपाली मेलाको कार्यक्रमको बारेमा र पालना गर्नुपर्ने नियमहरुका बारेमा जानकारी दिने कार्य गरिरहेका छौँ । अर्कोतर्फ, मेला सफल पार्नका लागि व्यापारिक र व्यावसायिक प्रवर्धन गर्न चाहने स्पोन्सरहरु खोज्ने, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई आमन्त्रण गर्नमा ब्यस्त छौँ । नेपाली मेलामा बेलायतमा रहेका विभिन्न देशका कुटनीतिज्ञहरुलाई पनि बोलाउने गरेका छौँ । यस कार्यमा भने लण्डनस्थित नेपाली दुताबासले सहयोग र समन्वय गर्दै आउनुभएको छ ।

विगतका वर्षहरुको दाँजोमा यसवर्ष नेपाली मेलामा नयाँ के हुँदैछ ?
नेपाली मेलाको संरचना नै बेलायतमा रहेका नेपाली समुदायहरुसित समन्वय गरेर नेपाली कला सँस्कृतिको प्रदर्शन गर्ने भएकाले यसमा आयोजकले चाहेर पनि नयाँ गर्ने ठाउँ धेरै हुँदैन । सहभागी हुने समुदायले कस्तो किसिमको सामग्री तयार गरेर प्रस्तुत गर्नुहुन्छ त्यसमा नै नयाँपन निर्भर रहन्छ । तथापि हामीले नेपाली मेलामा राम्रो झाँकी र नृत्य प्रस्तुत गर्ने समुदायलाई पुरस्कार र शिल्डको व्यवस्था गरेकाले त्यसबाट सहभागीहरुमा विगतका वर्षहरुमा भन्दा धेरै मिहिनेत गर्ने, परिस्कृत प्रस्तुति दिने र दर्शकको मन जित्न हौसला दिन्छ । यसवर्ष पुरस्कारको राशी बढाउने सोचाइ राखेका थियौँ तर कार्यक्रम स्थलको भाडा विगतका वर्षहरुमा भन्दा आधा नै बढाइएका कारण पुरस्कारको राशी बढाउन असमर्थ भयौँ ।

पुरस्कारको राशी चाहिँ के कति दिने गर्नुभएको छ ?
झाँकीतर्फ पहिलो हुनेलाई एम्बासेडर कपका साथमा १ हजार १०० पाउण्ड, दोस्रो हुनेलाई ७०० पाउण्ड र तेस्रो हुनेलाई ५०० पाउण्ड दिने गरेका छौँ । नृत्यतर्फ पनि पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश १ हजार १००, ७०० र ५०० पाउण्ड दिने गरेका छौँ ।

बेलायतमा नेपाली संघसंस्थाहरुमा पछिल्लो समयमा केही सिथिलता आएको जस्तो भान हुन्छ । संघसंस्थाहरुमा आएको सिथिलताले नेपाली मेलामा कस्तो प्रभाव पार्ला ?
पहिले बेलायतमा नेपालीहरुको संख्या थोरै थियो । संघसंस्था कम्ती थिए । कार्यक्रमहरु पनि थोरै हुन्थ्यो । अहिले नेपालीको जनसंख्या पनि बढ्यो, संघसंस्थाहरु बढे, कार्यक्रमहरु पनि बढे । कार्यक्रमहरु धेरै भएपछि मानिसहरुमा थकान, दिक्दारी पनि लाग्दोरहेछ । उदासिनता पनि देखिनेरहेछ । नेपाली मेलाकै सन्दर्भमा भन्नुपर्दा लगातार तीन वर्ष जित्नेलाई हामीले शिल्ड पचाउन दिने गरेका छौँ । तीन वर्ष जितिसकेपछि ‘अब जित्नुपर्ने जति जितिसकियो अब किन मिहिनेत गर्ने’ भन्ने पनि लाग्दोरहेछ । उनीहरुमा जागरुकता पनि कम हुने रहेछ । तर पहिले भाग नलिएका, शिल्ड जित्न बाँकी संस्थाहरुमा भने उर्जा, जोश र जाँगर हुँदोरहेछ । यसैले होला नेपाली मेला शुरु भएको डेढ दशकको अवधिमा अहिलेसम्म सहभागितामा कमी देखिएको छैन । यस वर्ष पनि अहिलेसम्म ३६ वटा संस्थाले भाग लिने निश्चित गरिसक्नुभएको छ ।

बेलायतको नेपाली समुदायका कार्यक्रमहरुमा वर्षौँदेखि उही अनुहार खटेको देखिन्छ । नेपाली मेलाजस्ता नेपाली कला सँस्कृति जगाउने कार्यक्रम आयोजना युवापुस्तालाई हस्तान्तरण गर्नेबारे के सोच्नुभएको छ ?
सधैँभरि उही अनुहार खटिने, भेटिने देखेर नै मैले नयाँ पुस्तालाई लिएर अघि बढ्नुपर्यो भने तमुधिँ युकेको महासचिव र सचिवमा युवाहरुलाई लिएर कार्यसमिति बनाएँ । युवापुस्तालाई आफ्नो करियरमा ब्यस्त हुनुपर्ने बाध्यता छ । त्यसमाथि नेपाली समुदायले गर्दै आएका गतिविधिहरुमा उनीहरुको रुचि पनि कम्ती नै छ । हामीले यति चाँडै युवापुस्ताले कार्यभार लिइहाल्छ भनेर अपेक्षा गर्नु पनि अलि हतारो नै हुन्छ । युवाहरु अहिले पनि ठूलो संख्यामा कार्यक्रममा सहभागी हुने गरेका छन् तर कार्यक्रम गर्न नेतृत्व नै लिन भने अहिलेसम्म आएका छैनन् । तर यसबाट त्यस्तो विघ्न हानी पनि भइहालेको छैन तर बेलायतका हरेक संघसंस्थालाई आफ्नो विरासत युवाहरुमा हस्तान्तरण गराउनु भने फलामको च्यूरा चपाउनु जस्तै गाह्रो चुनौती हुने देखेको छु ।

नेपाली मेला आयोजनामा लाग्ने खर्च, स्वयंसेवकहरुको समय, खटान आदिको तुलनामा त्यसबाट हुने प्रतिफलप्रति सन्तुष्ट हुनुहुन्छ ?
नेपाली मेलाको आयोजक भएकाले असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । अहिलेसम्म ठूलो घाटामा पनि गएको छैन । मौसमले साथ नदिएका वर्षहरुमा आर्थिक रुपमा अलि दबाब पर्यो । तर नेपाली मेलाबाट बेलायतमा नेपाली परम्परा, कला, सँस्कृति फैलाउने उद्देश्य राखिएको हुनाले हालसम्म त्यो उद्देश्यमा इँटा थपी नै रहेको विश्वास छ । नेपाली मेलामा सहभागी दर्शकहरुले ‘नेपालमा समेत नदेखेको सँस्कार, सँस्कृति, परम्परा यहाँ देख्न पाइयो’ भन्ने प्रतिक्रिया दिने गर्नुभएको छ । म आफैँ पनि नेपालको पोखरा वरिपरिको कला सँस्कृतिसित मात्र परिचित थिएँ तर नेपाली मेलामा पूर्वदेखि पश्चिम नेपालसम्मको भेषभूषा, कला र सँस्कृति देख्न र बुझ्न पाएँ ।

अन्त्यमा नेपाली मेला २०२४ का बारेमा केही भन्न चाहनुहुन्छ कि ?
बेलायतमा रहेका सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई नेपाली मेलामा भेटौँ, नेपाली कला सँस्कृति जोगाऔँ भन्दै सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री