बृहद एवं विशाल गोरखा साम्राज्यका सेनानायकहरुले कुमाऊँ राज्यको अलमोडा जनपदमा बिधिवत सन् १७९० को अगष्ट महिनाको हाराहारीमा प्रवेश गर्ने निधो गरे । सोहीअनुसार आवश्यक पूर्व तयारीहरु गोेरखा फौजले गर्न गराउन थाल्यो । सबभन्दा पहिले गोरखा साम्राज्यका पश्चिम भेगका विभिन्न ठाउँहरु तथा काठमाडौंमा तैनाथ रहेका सैनिकहरुलाई जम्मा पार्न थालियो । झण्डै पाँच हजारभन्दा पनि बढी सैनिकहरुलाई पश्चिम सरहदको विस्तार अभियानमा परिचालित गरियो । तर अंग्रेज सरकारको गुप्तचरहरुले दश हजारभन्दा बढी गोरखा सैनिकहरु सो अभियानमा संलग्न रहेका थिए भनेर अड्कल गरेका थिए । गोरखाली फौजले सैनिक सङ्गठनको आधुनिकीकरण, युद्धको तयारी, आवागमन र संचारको सुदृढीकरण आदिको व्यवस्थापन शुरु गर्यो ।
पारम्परिक सैनिक सङ्गठन
सन् १७६२ भन्दा पहिले बृहद एवं विशाल गोरखा साम्राज्यमा कुनै स्थायी, आधुनिक तथा पश्चिमी शैलीको सैनिक सङ्गठन तथा पल्टनहरुको व्यवस्था थिएन । प्रायः राज्य वा शासकहरुलाई आवश्यक पर्दा गाऊँघर, टोल तथा परिवारहरुबाट शारीरिक दृष्टिकोणले हृष्टपुष्ट, सक्षम र योग्य युवाहरुको छनौट गर्ने चलन थियो । उनिहरुलाई युद्धसम्बन्धी साधारण तालिम दिई लड्न पठाइन्थ्यो । युद्ध समाप्त भएपछि आ—आफ्नो गाऊँघर, टोल तथा परिवारमा फर्किनु पर्दथ्यो । तैपनि पल्टनमा सेवा गर्न पाउँदा उनिहरु गर्व गर्दथे । कारण गाऊँघरमा सामाजिक प्रतिष्ठा प्राप्त हुन्थ्यो ।
पारम्परिक हातहतियार
पारम्परिक सैन्य संगठनमा प्रायः सैनिकहरु घरेलु हात हतियारहरुको भरमा लडाई गर्दथे । आमने सामनेको लडाइँ हुन्थ्यो । अतः गोरखाली फौजका प्रमुख हतियारहरु खुकुरी र खुँडा हुन्थ्यो । भाला, ढाल, बन्चरो, तरवार तथा ढुङ्गामुढाको पनि प्रयोग गोरखाली फौजले गर्दथे । पछि गोरखाली पल्टनमा धनुबाण (धनुषबान) शस्त्र पनि थपियो । सोही घरेलु हात हतियारहरुको भरमा गोरखाका शाहवंशीय राजाहरुले गोरखा साम्राज्यको विस्तार र नेपाल एकीकरणको अभियान शुरु गरेका थिए ।
सैन्य सङ्गठनको आधुनिकीकरण
सन् १७६३, जनवरी महिनामा (वि.सं १८१९ माघ) भारतको बङ्गाल राज्यका नवाब मीर कासिम अलि खानको तीन हजार सैनिकहरुले मकवानपुर जित्न सो माथि भीषण हमला गर्यो । तर जम्मा चार सय गोरखाली सैनिकहरुले खुकुरी तथा खुँडाको भरमा नवाब कासिम अलिका फौजलाई नराम्रोसंग पराजित गर्यो । रणभूमि छाडेर भाग्ने क्रममा मीर कासिमका सैनिकहरुको ५०० नाल बन्दुक, २ नाल टोप, गोलीगठ्ठा र गोला बारुद समेत गोरखाली फौजले हात पारेका थिए । यी हात हतियारहरुबाट गोरखाली फौजमा आधुनिक हात हतियारको प्रयोग शुरु भयो ।
