बेलायतमा स्टार्मरले सत्ताको बागडोर सम्हालेपछि एकै दिनमा ७ सय आप्रवासी भित्रिए

लन्डन । प्रधानमन्त्री केइर स्टार्मरले सत्ताको बागडोर सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन् ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार ११ वटा डुङ्गामा ७०३ जना आएका छन् । जुलाईमा भएको बेलायतको आम चुनावमा साना डुङ्गा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा थियो । सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गर्नुभएको थियो । यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको फ्ल्यागशिप नीति थियो ।

यसको साटो स्टार्मरले क्रसिङलाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौं युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने वाचा गर्नुभएको छ । जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानुनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासी विरोधी अशान्ति बढेको समय पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो ।

आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दङ्गाको विरोधमा शनिबार बेलायतभर हजारौं रङ्गभेद विरोधी प्रदर्शनकारीले र्‍याली निकालेका छन् । स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गैरकानुनी आप्रवासीको सङ्ख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’ लाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सीमा पार गर्ने व्यक्तिको पछिल्लो सङ्ख्यासँगै सन् २०२४ को सुरुदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रबासीको सङ्ख्या १८ हजार ३४२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री