भूपू गोर्खाहरुको अन्यायको विषय सधैं उठाइरहनेछु : सांसद बेकर

लन्डन । बेलायती नवनिर्वाचित सांसद अलेक्स बेकरले भूपू गोर्खाहरुको अन्यायको आवाज सधैं उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले ९ अगस्ट २०२४ मा सांसद बेकरलाई बधाई तथा चियापान कार्यक्रममा सम्बोधन गर्नुहुँदै सांसद बेकरले आफ्नो कार्यकालमा गोर्खाका मुद्दाबारे आवाज उठाउने बताउनुभएको हो ।

‘आउँदो चार वर्ष मैले सकेको मद्दत गर्नेछु, चुनावकौ दौडानमा पनि भनेको थिएँ । म प्रमिज गर्न त सक्दिनँ तर तपाईंहरुको अन्यायको विषय सधैं आवाज उठाउनेछु,’ उहाँले भन्नुभयो ।

सांसद बेकरले थप्नुभयो, ‘वेष्टमिनिष्टर हलमा गोर्खा पेन्सनको डिबेट राख्नेछु । गोर्खाहरु भएको निर्वाचन क्षेत्रका एमपीहरुलाई सम्पर्क गर्दैछु ।’

बेकर हालै अल्डरसट निर्वाचन क्षेत्रबाट बहुमत ल्याएर विजयी हुनुभएको सांसद हुनुहुन्छ ।

कार्यक्रम बिजिडब्लूएसको आफ्नै घर गोर्खा भवनमा अध्यक्ष मेरि केन्द्र दल देवान जेपीको सभापतित्वमा भएको हो । नवनिर्वाचित सांसद बेकरलाई संस्थाको तर्फबाट अध्यक्ष देवानले फूलको गुच्छा, कोषाध्यक्ष टेकबहादुर थापा र ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले सेतो खादा लगाएर स्वागत तथा बधाई दिनुभएको थियो । बिजिडब्लूएसका पीआर प्रकाश गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

गोर्खा मिडियाका प्रकाश गुरुङको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री