कुमाऊँ राज्यमा प्रवेश गर्नुभन्दा १७ वा १८ वर्ष पहिले सन् १७६३ मा (वि.सं. १८१९) गोरखाका राजा पृथ्वीनारायण शाहले आधुनिक पश्चिमी तथा स्थायी शैलीका पाँच वटा पल्टनहरु स्थापना गरे । श्री पुरानो गोख गण, श्रीनाथ, कालिबक्स, बर्दवाणी तथा सबुज । यसरी गोरखाली कम्पनीहरुको आधुनिकीकरण, पश्चिमीकरण तथा स्थायीकरणको इतिहास सन् १७६२ र ६३ देखि शुरु भएको हो भनेर भनिन्छ । तर अत्यन्त छोटो अवधिमा गोरखाली फौजले विश्वको अत्यन्त शक्तिशाली आधुनिक तथा विशाल अङ्ग्रेजी सेनाको विरुद्ध सन् १८१४ देखि सन् १८१६ सम्म भिड्न, लड्न तथा जुध्न सक्षम रहेको थियो । ईस्ट ईन्डिया कम्पनीको छलकपट तथा कूटनीतिक चालबाजीले गर्दा गोरखाली फौजलाई पछि हट्न बाध्य हुनु पर्यो ।
आधुनिक हातहतियारहरु
गोरखाली फौजको सैन्य सङ्गठनलाई आधुनिकीकरण तथा पश्चिमीकरण गरियो । सो अनुसारको आधुनिक हात हतियारहरुको आवश्यकता पनि पर्यो । अतः राजा पृथ्वीनारायण शाह आफैँ भारतको बनारस शहरमा (वाराणसी) हातहतियार खरिद गर्न पुगे । भनिन्छ उनि नारायणी तथा गङ्गा नदीमा पटना शहर हँुंदै डुङ्गा—नावमा वनारस पुगेका थिए । त्यहाँबाट आधुनिक हात हतियारहरु (बन्दुक, तोप, गोली गठ्ठा, गोला बारुद, पिस्तौल आदि) खरिद गरेर नेपाल ल्याए । साथै तीन जना मुस्लिम हातहतियार कालिगढ, विशेषज्ञ र विज्ञहरुलाई पनि आफ्नो साथमा ल्याएका थिए ।
बनारसबाट राजा पृथ्वीनारायण शाहको साथमा आएका तीन जना मुस्लिम हात हतियार विज्ञहरुले गोरखाली सैनिकहरुलाई आधुनिक अस्त्रशस्त्र चलाउन सिकाए । पछि समय समयमा अन्य विदेशी हात हतियार विज्ञहरु पनि नेपालमा आएर उच्च स्तरीय तालिम गोरखाली सैनिकहरुलाई प्रदान गरे । अत्यन्त छोटो अवधि एवं समयमा गोरखाली सैनिकहरु आधुनिक हात हतियार चलाउनमा सिपालु हुन गए ।
हातहतियारहरुको उत्पादन
आधुनिक तथा पश्चिमी शैलीको हात हतियारहरु आफ्नै मुलुकमा उत्पादन गरेर सो क्षेत्रमा आत्मनिर्भर हुने राजा पृथ्वी नारायण शाहको सामरिक रणनीति थियो । अतः बनारसबाट आएका तीन जना मुस्लिम कालिगडहरुको मद्दत तथा सहयोगमा मुलुकमा हातहतियार उत्पादन गर्ने कारखाना स्थापना गरियो । पछि अन्य सेना नायकहरुले पनि परम्परागत हात हतियारको स्थानमा आधुनिक हात हतियारहरुको प्रयोगमा जोड दिएका थिए । मेग्जिन आर्सनल खडा गरी बन्दुक, तोप, गोला बारुद, गोली आदि निर्माण गर्ने कार्य बिस्तार गरेका थिए । तीव्रता दिएका थिए ।
भनिन्छ आफ्नै मुलुकमा उत्पादन गरिएका आधुनिक तथा पश्चिमी शैलीका हात हतियारहरु तुलनात्मक रुपमा उच्च स्तर तथा गुणस्तरीय हुन्थ्यो । कारण हात हतियार बनाउनका लागि आवश्यक पर्ने खनिज पदार्थहरु जस्तो फलाम, तामा, सिसा, सल्फर, गन्धक, बारुद तथा अन्य धातुहरु प्रशस्त मात्रामा आफ्नै मुलुकमा उपलब्ध थियो । अझ पनि छ । स्वदेशमा गोली गठ्ठा, गोला तथा बारुदको बिस्फोटक क्षमता पनि ज्यादै शक्तिशाली एवं उच्च स्तरको हुन्थ्यो । आफ्नै मुलुकमा बनेको हात हतियारको भरमा गोरखाली फौजले गोरखा साम्राज्यको पश्चिम सरहद काँगडा किल्लासम्म पुर्याएको इतिहास साक्षी छ ।
