बेलायतका विभिन्न ठाउँमा स्वामी आनन्द अर्हतले ध्यान शिविर सञ्चालन गर्नुहुने

लन्डन । काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगस्ट महिनामा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सञ्चालन गर्दै हुनुहुन्छ । उहाँले आइतबार अगस्ट १८ का दिन दक्षिणपूर्वी लन्डनको फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा एक दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताउनुभयो । बुद्ध फाउन्डेशन युके, डार्टफोर्ड नेप्लिज कम्युनिटी तथा बेक्स्ली नेप्लिज कम्युनिटीसँगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त शिविरमा सहभागी भई लाभान्वित हुन उहाँले आग्रह पनि गर्नुभएको छ ।

स्वामी अर्हतले आउँदो अगस्ट २३ देखि २६ तारिखसम्म लन्डन अक्सब्रिजस्थित डेनहाम ग्रोभ होटलमा तीन दिने आवासीय ध्यान शिविर संचालन गर्दै हुनुहुन्छ । अगष्ट महिनाको अन्तिम साता स्कटल्याण्डमा पनि एक दिने ध्यान शिविर आयोजना गर्न लागिएको जनाइएको छ । उक्त शिविरहरुमा सहभागी हुन स्वामी ध्यान शंकर, माँ अजीता तथा स्वामी कृशलाई सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन् ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु संचालन गरिसक्नुभएका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनका लागि ध्यान अपरिहार्य रहेको बताउनुभयो । “जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,” स्वामी अर्हतले भन्नुभयो, “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ, ती विचारलाई कसरी सन्तुलित गर्ने ? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं ।”

“जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसँग कुरा गर्न किन गाह्रो हुन्छ ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसँग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसँगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं,” उहाँले भन्नुभयो ।

त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गर्नुभयो । “आजको व्यस्त समाजमा संयमित जीवनशैली र ध्यानको महत्व जति वर्णन गरे पनि कम हुन्छ । कोभिड १९ महामारी, जलवायु परिवर्तन र ‘कस्ट अफ लिभिङ्ग क्राइसीस’ ले उत्पन्न गरेको संकटसँग जुध्न र आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्न पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित भएको छ,” उहाँले भन्नुभयो ।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १७ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु संचालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री