बेलायतमा १७ अगस्टमा एनआरएन नागरिकता बहस वर्कसप, विज्ञहरुको प्रस्तुतिकरण रहने

लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको सक्रियतामा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी एक बहस सञ्चालन हुने भएको छ ।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको आयोजना र एनआरएनए यूकेको सहयोगमा यही अगस्ट १७ तारिख आइतबार लन्डनमा गैर आवासीय नेपाली नागरिकता बहस वर्कसप गरिने भएको हो । कार्यक्रम वुल्लीचस्थित लाइब्रेरी बिल्डिंगको सातौं तलामा मध्याह्न १२ देखि साँझ ६ बजेसम्म हुनेछ । कार्यक्रममा नेपाल तथा बेलायतका विषय विज्ञहरुले प्रिजेन्टेसन गर्ने आयोजकले जनाएको छ ।

एनआरएनए यूके महासचिव गोविन्द खरेलका अनुसार कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतका न्यायाधीस एवम् अधिवक्तासहितका विज्ञ बेलायत आउँदै हुनुहुन्छ । त्यस्तै, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्समा आबद्ध विषयविज्ञहरुले पनि कार्यक्रममा प्रिजेन्टेसन गर्नेछन् । सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले पनि नागरिकतासम्बन्धी एनआरएनए अभियान र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेसँग हुन सक्ने सहकार्यबारे मन्तव्य राख्नुहुनेछ ।

कार्यक्रम नेपालको संविधानमा भएको गैर आवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाबाट प्राप्त उपलब्धिहरु, आउन सक्ने समस्याहरु तथा सम्भावित समाधानका उपायसम्बन्धी रिसर्च तथा नतिजा प्रकाशनमा केन्द्रित रहनेछ ।

एनआरएनए यूके अध्यक्ष गुरुङले गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो चासो र चिन्ता रहेकाले नागरिकताको विषयलाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताउनुभयो । नागरिकताबारे बेलायतवासी आम नेपालीलाई सुसूचित गर्ने र नेपालको राजनीतिक नेतृत्वलाई झकझकाउने कार्यलाई एनआरएनए यूकेले तीव्र रुपमा अगाडि बढाउने अध्यक्ष गुरुङले बताउनुभयो ।

कार्यक्रममा उपस्थित भएर नागरिकता बहसमा सहभागी हुन आयोजक सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके र एनआरएनए यूकेले इच्छुक बेलायतवासी नेपालीहरुलाई आह्वान गरेका छन् । कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले इमेलमार्फत आफ्ना जिज्ञासा वा धारणा पठाउन सक्ने र तीनलाई कार्यक्रममा यथोचित स्थान दिइने समेत एनआरएनए यूकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री