राजा पृथ्वीनारायण शाहले स्थापना गरेका अधिकांश कम्पनीहरु पश्चिम सरहदको बिस्तार अभियानमा परिचालित थिए । सो अभियानमा मगर जनजातिका युवाहरुको बाहुल्यता थियो । गुरुङ्ग जनजातिका युवाहरुको पनि ठूलो संख्यामा संलग्नता थियो । पछि खस आर्य तथा अन्य समुदायका युवाहरुको पनि सहभागिता पश्चिम सरहदको बिस्तार अभियानमा क्रमशः बढ्दै गएको थियो ।
आवागमन र संचार
काठमाडौदेखि अल्मोडा जनपद अनुमानित आठ सय किलोमिटर (चार सय सन्तानब्बे माईल) भन्दा पनि बढी दुरीमा पर्दछ । त्यस समयमा अनुमानित एक महिनामा काठमाडौदेखि हिँडेर अलमोडा जनपदसम्म पुग्न सकिन्थ्यो । बाटोमा साना ठुला ढुंगा, बिषालु झारपात, बाक्लो घना वन जंगल, खाल्टो खाल्डो, उबडखावड तथा उकालोओरालो भएर पदयात्रा गर्नु पर्दथ्यो । अत्यन्त कष्टमय, पीडादायक एवं दुःखदायी यात्रा गर्नु पर्दथ्यो । तैपनि उत्साही युवकहरु (सैनिक) मादलको सुरतालमा गीत गाउँदै, नाच्दै, रमाइलो गर्दै पश्चिम सरहदको अभियानमा लागि परेका थिए ।
गोरखा गोरेटो
काठमाडौदेखि अलमोडा जनपदसम्म गोरखाली फौजलाई आवागमन गर्न गराउनका लागि सहज, सरल एवं सुरक्षित बाटो घाटोको आवश्यकता थियो । अतः सबभन्दा पहिले गोरखाली फौजले काठमाडौदेखि महाकाली नदीको पूर्वी किनारसम्म पुराना, भत्केका, बिग्रेका बाटो घाटोको मर्मत तथा पुनर्निर्माणको कार्य शुरु गरे । साथै नयाँ फराकिलो चौडा, सुगम र सुरक्षित बाटो घाटोहरु बनाए । जस्लाई बुढापाकाहरुले ”गोरखा गोरेटो वा बाटो” भनेर नामाकरण गरे ।
“गोरखा गोरेटो” (पैदल बाटो) काठमाडौदेखि पोखरा, प्युठान, सल्यान, दैलेख, अछाम,डोटी तथा अन्य ठाउँहरु हँुंदै महाकाली नदीको पुर्वी किनारसम्म पुग्दथे । पछि “गोरखा गोरेटो”को बिस्तार गरियो । सो गोरेटो बाटो काठमाडौंँदेखि किल्ला काँगडासम्म कायम हुन गयो । यही बाटो भएर गोरखाली फौज किल्ला काँगडासम्म पुगेर सो किल्लालाई चार वर्षभन्दा पनि बढी समयसम्म आफ्नो घेराबन्दीमा राखेको ईतिहास रहेको छ ।
सोह्रौं शताब्दीको अन्तिम समयमा भारतका तत्कालीन मुगल बादशाह शेरशाह शूरीले बङ्गाल राज्यबाट अफगानिस्तानको काबुल शहरसम्म “सडक ए आजम” अर्थात “ग्रैड ट्रंक रोड” को पुनर्निर्माण तथा पक्की रोड बनाएका थिए । त्यस समयमा हिमवतखण्ड प्रदेशमा “गोरखा गोरेटो” तथा समतल भूमिमा “ग्रैड ट्रंक रोड”को सामरिक दृष्टिकोणबाट ज्यादै महत्व थियो । ती दुवै रोडहरु दक्षिण एसियामा सबभन्दा पुराना तथा ऐतिहासिक मार्गहरु थिए । पदयात्राका लागि “गोरखा गोरेटो” तथा बाहनहरुका लागि “ग्रैड ट्रंक रोड” त्यस समयको चर्चित तथा प्रख्यात मार्ग वा बाटोहरु थिए ।
जनसहयोग
काठमाडौदेखि महाकाली नदीसम्म पुग्ने गोरेटो बाटो घाटोको वरपर रहेका गाऊँघर, टोलका स्थानीय जनताले आ—आफ्नो क्षेत्रमा “गोरखा गोरेटो” निर्माण गरेका थिए । सो निर्माण कार्यको संयोजन गोरखाली फौजले गरेको थियो । आ—आफ्नो क्षेत्रको बाटो घाटोको रेखदेख तथा सुरक्षाको जिम्मेवारी पनि ठाउँ ठाउँमा गाऊँ मुखिया, जिम्मेवाल र अगुवाहरुको हुन्थ्यो ।
