एमपक्स भेरियन्ट फैलावट रोक्नमा डब्लुएचओको जोड, खोप उत्पादन बढाउन आग्रह

लन्डन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ ।

“एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साच्चै नै खोपको उत्पादन बढाउन आवश्यक छ”, डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भन्नुभयो । डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी१६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ ।

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताउनुभएको छ । सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । डब्ल्यूएचओले एलसी१६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ ।

विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जाल ’इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटी’( आइएफआरसी) ले एमपक्स सङ्क्रामक देशहरुले भाइरससँग जुध्न चुनौती सामना गरिरहेको बताएको छ ।

आइएफआरसीका वरिष्ठ जनस्वास्थ्य आपतकालीन अधिकारी ब्रोन्विन निकोलले अधिकांश खोप धनी देशसँग रहेको र अहिलेसम्म अफ्रिकामा पठाइएका खोपहरू प्रकोप नियन्त्रणका लागि पर्याप्त नभएको बताउनुभयो ।

डब्लुएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री