गोरखा सैनिकहरुलाई बिश्राम गर्न गराउन पौवापाटी र बिश्रामघर पनि आ—आफ्नो क्षेत्रमा स्थानीय गाऊँलेहरुले बनाएका थिए । बांसका तामदान बनाएर ठुलो ओहदाका सेनानायक, बृद्ध र बाल बालखहरुलाई ओसार पसार उनिहरुले गर्ने गर्दथे । सैनिकहरुको हात हतियार, खाद्य सामाग्री तथा अन्य आवश्यक मालसामानको ढुवानी आदि पनि आ—आफ्नो क्षेत्रमा स्थानीय गाऊँलेहरुले गर्ने गर्दथे ।
“गोरखा गोरेटो”मा पर्ने नदी नाला तथा खोलाहरु वारपार गर्न गराउन स्थानीय बोटे वा माझी समुदायको जिम्मेवारी हुन्थ्यो । काठमाडौदेखि महाकाली नदीसम्म ठाउँ ठाउँमा झण्डै ५० वा ६० वटा घाटहरु नदी नाला खोलाहरुमा बनाएका थिए । काठ खोपेर बनाइएको डुङगा, नौका वा नाऊहरुबाट सैनिक र सैन्य सामाग्रीहरु स्थानीय बोटे र माझी समुदायले वारपार गराउने गर्दथे । फौजको घोडा, खच्चरहरुलाई पनि नदी नाला वारपार गर्न गराउन स्थानीय बोटेहरुको सहयोगबाट हुन्थ्यो ।
वर्षा, बाढी तथा पहिरोले गर्दा प्रायः बाटो घाटो, काठेपुल, घाट, पौवापाटी आदि भत्किने, बिग्रिने र बग्ने अवस्थामा हुँदा सोको मर्मत र निर्माणको जिम्मा पनि ठाउँ ठाउँका मुखिया र जिम्मुवालहरुको हुन्थ्यो । समय समयमा विदेशी गुप्तचरहरुको आगमन हुंदा उनिहरुको निगरानी पनि गाऊँको मुखियाले गर्नु पर्दथ्यो । यसरी पश्चिम सरहदको बिस्तार अभियानमा स्थानीय जनता र मुखियाहरुको संलग्नता रहेको पाइन्छ । यसलाई झारा प्रथा भनेर पनि केही बुढापाकाहरुको भनाइ छ ।
हुलाक व्यवस्था
काठमाडौदेखि अलमोडासम्म हरेक चार वा पाँच किलोमिटरको दुरीमा गोरखाली सेनाले हुलाक घरको निर्माण गरेको थियो । ठाउँ ठाउँका स्थानीय गाऊँलेले आ—आफ्ना क्षेत्रमा एक एक जना युवालाई हुलाकीको जिम्मा दिइएको थियो । सरकारी पत्र, सैन्य सामाग्री तथा गोप्य दस्तावेजहरु समयमा ल्याउने पुर्याउने व्यवस्था मिलाइएको थियो । विदेशी गुप्तचरहरुबाट गोप्य दस्तावेजलाई सुरक्षित राख्ने व्यवस्था पनि गरिएको थियो । यसरी कुमाऊँको अलमोडा जनपदमाथि आक्रमण गर्नुभन्दा अगाडी गोरखाली सेनाले पूर्व तयारी गरेको थियो ।
सारांश
(क) पश्चिम सरहदको बिस्तार अभियानको पूर्व तयारीमा विशेषगरी मगर, गुरुङ्ग, माझी, बोटे तथा अन्य जाति जनजातिका स्थानीय अगुवा एवं युवाहरुको महत्वपूर्ण योगदान तथा बलिदान रहेको पाइन्छ । तर सेना नायकहरुको योगदानको चर्चा परिचर्चा मात्र प्रायः हुन्छ । स्थलगत स्तरमा रहेका नायकहरुको पनि खोज तलाश हुनुपर्ने र उनीहरुको योगदान र बलिदानको पनि चर्चा हुनुपर्ने ।
(ख) लुप्त रहेको ऐतिहासिक “गोरखा गोरेटो”को पुनर्निर्माण गरेर पदयात्रा पर्यटनलाई प्रोत्साहित गर्नुपर्ने ।
नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।